Similar Articles

कृष्ण धरावासीको कलमबाट

रजनीश र म--कृष्ण धरावासी

बिराट नेपाल

हिजोआज ओशोका बारेमा पत्रपत्रिकाहरूमा निकै चर्चाहरू आइरहन्छन् । ती चर्चाहरू पढेपछि मलाई मेरो वितेका पुराना दिनहरूका स्मृतिहरूले एकैचोटि गाँज्ने गर्छन् । आँखाभरि भरिएर आउँछन् २०३४ सालतिरका दिनहरू, जति बेला म (हामी) वेला न कुबेला फुच्चे दार्शनिक बन्ने दौडमा थियौ । 

कक्षा दशको विद्यार्थी छँदा शनिश्चरे मा.वि.मा एक जना आई.कम. उत्तीर्ण गरेका युवक शिक्षक भएर आए राजकिशोर मण्डल । अग्लो जीउडाल भएको, सिकटे र कालो वर्णको । प्रस्ट नेपाली बोल्ने, खैनी खाइरहने र अनेकौ चुड्कीलाहरू भनेर हँसाइरहने । अमिताभ बच्चनका फिल्मी संवादहरूको नक्कल गरेर सबैलाई छक्क पार्थे । हिन्दी गीतहरू गाउन मन पराउने, अत्यन्त स्वतन्त्र स्वभावका । अनारमनी मा.वि.बाट सरुवा भएर आएका थिए । भनिन्थ्यो– ‘दाताराम खनाल सरले कडा प्र.अ. मोहन जोशीको जिम्मा लगाएको अरे ।’

उनी त्यति खराब थिएनन् । राम्रो पढाउँथे, तार्किक थिए, अध्ययनशील थिए, अरू सरहरूसँग ठाडठाडै जवाफ फर्काउँथे । विद्यार्थीलाई अघि पछि लगाएर हिँड्न उनलाई मन प¥थ्यो । तलबको सबै पैसा विद्यार्थी र आफूले खाएर सक्थे । अविवाहित थिए र घर प्रायः कहिल्यै जाँदैनथे । हामीलाई त उनले खासै पढाएनन् किनकि उनी नि.मा.वि. तहका थिए, तैपनि कक्षा बाहिर कसो–कसो हामी उनका संगती भएका थियौ । 

क–कसलाई के–के कारणले प्रभावित पारेका थिए उनले थाह छैन तर, संजीव र म भने उनको बौद्धिकता र अध्ययनबारे प्रभावित थियौँ । उनले हामीलाई पढ्ने बाहेक अरू कुरामा खासै उपयोग पनि गरेनन् । कहाँ–कहाँबाट उनी दर्शनका किताबहरू लिएर आउँथे र हामीलाई पढ्न दिन्थे । त्यसै बेला उनले हामीलाई पढ्न प्रेरित गरेका थिए आचार्य रजनीश, साईबाबा, विवेकानन्द, महेश योगी, नारायणदत्त श्रीमाली । त्यस्तै अङ्ग्रेजीका राम्रा राम्रा कृति र लेखकहरू । हाम्रो उमेर र मानसिक स्तर भन्दा बढीको बौद्धिक दबाब दिइरहेका थिए तिनले । ती किताबहरू पढ्न थाले पछि एककिसिमको नशाजस्तो हुन थालेको थियो । एउटा सकेपछि अर्काे चाहिने । एस.एल.सी.को परीक्षा दिने बेलासम्म पनि कोर्सतिर खासै ध्यान थिएन । एस.एल.सी. दिएपछि त झन् दुर्बेसनी झैँ पुस्तकमा लठ्ठ । 

त्यसबेला हामीलाई लठ्ठयाउने सबैभन्दा ठुलो दार्शनिक थिए आचार्य रजनीश । पाँच सात रुपैयाँमा पाइने उनका पुस्तकहरू निकै महङ्गा मानिए पनि कता कताबाट पैसा जुटाएर म किनि हाल्थेँ । जे जसरी भए पनि रजनीशका किताब किन्न पुग्ने पैसा त म पार्थेँ–पार्थेँ । 

अपार तर्कशक्ति र बौद्धिकताको धनी आचार्य रजनीश संसारकै सबैभन्दा विद्वान मान्छे हुन् भन्ने लाग्थ्यो । उनका विचारहरूबाट प्रभावित भएको मैले जीवन र संसारको बिचको सम्बन्धलाई नै अनौठो परिभाषा गर्न लागेको थिए । खासमा मलाई यो ‘धरावासी’ उपनाम राख्न प्रेरित गर्ने मानसिकता नै रजनीशको अध्ययनको प्रभावबाट उत्पन्न भएको थियो । जीवनलाई अत्यन्त व्यावहारिक र दार्शनिकतापूर्ण जिउन प्रेरित गर्ने रजनीशको विचार आज पनि मलाई मन पर्छ । कलिलो दिमागमा परेको उनको त्यो प्रभाव अरूका लागि कस्तो भयो थाह छैन तर मेरा लागि भने अनौठो मार्ग चित्र बनेको छ । 

‘आफूलाई चिन, आफूलाई बुझ । आफै भित्रबाट ब्यूँझ । आफूमा खोज ।’ जस्ता ‘स्ववादी’ चिन्तनले वास्तवमा मलाई आफैभित्र पस्न साह्रै प्रेरित ग¥यो । म आफूमा केन्द्रित हुन थालेँ । यसो हुँदा कतिपय अवस्थामा समाज, परिवार, राज्य, कानुन, परम्परा आदि कुराहरूको समेत विपक्षमा पुगिँदो रहेछ । त्यस बेला अरूले आफूलाई अव्यावहारिक र सड्केको जस्तो पनि देख्दा रहेछन् । भइरहेको, चलिरहेको कुरासँग पटक्कै नमिल्दो व्यवहार देखे पछि त्यस्तो सोचिनु स्वभाविक पनि होला नै । 

घर, गृहस्थी, शिक्षा, संस्कृति, राष्ट्र जाति, धर्म, परम्परा, आदर्श आदि सब कुराहरू पूर्व निर्धारित र कुनै व्यक्ति वा विचारले रचना गरेको सीमा हो । त्यही सीमाभित्रको जीवन एक अनौपचारिक कैदीका रूपमा भोगिनु मात्र हो । मुक्तिको अर्थ कुनै एक कुराबाट निस्केर अर्काेमा प्रवेश होइन । मुक्तिको अर्थ सम्पूर्ण आग्रहहरूबाटको मुक्ति हो । त्यो मुक्तिको अनौठो बाटो देखाएका थिए रजनीशले । यसो हेर्दा उनी कति बेला हिन्दु आस्थिक जस्तो लाग्ने, कति बेला बौद्ध भिक्षु जस्ता लाग्ने, कहिले कन्फुसियसका चेला झैँ देखिने । उनी कहिले काल माक्र्सका आलोचक हुने, कहिले वात्सायनका प्रवक्ता । पुरातन र आधुनिक दुवै ज्ञानले भरिपूर्ण भएका उनी विज्ञानका ज्ञाता थिए, तन्त्र तथा ज्योतिषका साधक थिए । योगका विशिष्ट साधक, मनोयोगका आश्चर्यजनक प्रयोक्ता । मानिसको शरीरलाई असम्भवहरूबाट मुक्त गरी इच्छा अनुसार चलाउन सक्ने मानसिक शक्तिका संवाहक थिए । वास्तवमा मलाई पछिसम्म पनि रजनीश मन पर्नुका केही विशेष कारणहरू छन् । 

म रजनीशको अध्ययनमा पुग्नु अघि एक अचम्म लाग्दो भक्तिवादी फुच्चे थिएँ । मलाई हिन्दी धार्मिक फिल्महरूको अनौठो प्रभाव थियो । हिन्दी धार्मिक फिल्ममा झैँ ज्यादै भक्ति गरे भगवानले दर्शन दिन्छन् जस्तो लाग्थ्यो । कहीँ पनि मन्दिर वा मूक्र्ति देख्नु नहुने, भूतप्रेत आदिमा गहिरो आस्था थियो । त्यसमा पनि मेरो बुबा स्वयम् धामी, ज्योतिषी र वैद्य समेत भएकाले उहाँका यी कुराहरू पनि भक्तिचेतका सहायक बनेका थिए । बुबाले धामी बक्दाका क्षण म छेउमा बसेर धामीमा अवतरित देवीको मनमनै अराधना गरिरहेको हुन्थेँ । तर जब म रजनीशको पुस्तकको सङ्गतमा पुगेँ,– थाहै भएन कहिले देखि म त्यो भक्ति चेतबाट मुक्त भएँ, कहिले म स्वर्ग र नर्कका मानसिक आतङ्कबाट उम्केँ । आध्यात्मिक हुँदाहुँदै पनि ‘अर्थाेडक्स’ बाट म उम्किसकेछु । इतिहास, संस्कृति र आत्मचेतको अध्ययनतिर म फर्किसकेछु । म भित्रको धार्मिक कट्टरता, हिन्दूबाद वा कुनै एकल सांस्कृतिक मोहबाट आफूतिर फर्किसके छु । अब मलाई एक धर्म, एक विचार, एक जाति जस्ता एकवादहरूमा विश्वास थिएन । सबैको वस्तुगत मूल्य प्रति विश्वास थियो । 

म विज्ञानमा विश्वास गर्ने, वहुलवादी चेतले दीक्षित भएछु । हरेक कुरालाई पूर्णरुपले अध्ययन गर्ने, तार्किकतापूर्ण रूपमा आफैँ विश्वस्त नभई त्यसलाई स्वीकार नगर्ने, मस्तिष्क विज्ञानको अध्ययन गर्ने, प्राकृतिक शक्तिको क्षमतालाई हेर्ने, विश्वव्रह्माण्डको हरेक स्थिति र विषय विज्ञान सम्मत रहेको कुरामा कन्भिन्स भएछु । कुनै पनि कुरामाथि सिधै विश्वास नगर्ने, तर्क गर्ने भएछु । आफूभित्र प्रवेश गर्ने, आफ्नो शक्तिको खोज गर्ने भएछु । त्यसले मलाई वास्तवमा एक अनौठो आत्मशक्ति प्रदान ग¥यो । ममा अनौठो निर्णायक क्षमता, वस्तुबोध गर्न सक्ने आँट र हिनताबाट मुक्ति दियो । म भित्र रहेको परनिर्भता, हीन पात्रता तथा याचक मनोवृत्ति कहिले कहिले कुपुर झैँ विलाएर गएछ । थाहै नभई म त स्वयम्लाई एक विशिष्ट आत्मशक्तिले भरिएको पो पाउन थालेछु । आर्थिक, सामाजिक तथा मानसिक रूपमा ज्यादै नै हिनभावले दविएको मेरो मुक्ति दाता बनेका थिए रजनीश ।
 
अनौठो आँखा पाएँ मैले उनीबाट । मलाई लाग्छ रजनीशबाट मैले अलग्गै, छुट्टै कुनै ज्ञान पाइनँ । यथार्थमा तिनी ज्ञान दिने दार्शनिक पनि होइनन् । तिनी त प्रत्येक व्यक्तिको मस्तिष्कको बोधको पर्दा उघारि दिने मात्र हुन् । सबै कुरा आफैँ बुझ, आफैँ गर, आफैँ जान भन्थे । उनी उनको प्रकारले बन्न प्रेरित गर्दैनथे । उनी आफ्नो अनुयायी बनाउने, फोटो पुजाउने, वा भजन गराउँदैनथे । पछि उनले आफूलाई ‘भगवान्’ भने तर फोटो पूजा गराएनन्, मन्दिर बनाएनन्, भजन गराएनन्, र अलौकिक रुढ शक्तिसँग परिचय गराउछु भन्ने गुरु बनेनन् । उनका अनुयायीहरूले उनका लकेट झुण्ड्याएको, एक किसिमको पोशाक लगाएको, अनौठो भेष लगाएको देख्छु । तर रजनीशको ‘स्कुल’ ले त्यस्तो कुनै प्रकारको ‘लोगो’ दिन्छ जस्तो मलाई लाग्दैन । विसौँ शताव्दिको सबैभन्दा विवादास्पद, सबैभन्दा धेरै देशहरूले अस्वीकार गरिएको, सबैभन्दा धेरै आरोपित र सबैभन्दा धेरै ‘फ्यान’ कमाएको मान्छे थिए उनी । मलाई उति बेलै पनि लाग्थ्यो, रजनीश उनको यो आधुनिक चेतनाकै शक्तिले संसारका अनेकौँ दार्शनिकहरूका माझमा अलग्गै र लोकप्रिय भइरहने छन् । 

हुन त त्यस बेला हामीलाई रजनीश पढ्नु भनेको आजभोलिका दुर्वेशनी युवाहरूलाई समाजले गर्ने मूल्याङ्कन जस्तै थियो । यिनीहरू रजनीशलाई पढ्छन् भनेर नराम्रो नजरले हेर्थे त्यसको कारण दुइटा थियो । एउटा उनको ‘सम्भोग से समाधि तक’ भन्ने पुस्तक आए पछि उनलाई नग्न यौनवादी भनियो । रजनीशलाई पढ्नु भनेको अश्लील ज्ञानतिर आकर्षित हुनु मानिन्थ्यो । दोस्रो थियो उनको ‘पुँजीवाद वनाम समाजवाद’ । यस पुस्तकले कम्युनिज्मको ठाडो आलोचना ग¥यो र माक्र्सवादको धज्जी उडायो । विश्व कम्युनिस्ट समाज माथि नै उनको यो पुस्तक एउटा तरङ्ग उत्पन्न गर्न सक्षम भयो । उनका अनुयायीहरूको बृहत् क्षेत्र र प्रभाव परिसरमा यी पुस्तकहरूको प्रत्यक्ष असर थियो । त्यसैले यी दुवै विचारका अनुयायीहरू रजनीशका कडा आलोचक र सकेसम्म बाधक प्रचारक थिए । 

भर्खर भर्खर मात्र परिवार नियोजनको अस्थायी साधनको सानो स्वरले विज्ञापन हुन थालेको र त्यो विज्ञापन आउन थाले पछि रेडियो बन्द गर्ने समयमा रजनीशको यौनको मनोवैज्ञानिक प्रायोगिक विश्लेषण कसरी बुझियोस् । त्यस्तै नेपालमा नयाँ पुस्तामा बिस्तारै वाम राजनीतिले प्रभाव पार्न लागेको बेला त्यसैको आलोचना गरिएको विचार कसरी स्वीकार्य हुनु ? त्यसमा पनि हामी झापालीहरू– जहाँ नेपालमा पहिलो पल्ट ‘माओवादी क्रान्तिको असफल प्रयोग गरिएको थियो । सशस्त्र क्रान्ति असफल भए पनि विचार बिस्तारै प्रचारित हुँदै थियो । २०३५ सालतिर इलाम क्याम्पसको विद्यार्थी छँदा रजनीशलाई लठ्ठ भएर पढ्नेमा संभवत– म, लेखनाथ भट्टराई, प्रकाश बुढाथोकी र अरू केही युवाहरू मात्र थियौँ । हामीलाई क्याम्पस परिसरमा परैबाट अलग्गै हेरिन्थ्यो, अझ अनेरास्ववियुको दह्रो पकट रहेको त्यो विद्यार्थी समाजमा हामी डर लाग्दो वुर्जुवा र प्रतिकृयावादी कित्तामा हुन्थ्र्याै । विद्यार्थी राजनीतिको त्यो तनावको वातावरणमा हाम्रो दोष ‘रजनीशवादी’ हुनुमा देखिन्थ्यो जब कि हामी रजनीशका पाठक ‘मात्र थियौ’ प्रचारक थिएनौँ । 

तर म कहिल्यै पनि रजनीशको कुनै पनि ध्यान केन्द्रमा आज सम्म गएको छैन । रजनीश भक्तहरूको समुदायको सदस्य बनेको छैन, रजनीशको लोगो लगाएर हिँडेको छैन । जुन कुराको उनी सक्त आलोचक थिए त्यही कुरा गर्नुको अर्थ पनि थिएन । मेरो बिचारमा उनले मेरो अज्ञानको मानसिक ढक्कन उघारिदिए र कता गए थाह छैन, म आफ्नै ज्ञानको संसारमा रम्न थाले । मैले गनी गनी जम्मा ४७ वटा उनका प्रवचनका पुस्तकहरू पढें । त्यस पछि मलाई लाग्यो– ‘अब मैले यी बाबैको कुरा बुझें ।’ अनि मैले मेरो व्यावहारिक गृहस्थी जीवनमा प्रवेश गरँे र यहाँ सम्म आइपुगेको छु । १८ वर्षको उमेरदेखि २३ वर्षको उमेर सम्म म उनको सङ्गतमा थिएँ, २४ वर्षको उमेरमा बिहे गरे पछि म एउटा स्वतन्त्र, मुक्त र स्व निर्णय क्षमताले भरिएको गृहस्थी भएको छु । मलाई आज पनि लाग्छ– ‘म कुनै कुरा माथि पनि धेरैबेर अनिर्णीत भएर उभिइरहन्न । र आजसम्म मैले गरेका कुनै पनि निर्णयहरूमा पश्चाताप वा पुर्नविचार गर्नु परेको छैन, तिनको नकारात्मक परिणाम पनि छैन ।’  

मलाई लाग्छ ज्ञानलाई जसले साम्प्रदायिक बनाउँछ त्यसले त्यो ज्ञान जीवनमा लागु गर्न सक्दैन केवल सानो सङ्गठनको प्रतिनिधि मात्र बन्छ, आफ्नै जीवनको दुःखहरूबाट भने मुक्त वन्दैन । आफू भित्रका विवाद, तनाव, भ्रम र अनिर्णयहरूबाट मुक्त बन्ने शक्ति प्राप्त गर्न नसकिने कुनै ज्ञान छ भने पनि त्यो एक तार्किक चमत्कार मात्र हुन्छ । रजनीशबाट अरूले के–के पाए वा पाउँछन् थाह छैन– मलाई चाहिँ आफूलाई पाएँ, आफू भित्रको क्षमतालाई पाएँ र आफूलाई चिनें भन्ने लाग्छ । 

आज पनि कसैले जब रजनीशको कुरा गर्छ, मलाई उनको प्रशंसा गरेको सुन्न मन पर्छ । तर उनको भक्त बनेर उनलाई समूह वा सम्प्रदायको बिम्व बनाएको मन पर्दैन, किन भने रजनीश चमत्कारमा विश्वास गर्दैनथे, उनी नितान्त वस्तुवादी र विज्ञानपरक थिए । म आज पनि रजनीशको त्यसरी नै प्रशंसा गर्छु जसरी मलाई धेरै प्रभाव पार्ने विद्वानहरू– विवेकानन्द, कार्लमाक्र्स, रुसो, अल्वर्ड आइन्सटाई, सिग्मण्ड फ्रायड काफ्का र वीपी कोइरालाको गर्छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक