Similar Articles

लेख रचना

पत्रकारिता: भ्रम र वास्तविकता--लक्ष्मणदत्त पन्त

बिराट नेपाल

अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्र, खुला समाज, बहुलवाद र समावेशी समाज विकासको अभिन्न अङ्ग मानिन्छ । त्यसो त बोल्ने, लेख्ने र प्रत्यक्ष वा परोक्षरूपमा शब्द, चित्र, सङ्केत र हाउभाउमार्फत् आफ्ना विचार सम्प्रेषण गर्न पाउने अवसर र वातावरण मानव सभ्यताको उत्कृष्ठ वरदान हो । यस बरदानको अभ्यास गर्ने र गराउने थुप्रै माध्यममध्ये पत्रकारिता पनि एक हो । पत्र वा छापाको माध्यम (आधुनिक सन्दर्भमा रेडियो, अखबार, टेलिभिजन र अनलाइनलगायत आमसञ्चारका सबै माध्यम) बाट सूचनाको सङ्कलन, चयन, प्रशोधन, सम्पादन, सत्यापन र सम्प्रेषण गर्ने कार्य नै पत्रकारिता हो । पत्रकारिताको प्रक्रियामा गरिने चयन, प्रशोधन, सम्पादन तथा सत्यापनजस्ता सीप, योग्यता, क्षमता र जिम्मेवारीसँग सम्बन्धित विशिष्टकृत कार्यले यसलाई पेसा प्रमाणित गरेको र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न खोज्ने जोसुकैलाई पत्रकार मान्न नसक्ने छर्लङ्गै छ । सबै पत्रकार अभिव्यक्ति स्वतन्त्रताको अभ्यासकर्ता वा रक्षक भएको तर परम्परागत वा आधुनिक सञ्चारका माध्यममार्फत अभिव्यक्ति मात्र दिने यद्यपि विशिष्टकृत कार्यको दायरामा नबस्ने भएकाले अभिव्यक्ति दिने जति सबै पत्रकार होइनन् भन्ने विषयको हेक्का राखिए पत्रकारिताबारेको भ्रम र वास्तविकता बुझ्न सहज हुनेछ । 

छिटो र छरितो लाखौँ मानिसकहाँ सूचना पु¥याउन सकिने, फास्ट ट्«याकबाटै प्रसिद्धि कमाउन मिल्ने र दैनिक सयौँ क्षेत्र, आस्था, आबद्धता र पेसा अङ्गालेका व्यक्तिलाई सूचनाको स्रोत बनाउन सकिने विशेषताका कारण पत्रकारिताको चुम्बकीय शक्ति यो पेसा अपनाउने र पर्दामा बस्ने दुवैका लागि आकर्षक भएको हो । संवाददाताले समाचारका लागि सबेरै राजनेता, सूर्याेदयपश्चात नायिका, अपराह्न कृषक, साँझपख कूटनीतिज्ञ, राति ‘अण्डरवल्र्ड’सँग साक्षात्कार गर्ने र हरपल–हरक्षण अप्रत्यासितरूपमा हुनसक्ने दुर्घटना वा प्रकोपबारे निरन्तर निगरानी राख्नुपर्ने कार्य कम रोमाञ्चक, कठिन र चुनौतीपूर्ण छैन । यही कठिन र चुनौतीपूर्ण कार्यका निम्ति चियागफ र गसिप गर्नेले समेत मिडियाबाट उत्पादित र सम्प्रेषित विषयलाई राजनीति, समाज, अर्थतन्त्र, संस्कृति, भाषा, घटना, प्रवृत्ति र पात्रलाई बुझ्ने निर्विकल्प मञ्च मान्दै आएका छन् । 

लोकतान्त्रिक राज्यव्यवस्थामा राज्यका तीन अङ्ग–कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको कार्य सम्पादन, शक्ति सन्तुलन, शक्तिको दुरुपयोग, पारदर्शिता र गलत कार्यको नागरिक निगरानी प्रभावकारी नभए लोकतन्त्र कमजोर र निस्प्रभावी हुन्छ । आमसञ्चारमाध्यमको व्यापकताका कारण नागरिकका आवाज, सरोकार, समस्या र समाधानका उपायबारे विचार, विमर्श, छलफल र संवाद गराउने तथा राज्यका अङ्गको कार्य सम्पादनको अनुभूति भए नभएको समेत सार्वजनिक निगरानी राख्ने अधिकतम् प्रभावकारी र विश्वसनीय माध्यम भएकाले आमसञ्चार माध्यम र मूलतः त्यहाँ कार्यरत पत्रकारिताकर्मसँग आबद्ध संवाददाता र पत्रकारले यी अङ्गप्रति राख्नुपर्ने निगरानी महìवपूर्ण छ । 

सरकारले गर्नसक्ने शक्तिको दुरुपयोगको आकलन गरी सन् १७८७ मा ब्रिटिस संसद्का सदस्य एडमण्ड बर्कले संसदीय छलफलका क्रममा प्रेसले सरकार बनाउन र ढाल्नसक्ने र प्रेसको सामाजिक र राजनीतिक शक्ति नजरअन्दाज गर्न नमिल्ने भन्दै सर्वप्रथम ‘फोर्थ इस्टेट’ अर्थात् ‘चौथो अङ्ग’ शब्दको प्रयोग गरेका हुन् । लोकतन्त्रको सफलतामा प्रेसको महìवपूर्ण भूमिका रहने र पत्रकारले खोजमूलक समाचार तथा प्रभावकारी सम्पादकीयमार्फत लोकतान्त्रिक राज्य व्यवस्थाका अङ्गको प्रभावकारी कार्यसम्पादनका लागि निगरानी राख्नेसमेत उनले उल्लेख गरेका छन् । ‘चौथो अङ्ग’को उत्तरदायित्वलाई मध्यनजर गर्दै उच्चस्तरीय समाचार र पठनीय सामग्री उत्पादनका लागि पत्रकार पेसागतरूपमा दक्ष र तालिमप्राप्त हुनुपर्नेमा समेत बर्कको जोड छ । 

प्रेस, आमसञ्चारका माध्यम र पत्रकारले लोकतन्त्रको सवलीकरणमार्फत समतामूलक, न्यायपूर्ण, समान, समावेशी र बहुलवादी समाजको सिर्जना गरी शताब्दीयौँ अघि ‘चौंथो अङ्ग’का रूपमा दिइएको सम्मान कायम राख्न सक्छन् । प्रेस राज्यका अरू अङ्गजस्तो सुविधा र सहुलियत उपभोग गरी ती अङ्गसरह शक्तिको अहम्हकार प्रस्तुत गर्ने मानसिकताबाट टाढा नरहे नागरिक विश्वास घट्ने र नागरिक आवाज कमजोर भई लोकतन्त्र नै धरापमा पर्ने वास्तविकता बिर्सिनु हुँदैन । संसारको कुनै पनि संविधानमा प्रेस वा पत्रकारितालाई न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जस्ता राज्यका अङ्गजस्तो छुट्टै अङ्गको मान्यता नदिएको यथार्थसमेत मनन गरी प्रेसद्वारा निगरानी राखिनुपर्ने राज्यका निकायजस्तो हैसियत प्रेसले नै खोज्ने दुस्साहस पनि गरिनु हुँदैन । 

विभिन्न राजनीतिक आरोह तथा अवरोह झेलेको नेपाली पत्रकारिता र यसको विकास तथा समृद्धिमा संलग्न केही अभियन्ता, पत्रकार, झण्डै सबै पेसागत संघसंस्थालगायतले पनि ‘चौथो अङ्ग’को उचित व्याख्या गर्न नसक्दा प्रेसले राज्यकोषबाट प्रत्यक्ष लाभ लिएको र यस्ता घटनाले पत्रकारिताको विश्वसनीयता घटेको तथ्य लुकेको छैन । राज्यबाट प्रत्यक्ष लाभ लिइरहँदासम्म प्रेसले राज्यका अङ्ग र तिनको कार्यसम्पादन तथा शक्ति सन्तुलनबारे वास्तविकरूपमा निगरानी राख्न सक्दैनन् । पेसागत समस्याको समाधानका लागि निरपेक्षरूपमा राज्यसंयन्त्रको सहयोग र संलग्नता खोज्ने तर आचरणको सुदृढीकरणका लागि आत्मानुशासनको पालना नगर्ने कार्यले प्रेसप्रतिको जनविश्वास गुम्दै गएको तथ्य मनन गर्नु वाञ्छनीय छ । 

गतवर्ष पत्रकारको पेसागत सुरक्षासम्बन्धी पर्सा जिल्लाका पत्रकार महिलासँग यस पङ्क्तिकारले गरेको छलफलका क्रममा शून्य उत्प्रेरणाका बाबजुद पत्रकार कसरी यस पेसामा संलग्न रहन्छन् भन्ने तथ्य सार्वजनिक भयो । जिल्लाका विभिन्न एफ. एम. रेडियोमा कार्यरत २६ जना पत्रकार महिलामध्ये कसैले पनि परिचयपत्र नै नपाएको तर उनीहरूसँग कार्यरत पुरुषले परिचयपत्र र नियुक्तिपत्र दुवै पाएको सन्दर्भले मिडियामा हुने लैङ्गिक विभेद छर्लङ्ग भयो । परिचयपत्रबिनै किन काम गर्ने भन्ने प्रश्नमा केही सहभागी पत्रकार महिलाको जवाफले नेपाली पत्रकारिताको भ्रम तथा वास्तविकतासमेत स्पष्ट भयो । उनीहरूको जवाफ थियो, ‘पत्रकारिता नशा हो, छोड्न सकिँदैन । ’ केही समयअघि इलामको एक होटलमा खाना खाने क्रममा सो होटलको म्यानेजर बताउनेले भने, ‘सर पत्रकारको कार्ड लिन के गर्नुपर्छ ?’ होटल म्यानेजर बन्न के गर्नुपर्छ भन्ने मेरो प्रतिप्रश्नको आशय बुझेर उनले पत्रकार बन्न त्यति असजिलो नभएको, हिजो मात्रै एक अर्को होटलको उनको साथीले पत्रकारआबद्ध संस्थाको निर्वाचन प्रयोजनका लागि केही हजार रुपियाँ तिरेर सदस्यता र परिचयपत्र लिएको वृतान्त सुनाए । पत्रकारका असीमित अधिकार, पहुँच र रवाफ हुन्छन् भन्ने भ्रमले होटलका म्यानेजर पत्रकार बन्न लालायित भएको देखियो । 

पत्रकार, पत्रकारिता र आमसञ्चारका माध्यमलाई समाजको ऐना, निगरानी राख्ने निकाय, ‘वाचडग’, दोस्रो भगवान् आदि पदवीबाट पनि सम्बोधन गरिन्छ । अमेरिकी राष्ट्र«पति रिचर्ड निक्सनलाई राजीनामा गराउन बाध्य बनाउने ‘वाटरगेट स्क्याण्डल’ होस् वा अन्तर्राष्ट्रिय शान्तिपूर्ण अभियानका कथा विश्वजनमानसलाई जानकारी गराउन वा हाम्रा सन्दर्भमा समयसमयमा अधिनायकबादविरूद्ध नागरिक आवाज बुलन्द पार्न – प्रेसको भूमिका अग्रणी र स्मरणीय छ । यस भूमिकाको कदर गर्न सामाजिक सम्मानस्वरूप नागरिक तहबाट प्रेसलाई गरिने विश्वास कायम राख्नसकेमात्र यी पदवी कायम रहन्छन् भन्ने हेक्का सबैलाई होस् । 

मिडियालाई उद्योग दाबी गर्ने, पत्रकारितालाई पेसा मान्ने र प्रेसमा विशिष्टिकृत विधाको समेत अभ्यास थालिएको सन्दर्भमा प्रेस वा पत्रकारितालाई राज्यको चौंथो वा अरू कुनै अङ्गका रूपमा अर्थ लगाइनु भ्रमसिवाय केही होइन । पत्रकारलाई शिकायतकर्ता, टिप्पणीकार र राष्ट्रका शिक्षक मानिनुमा तिनले शक्तिकेन्द«माथि गर्ने निगरानी र पहुँचविहीनलाई शब्द, चित्र, ध्वनि वा दृश्यमार्फत उपलब्ध गराउने मञ्चका कारण हो । संसदीय छलफलका क्रममा शताब्दीयाँै अघि एक पेसाको भूमिकालाई लिएर राज्यको चौंथो अङ्ग भनिएको सन्दर्भलाई संवैधानिक अधिकारजस्तो ठानी पत्रकारिता राज्यको चौंथो अङ्ग हो भन्नु भ्रमसिवाय केही हैन ।

साभार: गोरखापत्र


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक