Similar Articles

कथा लघुकथा

बिटुलो घर- भक्त घिमिरे

बिराट नेपाल

कथा

बजार-चोकमा ठुल्ठूलो स्वरमा नारा लागिरहेको थियो,“हिन्दु राष्ट्र चाहिन्छ, निरपेक्षता खारेज गर् ।” जट्टाधारी साधु-सन्तमहन्त र राजनीतिक नेतासमेत भाषणबाजीमा मस्त थिए । कोही नेपाली र कोही हिन्दीमा मच्ची मच्ची नारा र भाषण घन्काइरहेका थिए ।

ओखरबोटे गाउँमा केही दिनदेखि चौमासा पुराण पनि सुरु भएको थियो । पण्डितहरु कोही भागवत कथा त कोही स्तोत्र पाठमा व्यस्त थिए । पुराणको कथा सुनिरहेकी बैदारनी बज्यै पराल ओछ्याएको तम्बुबाट निस्केर हुर्दुराउँदै घरतिर लागिन् । “घराँ कोही थिएन, भकारोमा बाछा-पाडा भोकाए क्यार...खोरमा बाख्रा कराउँदै होलान् । घरको ढोका पनि राम्रो थुनिएको थिएन...हे दैव; आज घरको जेथोमेथो कुनले उठायो कि...सर्वस्व होस् त्यसको ...”, बज्यैले धारे हात लाएर मनमनै कल्पनाको चोरलाई श्रापिन् ।

बज्यै माथि ज्यामिरे पाखासम्म पुगुञ्जेल तल ओखरबोटे गाउँको व्यासबाट पण्डितको कथावाचन सँगै अर्ती-उपदेश मज्जाले सुनिँदै’थ्यो,“भगवानको आराधना र भक्ति गर्न कथा सुनेरमात्र हुँदैन, त्याग र निस्वार्थता चाहिन्छ । परोपकार र सद्भावना पनि हुनुपर्छ । भगवानले भिखारी र टुहूराको रूप लिएर पनि आएका हुन्छन् । त्यसैले घराँ आएका दीनदुःखीहरुलाई पेटभरि खान दिनु...सेवा गरी खुसी बनाएर पठाउनु । बास माग्नेहरुलाई बास दिनु...अतिथि देवो भवः ।”

बज्यै स्याँस्याँ-फ्याँफ्याँ गर्दै घर पुग्दा तीन छक् परिन् । जस्केलो अलिकति उघ्रेको थियो । मूलढोका पुरै खुल्ला थियो; अनुहार अठार मुजा पारेर आँखा झिम्झिम गर्दै बज्यै भित्र पस्ता घरकै ढाडे बिरालो ङ्वार्र करायो । साङ्ला र मुसाहरु तँछाड मछाड गरी भागे । चुल्होको भर्सेलीमाथि राखिएका भाँडावर्तनहरु असरल्ल थिए । भात पकाएर राखेको पित्तले ढब्बू रित्तै थियो, तरकारी पकाएर छोपेको कराईको ढकनी खुल्लै थियो । भान्सा कोठाभरि भातका सिताहरु जतासुकै छरपस्ट !

बज्यैले रात-दिन पूजा गर्ने खोपीमा आँखा पुऱ्याइन् । त्यहाँका पिताम्बर वस्त्रहरु ल्याङफ्याङ थिए । पूजाको थाली र देउतालाई चढाउन राखेको मिष्ठान्नको बट्टा पनि खुल्लै थियो । “कुन अलच्छिनाले सतचुर्न गरेछ, आजको घाम नअस्ताई मरी जावस्...”, बज्यैले यसरी सत्तोसराप गर्दै बट्टाको बिर्को खोजिन् तर, भेटिनन् ।

खुई...काड्दै मझेरीमा बसिन् र घण्टौंसम्म फत्फताइन् बज्यै । उनी फत्फताउँदै गर्दा पनि ओखरबोटेको व्यासबाट पण्डितको उद्घोष जारी नै थियो,“हिन्दूहरुले हिंसा गर्नु हुन्न । जानीजानी प्राणीहत्या गर्न हुँदैन । शान्ति, प्रेम, सद्भाव, परोपकार र अहिंसा हिन्दु हुनुको आधारभूत लक्षण हो ।” पण्डितले यसो भनिरहँदा बज्यैले बैदार बाजे (आफ्नै लोग्ने)-लाई बेस्सरी सम्झिइन्...। उनीहरू एक अर्कालाई चतुरेका बा’ र चतुरेकी आमा भनी बोलाउँथे ।

चतुरे केही वर्षअघिको राजतन्त्र मास्ने लोकतन्त्रवादी आन्दोलनको झडप्-मा परी स्वर्गे भएको थियो । चतुरेलाई राज्यले शहीद घोषणा गरेको थियो । तै पनि एउटै भएको छोरो गुमेकोमा राज्यपक्षबाट कुनै थप चासो नभएपछि शहीद घोषणा र कागजको बाघ एकै सम्झे चतुरेका बा’ले । चतुरेका बा’लाई कागजमा लेखिएका सबै कुरा झूटा हुन् भन्ने भान परिसकेको थियो । “पशुहत्या नगर्नु रे, मासु नखानु रे...मान्छे रिसाहा हुन्छ रे- पण्डितले भनेको”, चतुरेकी आमा बेला बेला बुढालाई सम्झाउँथिन् तर, चतुरेका बा’ भन्थे,“पण्डितले पुस्तकका कुरा भनेका हुन्, हामीले खाने खसी त खोरका पो हुन् त...पुस्तकका खसी हामीले कहिल्यै खाएका छम् र ? पुस्तकका प्राणी हामीले कहिल्यै माऱ्या छैनम् ।” बज्यैको स्मृतिमा चतुरेका बा’को झल्को सजीव भयो । चतुरेका बा’ भर्खरै राजतन्त्रका पक्षधर हिन्दूवादीहरुको ‘तरबार जुलुस’मा भाग लिन जाँदा प्रहरीको गोली लागेर अस्पताल भर्ना भएका उतै सिद्धिएका थिए ।

धेरैबेरपछि एक्कासि होस आएझैं चतुरेका बा’-को स्मृतिमा हराएकी बज्यै जुरुक्क उठिन् र दसैँलाई पालेको खसी सम्झिइन् । दसैँमा सुकुटी फिँजाएर सुकाइएको मासुको भुटुवा सम्झिँदै बज्यैले आँटीमा राखेको घाँसको मुठो खोली खसी बाँधेको टाट्नातिर लागिन् । खसी बाँधेको टाट्नोकै छेउमा बज्यै पुग्दा नपुग्दा भुर्रर भँगेरा उडेझैं दुई तीन भुराभुरी दगुरे...! धारे हात पारेर बैदारनी बज्यैले उनको चेत खुलेदेखि आजसम्म जानेका उनको शब्दकोशका जम्मै शब्दहरू एकैचोटि ती केटाकेटीमाथि खर्च गरिन् ।

बज्यैलाई अब अर्को फसाद पऱ्यो । मनमनै भनिन्...“पकाएको भात खाए, तरकारी पोखे, भान्सा कोठा मैला पारे त केही छैन तर, असतीहरु के के जातका हुन्...घरै बिटुलो पारेका हुन् भने मेरो त बर्बादै हुने भो । कुजातका र’छन् भने भरे मुखिया विष्टले घराँ पूर्जी नै टाँस्लान् ! भख्खरै चतुरेका बा’ बितेर किर्रे खर्चको ऋण चुक्तिएको छैन । अब फेरि घर चोख्याएको ऋण बोक्नुपर्ने भो । हे राम...हे नारायण...अब के गर्ने होला ...! अब घर शुद्धा-सुद्धि गराउँदा एकातिर दान-दक्षीणाले गरिबीको मार थप्ने अर्कोतिर गाउँलेको खिसी-ट्यूरी र बेइज्जतीले गाउँमा बसी सक्नु नहुने, बरु कसैलाई केही भन्दिनँ, यो घटनालाई त्यतिकै गुपचुप राखिदिन्छु”, बज्यैले अठोट लिइन् !

बज्यैलाई पत्तै थिएन, भञ्ज्याङ बस्तीबाट ज्यामिरे पाखामा विवाह गरी आएकी डाँडाघरे माइलाकी बुहारी हरीमायाले पँधेरोमा भनी, “बैदारनी बज्यैका घराँ अजातका केटाकेटी पसे । बारीको पल्लो पाटाबाट घाँस काटी लिएर आउँदै थें, मेरो माइती गाउँको डुमको छोरो मैले मेरै आँखाले देखेकी हुँ ।” यो कुरो एक कान दुई कान मैदान हुन कतिबेरै लागेन । बज्यैका कानमा पनि यो कुरो आइपुग्यो । उनलाई अब बडो सकस पऱ्यो । गाउँभरिका मान्छे गुहारिन् र भएभरको विवरण बताइन् । मुखिया विष्टले थुप्रै लठैतहरु भेला पारेर अह्राए,“यस गाउँमा नचिनेका सबै केटाकेटी खोजेर निकाल ।” लठैतहरुले बालबालिकालाई एकै क्षणमा समातेर ल्याइपुऱ्याए । बज्यैको आँगनमा राखेर एक-एक गरी सोधखोज् गरेपछि परिचय खुल्यो-एक, पुच्छर घरे दमाई कान्छाको छोरो डल्ले, दुई, शिलाङे हल्दार धने राईकी कान्छी छोरी सुन्तली र तीन, हरिशरण पुरोहितको छोरो नारायण । उनीहरू तिनैजनाका अभिभावक र आफन्तहरु भर्खरै गएको महाभूकम्पमा बिलाएका रहेछन् ...भञ्ज्याङ गाउँमा माइती भएकी हरिमायाको साक्षीप्रमाणबाट सबै कुरा खुल्यो । कतैबाट खान र बस्ने सुविधा नपाएपछि अनकण्टार भञ्ज्याङ बस्तीबाट ती तीन बालबालिका ज्यामिरे पाखातिर पसेका रहेछन् ।

“धेरै दिनसम्म हिँडेर आएका थिम्, ह्याँ आइपुग्दा भोकले हात-खुट्टै नचल्ने भइयो”, नारायणले भन्यो । डल्लेले कुरा थप्यो,“सुन्तली रुँदै थिई...यसलाई सम्झाउन सकिएन...ह्याँ बज्यैको घराँ यसो भित्र पसेर हेरेको, मन्दिराँ राख्या मिठाईको बट्टा भेटियो, झिकेर सुन्तलीलाई दिन यो नारायणले भनेपछि मैले त्यसै गऱ्या त हो निः ।” दुईजना बोलेपछि सुन्तलीले पनि बोल्ने हिम्मत कसी,“मिठाईले भोक टरेन, चुल्होमाथि भात पनि रै’छ, झिकेर खायम् ।”
बज्यैको आँगनमा मुद्दा फसेल्न बसेका पञ्च थिए । त्यही समूहमा दिल्लीमा रतनलाल माडवारीको नोकर बसेको लाहुरे अन्तरे पनि सामेल थियो । लाहुरे अन्तरे भञ्ज्याङ बस्ती, ज्यामिरे पाखा र ओखरबोटेतिर भूकम्पको खबर पाएर अत्तालिँदै आफन्त भेट्न आएको थियो । भूकम्पले सबै आफन्त गुमाएका भन्ने खुलासा भइसकेकोले सुन्तली र नारायणलाई लाहुरे अन्तरेले आफूसँगै लिएर जाने भयो तर, डल्लेको बारेमा कोही चुँ-सम्म बोल्ने आँट गरेन । तिनैजना बालबालिका बज्यैको आँगनमै टक्र्याक टुक्रुक बसेका थिए । “डल्लेलाई छोडेर अन्तरे काकासित म त जान्न”,लाहुरे अन्तरेको कुरा सुनेपछि नारायणले भन्यो । सुन्तलीले पनि डल्लेबिना आफूहरु कतै नजाने बताई । उनीहरूले भूकम्पमा सबै आफन्त गुमाएर भाग्दै हिँडेको बेला बाटोमा पैह्रोले पुरिएको कथा सुनाए । डल्लेले धेरै उपाय-जुक्ति कस्दै सुन्तली र नारायणलाई पैह्रोबाट झिकेर बँचाएको कथा पनि उनीहरूले सबैलाई सुनाए । तर, यस कुरामा कसैको चासो परेन ।

भारी स्वरमा मुखिया विष्ट बोले,“हरे हरे हरे...राम राम...दमाईको छोरो बज्यैका घरभित्र पसेछ, सतचुर्न भो । यो घर बिटुलो भो...!” पञ्च समूहमा रहेका खतिवडा साइँलाले मुख फोरे,“अब यो घरको शुद्धाशुद्धि गर्नुपर्छ ? बज्यैलाई ज्यूँदै नरकमा गाडेछ यस डुमको पुत्रले ।” यति भनेर उनले लामो सुस्केरा ताने । सबैले खतिवडा साइँलाका कुरामाथि सही थापे । कसैले आजै “चान्द्रायण” गरेर बज्यैको घर चोख्याउने सल्लाह दिए भने कसैले डल्लेले आजीवन बज्यैको कमारो बसेर घर चोख्याउँदा लागेको खर्चरकम भरपाई गर्नुपर्ने फसेला सुनाए ।


यो फसेला भइरहँदा पनि ओखरबोटेको व्यासबाट पण्डितको स्वर सबैले सुनिरहेकै थिए...,“भागवतमा भगवान् कृष्णले रसरंग भरि बाललिला गरेका छन् । दही चोरेको, गोपिनीका वस्त्र लुकाएको र गोकुलवासीका घर-घरमा पसेर दुनियाँलाई दिक्क पारेका थिए । तर, प्रभुको लिला...कसले जानेर सक्थ्यो र... त्यो बालक भगवानको साक्षात रूप थियो । त्यसैले बालबालिकामा भगवानको रूप हुनसक्छ । उनीहरूलाई दुर्व्यवहार कहिल्यै नगर्नु...उनीहरूको कल्याणका लागि सबैले सोच्नु...उनीहरूको उत्थान गर्नु...भगवानले तपाईँप्रति कृपा गर्नेछन् ।”

अघिदेखि मनमनै ती बालबालिकालाई सरापीरहेकी बज्यैलाई भूकम्प र पैह्रोको घटना विवरणले भित्रभित्रै पोल्न थालेको थियो । उनले सानामा आफू रातेपानी ठटालकी छोरी जुनकिरीसित खूब मिलेको कुरा सम्झिइन् । झत्ताका बेहुला-बेहुली बनाउँदै भोज लगाएको सम्झिइन् । आफू बेहुली बन्दा जुनकिरी भान्से बनेर भोज खुवाएकी सम्झिइन् । जुनिकीरीको घरमा गएर भुटेको मकै र मही खाएको पनि सम्झिइन् । एकदिन बाख्रा गोठालोमा खेल्दा खेल्दै लडेर टाउकोमा चोट लागेको, जुनकिरीले नजिकैको कुवाबाट अँजुलीमा पानी उघाएर खुवाएको उनलाई झलझली याद भयो । त्यतिबेला उनको जात कतै गएन । “मलाई पाप लागेको, मेरो जात गएको कुनै दिन कुनै पण्डित वा भगवान् आएर मलाई भनेको छैन”, अघिसम्म ती बालबालिकालाई सत्तोसराप गरेकोमा मनभरि पश्चातापको भारी बोकेर बज्यैले मनकै चौतारीमा बिसाइन् । कथाका कृष्णको बाललिलामा उनले यी सारा घटनाहरू तुलना गरिन् । मनमनै गुन्गुनाइन्,“धर्म भन्छन्, जात भन्छन्, शास्तरका (शास्त्रका) बात भन्छन्, आखिर के होलान् यी कुरा ! जतिजना पण्डित आए त्यति थरीका धर्म र संस्कार बताउँछन् । पुराण भन्नलाई व्यासमा बसुञ्जेल एक कुरा गर्छन् र व्यासबाट ओर्लिएपछि अर्कै कुरा भन्छन् । के चतुरेका बा’-ले भन्या जस्तो कागजका कुरा र व्यवहारका कुरा बेग्लै होलान् ?” बज्यैको मौन खुल्दुली यतिमा रोकिएन.“अचेल त झन् पार्टी र नेता भन्छन् ! ती नेता भनिनेहरुको कुरा गाउँमा पस्न थालेपछि जीवनको घाम दोसाँध हुञ्जेल छिमेकी बनेर अर्म-पर्म गरेकी कुलुङनी साइँली, खर्चले अठ्याङ परेको बेला निर्ब्याजी ऋण दिने फेदाङ्बा जेठो, खोर्सानी र नुन-भुटुनको ऐंचो-पैंचो चलाउने तल्लाघरे घिसिङ च्याङ्बा सबै मलाई हेरेर एकाएक ओठ लेप्र्याउन थालेका छन् । के भएर यस्तो भो ।” मनमनै बर्बराइरहिन् बज्यै धेरैबेर,“ती माथि बसेकाहरुलाई यो गाउँको खबर कसले लगिदेला ! कागजमा खै केजाति नियम लेख्ने भनेर आठ वर्षअघि भोट माग्न आएका ती राजधानीमा बस्ने ठुला मान्छेहरू फेरि कहिले गाउँ पस्लान् ! र, यी सबै कुरा आफ्नै मुखले तिनका अघि उभिएर भनम्ला”, अञ्जानमै सामाजिक-राजनीतिक जारगणको लालसा जाग्यो बज्यैको मनमा । ‘अब त झन् सबैलाई छुट्टा छुट्टै राज्जे बनाएर राख्ने’ रे भनेको सुनेपछि बज्यै खिन्न छिन्-“आखिर के होलान् यी कुरा । हामीले कसरी बुझ्ने यी कुरा, कसले बुझाउला यी कुरा !”

विरोधाभासका हरेक कुरा सम्झेर भित्रभित्रै उम्लिन लागेकी बज्यै धेरैबेरको मौनता तोड्दै पञ्चका अघि आएर एक्कासि बोलिन्,“म गर्दिनँ चन्द्रायण सन्द्रायण, मेरो घर बिटुलो भएको छैन !” पञ्चमा भाग लिइबसेका सबैले आँखा ठूल्ठूला पारेर बज्यैलाई हेर्नथाले । केही बेर अर्त-उपदेश र धाकधम्की चलिरह्यो तर, बज्यै बोलिनन् । अति भएपछि बज्यै जंगिँदै फेरि थपिन्, “के प्रमाण छ तिमीहरुसँग घर बिटुलो भएको ?” पुर्खादेखि मिलेर बसेका गाउँका सोझा-सिधालाई फटाउने तिमीहरू । कान्ला जोडेर दोहोरी-हुरी गरी ल्याएका छिमेकीलाई बझाउने तिमीहरू ! अस्ति भूकम्पपछि गएको पैह्रोले तल्ला गाउँमा मेरो छोराको घर पुरिँदा तिमीहरुले यस्तो चिन्ता देखाएनौ । मेरो हुर्केको नाति पैह्रोले पुर्दा खोज्न कसैले सघाएन । यो दमाई डल्ले मेरो नाति जस्तै हो । यसलाई म पाल्छु । यसको बाबुले मलाई नाति खोज्न पनि सघाएको थियो बरा ! कसले के भन्छ मलाई लु भन !” तीनैवटा बच्चाप्रति बज्यैको ममता पोखियो तर, सम्पत्ति थिएन । गरिबीको मारमा चेप्ट्याएर राख्नुभन्दा डल्लेबाहेक अरूलाई कसैले लगिदिए हुन्थ्यो भन्ने आशा राखिन् ।

यतिबेला पनि उता बजार-चोकमा नेताहरूको भाषण पनि चलिरहेकै थियो,“हिन्दु राष्ट्र घोषणा गरे देशको ऐतिहासिक पहिचान, शान्ति, अमन-चैन, समाज कल्याण र सामाजिक एकताको ग्यारेण्टी हुनेछ ।” यसो भन्नेहरुमा नारायणको बाबु हरिशरण पुरोहितका जस्ता आकृति देखिनेहरु धेरै थिए । 

केही क्षणमा बजार चोकमा चलेको भाषणको शैली फेरियो । अलिक बेग्लैखाले स्वर सुनियो । उनीहरू धर्म निरपेक्षताको पक्षमा नारा लाउँदै रहेछन् । “हिन्दु राज्य चाहिँदैन, निरपेक्षता बहाल गर्”, यस्ता नारासहित भाषणबाजी चर्किँदै थियो । आफूहरुले हिन्दूवादी राष्ट्र नचाहेको, आफ्नो जातीय पहिचान र धार्मिक अस्तित्वको रक्षा गर्न देशलाई धर्म निरपेक्ष नै घोषणा गर्नुपर्ने त्यस भीडका बोलक्कडहरु जोड दिँदै थिए । यस भीडभित्र सुन्तलीको बाबु, शिलाङे हल्दार, धने राईको जस्ता आकृति भएकाहरु धेरै देखिए ।

अझ केही क्षणमा नाराको शैली फेरियो । दलितहरुलाई पछि छोडेर देशको संविधान बनाउन नपाइने भन्दै अर्को जुलुस आयो...त्यस भीडमा भएकाहरु डल्लेको बाबु दमाई कान्छाको जस्ता आकृतिहरु थिए । हिन्दूवादीहरुले सदियौंदेखि आफूहरुलाई बहिष्कार गरेर सधैँ दोस्रो दर्जाको नागरिक बनाएको भन्दै यसको कडा प्रतिकार गर्ने यस भीडमा रहेकाहरुले कुर्लिँदै बताइएरहेका थिए ।

अघिदेखिका हिन्दूवादी...निरपेक्षतावादी र दलितहरुको तीन तियाली भीड एकै ठाम् पोको परेपछि हानाहान र तानातान सुरु भयो...। कसैका टाउका फुटे, कसैका हात-खुट्टा टुटे...आँखा र नाकहरु कुच्चिए ...। सुरक्षाको नाममा प्रहरीले पनि लाठी बर्सायो । गोली ठोक्यो । तर, यसमा फेरि पनि उही सधैँ थिचिएकाहरु नै पीडित भए । पेल्हिएकाहरु नै अझ चेप्ट्याइए । पुरिएकाहरु नै अझ गाडिए । हाँगा भाँचिएहरु नै अझ मठुह्रिए ।

यता बज्यैको आँगनमा पञ्चको अनेक डर-त्रास र धम्की अनि डल्लेप्रतिको बज्यैको ममताले पनि डल्ले, सुन्तली र नारायणलाई एकार्कामा छुट्याउन सकेन । सहरबाट भेटघाटको लागि आएकी बज्यैकी बहिनीपट्टिकी नातिनी सबिता अघिदेखि भीडको पछाडिबाट यी सारा कुरा सुनिरहेकी थिइन् । ती बालबालिकाप्रति बज्यैको एकाएक फेरिएको धारणा र डल्लेप्रतिको ममताले सबितालाई पनि भावबिह्वल बनायो । केही समयपछि अलिकति बोल्ने अनुमति माग्दै सबिताले भनिन्,“बालबालिकालाई यसरी डर-धम्की देखाउन मिल्दैन, देशको कानुनले तपाईँहरूलाई यो छुट दिएको छैन ।”

उनको कुरा सकिएकै थिएन, खतिवडा साइँला पाखुरा सुर्किएर उठे । “गाउँमा परम्परादेखि चलेको नियममाथि यसरी औंलो उठाउने यो कुन केटी हो ? यी बज्यैले पनि यही केटीको आड पाएर यत्रा भलापञ्चका सामु समाज भाँड्ने, जात मास्ने ठुलो कुरो गरेकी होलिन् ! मैले त भन्या हो निः छोरीहरुलाई सहर पठाएर पढायो भने यस्तै नफौरी हुन्छन्, कुल्टा...कुल-धर्मको नाश गर्ने आइमाई...!” अर्कोले थप्यो,“हाम्रो गाउँमा भालेमात्रै बास्छ, पोथी बास्यो भने त लोद्दर पो लाग्छ ।” अझ अर्को बोल्यो,“अब आइमाई र कुजातहरुकै राज्य चल्ने भो कि के हो...हामीलाई पुरुषार्थीको शासन थाम्न राजा चाहिन्छ, जात-धर्मको रक्षा गर्न हिन्दु राष्ट्र चाहिन्छ ।”

अन्त्यमा मुखिया विष्ट बोले,“यो आइमाई लोकतन्त्र, गणतन्त्रवादी नेताहरूको धर्म निरपेक्ष विचार फिँजाउन गाउँ पसेकी हो क्यार... धर्म निरपेक्ष हो कि सापेक्ष हामी बुझ्दैनौं । यस्ता कुरा हामी मान्दैनौं ।”

यद्यपि, सबिता कम हिम्मत भएकी केटी थिइनन् । आफूले निरपेक्ष सापेक्षजस्ता कुरा गर्न नचाहेको तर, बालबालिकामाथि जबरजस्ती भएमा कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी दिने, अदालतसम्म जाने भनेपछि बज्यैको आँगनबाट बिस्तारै उठेर सबै लुसुक्क आ-आफ्नो बाटो लागे । बज्यैले पनि सबितालाई अँगालो हालेर स्याब्बासी दिइन् । सबितालाई लाग्यो, यी बज्यैको जतिको चेत राजधानीमा बसेर संविधान लेख्छौं भन्नेहरुको मगजमा छ कि छैन ! भविष्यमा बज्यैलाई लगेर काठमाडौँमा यी कुरा बोल्न लगाउने प्रण पनि सबिताले गरिन् ।

आफन्त भेटघाटमा आउँदा यसरी गाउँको बेहाल देखेर हैरान भएकी सबितालाई एकै क्षण पनि त्यो गाउँमा अडिन मन लागेन । बज्यैको आँगनबाटै खुरुक्क फिर्ता भइन् । बज्यैको सल्लाहमा सबिताले ती तिनैजना बालबालिकालाई काठमाडौँ पुऱ्याएर ‘नमस्ते नेपाल’ नामको कल्याणकारी संस्थालाई जिम्मा लगाइन् । नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र अस्ट्रेलियामा दर्ता भएको ‘पून्य फाण्डेशन’-सँगको परामर्शमा अहिले ती बालबालिकाको शिक्षा सुचारु चलेको खबर छ । नमस्ते नेपालसँग सम्बद्ध सबिताले एक साता अघि मसँग फेसबुकमा च्याट गर्दै भनिन्,“अहिले ती तिनैजना नियमित स्कुल जान्छन्...संस्थाले उनीहरूलाई हस्टेलमै राखिदिएको छ । ती बालबालिकामा नयाँ उत्साह पल्हाएको छ...नारायणले आफ्नो नाम नारायण उपाध्यायबाट फेरेर ‘मानव नेपाली’ राखेको छ, यसरी नै डल्लेले पनि आफ्नो नाम ‘मित्र नेपाली’ र सुन्तलीले आफ्नो नाम ‘आशा नेपाली’ राखेका छन् ।”

ती बालबालिकाको थप उन्नतिको खबर सुन्न म दिन-दिनै फेसबुक र इमेलहरु खोल्ने गर्छु । हिँजो पनि अफलाइनमा नमस्ते नेपालकी राजकुमारी श्रेष्ठको सन्देश रहेछ...भनिएको थियो,‘मानव नेपालीका मामा निरोला पुरोहित हस्टेलमै आएर उसलाई लान खोजे । तर, आशा र मित्रलाई पनि सँगै लाने भए जाने नत्र नजाने मानवले अड्डी लियो । अबदेखि आफूलाई नारायण नभनी मानव नेपालीको नाममा बोलाउन पनि उसले निरोला पुरोहितलाई सम्झायो । निरोला पुरोहितलाई उसले गाउँको अवस्थाबारे कुरा गर्दै भन्यो,‘त्यतातिर अब नारा-जुलुसको सट्टा उन्नतिमा सबै लाग्छन् भने जाउँला; लडाइँ-झगडाको सट्टा गाउँमा स्कुल खोलेर बालबालिकालाई समानताको शिक्षा दिने भए जाउँला । गाउँमा जातपातको अन्धविश्वास त्यागेर भूकम्पबाट पीडित बनेका टुहूरा बालबालिकाको संरक्षण गर्न बालाश्रम खोल्ने भए जाउँला ।’ यस्तो जवाफको भारी बोकेर निरोला पुरोहित एक्लै बर्बराए,‘सत्यानाश भो, सत्यानाश, जातीय परम्परा मास्ने धर्मछाडा यी कुजातहरुले हाम्रो भाञ्जोलाई बर्बाद गराएछन् !’ निरोला पुरोहित फर्केर निकै पर पुगुञ्जेल उनको आवाज सुनिँदै,थ्यो,‘जात गयो, धर्म सकियो, अछूतहरुको राज चल्ने भो...अब भाञ्जोलाई गाउँ फर्काउनै नहुने भो, यसलाई लगेर आफ्नै घर बिटुलो किन पार्थें र... !’


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक