Similar Articles

संस्मरण

विश्वकप फाइनलमा दोहोरियो २४ वर्षको इतिहास र मेरा कलेजका दिनपनि--ध्रुव थापा

बिराट नेपाल

सन् १९९० पछि मैले विश्वकप फुटबलको सम्पूर्ण खेल हेरेको यही वर्ष हो। कस्तो संयोग, २४ वर्षपछि त्यही जर्मनी र अर्जेन्टिना अहिले फाइनलमा पुगेका छन् र यसले मेरो कलेजका दिन एकपल्ट फेरि सम्झनाको तरेलीमा ताजा बनाइदिएको छ। अमेरिका आएपछि सबैभन्दा धेरै विश्वकप फुटबलको म्याच हेरेको यो वर्ष होजस्तो लाग्छ। यो भन्दा अघिल्ला विश्वकप फुटबल हेर्न मन नलागेर होइन, समय र व्यस्तताका कारण हेर्ने संयोग जुरेन तर अहिले नभ्याउँदा र हतारमै हुँदा पनि आफ्नो स्मार्ट फोनको कमालले गर्दा कुनै पनि गेम छुटेन र निक्कै रमाइलो पनि लागि रह्यो। हुन त यतिका वर्षहरूमा हेर्दै नहेरेको त होइन, तर फुर्सदमा र मन परेको राष्ट्रको खेल मात्र हेरेको थिएँ।
 
यो कस्तो संयोग! यस वर्ष पनि १९९० को जस्तै जोस र जाँगरका साथ खेल हेर्दाहेर्दै त्यही इतिहास दोहोरियो। त्यस समय म दार्जिलिङ पहिलो पल्ट “प्लस टु” सकेर कलेज भर्ना भएर गएको थिएँ। त्यो “टिनएजर” समय, खेलप्रतिको रुचि र पहिलोपल्ट स्कुले जीवनदेखि कलेजको जीवनमा प्रवेश र होस्टलको बसाइ, वास्तवमै त्यो मेरो जीवनको सुवर्ण दिनहरुमध्ये थिए। त्यही स्वर्ण दिनको धेरै सम्झनामध्ये एउटा अविस्मरणीय समय १९९० को विश्वकप फुटबल पनि हो। त्यस समय भर्खर ब्ल्याक एण्ड वाइट टिभीबाट रंगिन टिभीको सुरुवात भएको थियो तर हाम्रो होस्टेलमा भने पुरानै टिभी भएकाले हामी सम्पूर्ण होस्टेलका विद्यार्थीहरू मिलेर नयाँ कलर टिभीको माग गरेका थियौँ। त्यससमय हाम्रो होस्टेलका सञ्चालक प्राध्यापक, साहित्यकार स्व। रामलाल अधिकारी हुनुहुन्थ्यो र हाम्रो मागअनुसार उहाँले नयाँ ठुलो कलर टिभी कलेजलाई सिफारिस गरेर झिकाउनुभएको थियो। विश्वकप प्रतियोगिताको रमझम सुरु नहुँदै कलेजको सबै होस्टेलले कलर टिभी पाएको थियो जसमा एउटामात्र केटाहरुको होस्टेल र तीनवटा केटीहरूको होस्टेल थियो।
 
कलेजमा र होस्टेलमा विश्वकपको रौनक फैलिसकेको थियो र “इटालिया ९०” ले परिचित रोममा आयोजित त्यस वर्षको विश्वकप फुटबल इटालीमा नभई दार्जिलिङमै भएजस्तो लागेको थियो। अहिले जस्तै समयमा खेल हुने भएकाले रातभरि फुटबल हेरिन्थ्यो र दिनभरि कलेज पढ्न गइन्थ्यो।
 
यस वर्षको दोस्रो सेमिफाइनलको खेलमा अर्जेन्टिनाले नेदरल्याण्डलाई पराजित गरेर फाइनलमा पुग्दा र फाइनल जर्मनीसँग हुने संयोग मिल्दा अचानक मेरो दिमागमा आजभन्दा २४ वर्षअघिका दिनहरू चलचित्रको दृश्यजस्तै झल्झल्ती आँखाअघि नाचिरहेको छ।
 
मध्यरातमा अचानक अर्जेन्टिना यस वर्षको जस्तै पेनाल्टी सुटमा आयोजक टिम इटालीलाई जितेर फाइनलमा प्रवेश गरेको थियो र स्वस्फूर्त हामी होस्टलका सम्पूर्ण विद्यार्थी अर्जेन्टिनाको समर्थन गर्दै नारा लगाउँदै कलेज र तीनवटै गर्ल्स होस्टलको चक्कर लगाएका थियौँ। त्यसबेला खै कस्तो जोस र उमेर थियो कुन्नि अर्जेन्टिनाको जर्सी जस्तै प्लास्टिकको सपिङ ब्याग बजारमा उपलब्ध हुन्थ्यो र त्यसैलाई तलबाट काटेर उल्टा पारेर लाउँदा जर्सीजस्तै हुन्थ्यो र सबैले अर्जेन्टिनाको जस्तै सक्कली जर्सी र नहुनेले त्यस्तै प्लास्टिकको जर्सी लगाएर म्याराडोनाका फ्यान हामी सबै चोकबजार हुँदै चौरास्तासम्म मध्यरातमा जुलुसै निकालेर हिँडेका थियौँ।
 
तो जुलुस निकाल्नुको अर्को मुख्य कारण के पनि थियो भने हामीले कलेजमा र होस्टेलमा एउटा अति रोचक खेलको सुरुवात गरेका थियौँ र त्यस खेलले विश्वकपको हरेक खेलमा राम्रै आर्थिक सङ्कलन समेत गरिसकेको थियो। केही साथीहरू मिलेर सञ्चालन गरेको त्यो खेल कस्तो थियो भने हरेक म्याच हुनुअघि दुवै टिमका खेलाड़ीहरुको जर्सी नम्बर अंकित तर एकदेखि पचाससम्म नम्बर दुईवटा डब्बामा हालिएको हुन्थो जसमा खेल हुने टिमहरुको नाम एक एक डब्बामा अंकित हुन्थ्यो र त्यो लोटरी जस्तै तान्नु पर्थ्यो। त्यसको रकम अहिले मलाइ ठ्याक्कै थाहा भएन तर पाँच रुपियाँभन्दा धेरै थिएन होला जस्तो लाग्छ। अब त्यहाँ भाग्यको खेल सुरु हुन्थ्यो जसको भाग्यमा खेल्ने खेलाडीको नम्बर परेको छ वा गोल गर्ने खेलाडीको नम्बर परेको छ उही विजेता हुन्थ्यो। त्यसैले प्रमुख खेलाडीको नम्बर पर्दा हर्षको सीमा रहँदैन थियो तर धेरै जस्तोलाई नखेल्ने नम्बर पर्थ्यो। हरेकको नम्बर आयोजकले गोप्य रूपमा लेखेर राखेको हुन्थ्यो र खेल भइसके पछि जुन नम्बरको खेलाडीले पहिलो गोल गरेको छ उसले नगद पुरस्कार पाउँथ्यो। तर पुरस्कार विजयी विद्यार्थीले आफ्नो नम्बर देखाएर आयोजकको लिस्टसँग रुजु गर्नुपर्थ्यो अनि मात्र विजयी घोषित हुन्थ्यो।
 
अब दुइटा टिमको नामबाट संकलित रुपैयाँको केही अंश पुरस्कारमा हरेक खेलपछि दिइन्थ्यो भने केही रकम फाइनल खेलको लागि भनेर छुट्टै राखिन्थ्यो। जसले गर्दा फाइनलमा जित्न्ले ठुलै रकम पाउने आशा बढ्दै जान्थ्यो। त्यही खेलले गर्दा पनि त्यस वर्षको विश्वकप फुटबल हामीलाई निक्कै रोचक बनेको हो।
 
अब फाइनलमा अर्जेन्टिना र त्यस समयको पश्चिमी जर्मनी (जुन त्यही वर्ष जर्मनी एकीकृत भएर त्यसपछिका वर्षमा अहिलेजस्तै जर्मनी मात्रै बनेर सहभागी जनाउँदै आएको छ।) को खेलको लागि प्रचारप्रसार समेत गर्नु हाम्रो उद्देश्य थियो भने धेरै भन्दा धेरै लोटरी टिकट बिक्री गरेर पुरस्कारको राशि बढाउनु थियो। त्यसैले पनि फाइनलको तयारी हामीले जोडतोडका साथ गरिरहेका थियौँ। फाइनल खलेको पुरस्कारको राशि राम्रै सङ्कलन भैसकेको थियो भने फाइनल खेलको तयारी पनि बडो धुमधामको साथ हुँदै थियो हाम्रो होस्टलमा। सबैको नजर विश्वकपको फाइनलमा र आफ्नो खेलमा केन्द्रित भएको थियो। त्यसैले पनि म अहिले आजभन्दा २४ वर्षअघिको विश्वकपलाई झल्झल्ती सम्झी रहेको छु। अहिले म्याराडोना अतीत बनिसकेका छन् भने मेसी अहिलेको अर्जेन्टिनाको हिरो।
 
१९९० को विश्वकप खेललाई नै बिश्लेषकहरुले त्यस वर्षसम्मको सबैभन्दा कमजोर विश्वकप खेल र विश्वकप कै इतिहासमा सबैभन्दा थोरै गोल गरिएको वर्ष पनि भनिएको छ। हाम्रो लागि भने जीवनकै सबैभन्दा रमाइलो र महत्वपूर्ण खेल थियो १९९० को विश्वकप फुटबल। त्यसैले होला यतिका वर्षपछि पनि त्यस वर्षको स्मरण ताजै रहिरहेको छ, आशा छ त्यस वर्ष हामीसँग पढ्ने र सँगै होस्टलमा बस्ने साथीहरूलाई यस लेखले आफ्नो जीवनको स्वर्ण दिनको याद दिलाउने छ। त्यस वर्षको खेल टिभीमा हामीले मात्र होइन, त्यस समयको आलेखअनुसार सबै भन्दा धेरै टिभीमा हेरिएको खेल पनि हो। त्यस वर्षको १४ औँ फिफाको विश्वकप फुटबल र अहिलेको २० औँ फिफा विश्वकप खेलसम्म आउदा टिभीको रिमोटदेखि कम्प्युटरको माउस हुँदै हरेकको हातमा हुने स्मार्ट फोन र फेसबुकले यसको लोकप्रियता झन् झन् बढाइ रहेको छ भने विश्वको कुनै कुनामा बसेर यस खेललाई हेरे पनि हरेक सेकेन्ड को जानकारी र साथीभाइको प्रतिक्रिया तुरन्त ट्वीटर, फेसबुकलगायतका सामाजिक संजालहरुमा पोखिएको हेर्न पाइन्छ। म भने आज भन्दा २४ वर्ष अघिको विश्वकपका ती अविस्मरणीय दिनहरूमा रुम्मलिरहेको छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक