Similar Articles

Home Page Spiritual Articles

साधनाका चार चरणहरू--प्रा. डा. नारायण कुँवर

बिराट नेपाल

मानव जन्मको उदेश्य उपयुक्त साधना गरेर मुक्ति प्राप्त गर्नु हो| सनातन धर्म अनुसार साधनाका चार चरणहरू छन्: शास्त्रको अध्ययन गर्नु, सत्संग गर्नु, गुरुको चरणमा पुग्नु र स्वतः: साधना गर्नु |

साधनाको पहिलो चरण शास्त्रको अध्ययन हो| सन्त महात्माहरुको प्रबचन श्रवण गर्नाले पनि शास्त्रको ज्ञान हुन्छ| आत्मज्ञान भनेको सत्चितानन्द अर्थात् सत्य, चैतन्य (पूर्ण चेतना) र आनन्दको अनुभूति हो| शास्त्रको अध्ययन र श्रवण गरेर त्यस्तो अनुभूति त हुन सक्दैन, तर त्यसबाट साधनाको लागि पृष्ठभूमि भने तयार हुन्छ |

उपनिषद, ब्रह्म्सुत्र, महाभारत, रामायण र पुराणहरु हिन्दु धर्मका प्रमुख शास्त्र हुन्| पुराणहरु उपन्यास जस्तै हुन् जसका केही विषयवस्तु सत्य हुन् भने केही विषयवस्तु काल्पनिक मात्र हुन्| उपयोगको हिसाबले हिन्दु धर्मको सबभन्दा महत्वपूर्ण शास्त्र भागवद् गीता हो| यो वेदको सारतत्व हो| मुस्लिमहरुको कुराण र क्रिश्चियनहरुको बाइबल जस्तै हिन्दुहरूको धार्मिक ग्रन्थ भागवद् गीता हो| पश्चिमी मुलुकका मानिसहरूले पनि भागवद् गीता पढदछन्| स्टेफेन न्याप नाम गरेका एक जना अमेरिकनले हिन्दु धर्म र सस्कृतिसंग सम्बन्धित २३ वटा किताबहरू लेखेका छन्| हालै अमेरिकाको एउटा हिन्दु मन्दिरमा बैदिक धर्म सम्बन्धी प्रबचन दिने क्रममा उनले भनेका थिए – सानै उमेर देखि मेरो मनमा ‘म वास्तवमा को हुँ, मेरो जन्मको उद्देश्य के हो, यो परिवारमा जन्म नलिएर छिमेकीको परिवारमा किन लिइन, यस्ता प्रश्न मेरो मनमा उठने गरेको र ती प्रश्नको उत्तरको खोजीमा विभिन्न धर्मका ग्रन्थहरु पढन थांले| मेरा प्रश्नका उपयुक्त उत्तर मैले भागवाद् गीतमा मात्र पाँए| त्यसैले म बैदिक धर्म प्रति आकर्षित भएको हुँ’| यसरि बैदिक धर्म प्रति आकर्षित हुने पश्चेमी मुलुकका मानिसहरूको सङ्ख्या बढी रहेको छ |

साधनाको दोस्रो चरण सत्संग हो| सत्संगको मतलब ज्ञानीहरुसंग, सन्तहरुसंग, सत्यको मार्गमा हिड्नेहरुसंग सङ्गत गर्नु हो| सत्संगबाट साधनाको महत्व थाहा हुन्छ र शास्त्रबाट नबुझेका कतिपय कुराहरू बुझ्न सजिलो हुन्छ| साधना कुनै एउटा गुरु परम्परामा अन्तर्गत रहेर गर्नु पर्दछ| गुरु परम्पराहरु विभिन्न प्रकारका छन्, कुनै नयाँ छन् भने कुनै धेरै पुराना पनि छन्| धेरै पहिले निर्धारित गरिएका साधनाका कतिपय आचरणहरु अहिलेको परिस्थितिमा उपयुक्त नहुन सक्दछन्| अहिलेको परिस्थिति पहिलेको भन्दा धेरै कुराले भिन्द छ| अहिलेका मानिस शिक्षित छन्, शिक्षित भएकाले अन्धविश्वासमा चल्दैनन्| विज्ञानको विकासले गर्दा हरेक कुरा वैज्ञानिक दृष्टिकोणले हेर्दछन्| अहिलेको धेरैजसो मानिसलाई आफ्नो गाउँ-ठाउँमा बसेर मात्र पुग्दैन, गाउँ-ठाउँ छोडेर लामो समयको लागि बाहिर रहनु पर्दछ| त्यसकारण धेरै पहिले निर्धारित गरिएका साधनाका कतिपय आचरणहरु अहिलेको मानिसलाई पालना गर्न सम्भव हुँदैन| काम, अर्थ, धर्म र मोक्ष मानव जीवनका चार पुरुषार्थ मानिन्छन्| काम र अर्थ संसारिक पक्ष हुन् भने धर्म र मोक्ष अध्यात्मिक पक्ष हुन्| संसारिक र अध्यात्मिक पक्ष एक अर्काको पुरक हुन्, बाधक होइनन्| साधनाका आचरणहरुको कारणबाट संसारिक र अध्यात्मिक पक्ष एक अर्काको बाधक नबनेर पुरक बन्नु पर्दछ|

मानव जन्मको उदेश्य मुक्ति भए पनि आत्मज्ञान नभएसम्म मुक्ति प्राप्त हुँदैन| आत्मज्ञानको लागि सबभन्दा उपयुक्त साधना ध्यान हो| मानिस सधैँ परकेन्द्रित अथवा बहिर्मुखी रहेको हुन्छ| बहिर्मुखी रहुनु भनेको मन अशान्त भएर एक पछि अर्को बिचार चलिरहनु हो जसका कारण काम, क्रोध, लोभ, मोह, ईर्ष्या जस्ता नकारत्मक प्रवृत्तिहरु हुन्| बहिर्मुखी स्थितिलाई सन्तहरु बेहोसी भन्दछन्| यस्तो स्थितिमा आत्मज्ञान हुँदैन| ध्यानले बहिर्मुखीबाट अन्तर्मुखी बनाउँछ र अस्तित्वसँग योग अथवा एकत्व गराउँछ| अस्तित्व सत्चितानन्द हो, आनन्दको सागर हो| जति बढी अस्तित्वसँग एकत्व हुन्छ त्यति बढी आनन्दको अनुभूति पनि हुँदै जान्छ| आनन्दको अनुभूतिबाट काम, क्रोध, लोभ, मोह, ईर्ष्या जस्ता नकारत्मक प्रवृत्तिहरु घट्दै जान्छन्| त्यस्ता प्रवृत्तिहरु बाँकी नरहेपछि मानिस पुरा अन्तर्मुखी हुन्छ जसबाट उसलाई आत्मज्ञान हुन्छ|
भगवान् शिवबले योग र तन्त्र विज्ञान अन्तर्गत ११२ ध्यान विधिहरू सिकाउनु भएको छ| ध्यान गर्दा परमात्माको कुनै आयममा लिन हुनु वा एकत्व हुनुलाई समाधि भनिन्छ| समाधिलाई लययोग पनि भनिन्छ| शास्त्र अनुसार पूजा-पाठ भन्दा जपबाट धेरै बढी फल प्राप्त हुन्छ, तर जपको तुलानामा ध्यानबाट सौगुणा र ध्यानको तुलानामा लययोगबाट सौगुणा अधिक फल प्राप्त हुन्छ:

जपाच्छ्तगुणम् ध्यानम् ध्यानाच्छ्तगुणम् लय|

मन्त्र जपको पनि साधना गरिन्छ| प्रार्थना र एकग्रताको लागि मन्त्र जप धेरै उपयोगी हुन्छन्| अनन्त जन्मदेखि मन र सरिरसंगको तादम्यताले गर्दा मानिसलाई आफ्नो ब्रह्म स्वरूपको ज्ञान हुँदैन| आफ्नो ब्रह्म स्वरुपसंग तादम्यता बनाउने अभ्यासको लागि ‘सो हं’ अर्थात् ‘म उही हुँ’ (म उही ब्रह्म हुँ) जस्ता मन्त्रहरु उपयोगी हुन्छन्| प्राय संसारिक विषय बस्तु प्राप्तिको लागि याचनाको रूपमा उपयोग गरिने हुनाले मन्त्र जपलाई राम्रो साधना मानिदैन| दत्तात्रेयसंहिताले भन्दछ -

मंत्रयोगंच य: प्रोक्तो योगानामधम: स्मृत|
अल्प्बुद्धिरिमं योगं संबते साधकाधम:||

अर्थात्: योगमा सबैभन्दा अधम मन्त्रयोग हो, अल्प बुद्धि भएका व्यक्तिले  मात्र यस्तो योगको साधना गर्दछन्|

त्यस बेलाको समाजलाई हिन्दु धर्मको उच्चतम् साधना गर्न सम्भव नभएको देखेर भगवान् बुद्धले सजिलो साधना विधिको प्रतिपादन गर्नु भयो| भगवान् बुद्धले प्रतिपादन गर्नु भएको साधना विधिलाई अष्टांग मार्ग भनिन्छ| अष्टांग मार्ग सम्यकताको साधना हो| भगवान् बुद्धलाई ध्यानको प्रणेता पनि मानिन्छ| आधुनिक युगमा विश्वभरि ध्यानको तृष्णा जगाउने श्रेय भने परमगुरु ओशोलाई जान्छ|

सत्संगबाट कस्तो साधना गर्न उपयुक्त हुन्छ अथवा कुन गुरुको चरणमा गएर साधना गर्ने भन्ने निर्णय गर्न धेरै सजिलो हुन्छ|

गुरुको चरणमा पुग्नु साधनाको तेस्रो चरण हो| शास्त्र अध्ययन र सत्संगले आत्मज्ञानको बेसक्याम्पसम्म मात्र पुराउंदछ| बेसक्याम्पसम्म पुगेपछि आत्मज्ञानको शिखरमा पुग्ने बाँकी यात्रा आन्तरिक हो| अन्तरयात्रा अस्तित्व भित्रको यात्रा हो| अस्तित्व भित्रको यात्रा आनन्दमय हुन्छ, तर सूक्ष्म प्रकृतिको भएकाले सद्गुरुको मार्ग निर्देशनबिना यो यात्रा सम्भव हुँदैन| आत्मज्ञानको शिखरमा पुराएर मुक्त गरिदिने हुनाले नै सनातन धर्मले गुरुलाई ब्रह्म, विष्णु र महेश्वर भनेको हो| योगवासिष्ठमा गुरु बसिष्ठले भन्नु हुन्छ - परमेश्वर को साक्षात् अनुग्रह नभैकन कसैले पनि शास्त्रमा ध्यान दिदैनन्, सत्संग गर्दैनन् र सद्गुरु पाँउदैनन् :

यावान्नानुग्रह: साक्षाज्जायते पर्मेश्वरात|
तावान्न सद्गुरुं कश्चित सच्छास्त्रम वापि नालभेत||३||

आफ्नो व्यक्तिगत अनुभवको आधारमा आचार्यश्री ओशो मैत्रेयज्यू भन्नुहुन्छ – जतिसुकै संसारिक सफलता हाँसिल गरे पनि गुरु प्राप्त नभएसम्मको जीवन अधुरो हो| पाँचसय वर्ष पहिले गुरुको महत्व बारेमा सन्त कबिरको उद्गार यस्तो थियो:

सब धर्ती कागद करूं, लेखनी सब वनराय|
सात समन्दर कि मसी करूं, गुरु गुण लिखा ना जाय||

अर्थात्: सारा धर्तीलाई कागज, सारा जङ्गलको रुखलाई कलम र सारा सात समुन्द्रको पानीलाई मसी बानाएर लेखे पनि गुरुको गुण लेख्न सकिंदैन| गुरु प्रतिको सन्त कबिरको यस्तो उद्गार गुरु प्राप्त भएपछि जोकोहीले पनि बुझ्न सक्दछन्|

साधनाको अन्तिम चरण स्वतः: साधना गर्नु हो| शास्त्र अनुसार गुरुको बाहिर साकार रूपमा मात्र नभएर भित्र निराकार रूपमा पनि उपस्थिति हुन्छ| बाहिरको गुरुले भित्रको गुरुलाई जोडिदिएपछि आफैले साधना अगाडी बढाउनु पर्दछ अर्थात् स्वतः: साधना गर्नु पर्दछ|
संसारिक र अध्यात्मिक मानव जीवनका दुई पक्ष भए पनि संसारिक पक्षको लागि मात्र मानिसले आफ्नो सम्पूर्ण समय दिएको हुन्छ| सन्तहरु भन्दछन् कि अध्यात्मिक पक्षको लागि प्रत्यक दिन ४८ मिनेट ध्यान गरे मात्र पनि पुग्दछ| चौबीश घण्टा मध्ये ८ घण्टा सुत्नको लागि आवश्यक परे पनि बाँकी १६ घण्टा विभिन्न क्रियाकलापको लागि उपलब्ध हुन्छ| ४८ मिनेट भनेको १६ घन्टाको ५ प्रतिशत समय मात्र हो|

पूजा-पाठ, तिर्थ-ब्रत, कथा-पुराणबाट मात्र साधना हुँदैन| त्यस्ता क्रियाकलापहरुबाट साधनाको पृष्ठभूमिसम्म तयार हुन सक्दछ| चार चरणहरुबाट मात्र साधना पुरा हुन्छ|


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक