Similar Articles

बिचार

म कमल थापा भैदिएको भए--अनिल पाण्डे

बिराट नेपाल

संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा भाग लिन अमेरिका आएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रिय एजेण्डामा महत्त्वपूर्ण योगदान दिएका छन् । उनले नेपाल फर्केर दाबी गरेका कतिपय सवाल सही पनि हुन्– मधेसी समुदाय र छिमेकी भारतको संस्थापन पक्षले नेपालको संविधानलाई लिएर फैलाएको अफबाह चिर्न थापाको योगदान उल्लेख्य रह्यो । 

उपप्रधानमन्त्री थापाले नेपाली समुदायमा आफ्ना एजेण्डा बुझाउन, नेपाली डायस्पोरालाई राप्रपा नेपालको पक्षमा ल्याउन र नेपालको विकासमा योगदान दिलाउन जो काम गर्नसक्थे, गरेनन् । सायद त्यसैले हुनसक्छ उनको स्वागतार्थ न्युयोर्कमा कुनै कार्यक्रम आयोजना भएन । राजधानी वाशिंगटन डिसीमा भने उनको स्वागतार्थ तीन–तीन वोटा औपचारिक समारोहहरु आयोजना गरिए । नेपाली मन्दिरको सञ्चालक समिति नेपाल शिक्षा तथा संस्कृति सामुदायिक केन्द्रको आयोजनामा भएको श्रीमद् भागवत् महायज्ञमा उनले होम गरे । पूजापश्चात् आयोजित स्वागत समारोहमा प्रमुख अतिथिको रूपमा उनले सम्बोधन गरे । ‘नेपालमा धर्मलाई विदेशी डलरमा साटिएको छ र विदेशी धर्म जबर्जस्ती लाद्न खोजिएको छ’ भनेर नेपाली समुदायलाई सतर्क गराए । 

वाशिंगटन डिसी नजिकै बेथास्दा म्यारिल्याण्डको डबल ट्री होटलमा आयोजित अर्को समारोहमा उनले भने मुलुक १० वर्ष सशस्त्र द्वन्दले डुब्यो र अर्को १० वर्ष द्वन्द्वलाई व्यवस्थापन गर्दैमा बित्यो, नेताहरूको अकर्मण्यताले मुलुक डुबेको हो भनेर टिप्पणी गरे । वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै रहेको फेडरल्ली फन्डेड थिङ्क ट्यांक युएस इन्सीच्युट अफ पिसमा बोल्दै थापाले नेपाल सरकारले आगामी कात्तिक महिनामा नेपालमा स्थानीय चुनाव हुने जानकारी गराए । उनले धर्मका सन्दर्भमा सीमित मात्रामा राप्रपा नेपालको एजेण्डा बोलेपनि अन्यत्र आफ्नो पार्टीलाई सबल बनाउने र भविष्यमा आफ्ना एजेण्डालाई निरन्तरता दिने वातावरण तयार पार्ने काम गर्न सकेनन् । राप्रपा नेपालको प्रवास सङ्गठन प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्नुबाहेक दलीय हितका सन्दर्भमा काम गर्न उनी यसपटक नराम्रोसँग चुके । 

यो पक्तिकार यतिखेर सोचिरहेको छ, म कमल थापा भैदिएको भए के गर्थे ! संयुक्त राष्ट्रसंघमा भाग लिने र मुलुकको हितमा प्रस्ट अवधारणा राख्ने, अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटेर उनलाई नेपाल भ्रमणको आमन्त्रण दिनेलगायतका विषयका अतिरिक्त आफ्नो दलको हितमा पनि केही गर्ने अवसर म चुकाउने थिइनँ । मैले सूचीकृत गरेका गर्नैपर्ने कार्यहरू यस प्रकार छन्ः  

१. प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेलाको उद्घाटन राप्रपा नेपालका अध्यक्ष कमल थापाबाट हुनु स्वागतयोग्य विषय हो । तर उनले उद्घाटन गरेपछि समर्थक थपिनुपर्नेमा घटेकि भन्ने मेरो चिन्ताको विषय हो । म कमल थापा भैदिएको भए, पार्टीका सही मान्छे को–को हुन् पहिचान गरी छुट्टाछुट्टै भेट्ने थिएँ । मनसाय बुझ्ने थिएँ । उनीहरूलाई थापा मेरा मान्छेरहेछन् भनेर छाप छोड्ने थिएँ, आजीवन दलमा समर्पित हुने ऊर्जा भरेर फर्किने थिएँ । 

२. थापाले क्यालिफोर्निया र टेक्ससमा नेपाली काउन्सेलरको कार्यालय चाहियो भनेर एक दशकअघिदेखि माग गर्ने नेपालीलाई नराम्रोसँग निराश बनाएँ । म उनका ठाउँमा भैदिएको भए, काउन्सेलरको कार्यालय तत्काल खोल्न नसकेपनि सो विचार बहन गर्ने अगुवा नेपालीसँग ‘किन काउन्सेलर चाहियो, उनीहरूको भूमिका के हुनसक्छ’ भनेर छलफल चलाएर मात्र घर फर्किने थिएँ । 

३. हिजो जन्मभूमि नेपालमा राजनीति गर्दै राप्रपा नेपालको विचारका लागि जेलनेल सहेका र अमेरिकाको भूमिमा एक्लिएर पनि सोही विचार विस्तारमा लागेका व्यक्तिहरूलाई सम्मान गर्नु आवश्यक थियो । कमल थापाले त्यो पनि गर्न सकेनन् ।  

४. अहिले आफ्ना हातमा डाडु–पन्यूँ भएको बेलामा सहयोगीहरुलाई केही नुन ख्वाउन सकेको भए भोलि सत्ताबाहिर रहेको बेला उनीहरूको सहयोग निरन्तर हुनेथियो, यसमा पनि थापा चुके ।  

५. विदेशमा रहेर पनि राप्रपा नेपाललाई सघाउने समूहलाई सङ्गठित गर्नसकेको भए भोलि पार्टीलाई नेपाली डायस्पोराबाट आर्थिक, सामाजिक र राजनीतिक सहयोग प्राप्त हुने थियो । यतातिर थापाको ध्यान जाँदैगएन । 

६. थापा कुशल वक्ता हुन् । उनलाई साँच्चिकै भित्री मनमा आफ्ना दलका एजेण्डाप्रति विश्वास रहेको भए उनी विदेशी भूमिमा प्रशिक्षण शिविर चलाउन सक्थे । एक दिनको प्रशिक्षण शिविरले पनि अमेरिकामा नयाँ कमल थापाको जन्म गराउन सक्थ्यो । 

७. अन्तमा, यीआदि तमाम कमजोरीलाई सम्बोधन गर्न, कमल थापाले केही समयभित्रै पुनः अमेरिकाको यात्रा मिलाउनुपर्छ । आजको समयमा मुलुकभित्र मात्र सङ्गठन बनाएर पार्टी बलियो हुँदैन । नेपाली डायस्पोरामा रहेको स्रोत–साधनलाई पहिचान र सदुपयोग गर्ने दलमात्र सफल हुनसक्छ । म कमल थापा भएको भए यी कुरामा ध्यान दिन्थे, तर उनले के गर्छन्– उनै जानून् !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक