Similar Articles

संस्मरण

खप्तड दह---शेखर ढुंगेल

बिराट नेपाल

खप्तड - राष्ट्रिय निकुन्ज प्राकृतिक रूपले अलौकिक मात्र होइन एक दैबी शक्ति एबम मानव प्रेरणा को पवित्र भूमि पनि हो ।  सुन्दा एउटा चमत्कारिक कथा जस्तो लाग्ने अनेक प्रसङ्ग जोडिएको  "खप्तड "राष्टिय निकुन्ज साच्चिकै विश्व कै एक अनुपम भूभाग हो । विदेश मात्र होइन स्वदेश मा आउदा कुनै न् कुनै नयाँ ठाउँ भ्रमण गर्ने  आफ्नो रहर वा रुचि अनुसार यस पटक मेरो रोजाई मा पर्‍यो सुदुर पश्चिम नेपाल को एक सुन्दर रमणीय पवित्र स्थल खप्तड  राष्ट्रिय निकुन्ज जुन बझांग बाजुरा आछाम र डोटी  जिल्ला को घेराउ (बिच )मा पर्दछ ।

सुरुमा अमेरिका बासी केही मित्र हरू समेत भ्रमण एबम ब्यबसायिक उदेश्य ले उत्साहित भएर तयारी हुनु हुन्थ्यो तर काठमाण्डौं पुगे पछि विविध कारण ले व्यस्तता देखाई यात्रा गर्न असमर्थ जनाउनु भए पछि आफूले पूर्व निर्धारित गरी सकेको कार्यक्रम भएको हुँदा  एक्लै भ्रमण गर्ने निधो गरी नोभेम्बर २३ तारिख को दिन काठमाण्डौं वाट  धनगडी को लागि यति एयर लाइन्स वाट प्रश्थान गरे ।

करिब सवा घण्टा भन्दा बढीको हवाई यात्रा मा उत्तर तर्फ देखिने क्रमस  मनस्लु ८१६३ मि .अन्नपूर्ण ७५२५ मि .,माच्छापुछ्रे ६९९३ मि. अन्नपूर्ण दक्षिण ७२१९ मि .,अन्नपूर्ण एक ८०९१ मि .,निलगिरी ६९४६ मि .,धौलागिरी एक ८१७६ मि .,चुरे हिमाल ७३७१ मि .,डोगरी हिमाल ६५३६ मि .,संजंग ५९२४ मि ., अपि नाम्पा ७१३२ मि .,हिमाली शृंखला लगायत साइपाल(७०३१ मि .) हिमालय को सुन्दरताले  मन मुग्ध बनाइ रह्यो .नर्बे स्विजरल्याण्ड लगायत विश्व को अन्य २६ देश भूमि सकेको यो पंतिकार लाई नेपाल को यस्तो अनुपम प्राकृतिक दृश्य र सुन्दरताको दाँजो मा दोस्रो कुनै भूभाग यो पृथ्वी मा छैन भन्ने मा दृढ विश्वास बढाउदै लागेको छ .यी सुन्दर हिमाल हरू को चित्र क्यामेरा मा कैद गर्दा गर्दै धनगडी आइ पुगेको पत्तो नै भएन ।

धनगडीमा सुबर्ण सन्देश ट्रावल एजेन्सीले बस्ने होटेल र भोलि बिहानको सिलगडी (डोटी) सम्म पुग्ने गाडीको व्यवस्था मिलाई दिएको थियो ।  धनगडी मा देभोटी ,रुबुस र साथी जस्ता स्तरीय होटेल हरू को स्थापना भैं सकेको छ  जहाँ तातोपानि, इन्टरनेट (वाइफाई)समेतको सुविधा छ । उल्लिखित ट्रावल एजेन्सी र होटेल हरुले समेत खप्तड राष्ट्रिय निकुन्ज भ्रमण वा सो क्षेत्र मा ट्रेकिंग यात्रा गराउने विविध route हरुको व्यवस्था पनि गरेको छ । २४ नोभेम्बर बिहान सबेरै टोयोटा प्राडो जिप भाडा मा लिएर महेन्द्र राजमार्ग को अत्तरिया पार गरी गोदावरी फेदी हुँदै पहाडी उकालो को यात्रा सुरु हुन्छ । डडेल्धुरा बजार नपुग्दैको चोक वाट ओरालो  र समथर हुँदै सेती नदी को किनार नै किनार को अति सुन्दर गाउँ बस्ति हुँदै दिपायल पुगे पछि फेरी सुरु हुन्छ करिब ३०/४० मिनेट को उकालो बाटो जुन सिलगडी बजार पुगेर सकिन्छ । तत्पस्चात आछाम जाने र खप्तड जाने बाटो अलग हुन्छ । २४ गते रात सिलगडी मा नै बास बसेर नोभेम्बर २५ तारिख बिहान सबेरै खप्तड को लागि पैदल यात्रा सुरु भयो .खप्तड राष्ट्रिय निकुज को प्रवेश मार्ग झिग्राना  पुग्न स्थानीय लाई ३ घण्टा लाग्छ भने म वा अन्य पर्यटक को लागि एक दिन अर्थात् ७/८ घण्टा लाग्ने रहेछ अथवा लाग्यो भनौ । हाल लाई सिलगडी देखि झिग्राना पुग्न पैदल मार्ग बाहेक विकल्प छैन तर निकट भविष्य आमा नै सडक निर्माण कार्य सम्पन्न हुन् गई रहेको हुँदा जिप वा मोटर साइकल वाट पुग्न सकिन्छ वा सकियो भने बाटो छोट्टीएर एक डेढ घण्टा को हुन् सक्छ । अन्दाजी २९०० मिटर उचाइ को सिलगडी पूर्व उत्तरको डाँडो पार गर्न निक्कै हम्मे हम्मे पर्‍यो । प्रत्येक सय पाइला पछि थचक्कै बस्ने स्थिति आइ पर्‍यो । तर केही बाटो पार गरे पछि पछाडि वाट आउदै गरेका स्थानीय बासिन्दा हरू को सहयोग र वहा हरू सित गफ गर्दै अगाडी बढ्दा थकान र अल्छिपन टाढा भाग्यो ।

टाढा वाट हेर्दा नेपाली हरू मा पछिल्लो समय मा एक अर्को मा सहयोगी भावना नरहेको सदभाब नभएको एक अर्का प्रति त्रसित जस्तो देखिए पनि वास्तवमा त्यो भ्रम रहेछ जब गाउँ घर मा पुगिन्छ त्यहाँ त् आज पनि पानी माग्दा मोही दिने जस्तो चलन अझै जीवित रहेको सहयोगी भावना झनै प्रगाढ भएको स्पष्ट अनुभव गर्न सकिन्छ । सिलगडी को उकालो सिध्याएर समथर बाटो हिड्दै थिए विपरीत दिशा वाट अन्दाजी ६५/७० वर्ष का मानिस २५/३० किलो को मुला को भारी  (डोको )बोकेर आउदै हुनु हुन्थ्यो । आँखा जुध्यो मैले नमस्कार भने वहा ले नमस्कार फर्काउनु भयो र सोध्नु भयो कता पुग्दै हुनु हुन्छ ?मैले भने खप्तड घुम्नजान लागेको बाटोको दुरी र अवस्था सोधे पछि नाम र थर पनि सोधे वहा ले भन्नु भयो मेरो नाम दल वीर कामि हो यो मुला सिलगडी बजार मा बेच्न लैजान लागेको हु । मुलाको दाम सोधे ३५ रुपिया किलो रहेछ ।  रातो रसिलो मुला देखेर मुख रसायो र सोधे एउटा मुलाको कति पर्छ त् म त् किलो खाई सक्दिन के गर्ने ? वहाले भन्नु भयो हा हजुर त् हाम्रो पाहुना हो नि एउटा मुला को पनि के पैसा लिनु खानुस कुन चाही मन पर्छ छानेर लिनुस । मेरो मन के मान्थ्यो र एक त् बेच्न लागेको दोस्रो त्यस्तो वृद्ध ले बोकेको । मैले ७० रुपिया दिए वहाले हात जोड्दै भन्नु भयो हजुर त् भगवान् हुनु हुदो रहेछ मैले भने हामी सबै एउटै हौ कोइ मानिस र भगवान् हुँदैन तपाइले त्यतिकै दिने महानता देखाउनु भयो मैले तपाईँ को मेहिनत को मूल्य तिरेको मात्र हो भन्दै नमस्कार आदान प्रदान गरी हामी आ आफ्नो बाटो लाग्यौ ।

म एक्लै अगाडी बढ्दै थिए । एक बक्ति पछाडि वाट मलाई भेट्टाउन आइ पुगे । उनले सोधे कता पुग्ने हजुर मैले आफ्नो गन्तब्य बताई दिए पछि उनको नाम सोधे उनी थिए मान बहादुर सार्की बगले गा बि स बस्ने रहेछन् । पिथौरागढ़मा काम रहेछ छुट्टीमा घर आउनु भएको रहेछ । कुरै कुरो मा थाहा भयो २८ जना को सगोल परिवार मा मन बहादुर एक्लो कमै गर्ने व्यक्ति रहेछन् बानी सब खेती किसानी गर्ने रे वहाको आफ्नो गरौ झोला त् छदै थियो म थाकेको अनि पसिना पसिना भएको देखेर बलजफ्ती मेरो ब्याग प्याक (झोला )बोकी दिएर मलाइ आभारी बनाउनु भयो । अझै पनि यस्ता सदभ्याब र सहयोगी मानिस हाम्रो समाज मा छन् ? म अचम्मित भए । एक घण्टाको सहयात्रा पछि वहाको घर तिर लाग्ने बाटो छुट्टिने भयो मैले खाली हात बिदा गर्न सकिन जाडो हुन्छ होला भनेर किनेको एउटा ज्याकेट थियो त्यही दिए वहा ज्यादै खुसी हुनु भयो मलाई लाग्यो अनजान यात्री ले गरेको सहयोग को लागि केही अंश भार चुक्ता गरे जस्तो महसुस भयो । झिग्राना भन्दा अगाडी बगले गा बि समा म गल्तीले उकालो अर्थात् गलत बाटो लागेछु खै कतावाट मलाइ गाई भैसी चराउदै गरेका साना साना नानीहरुले भगवान् जाने म खप्तड जान लागेको कसरि थाहा पाए वा त्यो बाटो कतै नजिकै सकिन्थ्यो कि दौडिदै आएर भने दाइ दाइ त्यो बाटो होइन सिधा जानुस सिधा, धन्य भगवान् कहीँ न कहीँ कोइ न कोइ त् पठाइ रहेछौ सहयोग को लागि, झिग्राना पुग्नु भन्दा एक घण्टा अगाडी अर्का भाइ आइ पुगे पछाडिबाट सिलगडी वाट म भन्दा ५ घण्टा ढिला हिंडेका रहेछन् । एक वर्ष पहिले मलेसियाबाट फर्केका बोगटी थरका ती भिले आफ्नो गाउमा किराना पसल खोलेका रहेछन् ४ जना र ४ घण्टाको बाटो रहेछ उनको गाउँ वाट सिलगडी बजार पुग्न । उनले आफ्नो पसल को लागि ५ किलो चिनी केही चाउचाउ र केही बिस्कुट किनेर लेराएका रहेछन् । मलाइ भोक लागेको थियो एक प्याकेट बिस्कुट किन्न मागेको के थिए उनले कुनै हालतमा पैसा लिन मानेनन र भने सर पाहुना भनेको त् हाम्रो लागि भगवान् हुन् एक प्याकेट बिस्कुटको पैसा कसरि लिनु ?मैले भने होइन भाइ तपैले पैसा हालेर नाफा कमाउने उदेश्य ले यत्रो लामो बाटो हिंडेर किनेर लेराउनु भएको छ बिना पैसा खानु त् अपराध हो प्लिज लिनुस न् पैसा उह्ह उनले मानेन । उनको मलेसिया को दुख सुख को कुरो गर्दै एक घण्टा को बाटो सजिलो सित काट्न सके मैले । उनकै सहयोग मा ४ बजे साँझ  झिग्राना नेपाली सेना को पोस्ट पुगे जहाँ खप्तड निकुन्ज क्याम्प कमान्डर नेपाली सेना का  मेजर सुशील सिंह को आदेश मा जमदार प्रधान मेरो प्रतीक्षामा हुनु हुदो रहेछ । हामी तिन जना हुन्छौं भनेर सहयोग को लागि ब्रिगेडियर जनरल जगदिश पोख्रेल ज्यु सित अनुरोध गरे बमोजिम वहा को आदेश मा त्यहाँ तिन जना को लागि खान र बस्ने व्यवस्था भएको थियो .त्यो दिन नेपाली सेना को सौहार्दपूर्ण आतिथ्यमा  त्यही बास भयो । धेरै वर्ष पछि नेपाली शेनाकोमा  रासन र बास को व्यवस्था जुराएको थियो धन्यवाद र आभार ब्रिगेडियर जनरल जगदिश पोख्रेल, मेजर सुशील सिंह अनि जमदार प्रधान ज्युमा ।

नोभेम्बर २५ बिहान सबेरै नेपाली सेना को भान्सामा पाकेको दुई  रोटि दुई अन्डा र एक गिलास बिसुद्ध दूध पिएर सुरु भयो ३१०९ मिटर अग्लो झिग्राना पहाडको ठाडो पैदल यात्रा दुई जना नेपाली सेनाका सहयोगी हरू को पथ प्रदर्शन एबम सहयोग मा सामान्यतया एक घण्टाको त्यो उकालो चढाई झन्डै पाउने तिन घण्टामा तय गरी बिचपानी भन्ने ठाउँ पुगे । जहाँ खप्तड राष्ट्रिय निकुन्जले आबस एबम भोजन गृहको व्यवस्था गरेको छ । आवास गृहमा दृष्टि दिएको त् भ्यागुता कुद्दै थियो ढुसीएको भित्ता र चिसो भुईँ गोठ भन्दा पनि खराब स्थितिमा थियो अर्थात् मानव बस्न योग्य त् के बस्ने सोच्न समेत सक्दैन । दुई जना कर्मचारी रहेको बिचपानी स्थित निकुन्जका कर्मचारीले बनाएको खाना भने भोख कै कारण होला अति नै स्वदिलो थियो । खाना खाएर एक छिन आराम गरे पश्चात् खप्तड स्थित नेपाली सेना को मुख्य कमाण्ड पोस्टवाट कमान्डर मेजर सुशील सिंह ज्युले पठाइ दिनु भएको घोडा र दुई जवान सहायक आइ पुग्नु भयो । झिग्राना वाट आउनु भएको नेपाली सेनाका सहयोगीहरु सित बिदा मागी नयाँ साथीको हरू साथ लागेर खप्तड तिर लागे । घोडालाइ एक्लै समेत हिड्न गार्हो पर्ने उकालो ओरालो पहाडी बाटोमा धेरै पटक घोडावाट ओर्लदै उक्लदै करिब ४ घण्टा को यात्रा पश्चात् खप्तड राष्ट्रिय निकुन्ज को सुरक्षार्थ खटिएको नेपाली सेना को मुख्य पोस्टमा पुगियो । त्यस भन्दा अगाडी प्रसिद्ध त्रिवेणी मन्दिर, नागढुंगा दर्शन गरिएको थियो । माइनस १ सेन्ट्रीगेट चिसोमा नेपाली सेनाको आतिथ्यमा उपलब्ध आगोमा पकाइएको चिया पुरी र तरकारीको स्वादको वर्णन कसरि गर्नु ?त्यस अगि बाटोमा मानिस सित दोहोरो कुरो गर्ने (मानिस को सुसेली मा जवाफ फर्काउने )चराहरुले दिने नयाँ अनुभूति अनि भर्खर भुईँ खोस्रेर हिंडेको बदेलको त्रासको अर्को अनुभूति पनि स्मरण योग्य हुने नै भयो । करिब ३ हज्जार देखि ३२ सय सम्मको अग्लो पहाडमा बाक्लो निगालो घारीमा बारम्बार देखिने कालिज अनि चित्तल देख्दा मन आनन्द हुने नै भयो ।

साच्चिकै अलौकिक मनोरम र दैबी शक्ति एबम मानव प्रेरणाको स्रोत रहेको छ खप्तड राष्ट्रिय निकुन्ज । सोच्दा पनि अचम्मको कथा जस्तो लाग्छ यो भूमिको पृष्ठभूमि अध्ययन गर्दा बेलायतमा अध्ययन गरी मेडिकल चिकित्सक (डा.)बन्नु भएका भारतीय सेनाका अधिकारी जसले एउटा दम्पतिको एक मात्र छोरीको उपचार गर्दा सफल न् भएर सो छोरी मर्ने अवस्थामा पुग्दा त्यही बखत एक योगी जम्मु कस्मिरवाट त्यहाँ आइ पुगे र उनले दिएको जडीबुटीवाट ती बालिकाको जीवन बचेको देखे पछि खप्तड स्वामी (स्वामी सच्चिदा नन्द)आधुनिक चिकित्सा पद्धति भन्दा पर्बतिय जडिबुटी र योग नै धेरै शक्तिशाली रहेछ भन्दै आफ्नो पेसा वाट बिरक्तिएर उनले वेद र उपनिशेद पढ्न सुरु गरे । कास्मिर देखि मेघालय सम्मको भ्रम पछि के स्रोत र शक्तिले उनलाई कसरि प्रेरणा र साहस प्राप्त भयो र यस्तो घनघोर जङ्गलमा एक्लै आए ?१९४० मा भारत देखि सुदुर पश्चिमको यो ठाउँमा पुग्न कसले सघायो होला ? प्रश्न आज सम अन्नुतरित नै छ । मे ९ १९९६ मा १३० वर्षको उमेरमा देहत्याग गर्नु भएका खप्तड बाबाले यो पवित्र भूमिमा ५० वर्ष बिताउनु भएको थियो । उनकै नाम मा सम्मान स्वरूप तत्कालीन श्री५ महाराजा धिराज बीरेन्द्र वाट १९८४ मा सो क्षेत्रलाई राष्ट्रिय निकुज धोषणा गरिएको थियो जुन २२५ वर्ग किलो मिटरमा फैलिएको छ पछि नेपाली सेना लाई सुरक्षार्थ खटाइएको थियो । मध्य पहाड जुन ३ हज्जार देखि ३४ सौ मिटर उचाइ सम्म पर्ने खप्तड क्षेत्रमा २२ वटा त्यस्ता पाटन (PASTURE LAND )छन् जुन घना जङ्गलको बिच बिचमा साना बुता समेत नरहेको चौर अनि आश्चर्य लाग्ने गरी उभिएका विशाल ढुंगाहरुले यो कसरि भयो होला भनेर सोच्न बाध्य पर्दछ । २२६ प्रकारका चार चुरुंगी अनि २२४ प्रकारका विविध जडिबुटी को अगाध खानी रहेको खप्तड क्षेत्र को विविध कुरो लाई मनन गर्ने हो भने साच्चिकै दैबिशक्ति बाहेक अर्को कुनै त्यस्तो शक्तिले यस्तो अनुपम भूमि कसरि निर्माण गर्न सक्छ ? भन्ने प्रश्न यहाँ आइ पुग्ने जो कोइ को मनमा पनि उठ्नु स्वभाबिक हुन्छ । ओर्चिद (ORCHIDS), गुराँस, पिउली, पाँच औले, जाइ लगायत करिब ३०० भन्दा बढी फुल हरू एबम बनस्पति को उर्वर भूमिलाई यो पृथ्वी को स्वर्ग न् भने के भन्ने ? शहस्त्र लिंगा जस्तो प्राकृतिक (ढुङ्गाको)ढोका, केदार ढुङ्गा त्यो पनि प्राकृतिक रूपले नै केदार नाथको प्रतिरूप मा रहेको छ । अर्को विशाल ढुङ्गा छ जसलाई नग ढुङ्गा भनिन्छ र भनाइ छ कि खप्तड स्वामीले सुरुमा यही ढुङ्गा फोरेर ओढार बनाएर बस्ने प्रयास गर्नु भएको थियो रे त्यो ढुङ्गामा केही फोरेको भाग देखिन्छ सो ढुङ्गा फोरेर ओढार बनाउने प्रयास गर्दा ढुङ्गा फोर्दै गर्दा रगत निस्केकोले त्यति मै छोडी वहा ले अलिपर को अग्लो भागमा कुटी बनाएर बस्नु भएको थियो । त्यति मात्र होइन अर्को चमत्कारिक धारो छ । त्यहाँ एउटा ढुङ्गा को बिच वाट कहिले देखि हो अविरल पानी खसी राखेको छ । अर्को त्यस्तै दैबिशक्ति नै लाग्ने कुरो हो खप्तड दह जहाँ बर्षौ देखि त्यो दह मा ए मात्र हाँस पौडी रहेको छ ।

त्यही पवित्र भूमिमा नेपाली सेना भन्दा आधा किलो मिटर टाढा रहेको राष्ट्रिय निकुन्जको आबस अस्तव्यस्तता, भ्रष्टता, अब्यबस्थाको निर्क्रिष्ट नमुना बनेर रहेको छ । आवास गृहको झ्यालमा सिसा छैन ढोकामा चुकुल छैन । चर्किएको भत्किएको पयर्टक आवास गृह जनावर समेत को लागि उपयुक्त देखिदैन । करोडौ खर्च गरेको छ रे राज्यले तर त्यो सबै बालुवामा पानी भएको स्पष्ट देख्न सकिन्छ । नेपाली सेनाको सहयोग प्राप्त नहुने हो भने र आफूले आवश्यक व्यवस्था नगर्ने हो भने "खप्तड यात्रा "वा खप्तड बसाइ ठुलो जोखिम पनि हुन् सक्छ । किनकि निकुन्ज भित्र अन्य विकल्प छैन । लेक लाग्ने र वर्षा याममा बिषालु घाँस ले असर पार्ने सम्भावना भएको हुँदा उपचार को व्यवस्था स्वयमले वा नेपाली सेना को सहयोग भएन भने गार्हो हुन्छ । त्यहाँ हाते फोनले काम गर्दैन । बिचपानि सम्म भने नेट (हाते फोन )सम्पर्क हुन्छ ।

नेपाली सेना को सहयोगमा धेरै सहज तरिकाले यात्रा पुरा गरी भोलि पल्ट करिब ३४ सय मिटर उचाइ मा रहेको खप्तड बाबा को कुटी मा पुगी त्यहाँ को स्वर्गीय अलौकिक प्राकृतिक मनोरमता लाई मन मस्तिस्क मा उतार्दै पुन नेपाली सेना कै सहयोग मा घोडाको सहारामा  झिग्राना सम्म फिर्ता भए । दिन को २ बजेको थियो झिग्राना सैनिक पोस्ट का सहायक कमान्डर जमदार प्रधान अन्य जवान को साथ मा सिलगडी डोटी जाने तयारी मा हुनु हुँदो रहेछ म पनि वहा हरू को पछि लागे । करिब तिन घण्टा को पैदल यात्रा पछि झमक साँझ पर्‍यो । "श्राद्ध गर्न भन्दा सिधा पुर्‍याउन गार्हो भन्ने उखान जस्तो पहिले डाँडो चढ्न गार्हो अब रात मा ओरालो लाग्न गार्हो भयो .तर मलाइ एक अर्का नेपाली सेना का जमदार साहेब ले "लौरो "उपहार दिनु भएको हुँदा धेरै सजिलो भयो । सिलगडी डाँडो वाट उत्तर बझांग सिधा तल  दिपायल मा झिलिमिली बत्ती को मन मोहक दृश्य देख्दा मैले नर्वे र स्वीजरल्याण्ड संझिए कास यो खप्तड  राष्ट्रिय निकुन्ज (२२५ वर्ग किलो मिटर )वरिपरि फेदीमा सडक हुने हो अनि दुई लाइन् सडक बत्ती हुदो हो र त्यहाँ असीमित गतिमा कार कुदाउन पाउने वा सक्ने सडक बन्ने हो अनि एक दुई ठाउमा केवल कार र  एक दुई  भ्यु टावर बन्ने हो भने नेपाल स्वीजरल्याण्ड सित दाज्ने नसकिने उम्दा दर्जा को विश्वको  आकर्षक  पर्यटक क्षेत्र हुन् सक्छ । "माल पाएर चाल न् पाएका वा राज्य र योजनाकार अनि सजिलो कमाइ मात्र रोज्ने छिट्टै धनी हुने सजिलो  व्यवसाय मात्र रोज्ने नागरिक(ब्यबसायी)हरुको मानसिकता को कारण "घर भित्रै सुन हिरा मोति डलर फल्न सक्छ तर पनि कान बुच्चै राखी अरू सित हात जोर्ने झोला थ्यापने  हाम्रो प्रवृति को कारण सबै थोक भएर पनि केही न् भएको जस्तो गरिबको रूपमा हामी अगाडी बढी रहेका छौ । करोडौ भारतीय र लाखौ नेपाली अनि विदेशी पर्यटक लाई मन्त्र मुग्ध पार्न सक्ने यो खप्तड राष्ट्रिय निकुन्ज धार्मिक र प्राकृतिक सुन्दर भूमिमा अझै आवश्यक पूर्वाधार को शिलान्यास हुन् सकेको छैन । तर पनि केही हद सम्म अहिले खप्तड भ्रमण गर्न इच्छुक स्वदेश वा विदेशमा हुनु हुने नेपाली महानुभाब हरुले धनगडी स्थित

TOURISM DEVELOPMENT SOCIETY  977-91-521900, EMAIL-INFO@TDSNEPAL.ORG अथवा WWW.TDSNEPAL.ORG मा सम्पर्क गर्न सक्नु हुन्छ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक