Similar Articles

लेख रचना

'वाइटूके बग' आतङ्क र' मिलिनियम बेबी'--रामचन्द्र भट्ट

बिराट नेपाल

सन् १९९९ लागेदेखिनै सूचना प्रविधि क्षेत्रमा त्रास थियो। सन् २००० को पहिलो सेकेण्डबाट संसारभरका हवाइजहाजहरु ग्राउण्डेड हुनेछन्, विद्युतकेन्द्रहरुबाट बिजुलीको उत्पादन बन्द हुनेछ। कम्प्युटरहरुले काम गर्नेछैनन् लगायतका यस्तैयस्तै चर्चाहरु हुन्थे। सूचना प्रविधिमा आफूलाई' मसिहा' ठान्नेहरुले पनि यसै हुन्छ भनेर ठोकुवा गर्न सकेको अवस्था थिएन। संसारभरि संन्त्रास थियो।
 
आइटी क्षेत्रको यो आतङ्कलाई …वाइटूके बग' नाम दिइएको थियो। अहिले आफूलाई सूचना प्रविधिको क्षेत्रमा रिपोर्टिङ गर्ने भन्ने त छाडौं विज्ञ ठान्नेहरुलाई पनि त्यो घटनाबारे थोरैलाई मात्र जानकारी होला। त्यो आतङ्कलाई …हो क्यार' भन्ने बनाउने एउटा आधार पनि थियो। त्यो हो–त्यतिखेरसम्म बनेका सबै कम्प्युटरहरुले वर्षलाई पछिल्ला दुई अंकमामात्र जान्दथ्यो। जस्तो कि–सन् १९९९ लाई कम्प्युटर र त्यससँग सम्बन्धित प्रविधिले …९९' का रूपमा मात्र चिन्थ्यो। समस्या कहाँनिर थियो भने सन् २००० लागेपछि पछिल्ला दुई अंक …००' मात्र हुनेभयो। जसलाई कम्प्युटरले बुझ्दैनथ्यो। अर्थात् यो भनेको इस्वि सम्वतको पहिलो वर्षमा पुग्नुको रूपमा कम्प्युटरले बुझ्छ भन्नेहरु पनि थिए। यही कारणले गर्दा सन् २००० को पहिलो सेकेण्डदेखिनै हजाईजहाजहरु ग्राउण्डेड हुनेछन् भन्नेसम्मका हल्ला व्याप्त हुन थाल्यो। नेपालमा सूचना प्रविधिका मसिहा भन्नेहरु पनि यस्तै हल्लामा …हो मा हो' को लोली मिलाउँदै भाषण गर्थे। 

पत्रकारितामा लागेको चार वर्ष पुग्दैथियो। नेपाल प्रेस इन्स्टिच्युटले बुटवलमा सञ्चालन गरेको …फिचर रिपोर्टिङ' तालिममा सहभागी भएको थिए २०५६ को कार्तिकमा। त्यही क्रममा …न्यूजविक' म्यागजिनमा …वाइटूक बग' शीर्षकमा प्रकाशित रिपोर्टिङ पढ्ने मौका मिल्यो। वैज्ञानिकहरू वाइटूके बगलाई समस्याका रूपमा आउन नदिन प्रयासरत थिए। तरपनि दुनियालाई विश्वास थिएन। मेरो दिमागमा पनि समाचारको विषय झट्टै फुरिहाल्यो–…लौ यो समस्याले विद्युतकेन्द्र पनि बन्द हुन्छ भनिएको छ। अब मेरो जिल्लाको त्रिशूली र देबीघाट जलविद्युत केन्द्रलाई आधार बनाएर म पनि समाचार बनाउँछु।'

तालिमबाट फर्केपछि स्यालको सिङ खोज्ने काम भनेझैं यही रिपोर्टिङमा लागियो। फोन गरेर भेटघाटको समय मिलाए त्रिशूली जलविद्युत केन्द्रका प्रमुख हितेन्द्रदेब शाक्य। (शाक्य यतिखेर विद्युत प्राधिकरणको व्यापार विभागमा छन्।) मेरो रिपोर्टिङको विषयवस्तु र चासो देखेर शाक्यले पनि निकै चाख लिनुभयो। वाइटूके बगले विद्युतकेन्द्रलाई कुनै असर नपर्ने र तयारी भैसकेको जानकारी शाक्यबाट मिल्यो। तर उहाँपनि ढुक्क हुनुहुन्थेन जनवरीको पहिलो सेकेण्डदेखि के हुन्छ भनेर। मेरो यो रिपोर्टिङ नेपाल समाचारपत्रमा प्रकाशित भयो।

यसपछि उहाँसँग धेरैपटक कुराकानी र भेटघाट भइरह्यो। यो विषयमा नुवाकोटबाट रेडियो सगरमाथामा रिपोर्टिङ गर्ने कपिल रिमाल र मैले धेरैनै चासो दियौं र यसको अवलोकनका निम्ति डिसेम्बर ३१ को राति जलविद्युत केन्द्रमै बस्ने निधो पनि भयो। 

–०–

सदाझैं पुस १४ गते राजा बीरेन्द्रको जन्मोत्सव। त्यसदिन कर्मचारी मिलन केन्द्र–११ र सभापति–११ बिच मैत्रीपुर्ण फुटबल थियो। बेलुकी बिदुरस्थित बागवानी फार्ममा भोज पनि। घर आइपुग्दा राति साँढे ८ बजिसकेको थियो। पत्नी लक्ष्मीलाई दिउँसैदेखि प्रशवव्यथा लागिसकेको रहेछ। डाक्टरले एकहप्तापछिको समय दिएका थिए। तर प्रशवव्यथा लागिसकेपछि घरमा राखिरहने कुरै भएन। 

नत मेरो घरमा फोननै थियो त्यतिखेर (अहिलेपनि छैन। तार चोरीभएपछि १० वर्षदेखि पिपल्टारमा अहिले ल्याण्डलाइननै छैन)। मोबाइल त कल्पनाभन्दा बाहिरको विषयथियो। काठमाडौँमा पनि भरखरै सुरु भएको थियो मोबाइल टेलिफोन। पिपल्टारमा एउटै सार्वजनिक टेलिफोन वुथ थियो। त्यही गएर रेयुकाई नुवाकोटको एम्बुलेन्सलाई बोलाएँ। रेयुकाईको एम्बुलेन्स सेवा त्यतिखेर जिल्लामै पहिलोमात्र नभएर निकै प्रभावकारी पनि थियो। जुन संस्थामा म आफै पनि सक्रिय थिए। 

त्यतिखेर त्रिशुली अस्पतालमा प्रमुख थिए डा.सुशीलनाथ प्याकुरेल। साह्रै गफाडी थिए। तर सहयोगी पनि। लागेको कुरा व्याङव्याङ भन्ने उनको बानी थियो। लक्ष्मीलाई लिएर भान्दाई वासुदेव पनेरु र तल्लो घरका काका सिताराम भट्ट सहित अस्पताल पुग्दा रातीको १० बजिसकेको थियो। डा. प्याकुरेल उनको आवासमै थिए। उनलाई फोन गरेँ। …ल म आइहाल्छु है त' भन्दै उनले फोन राखे। तर डाक्टरभन्दा पहिले आइपुगे मेरा साथी कपिल रिमाल। कपिललाई डा. प्याकुरेललेनै जानकारी दिएका रहेछन् म अस्पतालमा छु भनेर।
 
'ल भोलीसम्म बच्चा जन्मन्छ' डा. प्याकुरेलले सबै स्वास्थस्थिती जाँच गरिसकेपछि भने। उनले ड्युटीमा रहेका नर्सहरुलाई निर्देशन दिए–…उहाँकी बुढीलाई अलि हेरबिचार गर्नुस् है।'
भोलिपल्ट पनि डा. प्याकुरेलले मेरी पत्नीको स्वास्थस्थिती निकै जाँच गरे। चिन्ता लिनुनपर्ने ढाडस थिए। …पाठेघरको मुख खुलेको छैन। बच्चा बाहिर आउन त्यो मुख खुल्नुपर्छ,' उनी भन्थे। पुस १५ र १६ को दिनभरि त्रिशूली अस्पतालमै बसियो। तरपनि बच्चा पैदा हुन सकेन।

'ल यहाँ नहुने भयो अब, म वीर अस्पताललाई रिफर गरिदिन्छु। सिजरिङ (अपरेसन) नै गर्नुपर्ला जस्तो छ। यो सुविधा यहाँ छैन,' पुस १६ गते साँझ डा. प्याकुरेलले बोलाएर भन्नुभयो। डाक्टरलेनै त्यसो भनिसकेपछि बिरामीलाई त्रिशूली अस्पतालमा राखिरहने कुरै भएन। तर पहिलेदेखिनै पाटन अस्पतालमा जाँच गरिरहेको हुँदा पाटनमै रिफर गरिदिन आग्रह गरे।

तत्काल रेयुकाईको एम्बुलेन्सबाट राति साँढे नौ बजे लागियो काठमाडौँतिर। नेपाल भएपनि विश्वव्यापीकरणले छोइसकेको थियो। विक्रम सम्वतको नयाँ वर्षलाई भन्दा नयाँ पिढीले इस्वी सम्वतको नयाँ साललाई स्वागत गर्ने अनि मान्ने संस्कारले व्यापकता पाइसकेको थियो। अझ अर्को अर्थमा सन् १९९९ बिदा भएर २००० लाग्दै थियो। अर्थात् २० औं शताव्दी सदाको लागि बिदा भएर २१ औं शताव्दीमा प्रवेश गर्ने रात थियो त्यो। दुनियाले भन्ने गरेको रोग, भोग, अशिक्षा र पछौटेपनलाई बिदा गर्ने रात थियो। 

त्रिशूली विद्युतगृहमा प्राविधिकहरु सहित बसेर वाइटुके बगको परिणाम हेर्ने योजना बनाएको समयमा म काठमाडौँ र ललितपुर सिमानाको थापाथलीस्थित बागमति पुलमा थिए। पहिलेदेखिनै पत्नीको स्वास्थस्थिती जाँच गर्दै आएको पाटन अस्पताल जाँदैथिए म एम्बुलेन्सबाट। 

सारा दुनिया नयाँ शताव्दीमा प्रवेश गरेको खुसीयालीमा थियो। नेपालको …मिलिनियम बेबी' को हुन्छ भनेर मध्यरातमा पनि एफएम रिपोर्टरहरु अस्पतालमा कुद्दै थिए। पाटन अस्पतालमा राति सवा दुई बजे नयाँ बच्चा च्याँया... गर्दै रोएपछि एफएम रिपोर्टर ब्रेकिङ न्यूज लिएर बाहिरिए। 

डाक्टर र नर्सहरुको अथक प्रयासपछि जनवरी १ तारिक (पुस १७ गते) दिउँसो १ः२५ मा छोरा आरोग्यले धर्ती देख्यो। पाठेघरको मुख नखुलेपछि सिजरिङ गरेर निकालिएको थियो। 
छोरा आरोग्यले आज जनवरी १ बाट १६ वर्ष पुरा गर्‍यो। सन् २००० जनवरी १ मै जन्मिएको हुँदा उमेर जान्न कुनै हिसाब गरिराख्नुपर्दैन। जति साल भयो त्यत्तिनै उमेर। 

धेरैले बाबुको जन्म सन् २००० जनवरी १ मा जन्मदिन भन्दा दोहोर्‍याएर सोध्छन्। थाहा छैन किन हो? बाबु यता आइसके सोसियल सेक्युरिटी अफिस, स्कुल भर्ना आदीमा जन्म मिति दोहोर्‍याएर नभनेको ठाउँ कुनै छैन। 
दुनियामा दुई नौटंकी भए सन् २००० को पहिलो रात। प्रथम–वाइटूके बगको नामको आतङ्कले दुनियालाई कुनै असर पारेन भने मिलिनियम बेबी नामक …स्कूप न्यूज' को चर्चा। जसको चर्चा भोलीपल्टबाट यो दुनियामा कहिल्यै सुन्न परेन।
त्यहीपछि अहिले कम्प्युटर र यसजन्य सेवामा पछिल्ला दुई डिजिट होइन पुरै अंक राख्न थालियो। अहिले वर्षलाई पुरै चार अंकमा कम्प्युटरले बुझ्न थालेको छ। जस्तो कि तपाईँ हामीले प्रयाेग गर्ने कम्प्युटरले आजको मितिलाइ २०१६/१/१ का रूपमा लिन्छ। सन् २००० अघि जनवरी १ लाई ९९/१/१ का रूपमा मात्र चिन्थ्यो।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक