Similar Articles

लेख रचना

नेपाली राजनीतिका चरित्रिक विशेषताहरू--डा. टीकाराम पोखरेल

बिराट नेपाल

राजनीतिको अर्थ राज्यको नीति हो । राजनीतिक नेतृत्वले नै राज्यको नीतिनिर्माण गर्दछ । राजनीति शासन प्रणालीको मियो पनि हो । राजनीतिले राज्यको नीतिप्रति दुरदृष्टि राख्न सक्नुपर्दछ । राजनीतिले समाजलाई नेतृत्व प्रदान गर्दछ । राजनीति भनेको समाजमा बसेका मानिसहरूले निर्णय गर्ने पद्धति पनि हो । समाजमा सहमति र समझदारी कायम गर्ने माध्यम पनि राजनीति नै हो । कुनै देशले अवलम्बन गरेको राजनीतिक पद्धति भनेको त्यो देशको दर्पण पनि हो । 

राजनीतिका यी सैद्धान्तिक पक्ष भए पनि व्यवहारतः समाजमा राजनीतिलाई भिन्न तरिकाले बुझिन्छ । कसैले राजनीतिलाई खेल भन्दछन् भने राजनीतिप्रति अलि नकारात्मक धारण राख्नेहरु त राजनीतिलाई फोहोरी खेल नै भन्न रुचाउँछन् । राजनीतिलाई पेसा भन्न चाहनेदेखि राजनीतिलाई व्यापार बुझ्नेसम्म छन् । राजनीतिले जनमानसमा जे जस्तो छाप छोडेको छ व्यवहारतः त्यस्तै बुझ्ने गरिन्छ । आजको व्यस्त युगमा राजनीतिलाई सिद्धान्तको कसीमा विश्लेषण गर्ने मानिसको अभाव छ । त्यसकारण आफूले देखे, भोगे र अनुभूति गरेअनुसार राजनीतिलाई बुझ्नु नौलो कुरा पनि होइन ।

राजनीतिक दर्शनको हिसाबले राजनीति एक विशिष्टीकृत र सर्वमान्य शास्त्र हो ।सिद्धान्ततः राजनीतिप्रति राजनीति शास्त्रीहरुको एकै प्रकारका धारणा भए पनि व्यवहारतः हरेक देशका राजनीतिका भिन्न भिन्न चरित्रहरु छन् । नेपालको पछिल्लो समयको राजनीतिलाई चिरफार गर्दा नेपालको राजनीतिका यस्ता चरित्रहरु देखिएका छन् ।

सिद्धान्तविहीन सिद्धान्त:
भनिन्छ राजनीतिको आधार सिद्धान्त हो । कुन देशले कस्तो राजनीतिक व्यवस्था अवलम्बन गर्ने भन्ने कुरा त्यो देशको संविधानमा व्यवस्था हुन्छ । त्यस्तै संविधानसँग नबाझिने गरी राजनीतिक दलहरूले आफ्नो दलले अवलम्बन गरेको सैद्धान्तिक धरातलमा पार्टी सङ्गठनहरू निर्माण गर्छन् । नेपालमा पनि २००७ सालपछि राजनीतिमा सिद्धान्तको लामो बहस भयो । नेपाली काँग्रेस जस्ता पार्टीहरूले समाजवादलाई अँगाले । कम्युनिस्ट पार्टीहरूले साम्यवादको स्थापनाका लागि भन्दै सशस्त्र सङ्घर्ष समेत गरे । तर पछिल्लो समयमा आइपुग्दा के कम्युनिस्ट के काङ्ग्रेस के अन्य दलहरू सबैको धरातल एउटै बन्न पुग्यो । ती पार्टीहरूको सैद्धाान्तिक दस्ताबेज फरक भए पनि व्यवहारतः सबैको शैली उस्तै छ । नेताहरूको चरित्रमा पनि फरकपन देखिएन । सिद्धान्तको कुरा पनि गर्ने तर त्यो सिद्धान्त बमोजिम चल्न पनि नसक्ने सिद्धान्तविहीन सिद्धान्तमा राजनीतिक दलहरू चलिरहेका छन् ।  

टुट फुट र गुटबन्दी:
टुट फुट र गुट बिनाको राजनीति यतिबेला नेपालको राजनीतिमा कल्पना बाहिरको कुरा भएको छ । एक अर्को पार्टी बिच दुरी त छँदैछ त्यो भन्दा पनि खतरनाक र डरलाग्दो दुरी आफ्नै दलको गुट उपगुट बिच छ । कुनै पनि दलको प्रमुख प्रतिद्वन्द्वी खोज्नुप¥यो भने अर्को दलतिर दृष्टि सोझ्याउनु पर्दैन, बरु आफ्नै दलभित्रको गुट खोज्नुपर्छ । पार्टी टुक्रने, जोडिने र नयाँ पार्टी खोल्नेको सङ्ख्या नेपालको राजनीतिक इतिहासमा कति पुग्यो एकीन हिसाब आउन असम्भव छ । गुटबन्दीको असर नपरेको दल खोज्न कठिनप्रायः छ । गुटबन्दीको असर यतिसम्म छ कि जतिसुकै राम्रो नेता भए पनि उसले कुनै न कुनै गुट नसमाती न चुनावमा उम्मेदवार बन्न पाउँछ, न पार्टीभित्र कुनै स्थान पाउँछ । गुट विना उम्मेदवार बनिहाले पनि उसले चुनाव जित्दैन । 

चुनावमुखी राजनीति:
देशको राजनीति शतप्रतिशत चुनावकेन्द्रित छ । जब चुनाव आउँछ तब चुनावी लहर लिएर राजनीति गाउँगाउँसम्म मात्र होइन, घरघरमा पनि पुग्छ । चुनाव बाहेक अरू बेला देशमा के भैरहेको छ गाउँमा त परै जाओस् जिल्ला तहमा समेत थाहा हुँदैन । चुनावमा दल र नेताहरूले गाउँ ढाक्छन् । अरू बेला काठमाडौँ ढाक्छन् । खासगरी ठुला नेताका वरिपरि नै मझौला र साना नेताको दिनचर्या बित्छ । जनतालाई चुनावी भोट बैङ्क बाहेक अन्य समय पूर्णत बिर्सने गरिन्छ ।

सामाजिकीकरणको अभाव:
चुनावमुखी राजनीति भएकै कारण नेपालको राजनीतिको सामाजिकीकरण हुन सकेन । सर्वसधारणले राजनीतिलाई आफ्नो सम्पत्ति भन्ने ठानेनन् । जनताले राजनीतिलाई विशुद्ध दल र नेताको पेवा विषय ठाने । नेताले पनि राजनीतिलाई आफ्नो पेवा बनाए । नेता र जनता बिचको खाडलले गर्दा जनता राजनीति प्रति उदासिन भए । राजनीतिक शिक्षा गाउँगाउँ तहसम्म नपुग्दा राजनीति र जनता बिच ठुलो दुरी रह्यो ।

अराजनीतिक गतिविधि:
राजनीति भनेको देश र समाजको दर्पण हो । समाजले राजनीतिसँग कुनै न कुनै सामाजिक गतिविधिको अपेक्षा राख्दछ । हाम्रो समाजमा पनि दिनहुँ राजनीतिक गतिविधि भई नै रहन्छ । समाजलाई सबैभन्दा बढी प्रभाव राजनीतिले पारिहेको छ । दैनिक पत्रपत्रिका र अन्य समाचार माध्यम हे¥यो भने पनि राजनीतिक गतिविधिका समाचार नै बढी प्रचारप्रसार हुन्छन् । तर त्यो राजनीतिक गतिविधि सबै अराजनीतिक देखिन्छ । राजनीतिको नाममा बन्द, हड्ताल चक्काजाम, विरोध, असहयोग जस्ता अराजनीतिक गतिविधि हुन्छ । बन्द, हड्ताल त नेपाली राजनीतिको पर्याय नै बनिसकेको छ । त्यसैले पछिल्लो समय हामी यस्ता अराजनीतिक गतिविधिलाई राजनीतिक नै मान्न थालिसकेका छौँ । अराजनीतिक गतिविधि नै राजनीति हो भनेर दाबी गर्न थालेपछि जनताको राजनीतिप्रति वितृष्णा बढ्न थालेको छ ।

व्यक्ति हाबी:
राजनीति सिद्धान्त, विचार र पद्धतिले चल्नुपर्छ । तर नेपालको राजनीति सिद्धान्त, विचार र पद्धतिले चल्दैन । व्यक्ति हाबी छ । कुनै कार्यकर्ता कुन नेताको, कुन पक्षको भन्ने बहस हुन्छ । पितालाई महान् मानेर कुमारले शिवको परिक्रमा गरे झैँ बिहान वेलुकै कनिष्ठ नेताबाट वरिष्ठ नेताको परिक्रमा हुन्छ । बिहान बिहान नेताको घरमा कार्यकर्ताको भीड देख्दा राणाकालीन स्वस्ति संस्कृतिको याद दिलाउँछ । एकातिर झोला बोक्ने अर्कोतिर झोला बोकाउनेहरु छन् । झोले राजनीतिले सिद्धान्त छायाँमा परेको छ र व्यक्ति हाबी हुँदै गएको छ ।

बाह्य प्रभाव:
नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव चर्को छ । देशमा हुने हरेक राजनीतिक गतिविधिमा छिमेकी राष्ट्रको चासो रहन्छ । त्यसमा पनि भारतीय प्रभावको विशेष रूपमा चर्चा हुने गर्छ । राष्ट्रिय राजनीतिमा मात्र होइन पार्टीभित्रका राजनीतिदेखि कर्मचारी संयन्त्रसम्ममा भारतीय प्रभाव पर्ने गरेको छ । राष्ट्रियता र स्वतन्त्रताका जति कुरा गरे पनि भारतीय प्रभावबाट नेपाली राजनीति मुक्त छैन ।

आन्तरिक प्रजातन्त्रको अभाव:
हाम्रो देशले अवलम्बन गरेको पद्धति प्रजातान्त्रिक प्रतिस्पर्धात्मक पद्धति हो । तर हाम्रो राजनीति आन्तरिक प्रजातन्त्रविमुख छ । जनताले चुनावमार्फत प्रतिनिधि छान्ने गरे पनि दलभित्र प्रतिनिधि छान्ने कुरामा नेताको निर्णय हुन्छ । केही पार्टीले प्रतिस्पर्धात्मक पद्धतिबाट नेतृत्व चयन गर्दा पनि व्यवहार त त्यसमा व्यक्ति र गुट हाबी हुने गरेको छ । पार्टीभित्रका आन्तरिक चुनावमा अनुशासनका नाममा कार्यकर्ताको विवेकलाई नै बन्धक बनाउने काम हुन्छ । 

सत्तामुखी:
नेपाली राजनीतिमा एउटा भनाइ नै प्रचलित छ– “राजनीति जोगी हुनका लागि गर्ने होइन ।” यसको मतलब राजनीतिको लक्ष्य सत्ता हो । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मनोदशाबाट नेता र पार्टी ग्रसित छन् । राजनीति सत्ताको मियो वरिपरि घुमेको छ । सत्तालाई जनताको नासो भन्दा पनि दैवी शक्तिको उपहार झैँ ठानिएको छ । सत्तामा पुगेपछि जनताप्रति जवाफदेहीता पनि देखिन्न ।

यस्ता चरित्र बोकेको नेपाली राजनीति पछिल्लो समय त दिशाहीन अगाडि बढेको छ । खासगरी नकारात्मक बाटोमा अगाडि बढेको छ । अधिकांश चरित्र नकारात्मक छन् । नेताको मुडको भरमा राजनीति चलेको छ । पद्धति र प्रक्रिया पूर्णतः छायाँमा परेको छ, भनौँ औपचारिकतामा सीमित छ । खासगरी भारतीय पार्टीहरूको प्रभाव र शैली नेपाली राजनीतिमा भित्रिएको छ । यी चरित्रहरुमा आम रूपमा परिवर्तनको खाँचो छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक