Similar Articles

Home Page Spiritual Articles

कर्म: जानेमा योग, नजानेमा बन्धन ---प्रा. ड़ा. नारायण कुँवर

बिराट नेपाल

कर्मको कारणबाट नै मानिसको अनन्त जन्म मरणको चक्र चलिरहेको हुन्छ| कर्मबाट संस्कार र संस्कारबाट सूक्ष्म शरीरको निर्माण हुन्छ| मानिसको मृत्यु पश्चात् उसको स्थूल शरीर नष्ट भएतापनि सूक्ष्म शरीर सक्रिय भईरहेकोहुन्छ| आफ्ना अपुरा इच्छा, आकंक्षा पुरा गर्न र प्रारब्ध कर्मको भोग गर्न सक्रिय रहेको सूक्ष्म शरीरले फेरि अर्को स्थुल शरीर प्राप्तिको लागि नयाँ शरीर धारणा गर्दछ| यसरी कर्मको कारणबाट अनन्त जन्म मरणको चक्र चलिरहने हुनाले मुक्तिको लागि कर्म बन्धन बन्छ, तर कर्मको नियम राम्रोसँग जानेमा कर्म मुक्तिको लागि योग साबित हुन्छ|

साधारणतया कर्म भन्नाले दैनिक जीवनमा गरिने क्रियाकालापलाई जनाउँछ| परन्तु कर्म त्यतिमा मात्र सीमित रहदैंन| हामीले अरूलाई आदेश दिएर गर्न लगाएको कार्य पनि हाम्रो कर्म भित्र पर्दछ| हामीले बोलेको बचन र हाम्रा मनमा उठेका इच्छा, आकाङ्क्षा, बिचार, इत्यादि पनि हाम्रा कर्म भित्र नै पर्दछन| एक पटक परमहंस योगानन्दले आफूलाई टोकिरहेको मच्छडलाई मार्न उठाएको हात एक्कासि रोकेको देखेर उहाँका गुरु स्वामी युक्तेस्वरले भन्नुभएको थियो - मनमा मार्ने बिचार उठ्नु नै मारेको बराबरको पाप हो, त्यसकारण हात नरोकिकन त्यो मच्छडलाई मारे पनि केही फरक पर्दैन|
कर्मको नियम अनुसार प्रत्यक कर्मले फल दिन्छ र फल दिएपछि मात्र शान्त हुन्छ अर्थात् त्यसको प्रभाव मेटिन्छ| कसैलाई हामीले दुर्बचन बोल्दा पनि त्यहाँ कर्मको उत्पत्ति हुन्छ| जसलाई हामीले दुर्बचन बोलेका छौँ, उसले ढिलो चाँडो त्यसको प्रतिकार गर्छ| दुर्बचनको जवाफ दुर्बचनले नै होस् किंवा कुनै सानो ठुलो हानी-नोक्सानी पुराएर होस् वा मनमनै सरापेर पनि प्रतिकार गर्न सक्छ| दुर्बचनको जवाफ जे जस्तो भएता पनि त्यो हामीले गरेको कर्मको फल हुन्छ, जुन प्राप्त भएपछि त्यसको प्रभावको अनत्य हुन्छ|

शास्त्र अनुसार कर्म तिन प्रकारका हुन्छन्: कृयामण कर्म, संचित कर्म र प्रारब्ध कर्म| दैनिक जीवनमा गरिने क्रियाकलापलाई कृयामण कर्म भनिन्छ| प्रत्यक कृयामण कर्मले फल दिएर मात्र शान्त हुन्छ| अपितु: सबै कृयामण कर्मले तत्कालीन जन्ममा फल दिंदैनन्| फल नदिएसम्म तिनीहरूको संचय भैरहेको हुन्छ| अनन्त जन्मदेखि फल नदिएर संचय भएका त्यस्ता कर्मलाई संचित कर्म भनिन्छ| संचित कर्म मध्य केहीले परिपक्व भएर कुनै जन्ममा फल दिन थाल्छन्| फल दिन थालेका त्यस्ता सन्चित कर्मलाई प्रारब्ध कर्म भनिन्छ| प्रारब्ध कर्म भोग्नै पर्छ, भोगेपछि मात्र तिनका प्रभाव मेटिन्छन्|
एकातिर प्रत्यक जन्ममा प्रारब्ध बनेर केही संचित कर्म त मेटिन्छन् भने अर्कोतिर नयाँ संचित कर्म थपिने क्रम पनि चलिरहन्छ| अत: प्रारब्ध द्वारा मात्र संचित कर्म मेट्न सकिंदैन| संचित कर्मको अन्त नभएसम्म सूक्ष्म शरीर सक्रिय भइरहन्छ र मानिस जन्म मरणको चक्रमा घुमिरहन्छ| संचित कर्म मेटाउनको लागि विभिन्न उपायहरुको अवलम्बन गर्न सकिन्छ| मुलभूत उपाय नै कर्मलाई संचित हुन नदिनु हो|

सकाम कर्म संचित हुन्छ भने निष्काम कर्म संचित हुँदैन| कुनै पनि कार्य सम्पादन गर्दा लक्ष अनुरूप परिणाम आउने वा नआउने दुवै सम्भावना हुन्छ| परिणाम जेजस्तो आउँछ त्यसलाई सहजताका साथ स्वीकार नगर्नुलाई फल प्रति आशक्ति राखेको भनिन्छ| फल प्रति आशक्ति राखेर गरिएको कार्यलाई सकाम कर्म भनिन्छ भने फल प्रति आशक्ति नराखेर गरिएको कार्यलाई निष्काम कर्म भनिन्छ| फल प्रति आसक्ति हुने हुनाले सकाम कर्म संचित हुन्छ तर फल प्रति आसक्ति नहुने हुनाले निष्काम कर्म संचित हुँदैन|

सकाम कर्म संचित हुने हुनाले मुक्तिको लागि बन्धन बन्छ|
निष्काम कर्म संचित नहुने हुनाले मुक्तिको लागि योग बन्छ|

यस सम्बन्धमा भागवद् गीतामा भगवान् कृष्ण भन्नु हुन्छ:

युक्त: कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम्|                                
अयुक्त: कामकारेण फले सक्तो निबध्यते|| (५:१२)

अर्थात्: निष्काम कर्म गर्नेहरुको आफ्ना कर्म फल प्रति आशक्ति नहुने हुनाले मुक्ति प्राप्त गर्दछन् भने सकाम कर्म गर्नेहरु आफ्ना कर्म फल प्रति आशक्ति हुने हुनाले बन्धनमा पर्दछन्|

कर्ताभाव राखेर अर्थात् ‘कर्ता म नै हुँ’ भनेर गरेको कर्मको फल प्रति आशक्ति हुने हुनाले सकाम कर्म बन्छ| ‘वास्तवमा कर्ता त परमात्मा हो, म त केवल निमित्त मात्र हुँ’ भन्ने भाव राखेर गरेको कर्मको फल प्रति आशक्ति नहुने हुनाले निष्काम कर्म बन्छ| भागवद् गीतमा भगवान् कृष्णको उपदेशलाई व्याख्या गर्दै परमगुरु ओशो भन्नुहुन्छ - जीवन दिने परमात्माले कर्म पनि त दिएको हो; त्यसैले कर्ता पनि उही परमात्मा हो र कर्मको फल पनि उनै परमात्माको हो भनेर कर्म गर्दा निष्काम कर्म बन्छ| ओशो भन्नुहुन्छ वास्तवमा कर्म बन्धन होइन कि कर्ताभाव बन्धन हो|

कर्ताभाव बेहोसीबाट हुन्छ| सन्त गुर्जेफ अनुसार मानिस जीवनकालमा सरदर पाँच मिनेट मात्र पूर्ण होसमा हुन्छ| मनमा एक पछि आर्को विचारहरू चलिरहने हुनाले चेतना सधैँ परकेन्द्रित वा बाहार्मुखी भइरहेको हुन्छ| चेतनाको त्यस्तो स्थितिलाई बेहोसी भनिन्छ| कहिलेकाँही बेहोसी यति प्रगाढ हुन्छ कि वरिपरि के भैरहेको छ थाहा नै हुँदैन| कसैले घच्घचाएपछि मात्र झसंग भइन्छ र दुई तिन सेकेन्डको लागि होसमा आइन्छ| आर्को उदाहरण: चलाइरहेको गाडी आर्को गाडीसंग ठक्कर खाएको अवस्थामा पनि झसंग भइन्छ| झसंग भएको बेलामा बिचार ठप्प हुने हुनाले पूर्ण होसमा आइन्छ, तर दुई तिन सेकेन्डपछि फेरि विचारहरू चल्न थाल्ने हुनाले बेहोसी सुरु हुन्छ| साधारणतया एकैसाथ स्व:केन्द्रित र परकेन्द्रित चेतना (double arrowed consciousness) को स्थितिमा रहनुलाई होस भनिन्छ| होसमा रहेर कर्म गर्दा कर्ताभाव हुँदैन| भागवद् गीतामा भगवान् कृष्णले ‘योग: कर्मसु कौसलम’, अर्थात् कौसलाताकासाथ कर्म गर्नु नै योग हो भन्नु भएको छ| कौसलाताकासाथ कर्म गर्नु भन्नुको अर्थ होसकासाथ कर्म गर्नु भन्ने प्रस्ट हुन्छ|
फल प्रति आशक्ति भएर गरिने सेवा, परोपकार जस्ता यावत पुण्य कार्यहरू पनि सकाम कर्म भित्रै पर्दछन्| उधारणहको लागि यश, कृति तथा आशीर्वादको अपेक्षा राखेर वृद्धाश्रम खोल्नु जस्ता कार्य पनि सकाम कर्म बन्छ| पुण्य कार्यको फल अवश्य राम्रो हुन्छ, तर सकाम कर्म बनेर संचित हुने हुनाले त्यसको प्रारब्ध भोग्न फेरि शरीर धारणा गर्न पर्ने हुन्छ| पूजा, आराधना पनि यदि संसारिक विषय बस्तु प्राप्तिको लागि गरिन्छन् भने ती कार्यहरू पनि सकाम कर्म भित्रै पर्दछन्|

कसैले हामीलाई बिनाकारण दुर्बचन बोल्छ, कोही हाम्रो बिनाकारण शत्रु बन्छ वा एक्कासि हाम्रो परिस्थिति प्रतिकुल बन्छ भने त्यो प्रारब्ध कर्मको कारणबाट हुन सक्छ| प्रारब्ध कर्मलाई सहजताका साथ भोग्यो भने मेटिन्छ, परन्तु त्यसबाट दु:खित भएमा, त्यस प्रति सिकायत गरेमा वा प्रतिक्रिया गरेमा फेरि नयाँ कर्मको निर्माण हुन्छ| त्यसैले शद्गुरु ओशो सिध्दार्थज्यूले भन्नुहुन्छ - विपरीत परिस्थितिमा पनि सहज बन, मस्त रहू र सुमिरन (परमात्माको स्मरण) गर| शदगुरु भन्नु हुन्छ - कसैको वा केही कुराको सिकायत गर्नुहुन्न, व्यक्तिको सिकायत गर्नु भनेको नै परमात्माको सिकायत गर्नु हो|

अस्तित्वमा गुन्जिरहेको दिव्य ध्वनि ओमकारको श्रबणबाट अनन्त जन्मदेखि संचित भएका कर्महरु मेटिन्छन्| यसै सन्धर्भमा परमगुरु ओशो भन्नु हुन्छ -तिन मिनेट मात्र पनि दिव्य ध्वनि श्रबण गर्दा तिन वर्षको संचित कर्म मेटिन्छन्| ब्रह्मज्ञानी सद्गुरुबाट दिक्षा लिएपछि जुन सुकै बेलामा पनि त्यो दिव्य ध्वनि कानमा गुन्जी रहन्छ|

प्रज्ञा अर्थात् ज्ञानको विकासबाट पनि संचित कर्म मेटिन्छ| सत्संग, शास्त्रको अध्ययन मनन र सद्गुरुको उपदेशबाट ज्ञानको विकास हुन्छ| आत्मज्ञान प्राप्त भएपछि सम्पूर्ण संचित कर्म नष्ट हुन्छ| त्यसैले धर्मको लक्ष आत्मज्ञान हो भनिएको हो|

कर्मको नियम अकाट्य छ| खराब कर्म जस्तै दुई नम्बरी धन्दा गरेर पनि कसैलाई फलिफाप भएको देखिन्छ| त्यस्तो देखिंदा कसैको मनमा कर्मको नियम प्रति आशंका हुन्छ| तर आशंका मान्न पर्दैन| यो जीवनमा फलिफाप हुनु उनीहरूको प्रारब्ध कर्मको फल हो| प्रारब्ध कर्म भएको हुनाले दुई नम्बरी धन्दा नगरेको भए पनि उनीहरूलाई धन सम्पत्तिको कुनै कमी हुने थिएन| जाहाँ सम्म खराब कर्मको फल हो, तत्कालीन जन्ममा उनीहरूले भोग्न नपरे पनि कर्मको नियम अनुसार त्यो संचित भएर पछिका कुनै जन्ममा भोग्नै पर्दछ| यो जन्ममा टरे पनि पछिका कुनै जन्ममा त्यो प्रारब्ध बनेर आउँछ|
कर्म र पुनर्जन्मका नियमहरू हिन्दु र बुद्ध धर्मका मुख्य मान्यता हुन्| यी मान्यता नै दुवै धर्मका मुख्य आधार पनि हुन्| यी मान्यता ठिक देखेर यी दुई धर्म प्रति आकर्षित हुने पश्चिमी मुलुकका मानिसहरूको सङ्ख्या बढदो छ| पश्चिमी मुलुकका प्राय सबै व्यक्तिहरूलाई कर्मको बारेमा थाहा भैसकेको छ| क्रिस्चियन धर्म मान्नेहरुले पुनर्जन्ममा विश्वास गर्दैनन्, तर हिन्दु र बुद्ध धर्मका मान्यता सही देखेर ४० प्रतिशत भन्दा बढी क्रिस्चियनहरुले पुनर्जन्ममा विश्वास गर्न थालिसकेका छन्|

मानिसले जीविकाको लागि कुनै न कुनै कर्म गर्नै पर्दछ| कर्मको नियम जानेमा आफैले गरको कर्म मुक्तिको लागि योग बन्छ, तर नजानेमा त्यही कर्म बन्धन बन्छ|


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक