Similar Articles

लेख रचना

अमेरिकाको नेपाली समाजमा आएका केही चुनौतीहरू- अग्नी चौलागाइ

बिराट नेपाल

अमेरिका जस्तो विकसित देशमा हामीहरू आएका छौ, सबै आ-आफ्नो काममा व्यस्त छौ । व्यस्त समयका बाबजुद हामीहरू आफ्नो भाषा तथा संस्कृति जोगाउने कार्यक्रमहरूमा आफू र आफ्ना नानीहरूलाई समेत लिएर जान्छौ । दसैँ, तिहार, नेपाली नयाँ वर्ष होस् वा ल्होसार जस्ता पर्व मनाइ रहेकाछौ । यस्ता कार्यक्रमहरूमा भाग लिंदा पहिलो पुस्ताका हामी नेपालीहरू प्रत्यक्ष रूपमा रमाइरहेका हुन्छौ भने दोस्रो पुस्तामा हुर्कीरहेका कोही आफ्नै इच्छाले त कोही अविभावकको करले भाग लिइरहेका हुन्छन् ।

अमेरिका आफैमा व्यस्त जीवन शैली भएको देश जहाँ हरेक महिनाको बिलले कुरिरहेको हुन्छ । महिना सकिनासाथ घरमा बिल आउन सुरु हुन्छ । कसैका आफन्तहरु नेपालमा छन् भने विदेशमा हुनेले राम्रों सँग पैसा कमाएको छ, अझ त्यो माथि अमेरिकामा हुनेले त रुखबाट पैसा टिप्छन भने झैँ मेरो यति खाँचो थियो केही पैसा पाहिन्छ कि भनेर माग्ने चलन अझ छ । अमेरिकामा भएका हरेक महिनाका बिलदेखि नेपालका आकाङ्क्षा समेत पुरा गर्नुपर्ने हाम्रा बाध्यता बिचबाट हाम्रा दिन चर्या बढिरहेका हुन्छन् । यस्तै व्यस्त दैनिकी भित्रका घटनाक्रमका बिच हामी सङ्घर्ष गर्नको लागि अमेरिका प्रवेश गरेका हुन्छौ ।

अमेरिकामा प्रवेश गरेसंगै अपत्यारिलो ढङ्गमा पुराना र नयाँ, पैसा कमाएका र नकमाएका, व्यापारमा स्थापित भएका र भर्खर सुरु गरेका, सङ्घर्ष गर्दै गरेको विद्यार्थी र जागिर पाएको विद्यार्थी, अमेरिकामा स्थाई रूपमा बस्न अनुमति पाई सकेको विद्यार्थी र नसकेको विद्यार्थी यस्तै फेहरिस्त प्रकारले नेपालीहरू छुट्टिन गएको जस्तो देखिन्छ । एउटा विद्यार्थी आफ्नो समस्या भित्र तड्पिरहेको छ भने अर्को स्थापित भईसकेको व्यक्ति आफ्नो पहिचानको खोजीमा निस्किरहेको देखिन्छ । प्रवासमा सामान्यतया आर्थिक रूपमा स्थापित भएकाहरु नै पहिलो नम्बरमा सामाजिक सङ्घ-संस्थाको स्थापना र दौड धुपमा लागेका देखिएकाछन । भर्खरै प्रवासमा आएको मानिसले खासै रुचि देखाएको भेटिदैन । मानिस सामाजिक प्राणी हो उस्का आवश्यकताका भर्यांगहरु बढ्दै जाने सिद्धान्त अनुसार कुनै क्षेत्रमा स्थापित भएपछि समाजमा आफूलाई कुनै रूपमा चिनाउन सकूँ भन्नु स्वाभाविक देखिन्छ । तर, शैक्षिक, आर्थिक, व्यावसायिक जस्ता क्षेत्रमा स्थापित भएको व्यक्तिले समाजमा आफूलाई अगाडी बढाऊदा उसबाट समाजले फाइदा लिने वा केही सिक्न सक्ने वातावरण हुनु पर्दछ न कि भर्खरै स्थापित हुन खोजेको नयाँ व्यक्तिको लागि बोझ ।  

प्रवासमा नेपालीहरूका अनेकौँ संस्थाहरू छन् । अमेरिकामा मात्र नेपालीका हजारौँ संस्थाहरू भएको अनुमान गरिन्छ । कुनै संस्थाहरू आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएका छन् भने कैयन संस्थाहरू सामाजिक सेवा गर्ने उद्देश्यबाट सुरु भएका छन् । अमेरिकामा रहेका सबै संस्थाहरू किन स्थापना भएका हुन? संस्थाको उद्देश्य विधानमा के उल्लेख गरिएको छ ? के गर्नु पर्ने हो, के गरी रहेका छौ ? जस्ता विषयमा हाल सम्म कुनै संस्थाले समीक्षा गरेको जस्तो देखिएकोछैन । आम मानिसहरूको चाहना अनुसार हामी चलेका छौ कि छैनौँ भनी आफ्ना गतिविधिको जानकारी गराउदै भावी कार्यक्रम सर्वसाधारणको चाहना मुताविक बनाउदै लैजानुपर्ने आवश्यकता देखिदै गएको छ । सबैलाई आफ्ना कुराहरू समावेश गर्ने मौका प्रदान गर्दै उनीहरूका चाहना मुताविकका कार्य गर्ने जाँदा निश्चित रूपमा सबैलाई मेरा कार्यक्रम भइरहेको छ र यो मेरो संस्था हो भन्ने अनुभूति गराउने जरुरत टट्कारो रूपमा देखिएकोछ ।    

संस्था विकासको क्रममा सुसुप्त अवस्थाबाट क्रमशः विकास हुँदै जानु पर्ने स्वाभाविक भएता पनि आफ्नो उद्देश्य अनुरूपका कार्य गर्दै गएमा मात्र ठोस लक्ष्य प्राप्त गर्न सकिन्छ । संस्थाले कस्को लागि के काम कसरी सम्पन्न गर्ने भन्ने योजना सहित आएमा मात्र हामी नेपालीहरूका सबै समूहका व्यक्तिहरू लाभान्वित हुन् सक्नेछौ । 

एउटा भर्खरै नेपालबाट अमेरिका आएको व्यक्ति प्रत्यक्ष रूपमा यहाँ स्थापित भएको व्यक्तिबाट लाभान्वित हुने वातावरण बनाउनु पर्छ । अमेरिकाका केही राज्यमा संस्थाले एयरपोर्टबाट सित्तैमा पिकअप गरेर ल्याउने गरेको सुनिएको छ । यस्ता कार्यहरू नवआगन्तुकका लागि राम्रों हुने देखिन्छ भने अझ जागिर खोज्न समेत सामूहिक रूपमा पहल गर्ने वातावरण गर्ने हो भने सुनमा सुगन्ध हुन् सक्दछ । 

अमेरिकामा रहेका नेपालीहरुमा ठुलो हिस्सा विद्यार्थीहरू रहेको अनुमान गरिन्छ । सबै सङ्घ-संस्थाहरूमा युवा वर्गको खासै उपस्थिति छैन भने बिधयार्थिलाई समेटेको त झनै भेटिन्न । हामीले नेपालबाट अमेरिकामा आएर सङ्घर्ष गरिरहेका यो वर्गलाई कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने तर्फ कहीँ कतै चर्चा र योजना बनेको पनि सुनिएको छैन । युवा वर्गको कुरा गर्ने हो भने अमेरिका भित्र हुर्कंदो दोस्रो पुस्ताको समेत पहिलो पुस्ताले गर्ने विभिन्न खाले कार्यक्रममा खासै उपस्थिति हुन्न वा भएमा पनि कार्यक्रम स्थल बाहिर साथीभाई बिच बसेर गफगाफ गरिरहेकोमा सीमित देखिन्छ । 

मेरा एक जना साथीले अमेरिकामा हुर्कदो आफूलाई मान्नु पर्छ भन्ने संस्कारमा तितो पोख्दै भन्नुभयो “अमेरिकामा आफ्नो गरेर सबैले खाएका छन्, यदि मैले नै उसलाई नमस्कार गर्न किन सम्बन्ध बढाउनु पर्‍यो त?” साथीले अझ अगाडी थप्नु भयो सम्बन्ध भनेको दुवैले एक अर्कालाई आदारभाव प्रकट गर्दै गर्ने हो, यसमा कोही सानो र ठुलो हुनु हुँदैन, समस्या पर्दा एक अर्कालाई दोहोरो आवश्यकता पर्ने हुँदा समान रूपमा सहयोग लेनदेन हुने गर्नु पर्दछ । 

केही संस्थाका प्रतिनिधिहरुसंग कुरा गर्दा सधैँ आफूले नमस्कार गरे पछि पनि कहिल्यै आफूलाई नमस्कार नगरेको समेत एक जना बताउदै थिए । ऊनी आफ्नो मनको तितो पोख्दै थिए “संस्थामा पद लिन हान थाप गरेको धेरै नमस्कार लिन पाहिन्छ भनेर पो हो कि?” 

कैयन अवस्थामा खादा, माला र नामको अगाडी धेरै पद जोडी बोलाउदा आनन्द लाग्ने भएर पनि हुनु पर्छ, केही व्यक्तिमा त पदको लाइन नै लागेको हुन्छ, के भनेर बोलाउने त्यो नै मुस्किल छ । पद प्राप्त गरेका केही व्यक्तिहरू आफू अरू भन्दा भिन्न वा केही माख्लो दर्जामा रहेको प्रस्तुत गर्न समेत भित्र देखि नै बल पुर्याइरहेका हुन्छन् । 

प्रवासमा बसेर सबैले आ-आफ्नो गरेर खाइरहेका छौ, आप्रवासी नेपालीको बढ्दो सङ्ख्या सँगै रितिरिवाज, धर्म, संस्कृति, भाषाका संरक्षण गर्ने लगायतका सामाजिक संस्था खुल्नु स्वाभाविक हुन् तर हामीले यसलाई आफ्नो मान बढाउने भन्दा हाम्रो समाजको सान बढाउने गरी उदाहरणीय रूपमा बढाऊदै लैजानु पर्दछ र यस्तो कार्य गर्न अग्रसर रहने व्यक्तिहरूलाई नै प्रश्रय दिनु पर्दछ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक