Similar Articles

कथा लघुकथा

पल्लिका---प्रमिला शर्मा

बिराट नेपाल

पल्लिका केटी साथीहरूसँग स्कुल जाँदै थिई, त्यही कक्षाका केही केटाहरू उनीहरूलाई पछ्याउँदै थिए। करणले पल्लिकालाई होच्याउने ध्येयले प्रश्न गर्‍यो – “शब्दकोष नै घोटेर पिउने ज्ञानी व्यक्ति भनेर समाजमा चिनिने तिम्रा बुबाले तिम्रो नाम पल्लिका किन राख्नुभएको होला?” त्यसो भन्दै करण गलल हाँस्यो, अरू केटाहरू पनि हाँसे।

पल्लिकालाई करणको कुरा निको लागेन, गम्भीर स्वरमा उत्तर दिई – “कुरा र कुला जता लगे पनि हुन्छ करण। नाम राख्ने काम न्वारानकै वेला सकियो। अहिले कोट्याएर के फाइदा?”

करणलाई त पल्लिकालाई होच्याउनु थियो, उसले अघिल्तिर उभिएर पल्लिकाको बाटो छेक्यो र तुजुकका साथ भन्यो – “के फाइदा रे? तिमीसँग कुरा बढाउने निहुँ हो। के हो? तिमी आफूलाई ज्ञानसम्राटकी छोरी भन्ठानेर घमण्ड गर्छौ कि क्या हो?”

पल्लिका पनि के कम? उसले पनि तुजुकका साथै जवाफ फर्काईः “तिम्री आमाले आज चन्द्रामृत भगवानलाई नचढाई तिमीलाई पो चढाउनु भो कि क्या हो?... (अनि ओंठ लेब्र्याउँदै) त्यो पनि ज्यादा मह हालेर? तिमीलाई मात लागे जस्तो छ।“

करणलाई सनक्क रिस उठ्यो। ऊ जंगियो – “मेरी आमाको नाम किन काटनु पर्‍यो?... (अनि आफ्नो अनुहार पल्लिकाको अनुहारसँगै ठोकुँला जस्तो गर्दै) झगडा गर्न खोजेको हो कि क्या हो?”

बेफ्वाँकमा झगडा होला भनेर दुवै तीरका साथीहरू कराए – “आ... भैगो भैगो... छोड।“

करणको रिसको पारो उतरेन – “केटी भएर मसँग मुख लाग्दी रहिछ! फूल जस्तो कोमल होली भनेको त, काँडा जस्तो च्वास्स घोच्ने रहिछ।“

करणलाई शान्त गर्न उसका साथीहरूले हात समाएर उसलाई तान्दै भने – “छोडदे अब करण... हिंड... स्कुल पुग्न ढिलो भइसक्यो क्या।“

करण – “यसको बाबुलाई छोरी फूल होइन... छुरा हुन्छे... मुख चलाउने... भनेर पहिले थाहा थियो क्या र? त्यसैले पल्लवी नाम नराखेर पल्लिका राखेछन्।“

पल्लिका – “मैले चाहिँ तिम्री आमाको नाम काटन नहुने? तिमीले चाहिँ मेरो बुवाको नाम बारम्बार घिसार्ने। (आवेशमा आएर) करण, तिम्रा हरेक कुराको जवाफ मैले तिमीलाई पछारेर दिन सक्छु। दिउँला कहिले। अहिले झगडा मोल लिन चाहन्न।“

पल्लिका झगडा अगाडि बढाउन चाहन्नथी। तर करण झगडा गर्ने मुडमै थियो – “के रे? तिमीले मलाई पछार्ने? केटी भएर केटालाई पछार्ने? फूललाई खुट्टाले मलेर फाले जस्तै तिमीलाई मलेर फ्यालिदिन्छु। मलाई त केही फरक पर्दैन... म हुँ केटा मान्छे... जहिले पनि जल्दोबल्दो सुन झैँ टलकिंदो। तिमी केटी... मडारिएकी फूल जस्ती!“

झगडा चर्कने भो भनेर साथीहरूले करणको हात बेसगरी समाए र उसलाई घिच्याउँदै त्यहाँबाट टाढा लगे। करणको अनुहार रिसले तमतमाएको थियो, ऊ फर्की फर्की पल्लिकातिर हेर्दै जाँदै थियो।

त्यस दिनपश्चात् पल्लिका करणसँग टाढै बस्न थाली। तर, ऊ अचम्भित रहन्थी - किन करणलाई उसको नामसँग रिस छ? मानिसले नयाँ किसिमका कसैसँग नमिल्ने नाम राख्न खोज्छन्, र पल्लिकालाई आफ्नो नाम सबैभन्दा भिन्न र राम्रो लाग्छ। त्यसैले ऊ सोच्न बाध्य भइरही – “करणलाई आफ्नो नाम मन पर्दैन कि क्या हो? कहीँ उसले आफ्नो कुण्ठा त ममा पोखिरहेको होइन?”

एक दिन विज्ञान शिक्षकले दश कक्षाका सबै छात्रहरूलाई बोटानिकल गार्डेनको साइट भिजिटमा लग्ने भए। छात्रहरू बसमा बस्दै थिए। करण झ्यालसँगैको एउटा सिटमा बसेको देखेर पल्लिकाले जानी जानी त्यसै छेउको सिट रोजी। करण आफ्नो सिटबाट जुरुक्क उठेर अन्यत्र सर्न खोज्यो। पल्लिकाले उसको हात समाएर त्यसै सिटमा बसाउँदै भनी – “यहीँ बस। मसँग बस्न हुँदैन र?” करण केही बोलेन, बस्यो। बाटोभरि उनीहरूबिच कुनै कुरा भएन।

बोटानिकल गार्डेन पुग्नुअघि नै बस एक ठाउँमा चिया-ब्रेकका लागि रोकियो। छात्रहरू एकएक गरी ओर्लन थाले। करण पनि ओर्लन खोज्यो। उसलाई ओर्लन नदिन पल्लिकाले आफ्नू पर्स सिटमुनि जानी जानी खसाली र निहुँरेर खोजे जस्तो गर्न थाली। पल्लिकाले बाटो नदिउन्जेल करण ओर्लन सक्ने भएन।

करण – “मलाई पहिले जान देऊ। अनि तिमी के हो खोज्दै गर्नु।“

सिटमुनि पर्स खोज्न निहुरेको टाउको करणतिर घुमाउँदै पल्लिका बोली – “कस्ता साथी हो तिमी हँ? मेरो पर्स कता खस्यो कता? बरु खोज्न मदत गरन।“

करणले खोज्न मदत गरेन, उभिरह्यो। त्यो देखेर पल्लिका पनि पर्स खोज्न छोडी उभिई र उसको हात समाएर उसलाई फेरि सिटमा बस्न लगाई। अनि, बसभित्र चारैतिर आँखा दगुराई, सबै छात्रहरू ओर्लिसकेका रहेछन्। उनीहरू दुई जना मात्र बसमा बाँकी रहेछन्। ऊ पनि करणको छेउमा बसी र भनी – “तिमीसँग एउटा कुरा गर्नु छ।“

करणलाई रिस उठिसकेको थियो, च्याठ्ठिंदै सोध्यो – “के ‘आई लभ यू’ भन्नु छ?”

पल्लिका – “मेरो कुरा सुन त पहिला। किन रिसाएको?“

पल्लिकाको कुरा सुन्नुबाहेक करणसँग अर्को बाटो थिएन।

पल्लिका – “मेरा आमाबाबुले मन पराएर मेरो नाम पल्लिका राखे। तिमीलाई किन रिस छ हँ? तिमीलाई म मुखभरी उत्तर दिनसक्छु। तर, तिम्लाई साथीहरूबिच किन अपमानित गर्नु भनेर म अहिलेसम्म चुप लागें। अब आज तिमी चुप लागेर मेरो उत्तर सुन। मेरो उत्तर सुनेपछि पनि तिमीले मसँग टकराउने चेष्टा गर्‍यौ भने, तिम्रै साथीहरूबिच मैले तिमीलाई अपमानित गर्नु पर्ला?“

“यसले के भन्न थाली?” भनेर करण जिल्ल पर्‍यो।

पल्लिकाले प्रश्न गरी – “के तिम्रा बाबु सुकेको रूख हुन्? के तिनले तिम्री आमाको तन मन हरियो बनाउन सक्दैनन्?”

पल्लिका आवेशमा आइसकेकी थिई। ऊ सिटबाट जुरुक्क उठी, उसको अनुहार तमतमाई रहेको थियो। करण किंकर्तव्यविमुढ भएर पल्लिकालाई हेर्दै थियो।

पल्लिका – “के तिम्री आमाले तिम्रा बाबुसँग पार नलागेपछि सूर्यसँग मदत लिएर तिमीलाई जन्माएको हो? महाभारतको कर्ण जस्तै? के त्यसैले तिम्रो नाम करण भएको हो?”

यति भनी सकेर पल्लिका फटाफटी बसबाट तल ओर्ली। करणलाई बिजुलीको झट्का लागे जस्तो भयो। ऊ ट्वाँ परेर पल्लिका ओर्लेको हेरिरह्यो। उसको मन ढुकढुक हुन थाल्यो। उसलाई सोचेर सिरिङ्ग भयो – “कसो पल्लिकाले यस्ता कुरा उसका साथीहरू भएका वेला गरिन।“

यो झट्काबाट सम्हलिन करणलाई केही समय लाग्यो। जब सम्हलियो, ऊ बसबाट ओर्ल्यो। उसले देख्यो, पल्लिका आफ्ना साथीहरूसँग कुरा गर्दै थिई। ऊ लमलम पल्लिकातिर लम्कियो र उसको पाखुरा समाएर परतिर तान्यो। एउटा कुनातिर लगेपछि उसले पल्लिकालाई गम्भीर आवाजमा भन्यो – “पल्लिका, तिम्रो भावना सुन झैँ चम्किलो रहेछ, मेरो कार्बन झैँ कालो। मेरो भावना पखालिदिएकोमा धन्यवाद।“ त्यति भनेर पल्लिकालाई त्यहीँ छोडी ऊ आफ्ना साथीहरूतिर लाग्यो। पल्लिका करणलाई गएको हेरिरही। त्यस दिनदेखि करण र पल्लिकामा कहिले झगडा भएन, साथीहरू जिल्ल परे – “कसरी यी दुईबिच सुलह भएछ?”


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक