Similar Articles

लेख रचना

दुख कस्तो हुन्छ पहाड गएर हेर!--सुनिल मणि दाहाल

बिराट नेपाल

नेपालमा जातीयताको बीउ रोपेको माओवादी र उसले सिकाएको हिंसात्मक विद्रोहको पिडा अझै यो मुलुकले कति खेप्नु पर्ने हो यसको अनुमान गर्न सहज छैन! सबै राजनीति कर्मीलाई आ- आफ्नो राजनीति गर्ने थलो र भविष्यमा आफ्नो पुस्ता समेतलाई पुग्ने गरी सङ्घीयता नाममा "मागी खाने भाडो" नै चाहिएको छ । 

यो मुलुक र यसका जनता त एउटा राजनैतिक गोटी मात्रै हुन्! कहिले उत्तर तिर त कहिले दक्षिण तिर ढल्कने र सोही मुताविक जनतालाई भिडाउने राजनैतिक खेलाडीहरूका सामुन्ने जनता भने सधैँ निरिह नै बने ! भारतले नेपालको भूमि भित्र उभिएर ठाडै धम्किपूर्ण भाषामा -"जब सम्म भारतले संविधानको समर्थन गर्दैन विश्वले समर्थन गरेको कुनै अर्थ छैन "भनी चेतावनी दिने हिम्मत गर्नुको पछाडि पनि यही कारण हो भन्दा दुईमत नहोला! सबैले बुझ्नु पर्दछ तराई बल्नु र जल्नुको अर्थ पहाडमा समेत डडेलो लाग्नु हो! यसै वाट स्पष्ट हुन्छ घरको झगडा लम्विएमा छिमेकीले औला ठड्याउने छन् र पटक पटक यस मुलुकको अस्मिता माथि प्रहार गर्ने छन् !
 
के पहाडीया जीवन शुखमयी छ? 
आज भन्दा सत्र वर्ष अगाडी ताप्लेजुंड्ग स्थित कन्चंनजङ्गा संरक्षण क्षेत्रमा काम गर्ने मौका पाए । बिराटनगरको गर्मीमा जन्मिएको र हुर्किएको अनि सहज सवारीको बानी परेको मान्छेलाई बिराट्नगर देखी ताप्लेजुङ पुग्न बसमा दुई दिन लागेको थियो। खनेको र भिरको बाटो छिचोल्दै ताप्लेजुङको लागी बसको सवारी अति नै जोखिमपूर्ण थियो । म मधेसमा जन्मिएको र हुर्किएको मधेसी मान्छेलाई भिर पहिरो, उकाली र ओरालीले ताप्लेजुङको पहिलो टेकाई मा नै सातो लिएको थियो। दैनिक आवश्यक खाद्य सामाग्रीका लागी दुई दिनको भिरको बाटो पैदल हिडेर ताप्लेजुङको सदरमुकाम फुग्लिङ देखी संरक्षण कार्यालय लेलेप सम्म आफै बोकी वा भरियालाई बोकाई  ढुवानी गर्नु कम गाह्रो काम थिएन ।
 
लेलेप गाउमा संरक्षण क्षेत्रको मुख्य कार्यालय स्थापना गरी स्थानीय जनताको जिवनस्तर उठाउदै उनीहरूलाई संरक्षणमा सहभागी गराई संरक्षण र विकासको काम गर्ने र पाच वर्ष पछि स्थानीय जनतालाई संरक्षण क्षेत्र हस्तान्तरण गर्ने हाम्रो लक्ष्य थियो। यही लक्ष्यका लागी हामी फुङ्लिङ हुँदै हाङदेवा, सिवा, थिवा आदीका भिर पहिरो तथा विशाल गर्जनका साथ बगेको तमोर र घुन्सा  नदीको किनारा छिचोल्दै दुई दिन लगाएर लेलेप गाउँ पुगेउ । लेलेप गाविस स्थित यस वडामा शेर्पा जातीका जम्मा जम्मी ४०-५० घर मात्रै थिए। संरक्षण क्षेत्र घोषणा भएका चार गाबिसहरु लेलेप्, तापेथोक,यम्फुदिन् र ओलाङ्चुङगोला मध्ये लेलेप र ओलाङ्चुङगोला गाविसका बासिन्दाहरु केही मात्र सम्पन्न थिए भने अन्यको अवस्था अत्यन्त कष्टकर थियो।
 
ओलाङ्चुङको घरेलु गलैचा व्यवसाय र लेलेपको अलैची खेतीले जीविका उचाल्न सहयोग गरेको थियो। तर, नजिकैको छिमेकी गाविस ताफेथोकका लिम्बु समुदायको आर्थिक अवस्था भने ज्यादै दयनिय थियो। लेलेपमा शेर्पाहरुको  कुटे कोदालो गरेर जम्मा गरेको अन्नले दुखले तीन महिना मात्र खान पुग्दथ्यो, बाकी महिनाका लागी भस्मे फडानी (डडेलो लगाई गरिने परम्परागत खेती प्रणाली ) र भरियाको काम गरी पेट पाल्नु बाहेक अन्य कुनै विकल्प थिएन यी ताफेथोकका लिम्बु समुदायको । राशन पानी तथा निर्माण सामाग्रीको ढुवानीका लागी तमोरको भिर र भन्ज्यांगमा डरलाग्दो भारी भएको ढाकर र तोक्माको साहारा तथा भिर पहिरोमा भस्मे फडानी नै यस भेगका अधिकांश बासिन्दाको गरी खाने नियती थियो ।
  
संरक्षण क्षेत्रका यी चार गाविसले खाद्यान्न तथा औषधी उपचारका लागी सदुरमुकाम फुग्लिङ कै भर पर्नु बाहेक अन्य विकल्प थिएन। सदुरमुकाम फुग्लिङबाट ल्याएको चामल लेलेप आई पुग्दा ढाडिएर अमिलो हुने त एउटा सामान्य कुरा मात्र भएको मैले बुझे । साधारण ज्वरो आएको बेलाको औषधी सिटामोल समेत नपाएर आफू बोकिएर ताप्लेजुङ बजार जानु परेको पिडा अझै ताजा नै छ ।
 
व्यक्तिगत सवारिको लागि बयल गाडी (गोरु गाड़ा). टॉगा (घोडा गाडी) साइकल, मोटर साइकल, कार, व्यापारका लागि स्थानीय बजार , किनमेल का लागि नजिकको भारतीय बजार, स्वास्थ उपचारका लागि सरकारी अस्पताल वा भारतीय क्लिनिक, बस, रिक्सा, बिजुली बत्तीको बानी परेको  म जस्तो मधेसी र यी सुविधा प्रदान गर्न सफल मेरो जन्मभुमी मधेसमा कैले पनि पहाडका जस्ता अति नै आवश्यक चिजहरुको अभावको सामना गर्नु परेको थिएन । खाद्यान्न तर्फ कुनै चिन्ता नै भएन !
 
ताप्लेजुङको उत्तरी भागमा अवस्थित ओलाङ्चुङगोला पनि नेपालको एउटा भाग हो भन्ने कुरा यस गाउमा तपाईँ जानु भयो भने विश्वास गर्न सक्नु हुने छैन। । ताप्लेजुङको सदरमुकाम फुग्लिङ देखी चार दिन पैदल हिडे पछि पुगिने ओलाङ्चुङगोला भिर र पहिरोमा अवस्थित छ। यस गाउमा बसोबास गर्ने करिब ६२ घरले राज्यबाट न्यूनतम सुविधा बाहेक अन्य प्राय आधारभूत सुविधा पाउन बाट बन्चित जस्तै छन्। यस गाउँ पनि सदुरमुकाम फुङ्लिङ र चीनको सिमानासँग राशन पानीको लागी निर्भर छ । तर पनि यस गाउका बासिन्दालाई जातीय तथा छेत्रीय राज्य चाहिएको छैन ।
 
त्यस्तै कन्चनजंड्गाको काखमा अवस्थित घुन्सा गाउँ फुड्गलिड्गवाट कस्सिएर पॉच दिन हिडदा पुगिन्छ! जापानटारवाट उकालो लागे पछि घुन्सा खोला माथीको कहालीलाग्दो भिरमा खरको वुटा समाई भिरमा हिंडेको हिजो झैँ लाग्छ मलाई! यस गॉउको आर्थिक स्रोत नै पर्यटन हो, तर अव्यवस्थित होटल र भिरको जोखिमपूर्ण बाटोका कारण धेरै कम पर्यटक मात्र पुग्छन ! 

माथि उल्लिखित प्रसङ्ग केही उदाहरण मात्र हुन । नेपालका अन्य धेरै पहाडी जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, कालिकोट आदि छन् जहाँका बासिन्दाहरुले सुख भन्ने चिज आज सम्म महसुस गर्न पाएका छैनन् । यी जिल्लाका बासिन्दाहरु पेट पाल्नका निम्ति वर्षमा केही महिनाका लागि भारतमा गई भारी बोक्ने, जुठा भाडा माज्ने, भारतीय घरानामा नोकर बस्ने, कोइला खानीमा जोखिमपूर्ण काम गरी नरकीय जीवन बिताउन बाध्य छन्! फाटेको र टालेको दौरा सुरुवाल र ढाका टोपी तथा परिवारका लागि गुन्यु चोली फेर्नका लागि यिनीहरूको घरमा आज सम्म कुनै दसैँ आएन । यिनलाई चाहिएको छ मात्र दुई छाक अन्न न कि कुनै जातीय वा छेत्रिय प्रदेश !
 
मधेस पहाड कोही सुखी छैनन्:
मधेस हेपिएको थियो भन्नेमा दुई मत नहोला तर मधेसिहरु मधेस पछाडि पर्नुमा सबै पहाड र पहडियाको मात्रै हात थियो भनेर पन्छिन मिल्दैन । मधेसलाई पछाडि पार्नुमा धेरै मधेसीहरुको पनि हात छ। मधेसी समुदायले गम्भीर भएर सोच्नु पर्छ कि यो बेला मधेस भित्रैको शोषण र शासनका विरुद्ध पनि बोल्नु पर्छ । मधेसमा हुने अत्याधिक शोषण नै रैथाने जमिन्दारी प्रथाबाट हो जुन भारतको आयातित प्रथा हो । एउटा सत्य र मेरो भोगाई के हो भने मधेस भन्दा पहाड कहिले पनि सुखी थिएन । मधेस दुखी र पहाड सुखी भनिने कुरा असत्य नै हो ।  नभए पहाडमा जन्मेर हेर पहाडीको जीवन कति कष्टकर छ अनि मात्र थाहा हुन्छ । मधेसको दुर्गम र विकास नपुगेको जिल्ला धेरै कम मात्रै छन् तर पहाडका दुर्गम र अबिकशित जिल्ला तथा गाउहरु प्रसस्तै छन् जहाँ एउटा सिटामोल समेत पाइदैन । कालिकोट, जुम्ला, डोल्पा, ओलङ्चुङ्गोला आदीमा गएर हेर अनि भन को पछाडि परेको रहेछ र कस्ले दुख पाएको रहेछ ?
 
अत:आफ्नो हक र अधिकारका लागी तर्क सँगत रूपले बहस गर्नु पर्छ । सबै शोषण र अत्यचारका विरुद्ध एक जुट भै लडौ तर पुर्वाग्रही नभैकन । आखिर सबैको उदेश्य नै एक नेपाल सबै सम्बृद नेपाली समाजको निर्माण गर्नु नै हो । अत: नेपालको नयॉ संविधानमा छुटमुट भएका हक र अधिकारको लागी कानुनमा आवश्यकता अनुसार व्यवस्था गर्न सक्ने प्रावधान भएकाले सबै असन्तुष्ट पक्ष्यहरू संयमित भई यस सम्विधानको समर्थन र सफलताको कामना गरौँ! 
 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक