Similar Articles

कथा लघुकथा

नलेखिएको आमाको कथा-निशा अर्याल

बिराट नेपाल

नदीको अविरल प्रवाह र समयको गति कसैको कावुमा हुँदैन । जसरी नदी पोखरी जस्तो स्थिर रहदैन, त्यसै गरी समयले कसैलाई कुरेर पनि बस्दैन, न त समयले कसैको फुर्सद छ की छैन भनेर सोधीखोजी नै गर्छ । आखिर मानिसको मन र हामीले बाँचेको जीवन पनि त जमेको पोखरी त होइन नि | मनभित्र पनि ठुला–ठुला समुद्रका छालहरु उठछन र हराउंछन । जिन्दगीमा पनि साना–ठुला आधीबेरी आइरहन्छन र गइरहन्छन । मनभित्र पनि साना–ठुला भुकम्पहरु आइरहन्छन् र जीवनलाई खण्डहरु बनाएर जान्छन । जीवनको गति र समयको गति, आखिर के नै फरक छ र ? तर एउटा कुरा निश्चय नै फरक छ । मान्छे भौतिक रूपले जाहासुकै पुगोस्, उ सँगै उस्का स्मृतिहरु सँगै रहन्छन, उस्का विगत र आगत, उस्का सपना र आकाक्षा ।

मान्छे त्यही हो, उसले बाचेको जीवन त्यही हो । तर मान्छे बाचेको युग र परिवेशले अंसख्य तिता मिठा अनुभव र अनुभूति उसले संगालेको हुन्छ । एक हिसाबले मान्छेको स्मृति, मान्छेको मन अनुभूतिको संग्राहलय पनि त हो । एउटा त्यस्तो संग्रहालय जाहा बाल्यकालका सुन्दर अनुभव, यौवन अवस्थामा प्रेमिल दिनहरू, पौढ अवस्थाका सङ्घर्षका असीम गाथाहरु अनि बृद्धा अवस्थाका अप्ठारा दिन र रातहरु । यी सबै अनुभुतीहरु मान्छेले आफूभित्र संगालेको हुन्छ । यो सृष्टिको अन्नतकाल देखिको निरन्तर चली आएका प्रक्रिया हो । मान्छेको जन्म–जीवन प्रक्रिया र मृत्यु प्रकृतिको साश्वत यथार्थ हो । यो बाट कोही अलग रहन सक्दैन । जिवनकोे यही गतिशीलतामा मैले आफ्नो जीवनलाई पाएको छु ।

समयको यही अन्तरालमा......कर्मले डोर्याउदै आज आएको छु, म यो दूर देशमा मरभुमी इजरायलमा । जहाँ छैनन् मेरो साथमा मेरा आफन्तहरु....मलाई जन्म दिने मेरी प्रिय आमा.....मेरो जन्मभूमी......मेरो आस्थाको द्यरोहर । भौतिक रूपले ती सबै छैन, यतिबेला मेरो साथमा छन् त केवल ती सम्झना, मेरो स्मृतिमा,मेरो मनको अतुल गहिराइमा | अँहो ! हिजो आज जस्त्तै लाग्छ आमाका स्नेही हातहरुले मेरो शिर सुमसुमाएको आमाको हात सन्तानको शिरमा रहनु कति अहो भाग्यको कुरो हो । यो सात समुन्द्र पारी आज एकाएक फेरी आमाको काखमा रहेको ती दिनहरू मेरो मनमा आइरहेछन......तछाड–मछाड गरिरहेछन स्मृतीहरु । मेरा ती प्रिय बाबा जस्को न्यानो अङ्गालोमा बेरियर विराटनगर देखि–राजविराज सम्म आइपुगेको त्यो समय | ताजै छन्, म एउटा बालिका शारीरिक रूपले निक्कै कमजोड थिए । जीवन र मृत्युको दोसाधमा जब म उभिएको थिए, त्यो बेला फेरी आमाले सारा संसार भरीका ममता म माथि खन्याउनु भएको थियो । जसरी एउटा गाईले आफनै बाछो लाई स्नेहीपूर्वक जिब्रोले स्पर्श गर्छ, त्यसरी नै बाबाले तातो घाममा बरपिपलको जस्तै छाहारी दिनु भएको थियो ।

अँहो ! आमासँग कति धेरै रहन्छन ममताको भाषा । सन्तानप्रतिको मोह । जसरी एउटा पोथीले आफ्ना चल्लाहरुलाइ आफ्नो पखेटाले छोपेर सुरक्षित राख्छे, त्यसैगरी आमाले मलाई न्याने काखमा लुुटुपुटु पारी रहनुहुन्थ्यो, मेरो टाउको घरी–घरी सुमसुमाइ रहनुहुन्थ्यो, जतिवेला मेरो मुखमा घाउ आएर पानी समेत खान हुँदैन थियो । त्यो बेला मेरी आमा कपास लाई भिजाएर मेरो मुखमा हालिदिनु हुन्थ्यो । पानीको त्यो शीतल थोपाले मेरो मुख रसाउथ्यो, उता आमाका ती आँसुबाट म निथ्रुक्क भिजिरहन्थे ।

आज सम्झन्छु, ती दुःखका घडीमा मैले आमालाई कति दुःख दिए होला । तर सन्तानको खुसीको लागी आमा जस्तै सुकै त्याग गर्न तयार हुन्छिन । आमाको लागि हर सन्तान कहिल्य बोझ बन्दैनन् । खै ! कुन शब्दले गरौँ आमाको माया, त्याग र स्नेहको वर्णन । शब्दहरू नै पर्याप्त छैनन् । मलाई अहिले पनि बालापनको स्मृतिहरु झलभली याद आइरहेछ ।

आमालाई श्लोक सुनाउन मैले गरेको बालहठहरु । बाबा लाई कथा सुनाउन मैले गरेको करकर । हो ! ती वाल्यकालका स्मृतिहरु आज पनि यो मनमा ताजै छन् । त्यस्ता धेरै स्मृतिहरु मेरो मनमा आज पनि गडेर बसेका छन्, अझ बाबाले सुनाएका माहापुरुषहरुका, राजाहरु र बीरहरुको कथाहरू अहिले पनि म झलझली सम्झने गर्छु । बाबाका कथाका नायकहरु प्रायः पुरुषहरू हुने गर्थे । त्यस्ता पुरुष जो वीर छन्, बौद्धिक छन् साहसी छन् र माहान छन् ।

त्यतीबेला मेरो बाल मष्तिष्कमा एउटा कुराले सधैँ घोचिरहन्थ्यो र कथाका नायकहरु किन पुरुषहरू मात्र हुन्छन् ? कथाका राजाहरु के रानीको उपस्थिति विना आफ्नो वीरता प्रदशन गर्न सक्थे ? के कुनै कथामा नारीको भुमिकाा हुँदैन ? के रानी बेगर राजाको संसारले पूर्णता पाउछ ? मेरो मनमा यस्ता अनेकौ प्रश्नहरू आइरहन्थे । सांञ्चै नारी विना पुरुष एक्लै सफल होलान् ? के पुरुषको सफलतामा नारीको समेत साथ रहेकाती नारीहरू कसरी कथाको साहमी पात्र बनेन् ।

मलाई यस्तो प्रश्नले घरी–घरी चिमोटिरहन्थ्यो, अनि मेरो नारी मन बारम्बार झस्कन्थ्यो । अहिले जीवनको यो घडीमा अइपुग्दा म सोचिरहे छु, त्यति बेला देखी नै नारी र पुरुषहरू बिच विभेदको एउटा पखाल खडा भैसकेको रहेछ । पुरुषलाई मात्र समाजको नायक ठानेर कथेका सारा का सारा कथाहरू केवल पुरुषप्रधान समाजको उपज रहेछन्, जाहा नारीलाई एउटा निरीह पात्रको रूपमा मात्र खडा गरिने गरिएको रहेछ । पुरुष प्रधान समाजमा कथाहरू जो सुन्दा त रमाइलो लाग्ने गर्थे तर ती कथा भित्रको सार ज्यादै विषालु रहेछन्, आज म सोचीरहेछु ।

म काखे बालक बाट टुकुटुकु हिडने उमेरको भैसकेकी थिए । स्कुल जान थालेकी थिए । स्कुल जादैमा मेरो बालापन पनि सकिने भन्ने त हुँदैन । मेरो जिदि गर्ने बानी त उस्तै थियो । शायद ! मेरो बालहठ बाट दिक्क मान्दै आमाले भन्नुभएको थिया हेर ! नानी त ठुली भएर कस्ती हुन्छेस खै ? त छोरी को जात एक न एक दिन पराई घर जानै पर्छ । घरमा सबैको मन जितेर जीवन अगाडी वढाउनै पर्छ, त्यसैले घरधन्दा सिक । आमाले भनेका यी शब्दहरू आज पनि मेरो कानमा गुन्जीरहे झैँ लागिरहेछ ।

तर मेरो मन घरको शुसे धन्दामा सन्तोष मानेर बस्ने खालको काँहा थियो र ! मलाई सानैदेखि लेखपढ गर्ने कुरामा विछट्टै रुचि थियो, जिन्दगीमा केही नयाँ गर्नुपर्छ भन्ने चाहाना थियो । आज जिन्दगीको यो कालखण्मा आएर सोचिरहेछु, आमाहरुले जसरी आफ्नो जीवन भान्सामा कैद गरेर विताउनु भो मलाई पनि उहाँहरू त्यस्तै देख्न चाहानुहुन्थ्यो । त्यसैले त आमा बाराम्वार दाजु–भाइ लाई धेरै पढेर ठुलो मान्छे बन्, डाक्टर, इन्जिनयर बन्नुपर्छ भन्नुहुन्थ्यो । दाजुभाइलाई आमाले कहिल्य घरको काममा लगाउनु भएन । तर म लाई ठिक यस्को विपरीत ब्याबाहार गरेको अनुभूति हुन्छ । मलाई पनि छोरी राम्रो पढ्, भनेर कहिले भन्नु भएन । ठुलो मानिस बन्नुपर्छ भनेर मैले पे्ररणा पाइन । विचरी यसमा मेरी निर्दोष आमाको के दोष ? पुस्तौ देखी हाम्रा सारा नारी जातीको दिमाग पुरुषबादी साचो मा ढालिएको छ । तर मेरो बाल मस्तिष्कमा दर्शन र सिद्धान्तका ठुला ठुला ज्ञान हुने कुरो पनि त भएन । बरु मेरो बाल मस्तिष्कमा एउटा प्रश्न खडा भइरहयो । एउटै गर्भ बाट जन्मेका छोरा–छोरीमा पनि यो विभेद किन ? मेरो बाल द्धदयमा चिसो पसिसकेको थियो । एक दिन मेरो मुख बाट अनयास शब्द फुतकियो – आमा, तपाईँ दाजुभाईरुलाई मात्र किन माया गर्नुहुन्छ ? के छोरी तपाईँको सन्तान होइनन् ?यदि म प्रति तपाईँको ममता थिएनन भने मलाई किन बचाउनु भयो ? मेरा यी शब्दहरू शायद आमाको लागि अनपेक्षित थिए । मेरो बचन शायदः आमाको हृदयमा शुल बनेर घोपीयो । र त्यो चोटले आमाको नयन बाट आशुका दशधारा बग्न थाले । आमाको आँखाबाट बगेको अश्रुधाराले मेरो मनमा पनि दुःखको गहिरो तप्ङ्ग भरियो । 

आमाले आखाको आँसु पुछनु भयो र लामो निश्वास छोडेर भन्नु भयो – तिमीहरू ढिलो चाडो पराय घर जाने जात हौ छोरी । तिमि जब विवाह गरेर आफ्नो घर जाने छौ, त्यतीबेल हाम्रो साथमा यी छोराहरू रहने छन्, उनीहरू नै हुन हाम्रो बुढेसकालका साहारा । आमाका यस्ता कुराले मेरो छाती बेजोडले दु्ख्यो । जुन आमाले मलाई जन्म दिइन के म उनै आमाको साहारा बन्न सक्दिन ? के बुवा–आमाको साहारा छोराहरू मात्र बन्न सक्छन् ? किन आमाले छोरीहरू प्रति विश्वास गर्न सक्नु भएन ? मेरो मनभरि यस्ता प्रश्नहरू गुजुल्टिएर रहे । तर म मेरी आमालाई खै, के दोष दिउ यो त एउटा विभेदकारी परम्पराको दोष न थियो ।

आमाको यो निरीह पनले मलाई लाग्यो कि हाम्रा आमाहरुले आफ्ना कति इच्छा र सपनाहरुलाई छाती भित्र दबाएर राख्नु भयो ? अपमानका कति चोटहरु लाई आशु मार्पmत पोख्नु भयो । पुरुषवादी स्वार्थी समाजले हाम्रो आमाहरुलाई कति प्रताडना, अपमान र चोट दियो । नारी भित्रका हर स्वतन्त्रताका चाहानाहरु पुरुषवादको जातोमुनी घ्ुन जस्तै पिसीदै रहे ।

जीवनको यो कालखण्डमा उभिएर म आज गम्भीर समीक्षा गरिरहेछु । हाम्रा हर आमाहरुले जिन्दगीमा धेरै–धेरै सपना त देखे होलान्, तर तिन्का हर सपनाहरू दुर्घटनामा परिरहे । आमाको यो दुर्घटित भएका सपनाहरुलाई म साकार बनाउछु । त्यही बेला मैले मन दर्हो पारेर यो सपथ खाए की समस्त नारी जातीको उन्मुक्त संसारको पक्षमा म आफ्नो बुद्धि–विवेकले भ्याए सम्म कोसिस गर्नेछु । उनीहरूको अधिकारको लागी म आफ्ना विचारहरू लेखिरहनेछु ......नारीहरूका अधिकारका कथाहरू ....उनीहरूका स्वतन्त्रताका गीतहरू....म लेखिरहने छु । आमाहरूको बलिदानका गाथाहरु....उनीहरूका इतिहासका कथाहरू म लेखिरहनेछु.....म उत्खन्न गरिरहनेछु उनीहरूका सपनाहरू । आमा....... तपाइहरु एक दिन देख्नु हुनेछ यो छोरी कुनै अर्थमा पनि तपाईँको छोराहरू भन्दा कम हुनेछैन । तपाईँहरूको सेवामा म कमी कहिल्य हुनदिने छैन तपाईरुले यो कुरा एक दिन पक्कै महसुस गर्नु हुनेछ, की छोरा भन्दा छोरी कुनै अर्थमा कम हुदैनन भन्ने कुरा । म एक दिन यो कुुुरा प्रमाणित गरेर देखाउने छु । मेरा यी आदर्श वाणीले मेरी आमा मुसुक्क मुस्कुराउनु भयो । उहाँको आखाको भाव म पढीरहेको थिए, उहाँले मेरो कुरालाई पत्याईरहनु भएको थिएन । 

हेर छोरी ! छोरी ले देखेको सबै सपनाहरू काहाँ पुरा हुन्छन् र ! छोरीले त सपना देख्नु पनि अपराध ठान्छ यो संस्कारले । मै तेरो अगाडी खडा छु, म सानैमा आफना प्रिय बाबा आमालाई छोडेर आए । के बाबा आमा कै काखमा बसी रहने मेरो चाहना थिएन होला? के बाबा आमाको सेवा गर्देै बस्ने मेरो चाहना थिएन होला? आखिर मेरा ती सबै चाहना र आकाक्षा पुरा भए त ? जब म मेरा सारा आकक्षा लाई तिदाञ्जली दिँदै पराया को घर सजाउन आए र पराया घरलाई आफ्नो घर बनाए । तिमीहरूलाई जन्म दिए , एउटा घर संसार बसाए । यही त हो छोरीको कर्तव्य । आमाको यो प्रश्नले म स्तब्ध भए । 

आमा त्यसपछि मौन हुनुभयो, र मैले बाबाको अनुहारमा हेरे उहाँ निक्कै गम्भीर देखिनु हुन्थ्यो । भोलि कसले देखेको छ? के थाहाँ भोलि परेको बेला साथ दिने यही छोरी पो हुन्छ की ! शायद बाबाको मनमा यस्तो प्रश्न खेलेको पो थियो होला की! त्यतीबेला यही छोरी छोरा बनेर साहारा को हात अगाडी बढाउने हो की ! म अहिले सम्झन्छु त्यो बेला मेरो बाबाको अनुहारमा छोरी प्रति अपार विश्वासको भाव झल्कीएका थिए । 
त्यो बेला मेरो मनमा अपार आत्मविश्वास पैदा भइरहेको थियो । हो म केही गर्छु, आमा बाबाको लागी । नारी जातिको अधिकार र स्वतन्त्रताको लागि । हो, म अवश्य विद्रोह गर्नेछु । नारीलाई खेलोैना ठान्ने मानशीक्ताको विरुद्ध । हो, म अवश्य विद्रोह गर्नेछु नारीलाई भान्सामा मात्र कैद गर्ने एउटा परम्पराको विरुद्ध । 

सानैदेखि मेरो स्वभाव पनि अलिक हक्की खालको थियो , म आम पुरुषले गर्ने हर कुनै काम गर्न अग्रसर हुने गर्थे । खेलकुद, कलाकारिता, साहित्य, पत्रकारिता लेखन जस्ता कुरामा मेरो रुचि बढेको थियो । 

मेरो पहिरण पनि प्रायः पुरुषले लाउने जस्तै पाईन्ट, ट्रयाक हुने गर्दथे । आमालाई मेरो क्रियाकलाप अलिक मन परिरहेको थिएन की उहाँ घरी घरी मलाई हप्की दप्की गर्नुहुन्थ्यो । तर मलाई थाहा थियो मैले कुनै समाज विरोधी काम गरेको छैन, परिवार विरोधी काम पनि त गरेको छैन । म आफ्नो अडानमा डेग चलिन । म कुनै थोत्रा र कुरुप पराम्पराको भारी बोकेर अगाडी बढन चाहन्न थिए । म छोरी मान्छे पराय घर जाने जात हो भनेर पढन लेख्न छोडने सोचमा पनि थिन । अहिले म सम्झन्छु जब म दश कक्षामा पढिरहेको थिए, त्यतीबेला घरका सब मानिसहरू मस्त निन्द्रामा हुन्थे , त्यो बेला म टुकी को मधुरो बत्तीमा आफ्नो अध्ययनको भोक मेटाइरहेको हुन्थे । जब मेरा समानका साथीहरू चुलो चौकामा सीमित हुन्थे त्यो बेला मेरो हातले कथा र कविता हरफ लेखिरहेको हुन्थे । म साहित्यिक गोष्ठीहरुमा भाग लिन्थे र कहिलेकाही पुरस्कार हात पार्थे । यसले मलाई विछटै प्रकारको आन्नद र प्रेरणा पैदा हुने गथ्र्यो । त्यो बेला म मा केही गरेर देखाउने भोक त थियो नै , आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बन्ने र आफ्नो भविष्य आफै निर्माण गर्ने तीव्र चाहाना थियो । 

मेरो यही चाहानाले म लगातार मेहनत गर्दै गए । खेलकुद, पढाई, लेखाई, जागिर, भनसुन । हर दिन म सङ्घर्षको मैदानमा डटी रहे । मैले जस्तै अप्ठ्या्रा क्षणमा पनि हरेस कहिल्यै खाईन । आखिर निरन्तर परिश्रम गरेपछि सफलता त एक दिन आउने नै भयो । यस्तै एउटा सानो सफलता मेरो जीवनमा आयो । सफलता सानो नै किन नहोस त्यस्ले जीवनमा ठुलो अर्थ राख्यो । मैले व्याडमिन्टन प्रतियोगितामा कडा प्रतिस्पर्धा गरेर सफलता हात पारे । यो सफलताले मलाई एउटा रोजगारी पनि दियो । जीवनमा पहिलो चोटि मेरो आँखामा खुसीको
आँसु छल्कियो । म जीवनमा पहिलो चोटि आफ्नो खुट्टामा आफै उभिन र सक्षम नारी भए । अब मलाई कसैको दया को आवश्यकता थिएन, म खुल्ला आकाशमा स्वतन्त्र पूर्वक उडन सक्ने चरी भएकी थिए । 

अँहो ! आफ्नो रोजगारीबाट प्राप्त भएको पहिलो महिनाको तलब जब मैले मेरी आमाको हातमा राखेथे, उहाँको आखाँमा एउटा अनौठो चमक मैले पाए । आखिर जतिवेला मेरा दाजु भाईहरु, बाबु आमाले कमाएको पैसाबाट पढीरहनु भएको थियो, त्यो बेला मैले आमा र बाबाको आर्थिक जिम्मेवारीमा थोरै भए पनि होस्टेमा हैसे गर्ने अवसर पाएको थिए । यो मेरो लागि एउटा गोैरवको क्षण थियो । जबकि अक्सरत छोरी मान्छेलाई परिवारको बोझको रूपमा हेरिने संस्कार छ । त्यो बेला मैले अलिकति भए पनि बाबा आमाको साहारा बन्ने काम गरको थिए । अहिले म अतीतका ती स्वर्णिम दिनहरुको संझाना गरिरहेछु, त्यो बेला म मा सृजनाको एउटा गहिरो प्यास थियो । हो त्यही प्यासले नै मलाई डोर्याउदै डोर्याउदै साहित्य, कला, पत्रकारिता र खेलकुद जस्ता गतिविधिमा सरिक गराउन प्रेरित गर्‍यो । मेरो यो स्वतन्त्र र सृजनशील भूमिका प्रति म पूर्णतः विश्वस्त थिए तर मेरो माइला दादालाई मेरो क्रियाकलाप कहिल्य मन परेन । उहाँ सधैँ घरमा आए पछि मलाई कुटुला झैँ गरी रिसले भुनभुनी रहनु हुन्थ्यो । हुनपनि बिहान सबेरै हिडेकी एक जवान बहिनी बेलुका झिसमिसेमा आउदा दाजुभाइलाई मन पर्ने कुरा पनि हुने भएन । हुनत दाजु–भाइ पनि आखिर पुरुष हुनुहुन्थ्यो, तसर्थ उहाँहरुमा पुरुषबादी मानसिकता हुनु कुन अनौठो कुरा भयो । तर म कमैको अवरोधबाट रोकिने वाला थिन । म आफ्नो बाटोमा अगि बढीरहे–बढीरहे । धेरै भन्दा धेरै सृजनाको क्षेत्रमा, सामाजिक क्षेत्रमा सक्रिय भए । समयको गति सँगै विभिन्न पार्टी तथा सामाजिक सङ्घ–संस्थामा आवद्ध हुन थाले–तालिममा सहभागी भए, आफूले पनि सिकेर अरूलाई पनि सिकाए । यस क्रममा विभिन्न घरेलु उधोगका तालिमहरु, बाल शिक्षा, प्रोढ शिक्षा,फ्याम्ली प्लानिग शिक्षा जस्ता अनेकौ तालिममा थुर्पे जनतालाई प्र्रशिक्षीत गराउने अवसर पाए । यी तमाम काम मैले आफ्नै मेहनतले गरे, आफ्नै बुद्धि विवेकले गरे ।

अहिले आएर म आफ्नै जीवनलाई फर्केर हेरिरहेछु, जिन्दगी कति उतार–चढावपूर्ण भएर अगाडी वडयो । हरेक दुःख कष्ट र संधर्षका आधीवेरी सँग खेल्दै मैले थुप्रै देशहरूको भ्रमण गर्ने अवसर प्राप्त गरे । दूर दराजमा जन्मे हुर्केकी म मेरा बुबा आमको ६ जना दाजु भाइ दिदी बहिनी मध्ये कान्छी छोरी मैले जापान, थाईल्याण्ड,फिलिपिन्स, इजरायल जस्ता देशको भ्रमण गर्ने अवसर पाएको छु । अहिले पनि मेरो सङ्घर्षको यात्रा जारी छ, जिन्दगी भन्नु नै सङ्घर्षको अर्को नाम हो । अहिले पनि सृजनाको मेरो यात्रा जारी छ, आखिर जिन्दगी भनेको सृजनाको लागि न हो । उद्देश्य के लिनु उडी छुनु चन्दु एक भन्ने माहाकवि लक्ष्मी प्रसाद देवकोटाको माहान भनाई जस्तै उद्देश्यमा पुग्ने मेरो यात्रामा कुनै पूर्णविराम लागको छैन । म अहिले देश भन्दा धेरै टाढा छु तर देश प्रतिको मेरो कर्तव्यमा म सधैँ सचेत छु । देशको माया मेरो छातीभरि छल्किरहेको छ । म मानवीय संवेदना प्रति उतिकै सचेत छु । देशको भाषा, संस्कृति र उज्वल परम्परा प्रति मेरो मनमा अपार आदर छ । म जुन भूमिमा जन्मे त्यो भूमि प्रति मलाई गोरव छ, मलाई यो पृथ्वीमा जसले जन्माउनु भो र संसारलाई भोग्ने अवसर दिनुभो ती सबै आफन्त प्रति श्रद्धा छ । आज आएर मैले गम्भीर समीक्षा गरिरहेछु, छोरी भएर जन्मेको मा मलाई कुनै हीनताबोध छैन । बरु छोरी भएर जन्मेकोमा मलाई असीम गौरव छ ।

छोरीको भ्रुण हत्या गर्ने कलङकीत सभ्यातालाई हाका हाकी चुनौती दिएर म भनिरहेछु हे ईश्वर फेरी पनि मलाई छोरी भएर जन्मने अवसर देऊ । हो ! मलाई आमा हुने त्यो महान् अवसर देऊ । मलाई छोरी हुनुमा असीम गोरव छ । आज आएर मेरो आफनै अनुभवले बताईरहेको छ । छोरी अभिशाप होइन, बरदान हो ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक