Similar Articles

लेख रचना

पुस्तक प्रकाशन यात्रा- बिजय भुसाल

बिराट नेपाल

सपना सबैले देख्छन्। मैले पनि देख्छु, मैले पनि सजाउँछु। देख्न निकै सजिलो छ यो सपना। त्यसैले त होला सबैका एक न एक सपना हुन्छ। यदि सपना नहुँदो हो त संसार कस्तो होला? कुन सारले बाँच्दा हुन् सबै? मेरा यस्ता सपना थिए जो पूरा हुने चेष्ठै राख्दैनथे । साँच्चै अधुरा थिए। त्यो सपना खै कहाँ बाट पलायो,त्यो त म ठोकुवा भन्न सक्दिन तर यसले मलाई सधैँ कोट्याई रह्यो, जिस्क्याई रह्यो । एउटा पुस्तक लेख्ने सपना । लेख्न त लेख्ने तर के लेख्ने? के का बारे लेख्ने? पुस्तक कसरी छाप्ने? म जस्तो लेख्नै नजान्ने वा भनौँ सिक्दै गरेको साधकको पनि छापिन्छ होला पुस्तक ? यस्तै प्रश्नले मेरो सपना तुहाइरह्यो । यद्यपि, यो सपना सिद्धीका निम्ति अनेकौँ प्रयास भने नगरेको होइन।

नवलपरासीमा भर्खर भर्खर बोर्डिङ्ग स्कुलमा भर्ना भएको थिएँ । त्यहाँ हुने कविता प्रतियोगितामा भाग लिन्थेँ। पहिले पढेको स्कुलमा त्यस्तो कहिल्यै हुन्थेन। म लेख्न चाहाने मान्छेलाई त्यहाँ राम्रो वातावरण थियो। कविता प्रतियोगितामा मैँ प्रथम भएर एउटा सानो डायरि पाएको थिएँ। त्यसैमा कोर्ने गर्थेँ अनेक कविता, सायरि अनि दैनिकी। आठ कक्षामा हुँदा मेरै शिक्षक जनक अधिकारी(मिराज) सरले प्रिया-रानी खण्डकाब्य बिमोचन गर्नुभो । त्यति बेला सम्म मलाई खण्डकाव्य कस्तो हुन्छ, कसरि लेखिन्छ अत्तो पत्तो थिएन। त्यो पुस्तक किनेर घरमा लगेँ। पढ्दै गएँ । उहाँले प्रयोग गर्नु भएको झ्याउरे छन्दसँग भिज्दै गएँ। भोलि पल्ट नै २ पाना कविता लेखेँ,स्वही छन्दमा। सरलाई बुझाएको थिएँ। यसरी हेर्नू भो कि त्यो मैले लेखेको नै होइन। स्याबासी दिनुभो। त्यति बेलै मैले भनेको थिएँ "सर म पनि खण्डकाव्य लेख्छु!" लेख्दै गएँ। भँगेरा-भँगेरिको देखान्त कथालाई आधार मान्दै कोर्दै गएँ अनेक काल्पनिक दृश्यहरू। तर पनि विविध कारणले त्यो मेरो सपना अधुरै रह्यो। एउटा कविता प्रतियोगितामा निर्णायक बस्नुहुने मेरा आत्मीय गुरु दीपक भट्टराईले मेरो प्रशंसा यति मजाले गर्नुभएको थियो कि त्यसले मलाई थप ऊर्जा प्रदान गर्‍यो। "यदि विजय भुसाल कुनै कविता प्रतियोगितामा भाग लिन्छ भने म त्यो प्रतियोगिताबाट मेरो नाम हटाइदिन्छु।" बडो हर्ष साथ भन्नु भएको थियो। गररर...ताली बजेको थियो ।

समय मिलेका बेला कविता कोर्थेँ। चित्त बुझ्दैनथ्यो। च्यातेर फालिदिन्थेँ। मेरा कविताहरू कापिमा भन्दा डस्ट्बिनमा धेरै थिए सायद । एस् एल सी पछि उच्छ शिक्षाका लागि काठमाडौँ छिरेँ। केही क्षण कलम रोकियो । पढाइमा ध्यान दिनु पर्छ भन्ने मनमा थियो। विज्ञान न रोजेको थिएँ। एक्कासि आइदियो त्यो भयानक दिन। वैशाख १२। सारा नेपाल रोयो । सडक बङ्गला भयो। बङ्गला-भग्नावशेष। मनमा दुई तीन पाथी डर लिएर घर पुगेँ। बेलाबेलाको पराकम्पनले मुटुलाई नै जमिन बनाएर थर्काइ रहेको थियो। छोराछोरी हराएका आमाबाबु, पति हराएका पत्नी, आमाबाबु हराएका बालबच्चा-अनि कुहिएका लाशहरु। यस्ता दृश्यहरू समचारमा देखेर पनि मन भक्कानिएर आउँथ्यो। जमिनमा छरपस्ट भएका इट्टाझैँ छियाछिया हुन्थ्यो मुटु। 

अनि म फर्किएँ उही काव्यिक भावनामा,जहाँ मनका त्रास,डर,नैराश्य पोखिन्थे । कापीका पानामा विद्रोह बनेर। एउटी अवला नारीको खोसिएको सिन्दूर पोतेँ कविताका हरफ हरुमा। भत्किएको घरका ढुङ्गा मुसार्दै भक्कानिइरहेका बाबुहरुका निर्जिब सपना बुनेँ कविताहरुमा। मेरो कविता अनाथ बन्यो। मेरो कविता बिधुवा बन्यो। फगत, म कविता कोरिरहेको थिएँ। यस्तो लाग्यो । भूकम्पले मलाई बिद्रोही कवि बनाएर जन्माइदियो । त्यो खाली समयमा इटहरिका पत्रकार एवम् साहित्यकार बिराट अनुपम दाजुको सङ्गत मिल्यो। गजल सिकेँ। केही छिन गजलमा रमाएँ। गाउँको माया, राजनीतिक लुछाचुँडी,पारिवारिक झगडा जस्ता पृष्ठभूमिमा अनेकौँ कविता कोरेँ। अझै पनि याद छ,"आमा" कविता लेखेर सामाजिक मुद्धा उठान गर्ने कवि भनेर चिनिने कवि दाजु नवराज पराजुलीलाई देखाए पछि धेरै कुरा सिकाउनु भो। उहाँको त्यो प्रेरणा क्याटालिस्टको रूप लियो । पछि गएर घान्द्रुक पोखराका अग्रज दाजु रूप रसाइलीको साथ अनि मायाले निखारिँदै गएँ। उहाँलाई अझै पनि म गुरु मान्छु। अझै माझिएर लेख्न थालेँ गजल अनि कविताहरू। एक दुई दर्जन कविता अनि तीन चार दर्जन गजल लेखिसकेपछी यस्तो लाग्न थाल्यो म अब किताब छाप्न सक्ने भएको छु । किताब छाप्ने कुरो चल्दै जाँदा मैँ अध्यनरत निस्ट कलेजमा अध्यापनरत गुरु बलराम दाहाल ज्युको खुब साथ पाएँ। उहाँ नभएको भए मेरा गजल कविताहरू डायरिका पानाहरूमा नै सीमित हुन्थे होलान् अझै पनि। गुरुहरु बलराम दाहाल, पुष्कर बराल, अमृत गौतम,सुनिल चापागाइँ,कवि सोझो गाउँले एवं समस्त निस्ट परिवारको अठोट र मायाले निस्कियो "मौसम कविता/गजल सङ्ग्रह"। 

मैले बर्षौँ देखि कल्पेको एउटा सपना थियो उक्त पुस्तक।आवरण चित्र बनाएर पुस्तकलाई बेहुली झैँ सजाइदिने कलाकार मनिका डङ्गोललाई बिर्सनै सक्दिन। उक्त पुस्तक फाल्गुन २४ गते निस्ट कलेजकै २३ औँ बार्षिकोत्सबमा बिमोचन भयो। उक्त कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष....,समालोचक प्रभाती किरण आदिको उपस्तिथि थियो। भित्रै लुकेको प्रतिभालाई बाहिरी जगतमा ल्याउने अठोटका साथ यो पुस्तक "मौसम" कविता/गजल सङ्ग्रह प्रकाशन गरिदिने नेसनल स्कुल अफ साइन्सेज(निस्ट) प्रति हार्दिक आभार व्यक्त गर्दछु। यस संस्थाका संस्थापक प्राचार्य डा. माधव प्रसाद बराल,सहप्राचार्य प्रणिता शर्मा बराल तथा शुभकामनाका लागि राष्ट्रकवि माधव प्रसाद घिमिरे,नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, मन्तव्य लेखि दिनु हुने सहप्राध्यापक हरिप्रसाद पराजुली, कवि तथा गजलकार बलराम दाहाल एवं आदरणीय श्री अमृत गौतम-उहाँहरू नसम्झी यो लेख पूर्ण बन्न सक्दैन। गजल-कविता कोर्ने क्रममा म विविध समस्याबाट ग्रसित गरिबको घर पुगेँ,सिन्दूर खोसिएकी बिधवा नारीको आँसुमा बगेँ ।

आफ्नै विगतसँग मडारिई रहेँ। घर-आँगन कुदेँ। खोला नाला पाखा पखेरा डुलेँ । अझ आफ्नै घर-आँगन दाउमा रहेका सिमावारीका नेपालीहरूका व्यथामा झुन्डिएँ। सहरका चोक-गल्ली नियालेँ। यो नौँलो रहनसहन र धुले सडक नजिकै बाट नियालेँ। पर्वतको होश्राङ्ग्दिमा जन्मेको मान्छे म। बाल्यकाल त्यहीँ बित्यो। त्यहाको चिसो पानी बनी कविता बनेर निस्केको छ। खोलानाला गजल बनी सुसाएका छ्न। चराचुरुङ्गिले लय भरेका छन् । हिमालले हँसाएका छ्न। कोइलिले रुवाएका छ्न्। माओवादी जनयुद्ध प्रत्यक्ष रूपमा देखेको र भोगेको हुनाले डर, त्रास,सङ्कोच, नैराश्य पोखिएका होलान् यी गजल कविताहरुमा। गोरु चराउँदाका देखि लिएर बारी खन्दाका किसानी बालापन दर्शाइएका होलान्। गरिबीका कारण खान नपाइएको एक छाक होलान् यी गजल कविताहरू। कविता गजल काँचा होलान्, टुसाउँदै गरेका मुना होलान् तर यहाँ मेरा भोगाइहरु छन्, जिन्दगी छ । पढेर माया गरिदिनु होला। सुझाव प्रतिक्रियाको लागि सधैँ भोको हुनेछ यो कवि। म फेरी पनि आउनेछु अर्को कोशेली लिएर,एक दिन। उपन्यासमा हात हाल्ने सोँचमा छु। छापिएला नछापिएला त्यो बेग्लै कुरो। समय वा परिस्थिति मिलेमा यो विधामा पनि नभेटिउँला भन्न
सकिँदैन।

पुस्तक प्रकाशन यात्रा- बिजय भुसाल "मौसम"

Comments (1)

Neeta on

True story of a real hero. :) Keep up the spirit.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक