Similar Articles

लेख रचना

ज्ञान र प्रेमको पूजा--विजयराज शर्मा

बिराट नेपाल

यो वर्ष सन् २०१६ मा सरस्वतीपूजा र भेलेन्टाइन्सडे एकै दिन पर्‍यो । अमेरिकामा बस्ने प्रवासी नेपालीहरूले पुस्तक र देवीको तस्बिरलाई पुजेर सरस्वतीपूजा तथा आफूले मन पराएका व्यक्तिलाई फुल र भेटी चढाएर प्रीतिपूजा मनाए । पूजाका यी विधिले यी दिवसहरूको महत्त्वलाई सङ्केत गर्दछन् नै, यिनले ज्ञान र प्रेमलाई आत्मसात गर्न पनि हामीलाई अभिप्रेरित गर्दछन् । आत्मसात आवश्यक छ, किनभने आफ्नै मस्तिष्कमा भण्डार नगरुन्जेल पुस्तकभित्र मात्र रहेको विद्या चाहिया वेला प्रयोग गर्न सकिन्न र प्रेमलाई मुटुभित्र नसंगालुन्जेल फुल र भेटीले मात्र प्रेम साटन सकिन्न ।

मानिस चैन खोज्छ वैभवमा । तर, ऊ भेटदैन चैन, जसरी भेटदैन चैन क्षीर सागरदेखि किनारसम्म दगुरिरहने छालले । जसरी भेटदैन जल मरिचिकाको पछि दगुर्ने प्यासा मृगले । जति वैभव बटुल्छ मान्छे, उति टाढा भाग्दछ चैन ऊदेखि, हातबाट माछा चिप्ले जस्तै । कारण, वैभवप्राप्तीमा होइन, ज्ञानप्राप्तीमा बस्दछ चैन । यही मर्मलाई बुझ्ने पर्व हो सरस्वतीपूजा । ज्ञानसमृद्ध व्यक्तिलाई एकपटक हेरे पुग्छ, कसरी फलले लटरम्म रूख जस्तै शान्त र विनम्र हुन्छ ऊ । कसरी श्रृखण्ड जस्तै ज्ञानको सुवास सर्वत्र फैलाइरहन्छ ऊ । 

अब अलिकता चर्चा प्रीतिदिवसको पनि गरौँ । वाणीको भाखाको सट्टा आँखाको भाखाले सुटुक्क प्रेमको इजहार गर्ने हो हाम्रो पूर्वीय संस्कृतिको परम्परा । त्यस परम्परालाई अझ एक कदम अघाडि बढाउँछ भेलेन्टाइन्सडेले । प्रेमको इजहार गर्न फुल र भेटीको माध्यम अपनाउँछ यसले । टाढाबाट होइन, नजिक गएर प्रेयसीलाई भन भन्छ यो । अप्रत्यक्ष होइन, सिधा प्रत्यक्ष पहुँचको सिफारिस गर्छ यो । यो पश्चिमी परम्परा अंगाल्नुअघि बुझ्न के आवश्यक छ भने, फुल र भेटीबाट मात्र पल्लवित भएको प्रेम जगबिनाको घर हो, जुन सानो परकम्पनले पनि भत्किन सक्छ । मुटुमा गाडिएको माया मात्र अटल हुन्छ र त्यस्तो मायालाई फेरि फुल र भेटीको भने आवश्यकता पर्दैन । त्यस्तो प्रेमको सुवास प्रेमिकासम्म आफै पुगिरहेको हुन्छ, जसरी नदी बगेर पुग्दछ सागरसम्म । 

कसै-कसैको मात्र होला मुटु ढुङ्गा जस्तो । नत्र त मुटु कोमल नै हुन्छ, फुल जस्तै नरम पत्र-पत्रले बनेको । प्रेमको पहिला सङ्केतमा मुटुको सबभन्दा माथिल्लो पत्रमा अंकित हुन पुग्छ प्रेमिकाको रूप । जब प्रेम गाढिन थाल्दछ र प्रेमरस पस्न थाल्दछ मुटुको भित्री-भित्री पत्रमा, बदलिन थाल्दछ प्रेमी, जसरी चास्नीको रसमा डुबेको खुवाको डल्लो बदलिन्छ रसबरीमा । अनि त, प्रेमीले देख्न थाल्दछ प्रेमिकाको भित्री रूप । अब उसका लागि प्रेमिकाको बाहिरी रूपको कुनै महत्त्व रहन्न । पहेंलै बोक्रा भए पनि काग गुदी खान छोडी बोक्रामा किन अल्झिन्छ र ? यस तहको प्रेमको उत्तम उदाहरण हो मातृत्व । कुरूपै किन नहोस् छोरा, उसकी आमालाई सोध ऊ कति सुन्दर छ । त्यसैले त हिन्दीमा कहावत छ – “तेरी सुरत मेरी आँखें,” र त्यस्तै भनाई छ अङ्ग्रेजीमा – “ब्युटी लाइज इन द आइज अफ द बिहोल्डर ।” 

जब प्रेमीको हृदयका सबै पत्रहरू भित्र-भित्रसम्म प्रेमरसले सिंचित हुन्छन्, त्यस वेला प्रेमी प्रेमिकाको प्रतिरूप बन्दछ, ऊसँग एकाकार हुन पुग्दछ । प्रेमिकालाई ठेस लागे, यस्तो प्रेमी ‘ऐया’ भन्न पुग्दछ । प्रेमिकालाई दुखे, उसका आँखामा बलिन्द्र आँसुका धारा बग्छन् । प्रेमिका खुसी भइन् भने, उसको अट्टहास सुन्न पाइन्छ । यस स्तरको प्रेमलाई भक्ति भन्दछन् । यस्तो स्तरको प्रेमीको छाती चिरेर हेर्नुभो भने, उसको हृदयमा प्रेमिकाको चित्र छर्लङ्ग देख्नुहुन्छ । हनुमानको हृदयमा सीताराम जस्तै । मीराको हृदयमा बालगोपाल जस्तै । त्यसैले यस्तो पराकाष्ठामा पुगेको प्रेमीको सम्मान गर्नु उसको प्रेमिकाको सम्मान गर्नु हो । हनुमानको पूजा रामको पूजा हो । मीराको पूजा कृष्णको पूजा हो । प्रेमको यिनै उच्च तहहरूलाई बुझ्न अभिप्रेरित गर्ने दिन हो भेलेन्टाइन्सडे । 

ज्ञान र भक्ति (प्रगाढ प्रेम) दुवै उपासना हुन्, तपस्या हुन् । ज्ञानी र भक्तमा दम्भ र अभिमान हुन्न । उसमा आफ्ना लागि कुनै चाहना हुन्न, तर ऊ अरूलाई तृप्त पार्ने सक्षमता राख्दछ । पाठकहरू, तपाईँकी आराध्या प्रेमिकाले तपाईँलाई यस्तै प्रेमलीन भक्त बन्न अभिप्रेरित गरून् र सरस्वती माताले तपाईँलाई ज्ञानको सत्मार्गमा लाग्ने सदबुद्धि प्रदान गरु यही याचना गर्न चाहन्छु । जय सरस्वती माते ! जय प्रेम ! 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक