Similar Articles

बिचार

अमेरिकामा रोजगारीका लागि मेहनत मात्रै होइन, अब लगानी गर्न थालौं-- नारायणप्रसाद सापकोटा

बिराट नेपाल

अमेरिका आउनु नेपालीका लागि मात्र नभै विश्वका धेरै मान्छेका लागि सपना बनेको छ । तर आएपछि अमेरिकी शैक्षिक योग्यता विना गर्ने रोजगारीमा मेहेनत धेरै गर्नुपर्छ ।यहाँ आएर कसरी के काम गर्ने भन्ने थाहा नपाई अमेरिका छिर्ने धेरै छन् । यहाँ आएपछि के काम गर्ने भन्ने समस्या जुनै देशबाट भित्रिएकाहरुमा पनि देखिएको देखिन्छ ।धेरै समय अगाडी अमेरिका छिरेर आफ्नो व्यवसाय सुरु गर्न सक्नेलाई भने अमेरिका अझ न्युयोर्कमा धेरै सजिलो छ । सरकारलाई कर बुझाएपछि र ग्राहकलाई सन्तुष्ट पार्न सके यहाँ“ विजनेस सफल हुन्छ । व्यवसाय सञ्चालनका लागि अलग्गै युवाहरूको समूहलाई पाल्न यहाँ पर्दैन । तर आफ्नो व्यवसाय सुरु गर्न नसक्नेका लागि भने यहाँ कमाउन सहज छैन ।

 

आफ्नो व्यवसाय सुरु गर्न र लगानी गर्न नसक्नेका लागि भने अमेरिका आउनु पनि अन्य मुलुकमा वैदेशिक रोजगारीमा गएजस्तै हुन जान्छ । अमेरिका ‘अवसरको भूमि’ हो । यसको उपयोग कानुनको पूर्ण पालना, सानो भए पनि लगानीको सुरुवात, व्यवसायमा प्रवेश र शैक्षिक योग्यता हासिल गरेपछि मात्रै हुनसक्छ । यसो नगर्ने हो भने वैदेशिक रोजगारीमा मात्रै सीमित हुन्छ अमेरिकाको बसाई ।पाँच वर्षजति जस्तो सुकै काम गरेर आफ्नो व्यवसाय सुरु गरेका केही एसियन नागरिक न्युयोर्कलगायतका ठाउँमा भेटिए । धेरैजसो भारतीयहरु अमेरिका छिरेर व्यवसाय सुरु गर्न थालिहाल्दा रहेछन् । चिनियाँको पनि व्यापार र लगानी धेरै छ । जापनीजहरुको पनि व्यवसाय टन्नै भैसकेको छ । तर नेपाल लगायतका अरू एसियनहरुको व्यापार–व्यवसाय कम छ ।अमेरिकामा व्यवसाय धेरै भएका जापान, कोरियाबाट यता आउनेलाई यहाँ सहज काम पाउन त्यति धेरै समय लाग्दैन । त्यही देशका नागरिकले गरेको व्यवसायमा काम थालिहाल्दा रहेछन् । तर थोरै व्यापार व्यवसाय भएका नेपालीका लागि भने अवसरका ढोका सहजै प्राप्त हुँदैनन् ।आफ्नै देशवासीको व्यवसाय कम हुनेका लागि अन्यत्र काम गर्नुपर्ने हुन्छ । 

 

अमेरिकामा अझ न्यु योर्क र क्यालिफोर्नियामा उच्च शिक्षा नलिनेका लागि उच्च आम्दानीको काम भने ड्राईभिङ हो । आफनै कार किनेर वा नकिनीकन ड्राईभिङ गर्न सकिनन्छ । आम्दानी पनि राम्रै हुने रहेछ । लगानी गर्ने हो भने अरू धेरै साना व्यवसाय पनि छन् ।अमेरिकामा नै आएर उच्च शिक्षा लिएका एसियनले पनि शिक्षा अनुसारको काम ढिला, चाँडो पाई हाल्छन् । यहाँको शैक्षिक प्रमाणपत्र नहुनेले गर्ने के त ? उत्तर सहज छ लगानी ।लगानी कहाँ गर्ने त ? उत्तर सहज छ सानो व्यापार, सेयर र रियल स्टेटमा । लगानी नगर्ने हो भने भविष्यमा आर्थिक आधार बलियो हुन कठिन हुन्छ । दैनिक रूपमा गरिएको कामको प्रतिफल लगानीको अभावमा शून्य हुन जान्छ ।अमेरिकामा बस्ने नेपाली भनेपछि बुझेकालाई यो कति दुःख गरेर बसेको होला भन्ने पर्छ भने केही थाहा नभएकाले अमेरिकामा बसेर मस्ती गरेको छ भन्छन् । कहिल्यै ननिदाउने न्युयोर्कको सहरमा जो बाँच्न सक्छ संसारको जुनसुकै ठाउँमा पनि उ जिउन सक्छ । ठुलो सहरमा जति सुविधा हुन्छन् भने सङ्घर्षका कथा पनि त्यतिकै हुन्छन् ।लगानी नगर्ने नेपालीसहितका आप्रवासी दुःखसुख गरेर बसेका छन् अमेरिकामा । दिनको १२ घण्टा सातामा ६ दिन सम्म काम गर्ने नेपाली न्युयोर्कमा धेरै भेटिए । अरू देशका आप्रवासीको अवस्था पनि उस्तै हो ।यसरी दुःख गरेर कमाएको पैसा नेपालीमा विनिमय गरेपछि अलि राम्रै देखिन्छ । 

 

विनिमय नेपाली रुपैयाँमा गरेर के गर्नु काठमाडौँमा किन्ने सामान विदेशबाट नै लगिने हुन् । ती सामान पनि अमेरिकी डलरमा पैसा बुझाएर किनिएका हुन् र बिक्री हुने नेपाली रुपैयाँमा नै हुन् ।न्युयोर्कमा बस्नका लागि एक जनाको आम्दानीले कोठा भाडामा लिन पनि सकिँदैन । चार जना मिलेर बस्ने हो । दुई वेडरुम भएको कोठा न्यूनतम १ हजार ८ सय डलरमा पाइन्छ । यसमा सामूहिक बसाई नगरे काठमाडौँमा पैसा पठाउन वा बचत गर्न सकिँदैन ।काम गर्ने भनेको अधिकांश नेपालीले रेस्टुरेन्ट र ग्रोसरी स्टोरमा हो । काठमाडौँको किराना पसलजस्ता स्टोरमा काम गर्ने नेपाली धेरै छन् । रेस्टुरेन्टको किचेनमा खाना बनाउने, वेटरको काम गर्ने नेपाली धेरै छन् । सेल्सम्यान काम गर्ने केही नेपाली भेटिए । ट्याक्सी चलाउने नेपालीको सङ्ख्या पनि अहिले बढेको छ । प्राविधिक र अलि सुविधाजनक काम पाउने नेपाली धेरै कम छन् ।पढ्न बसेका नेपालीले गर्ने काम पनि यस्तै हुन् । केहीले सुरक्षा गार्डको काम पनि गर्छन् । विद्यार्थीले काम गर्ने हो भने सुत्ने समय नै पाउंदैनन् । दिनमा १२ घण्टा सम्म काम गर्ने नेपाली धेरै छन् । १२ घन्टासम्म तातोमा चिकेन पोल्ने र महिनामा तीन लाख रुपैयाँ काठमाडौँ पठाउने नेपाली पनि धेरै छन् ।अझ उमेर पाका भएका र सामाजिक सुरक्षा नम्बर नभएकाहरुले काम पाउन कठिन छ । काम केही गरी पाईहाले पनि १२ घन्टामा ६० देखि ८० डलर कमाउंछन् । सरकारले न्यूनतम ९ डलर प्रतिघन्टा तोकेपनि व्यवसाय गर्नेले सकेसम्म न्यूनमा नै काम लगाउने हुन् । काम गर्नेहरुले सरकारी निकायमा उजुरी गर्ने हो भने यहाँ रोजगारदाता थोरै पारिश्रमिक दिँदा कारबाहीमा पर्छन । 

 

धेरैजसो नेपाली उजुरी गर्नुभन्दा पनि खुरुखुरु काम गर्छन् ।दिनको १२ घण्टा यसरी शारीरिक रूपमा खटेर काम नेपालमा गर्ने हो भने त्यहाँ पनि यहाँ कमाएजति पैसा कमाउन नसकिन भने होइन । नेपालमा काम गर्न लाज मान्ने, अल्छी मान्ने तर विदेशमा जे काम पनि गर्वका साथ गर्ने हाम्रो आम प्रवृत्ति नै हो ।अब यतिविधि दुःख गरेर कमाएको पैसा अमेरिकामा नै लगानी गर्ने केही नेपाली पनि नभएका होइनन् । तर अधिकांशले यहाँ यस्तै दुःख गरेर बस्ने तर लगानी नगर्ने नीति अपनाएका छन् । भएको पैसा काठमाडौँ पठाउने र १० औँ वर्षसम्म रेस्टुरेन्टमा काम गर्ने नेपाली धेरै छन् ।सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुँजीको जोडजाम गर्नपर्छ । काठमाडौँमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहाँ व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरू व्यवसाय सुरु गर्न डराउने रहेछन् । दिमागमा विदेश भन्ने घुसाएर नेपालीहरू अमेरिकी नागरिक बनेका छन् । अमेरिका बस्ने हो भने यसैलाई आफ्नो देश मान्नुपर्छ अनिमात्र केही गर्न सकिन्छ । अमेरिका प्रजातान्त्रिक मुलुक र बलियो न्यायपालिका भएको मुलुक हो । गल्ती नगर्नेले यहाँ डराउन पर्दैन । तरपनि यो देशलाई विदेश नै ठान्ने हो भने यहाँ बसेर केही गर्न सकिँदैन नेपाल फर्कनुपर्छ ।सानो व्यवसायसँगै थोरै पुँजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्प छ । सेयरमा लगानी गर्ने भनेको कम्पनीको मालिक (सेयर होल्डर) हुने हो ।उदाहरणका लागि फोर्ड वा अन्य कुनै मोटरलाई ट्याक्सीका रूपमा चलाउँदै यसको सेयर होल्डर बन्न सकिन्छ । यसका लागि सेयरमा लगानी गर्नुपर्छ । अमेरिकामा धेरै म्युचुअल फन्ड छन् । यस्ता फन्डको सेयर किन्दा जोखिम कम हुन्छ । 

 

लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पाँच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ । त्यसैपनि १० वर्ष अमेरिकामा बिताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान सँगै आर्थिक लाभ पनि हुनेछ ।सेयरमा लगानी गर्नका लागि आर्थिक क्षेत्रको अध्ययन नगर्ने हो भने घर किन्नुस । महिनामा अपार्टमेन्ट भाडाका लागि तिरेको पैसाले घरको किस्ता तिर्न पुग्छ । अर्को विकल्प भनेको सानो व्यवसाय सुरु गर्ने हो । अरुकोमा काम गर्ने भन्दा अरूलाई काम लगाउने हो । यसका लागि धेरै पुँजी पनि आवश्यक पर्दैन । माात्र क्रेडिट स्कोर राम्रो बनाउने हो भने यहाँ जुनसुकै लगानीका लागि बैङ्कले पैसा उपलब्ध गराउँछन् ।शैक्षिक योग्यता र लगानीको बाटो नसमाईकन अवसरको भूमि अमेरिकामा सफलता हासिल गर्न धेरै कठिन हुन्छ । यसले लगानीका लागि आजैदेखि योजना बनाउने हो की ?

 


–सापकोटा नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष हुन् ।  à¤²à¥‡à¤–कको ब्लग Nsapkota.blogspot.com



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक