Similar Articles

लेख रचना

उत्तेजना फैलाउने काम नगरौं ,सामाजिक सद्भाव कायम गरौँ--डा . रबिन्द्र पाण्डे 'समीर' जनस्वास्थ्य विशेषज्ञ

बिराट नेपाल

१. धेरैजसो अनलाइन पत्रिकाले सनसनीपूर्ण समाचार दिएर आफ्नो लाइक बढाउने, भ्युवर सङ्ख्या बढाउने प्रयोजनको लागि नभएका समाचार वा अतिरन्जित गरेर समाचार राखेका हुन्छन् । त्यस्ता अनलाइन पढेर आफ्नो धारणा नबनाऔं ।

२. कुनै नेता वा दलले आफ्नो अस्तित्व देखाउन वा मेडियामा आउनको लागि उत्तेजक बिचार व्यक्त गर्दछन्, यस्तालाई समाचारको विषय नबनाऔं । पदमा पुगेका व्यक्तिहरूले तालीको लागि टुँडिखेलमा गर्ने जस्तो भाषण नगरौं ! सकिन्छ, काम गरौँ । सकिन्न मुखमा दही राखेर बसौं ।

३. राजेन्द्र महतोजस्ता केही व्यक्तिको कारण सम्पूर्ण मधेसी जनताप्रति पूर्वाग्रही धारणा नबनाऔं । मधेसी मूलका धेरै मित्रहरुसंग मेरो प्रगाढ सम्बन्ध छ । बर्षौं एकै भान्छामा खाएको छु, एउटा बेडमा सुतेको छु, दसैमा टिका लगाएको छु, छठ मानेको छु । उहाँहरूको राष्ट्रप्रेम हाम्रो भन्दा कुनै अर्थले कमी महसुस मैले कहिल्यै अनुभूत गरेको छैन । सिमानाका मधेसी जनता आफ्नो एक इन्च भूमि रक्षा गर्न दिलोज्यानले लागेका छन् । तसर्थ मधेसी मूलका नेपालीलाई बिनाकारण अराष्ट्रिय देख्ने वा भारतीय देख्ने रतन्धोको उपचार गरौँ ।

४. केही नेताको स्वार्थको लागि मधेसलाई रणभूमि बनाइएको छ । मधेसी जनतालाई यो डर छ कि सरकारले दिनुपर्नेलाई नागरिकता नदिने तर नदिनुपर्नेलाई नागरिकता दिँदा भोलि मधेसी कोटामा अनेपालीले लाभ लिने, व्यवसायदेखि राजनीतिसम्म अनेपालीको बर्चस्व भएमा हाम्रा भूमिपुत्रहरुलाई ठुलो घाटा हुन्छ । तसर्थ नेपाली मधेसीलाई उचित अवसर र सम्मान अनुभूत गर्ने वातावरणले हाम्रो राष्ट्रियता बलियो हुन्छ ।

५. धेरै मधेसी जनताले आफू राज्य, कर्मचारीतन्त्र तथा पहाडीवर्गबाट हेपिएको, अपमानित भएको, शङ्काको नजरमा परेको र अपनत्व नपाएको पीडाबोध गरेका छन् । आफ्ना दाजुभाइ दिदीबहिनीहरुलाई सम्मानजनक व्यवहार गर्न सिकौं ।

६. थारु सम्प्रदायमा एउटा ठुलो चोट परेको छ । २ दिन आन्दोलन गर्दा बाग्लुंगदेखि मध्य र सुदुर पश्चिम क्षेत्रका जनताको माग पुरा गरियो, ६ वटाबाट ७ वटा प्रदेश बनाइयो तर हामीले महिनौं आन्दोलन गर्दा दमन गरियो भन्ने । जुन जायज छ । कि ६ प्रदेशमै रहनु पर्थ्यो कि एउटा प्रदेश थपेर उनीहरूलाई राज्यप्रति सम्मान जगाउने वातावरण प्रदान गर्नुपर्थ्यो । केही नेताको भोटको लागि अहिलेपनि एक इन्च हेरफेर गर्देनौं भन्ने र सम्पूर्ण तराईलाई दुई प्रदेश गर्नुपर्छ भन्ने अतिवादको बिचमा समाधान खोज्नुपर्छ । यसको लागि मधेसी मोर्चा र सरकार एक/एक कदम पछाडि हटेर मिलनबिन्दु खोज्नुपर्छ ।

७. मधेस आन्दोलन र नाकाबन्दीलाई फरकफरक ढङ्गले हेर्नुपर्छ । हाम्रा नेता तथा कूटनीतिज्ञको यस्तै रबैया रहेमा मधेसका माग पुरा गरेपनि भारतीय नाकाबन्दी खुल्दैन ।

८. मधेसी मोर्चाले नाकामा धर्ना दिने काम छोड्नुपर्छ । यो नाकाबन्दीले पहाडी तथा हिमाली जनतामा दुई प्रदेश भएमा हामीले यस्ता नाकाबन्दी तराइमधेसले पटकपटक गर्छ भन्ने भयले सङ्घीयताप्रति विरोधको स्वर बढाएको छ । पहाडी तथा हिमाली जनताले मधेसका माग पुरा नगरेका हैनन् । तसर्थ सिंहदरवार वा बालुवाटार घेरेर दबाब दिए त्यो प्रभावकारी हुनेछ ।

९. मधेस आन्दोलनमा सर्वमान्य नेता नभएको, जसले उग्र कुरा गर्छ- उही स्थापित हुन्छ भन्ने मानसिकताले त्यहाँका नेता ग्रस्त भएकोले मधेसी जनताले सन्तुलित नेताका कुरा सुन्ने वा उनीहरूको पूर्व इतिहास हेर्नुपर्दछ । लोकतन्त्र आएपछि पाँच दर्जन मन्त्री, धेरै उपप्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत हुँदा मधेसमा विकास किन भएन ? किन त्यो बेला जनताको अधिकार स्मरण भएन ? किन आफ्नी श्रीमती, प्रेमिका,सम्धी वा धनाढ्य व्यक्ति (पहाडी समेत) लाई सभासद् बनाइयो ? कसरि नेताको आर्थिक स्थिति आकासियो ? यी कुरा मधेसी जनताले सच्चाउन नेत्तृत्वलाई दबाब दिनुपर्छ ।

१०. आन्दोलन साम्प्रदायिक मोडमा गयो भने त्यो ठुलो दुर्भाग्य हुनेछ । हाम्रो देशमा मिश्रित बस्ती छ । तराइ / मधेसमा पहाडी जनताको बसोबास तथा रोजगारी भएजस्तै पहाडी जिल्लामा मधेसी मूलका नेपालीको ठुलो रोजगारी र व्यवसाय छ ।

काठमाण्डौ लगायत सहरमा मधेसी जनताको घर, व्यवसाय पनि छ । पहाडी र मधेसी जनताबीच वैवाहिक/व्यावसायिक सम्बन्ध फैलिएको छ । तसर्थ पहाडी र मधेसी जनता एकअर्काका परिपुरक र पारस्परिक छौँ । यो सम्बन्धमाथि कसैले सलाई कोरेमा अन द स्पोट दुवै पक्षले रोक्नुपर्छ ।

११. सङ्कटको घडीमा संयम र धैर्यता ठुलो पुँजी हो ।कसैको पुत्ला, झण्डा जलाउने कामले समाधानलाई झन् टाढा धकेल्छ । तसर्थ विरोध गर्दा शिष्ट, मर्यादित र बिबेकपूर्ण तवरले गर्नु उपयुक्त हुन्छ ।

१२. काठमाण्डौले मधेसीलाई शिक्षा, स्वास्थ्य, रोजगारी,सत्ता दिएको तथ्य नबिर्सौं र तराइ/मधेसले चामल, गहुँ, तेल आदि दिएको तथ्य पनि नबिर्सौं । जनजातिले देशको सुरक्षा, नेपालीको पहिचान दिएको गुन पनि नबिर्सौं । नेपालरुपी मालामा सबै धर्म, जात, सम्प्रदाय, बिचार मिलेर बसेका छौँ र बस्नेछौं । हामी बिबेकी भए कसैले पनि हामीलाई उकास्न वा भड़काउन सक्दैन । राजनीतिको जरा कहाँसम्म पुगेको हुन्छ,
हामीलाई थाहा हुँदैन । तसर्थ हरेक नेतालाई शङ्का र विश्वास दुवै नजरले हेरौं ।

१३. जनजाति, दलित, महिला वा अन्य वर्गले आफूमाथि विभेद भएको महसुस गरेका छन् । नेताहरू बोल्नेबेला आदर्शका कुरा गर्छन् तर प्रतिनिधित्वको सवालमा एकात्मकता अपनाउँछन् । तसर्थ सकारात्मक विभेदको आधारमा उनीहरूलाई मुलधारमा ल्याउनुको विकल्प छैन । व्यवहारमा लागु भएपछि नश्लबादी चिन्तन स्वतः : हराउँछ ।

१४. विदेशी राष्ट्र वा निकायका आआफ्नै मिसन हुन्छन् । क्षणिक स्वार्थको लागि हामी बिकेमा त्यो देश र जनताप्रति ठुलो गद्दारी हुनेछ । दाताको नजरमा प्रापक जहिले पनि दास हुन्छ । कि राजनीति नगर्नु, व्यापार गर्नु / राजनीति गरे नबिक्नु तथा निष्ठाको राजनीति गर्नु नै राजनैतिक मूल्य / मान्यता हो ।

१५ . यो परिस्थिति आउनुमा, हामी गरिब र कमजोर हुनुमा हाम्रो राजनैतिक, प्रशासनिक तथा कुटनैतिक भ्रष्टीकरण र बिकाउ हो भन्ने तथ्य बुझौं । हाम्रा यी पात्र तथा प्रवृति अबिस्वस्नीय हुनु हामी सबै नेपालीको दुर्भाग्य हो । यो तथ्य सबैले बुझौ । एउटा मात्र राजनेता भएको भए देश सिंगापुर वा स्विट्जरल्यान्ड बन्ने थियो । छाडातन्त्रले हामीलाई बढी बोल्ने, बढी प्रतिक्रियात्मक हुने तथा काम कम गर्ने बनाएको छ । हामीलाई आत्मनिर्भर बन्न काम गर्ने समय छैन तर जुलुस, नारा र विवाद गर्ने समय छ । नेताहरू धनी छन् , भोलि देश जल्यो भने उनीहरू विदेश गएर भएपनि सुखले बस्न सक्छन् तर हामी जनतासँग त्यो क्षमता छैन । तसर्थ देश जनताले बनाऔं ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक