Similar Articles

बिचार

चिनजान र भनसुन सदुपयोग वा दुरुपयोग -प्रकाश श्रेष्ठ

बिराट नेपाल

सानोमा छदाँ लाग्थ्यो लाहुर गएर लाहुरे बन्न पाए कति पैसा कमाईने थियो होला, मन लागेको खान पाईन्थ्यो होला, लाउन मन लागेको नानाहरु लगाउन पाईन्थ्यो होला, मिठा-मिठा चक्लेट पेटभरी खान पाईन्थ्यो होला । यस्तै यस्तै तरङ्ग मनमा खेल्थ्यो । सायद हाम्रो गाउँमा प्रदेश जानेहरु र प्रदेशबाट भारी बोकाएर भरियालाई अगाडी लगाउँदै पानासोनिक रेडियो र टेपरिकार्डरमा गीत घनकाउँदै टोलनै थर्राकाउदै लाहुरेहरु आएको देख्दा अबोध बालकले देख्ने यस्ता मिठा सपना देख्नु कुनै नौलो कुरा अवश्य हुने भएन । अझै समय-समयमा ईन्डियन अर्मीमा भर्ती हुन युवाहरू विभिन्न भर्ती केन्द्रहरु र गोरखपुर जाने गरेको गाउँघरमा सुनिन्थ्यो । फलानो त मेडिकलमा फालियो, फलानो भर्ती भयो, फलानोलाई फलानो साहेबले गर्दा भर्ती गराउन सकियो जस्ता कुराहरू घाईघुई सुनिन्थ्यो तर आफू भने कहिल्यै आर्मीमा भर्ती हुन जाने आँट गरिएन । 

२०५३ साल तिर नेपाल प्रहरीको असईमा भर्ती खुलेको थियो त्यसमा भने पोखराबाट आवेदन दिए सहभागी भईयो र त्यसै क्रममा भर्ती गर्ने प्रक्रिया अन्तर्गत हुने फिजिकल परीक्षामा भने नाम निकाल्न सफल भईयो । त्यतिवेला चैत्र बैशाकको टन्टलापुर घाममा क्षेत्रीय प्रहरी कार्यालय पार्दी पोखराको चौरमा मुखमा पानीमा भिजाएको रुमाल च्यापेर दौडियो । दश राउण्ड लगाउनु पर्ने त्यो चौर बडो मुस्किलले राउण्ड लगाईयो र दौडमा म छानिए तर अचम्म के भयो भने नौ राउण्ड मात्र लगाएको व्यक्तिलाई राउण्ड काउण्ट गर्न बसेको प्रहरीले दश राउण्ड पुरा गरेको बनाई दिएर त्यो व्यक्ति प्रथम घोषित भयो । यथार्थमा उसले ९ राउण्ड मात्र पुरा गरेको थियो अर्थात् दश राउण्डको शुरुवातीमा उ अन्तिममा थियो तर उ प्रथम घोषित भयो खै कसरी त्यो सम्भव भयो । सायद काउण्ट गर्न बस्नेको त्यो मान्छे चिनजान भएर हुन सक्छ । जे होस् त्यो टन्टलापुर घाममा धेरै किसिमका फिजिकल प्रतिस्पर्धामा सहभागी भईयो र नाम पनि निस्कियो तथापि स्वास्थ्य परीक्षणमा भने नाम निस्केन । 

वास्तवमा नाम निस्कदैन भन्ने पहिल्यै थाहाँ थियो किनकि मलाई हाईड्रोसिल भएको थियो र हाईड्रोसिल हुनेहरुलाई स्वास्थ्य परीक्षणमा फालिन्छ भन्ने पनि सुनिएको थियो तथापि त्यतिवेला नेताहरूको ज्याकफोर्स जताजतै चल्ने सुनेर मैले पनि किन त्यसलाई उपयोग नगर्ने भनेर त्यतिवेलाका हाम्रा गाउँले सांसदलाई यसो प्रहरीको उच्च अधिकारीलाई भनिदिनु पर्‍यो भनेर भनेको थिए किनकि उनले मलाई एक दुईपटकको भेटमा भनेका थिए की कतै भनसुन गर्न परे भन्नु बाबु त वास्तवमा मेरो साथीको छोरा होस् मैले भनेर हुने ठाउँमा भन्दिन्छु भनेकोले एकपटक भनी हेरौ न भनी उनलाई आफ्नो समस्या भनेको थिए र उनले ल ठिक छ त फिजिकलमा आउनु पर्छ स्वास्थ्य परीक्षणमा ढुक्क भई म डीआईजीलाई भन्दिन्छु भने र त्यसैको आधारमा म भर्ती हुन गए तर निशाना सही ठाउँमा लागेन्छ मेरो स्वास्थ्य परीक्षण गर्ने ईन्स्पेक्टर डाक्टर सम्म खबर पुग्नु पर्ने त्यहाँ सम्म खबर पुगेन्छ र म अयोग्य ठहरिएर फालिए । 

यसरी मेरो असई बन्ने सपना साकार हुन सकेन अर्थात् नेपाली भए पनि लाहुरे हुने सपना बिचमै तुहिने काम भयो । सायद भर्ती भएको भए पनि त्यतिवेलाको जनयुद्धको भिडन्तमा के हुने थियो थाहाँ छैन । यो नै मैले जीवनमा भनसुन गरेर जागिर खानको लागी गरेको पहिलो धृष्टता थियो र जुन मैले नढाँटी उल्लेख गरे । यो एउटा सामाजिक रोग नै हो की अयोग्य व्यक्तिहरू यस्तै भनसुनको आधारमा सरकारी पदमा पुग्छन् र पदिय दुरुपयोग गर्छन् । 

सायद पछिल्लो समय यत्रतत्र नक्कली सर्टिफिकेटको चर्चा चलेको छ, सायद यस्तै भनसुन र पैसाको चलखेल हुनुपर्छ । त्यस्तै सहिदको नाममा नेताहरूको छोराछोरीले विदेशमा छात्रवृत्तिमा पढ्न पठाईएका घटनाहरू, भूकम्प पीडितको नाममा नक्कली भूकम्प पिडीतहरु नेताहरूको आफन्तहरूलाई चीन घुम्न पठाईएका घटना, आर्मी देखि प्रहरी फोर्समा बढुवा गर्दा हुने चलखेल, कर्मचारीहरू सरुवा, बढुवा देखि राजनीतिक दलहरुमा दिइने जिम्मेवारीहरु सबै यस्तै भनसुन र आफन्तहरूलाई काँखी च्याप्ने प्रवृतीकै परिणामहरु हुन भन्दा हुन्छ । 

हुनत: यस्ता भनसुनको प्रकृति र मात्रा धेरै थोरै हुने गर्छ । अझै भनौ कतिपय भनसुन वैधानिकतवरबाट हुने गर्छ त्यो एउटा उदाहरण भनेको कुनै पनि सरकारी वा प्राइभेट जागिरको लागी आवश्यक पर्ने " Reference " हो । कतिपय चिनजान बेगर यस्ता रिफ्रेन्स पाउन मुस्किल पर्छ जसको कारण योग्य व्यक्तिहरूले शुरुवाती दिनहरूमा नोकरी पाउन गारो हुन्छ । नेपालमा त यस्तो अवस्था छदैछ, त्यसमा पनि अमेरिका लगायतका देशहरूमा प्राइभेट कामहरू जस्तै ग्रोसोरी स्टोर, ग्याँस स्टेसन, फास्टफुड स्टोर, व्युटीपार्लर, पिज्जा डेलिभरी देखि साना तिना कम्पनीहरूको साथै सरकारी कार्यालयहरूमा समेत रिफ्रेन्स चाहिन्छ । 

कसै न कसैले सिफारिस गरिदिनु पर्छ अर्थात् जमानी जस्तो भूमिका कसैले नखेले सम्म सिधै मलाई जागिर चाहियो भनेर कसैले जागिर दिदैनन् । त्यो त तपाईँ हामी गाउँघरबाट काठमाण्डौ, पोखरा पढ्न जाँदा कोठा भाँडामा बस्नको लागी समेत कोही चिने जानेको व्यक्तिले सिफारिस नगरी घरबेटीले घरमा कोठा भाँडा दिदैनन् त्यहाँनेर पनि विना सिफारिस र कोही ग्यारेन्टी नबसी घर भाँडामा मिल्दैन । एक किसिमले यसरी सिफारिस गर्ने चलन ठिकै पनि हो, सुरक्षा र अन्य तवरबाट तथापि सबैतिर सिफारिस वा रिफ्रेन्सको जरुरी पर्दा नयाँ व्यक्ति र कतै काम नगरेको रहेछ भने उसले क्षमता र काम गर्ने तीव्र इच्छा शक्ति भएर पनि हात बाँधेर बस्नु पर्ने हुन्छ । 

त्यसमा पनि विदेशको ठाउँमा यस खाले समस्या अत्यान्तै गम्भीर रहन्छ । यदि तपाईँको चिनजान गरेको व्यक्ति नभए सहजै सानोतिनो प्राइभेट क्षेत्रमा काम पाउन पनि निकै मुस्किल पर्छ । यसको विपरीत तपाईँको चिनजानको व्यक्तिहरू छन् भने काम पाउन कुनै मुस्किल पर्दैन । अत: जतिसुकै आदर्शको कुरा गरेपनि स्वदेश होस् या विदेश सबैतिर भनसुन, सिफारिस, रिफ्रेन्सको जरुरी देखिन्छ । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक