Similar Articles

फिल्मी समाचार

गायक प्रमोद खरेलको अमेरिका यात्राको रामकहानी

बिराट नेपाल

लेखनाथ गौतम, टेक्सास । 

म बिना कसै कसैलाई मुस्किल छ पोखरामा। शायद यो गीत नसुन्ने नेपाली भाषी कोही नहोलान। यो गीत मन नपराउने र यो गीतमा ननाच्ने पनि कोही नहोलान। भारतको आसाममा जन्मिएर झापा हुँदै काठमाडौँ आइपुगेका यो गीतका गायक अहिले नेपालका सबभन्दा व्यस्त गायक पनि हुन्। नेपालमा सर्जक कलाकारहरुलाई रोयल्टी दिने चलन त्यति छैन। तर यसबर्ष देखि रोयल्टी सङ्कलन समाजले रोयल्टी दिंदैछ। त्यसमा यो वर्षको सबभन्दा बढी रोयल्टी पाउने गायक पनि यिनै हुँदैछन। श्रीमती र एक छोराका पिता यी गायक हुन् प्रमोद खरेल।


प्रमोद खरेल अहिले अमेरिकामा छन्। बिसुद्ध साङ्गीतिक यात्रामा रहेका खरेलको अमेरिका भ्रमण पहिलो भने होइन। अमेरिका लगायत २५ वटा भन्दा बढी देश घुमिसकेको बताउने खरेल अहिले देश विदेशमा व्यस्त मात्र होइन सर्वाधिक रुचाइएका आधुनिक गायक हुन। गीत गुनगुनाएर बस्ने भन्दा गीतमा कसरत चाहने दर्शक श्रोताहरुको स्वादलाइ बुझ्दै उनी “चल बतास चल” भन्ने नयाँ गीत आज भोलि नै बजारमा ल्याउन लागेका छन्। हुमन होप फ़ाउण्डेसनको पहिलो कार्यक्रममा कोलोराडोको डेनभरमा आफ्नो जादु चलाई सकेपछि अमेरिकाका विभिन्न सहर लगायत क्यानाडामा पनि प्रस्तुति दिने कार्यक्रम छ।


डेनभरको कार्यक्रम कस्तो भयो ? औधि राम्रो भयो। निर्धारित सिट सङ्ख्या भन्दा बढी दर्शक आउनु भयो। पुराना नेपाली आप्रबासी जो धेरै पहिले भुटानमा जानु भएको थियो, उहाँहरूको आतिथ्यमा यो कार्यक्रम भएको थियो। यो उपस्थितिले उहाँहरुमा नेपाली भाषा, संस्कृति, नेपाली कला र नेपाल प्रतिको माया हामी नेपालमै बस्नेहरुको भन्दा कमी छैन भन्यो भने त्यो अतिरंजना हुँदैन। नेपाली भाषा, कला र धर्म उहाँहरूले बचाइराखेको प्रमाण हो यो। कार्यक्रममा हल खचाखच भरिएको मात्र होइन, त्यहाँ जोस, उमङ्ग र उत्साह पनि थियो। एउटा कलाकारलाई चाहिने सबै वातावरण त्यहाँ थियो।यसको लागि आयोजक र उपस्थित सम्पूर्ण जनसमुदायलाइ म हृदय देखि धन्यवाद दिन चाहन्छु।


कहाँ कहाँ छ त अब कार्यक्रम ? यसपछि यही आउँदो शनिवार विस्कनसिनमा एउटा कार्यक्रम छ। लामो समय भयो उहाँहरूले बोलाउनु भएको तर जान पाएको थिइन। यसपालि त्यो मेरो धोको पनि पुरा हुने भयो। त्यसपछि मा टेक्सस जाँदै छु। मलाई लाग्छ, टेक्सस मेरो घर हो। म जहिले आउँदा पनि टेक्सस नबसी जान सक्दिन। अघिल्लो वर्ष मात्रै म टेक्सस आएको थिएँ। एकदम रमाइलो भएको थियो। नेपाल मै भए जस्तो लागेको थियो। यसपालि पनि त्यस्तै हुन्छ। पोहोर गाएका गीत बाहेक यस बिचमा निस्केका लोकप्रिय गीत पनि गाउने योजना छ। म टेक्सासका ती फ्यान र दर्शक श्रोताहरुलाई फेरी रमाइलो गराउन आउँदै छु। पक्कै भेट होला।


टेक्सासमा केही दिनको बसाइ पछि २१ अगष्टमा टोरन्टो क्यानडा जान्छु। त्यहाँ नियमित हुने हिमालयन उत्सबमा मेरो प्रस्तुति रहनेछ। फेरी त्यहाँ केही दिन बसेर न्यु योर्कमा यम बरालले नेपालमा सहयोगको लागि आयोजना गर्न लाग्नु भएको साङ्गीतिक कार्यक्रममा जान्छु। त्यो कार्यक्रम अगष्ट २६ मा छ अनि गैर आवासीय नेपालीहरूको सङ्गठनको क्षेत्रीय भेलाको अवसरमा २८ अगष्टमा प्रस्तुत हुन्छु। अन्त्यमा ओहायोको सिन्सिनाटिमा कार्यक्रम छ सेप्टेम्बर ४ मा। त्यो कार्यक्रम सकेर नेपाल जान्छु र त्यसपछि फेरी कोरियाको कार्यक्रममा जानु छ। व्यस्तता बढी छ ।


प्रमोद खरेल जगल्टे गायक हुन्। उनको घुम्रिएको कपालले फ्यानहरुलाई भुतुक्क पार्छ। हेर्दा खाइलाग्दा र स्वरका धनी प्रमोद खरेललाइ छोएर मोई खान खोज्नेहरुको कमी छैन। विवाह पछि उनलाई अलि हाइसन्चो भएको छ। नत्र त बिहे गर्छु भन्नेहरुको ताँती नै लाग्थ्यो, उनी हाँसी हाँसी भन्छन्। मिले सम्म सपरिवार साङ्गीतिक यात्रामा निस्किन चाहे पनि समयको अत्यधिक चापले त्यो काम उनलाई  à¤¤à¥à¤¯à¤¤à¤¿ सजिलो छैन। कहिले काहीं जान्छौं सँगै, तर म सँग हिड्न र त्यो समय तालिकामा हिड्न उनलाई गाह्रो हुन्छ। यसमा नियत होइन बाध्यता जोडिएको छ। हामी जस्ता कलाकारको परिवारलाई आइपर्ने यो एउटा ठुलो समस्या हो । यो कुरा मेरी प्यारीले बुझ्छिन। उनी मेरो शक्ति हुन्, कमजोरी होइनन। उनी आए पछि मेरो यात्रा झन् फराकिलो भएको छ। मेरो उचाइ बढेको छ।


यी जगल्टे गायकले पैसा पनि राम्रै हात पार्छन। महिनामा दर्जनौं गीत रेकर्ड गर्छन्। विदेश नगएको महिना हुँदैन। सीआरबिटी बाट पनि राम्रै आम्दानी गर्छन्। अब त रोयल्टी पनि पाउँदैछन्, त्यसमा पनि एक नम्बरमा छन् यसपालि। “जे होस् यो कपाल स्याहार गर्न पुग्ने कमाई छ” उनी हाँस्दै भन्छन्। जे होस् उनको कलालाई मान्नै पर्छ। यति लामो समय देखि नेपाली साङ्गीतिक आकाशमा चम्किरहनु चानचुने कुरा होइन। उनले नेपाली सङ्गीतलाई दिएको यो योगदान पक्कै इतिहासले मूल्याङ्कन गर्ने नै छ। दर्शक श्रोताहरुको माया नै आफूलाई काफी भएको बताउने गायक खरेलको अमेरिका यात्रा सफल बनोस। अमेरिका मात्र होइन समग्र साङ्गीतिक यात्रा सफल होस्। हामी सम्पूर्ण श्रोताहरुको शुभकामना छ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक