Similar Articles

कथा लघुकथा

“तँसँग के छ?” प्रमिला-विजयराज शर्मा

बिराट नेपाल

(कथा)

भित्तामा झुण्डिएको ऐनाअगाडि उभिएर निम्मी आफूलाई नियालिरहेकी छन्। गोरो वदन, ठुला आँखा, हँसिलो मुहार, तर पुडको कद। आफ्नै होचो कदउपर नाक खुमच्याइन्। 

ऐनामा नियाल्दानियाल्दै निम्मी सशंकित भइन्, कतै श्रीमानले देखेका त छैनन्? देखे भने कटाक्ष छोडछन उनी। त्यसैले निम्मीको नजर ऐनामा रहेता पनि, कान भने भरेङ्गतिरै छ। 

निम्मीले आफ्नू सम्पूर्ण शरीरको बायाँदेखि दायाँसम्म नियालेर हेरिन। पुडको कदमाथि भारी आयतन भद्दा लाग्यो। उनको अनुहार खिस्रिक्क भयो। 

मोटाईलाई केही लुकाउन सकिन्छ कि भनेर सारीको कम्मरतिरको भाग र देब्रे काँधमा जाने सप्कोलाई सरक्क मिलाइन। कालो फ्रेम भएको पावरको चश्मा आँखाबाट फुकालेर देब्रे हातमा लिइन र दाहिने हातको चोर औंलाले आँखाओरिपोरीको चाउरीलाई सुमसुम्याउँदै तन्काउन खोजिन। त्यत्तिकैमा कालीप्रसादको पदचाप सुनियो। उनी भ-याङ्गबाट ओर्लंदै थिए। निम्मी सतर्क भइन्, उनको नजर ऐनाबाट हटेर भ-याङ्गतिर फर्क्यो। 

“खुबै सुन्दरी छु भनेर ऐना हेरेकी होलिस्? होइन? कालीप्रसादले काँडिलो अभिवादन फ्याँके। 
 
निम्मीले प्रतिकृयामा मुख बङ्ग्याएर ‘हुँ’ मात्र गरिन्। 

“आफैले गाला मुसारेर तन्नेरी हुने भए सबै आइमाईले त्यसै गर्ने थिए। जति सिंगारपटार गरे पनि काग मुजुर हुने होइन।“ 

स्वास्नीलाई व्यङ्गवाणले छियाछिया पार्नु कालीप्रसादको नित्यधर्म थियो। स्वास्नीमाथि यसै गरी रोब जमाउँथे उनी। उनको यो बानीदेखि परिचित निम्मीले कुनै प्रतिकृया जनाइनन, भान्सातिर लागिन। 

“अहिलेसम्म चिया बनाएकी छैनस?“ हातमा अखबार समाएर डाइनिङ्ग टेबुलमा बस्दै रूखो स्वरमा कालीप्रसाद बोले। 

“बनाउँदैछु,“ निम्मीले जवाफ दिइन, र ताप्केमा चियाको लागि धाराबाट पानी थाप्दै मसिनो स्वरमा फतफताउन थालिन – 

“स्वास्नीलाई नोकरभन्दा बढी कजाउन सक्ने। बुढी भइसक्दा पनि मैले अझै अपहेलना बेहोर्नु पर्ने। कस्तो मेरो भाग्य?“

“के फतफताउँदैछेस् हँ? मलाई सरापेकी होली? स्यालले झर्ला र खाउँला भनेर र्‍याल चुहाउँदैमा साँढेको अण्डकोष झर्ने हो र?”

“हेर न छुद्र बोली!“ निम्मीले रिसाउँदै भनिन ।

“चुप लाग कठिनी। बढी नबोल।“

एकछिनका लागि दुईबिचको वाकयुद्ध रोकियो। कालीप्रसाद अखबार पढन थाले। निम्मी चिया पकाउन लागिन। निम्मी गम्दै थिइन - 

अमेरिका आएको १६ वर्ष बितिसक्दा पनि यिनको स्वास्नी हेप्ने बानीमा कुनै परिवर्तन आएको छैन। कुक्कुरको पुच्छर १६ वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै!

चिया पाक्यो। चियाको कप श्रीमानका अघिल्तिर ठ्यास्स राखिदिइन र माथिल्लो तलातिर उक्लिन। 
*

कालीप्रसादको घरको घण्टी बज्यो । 

“ए बहिरी ! घण्टी बजेको सुन्दिनस? ढोका खोल।“ कालीप्रसाद कराए । 

निम्मीले ढोका खोलिन। आगन्तुकले नमस्कार गरे र भने – 

“म रामप्रसाद दिवस, कालीप्रसादको साथी। कालीप्रसाद छैन?”

निम्मीले नमस्कार फर्काइन र हँसिलो मुद्रामा भनिन – 

“आउनुस, भित्र पाल्नुस न। म निम्मी, उहाँकी श्रीमती।“

रामप्रसाद जुत्ता फुकाल्दै थिए, कालीप्रसाद फुर्तिलो पारामा अगाडि आइपुगे – 

“के छ दिवस?”

“राम्रो छ। तेरो के छ नि?” बडो प्रसन्नताका साथ रामप्रसादले जवाफ दिए।

दुवैले एकअर्कालाई अँगालो हाले, अनि कालीप्रसादले दाहिने हातले बैठकको सोफातिर देखाएर भने– 

“ल ल आइज यता बस।“

दुवै बसेका मात्र के थिए, निम्मीले रामप्रसादसँग प्रश्न गरिहालिन – 

“होइन बाबु, यो ‘दिवस’ भन्ने कस्तो थर हो?”

“थर होइन भाउजू। यो मेरो साहित्यिक उपनाम हो।“

“ए!” निम्मी छक्क परिन।

“कतिपय साहित्यकारले दु:खी, विवश र यस्तै निराशावाचक उपनाम राखेको देखेको छु मैले। मलाई भने खुसी, उल्लास र आनन्द जनाउने उपनाम ‘दिवस’ राख्न मन लाग्यो। म जहाँ जान्छु, त्यहाँ एउटा दिवस नै मनाइन्छ। जस्तै, आज तपाईँका घरमा।“ रामप्रसादले आफ्नो उपनामको व्याख्या गरे र आफै आनन्दको हाँसो हाँसे। 

निम्मीलाई पनि श्रीमानका यी साथीको कुरा रमाइलो लाग्यो। कालीलाई चाहिँ यो वार्तालाप कुनै विशेष लागेन। बरु, निम्मीले उनीलाई उछिनेर रामप्रसादसँग कुरा गरेको मन परेन। कुरा अरू अघि नबढोस भनेर उनले निम्मीलाई घोचिहाले – 

“जुन मानिसले कहिल्यै कथाकहानी पढेको छैन, उसैलाई यस्ता कुरामा चासो। जा, जा, अब चिया बनाएर ल्या।“

निम्मी जवाफ नदिएर भान्सातिर जान अघि बढिन। रामप्रसादलाई भने कालीले यसरी निम्मीको मुखमा बुजो लाएको चित्त बुझेन। उनले निम्मीलाई रोक्नका उद्देश्यले भने – 

“होइन भाउजू। साहित्य भनेको मानिसको मर्मको प्रस्तुति हो। जसले मानिसको दु:खसुख आनन्दपीडालाई अनुभूत गर्न सक्यो र त्यसलाई बयान गर्न सक्यो, उही हो साहित्यकार। साहित्य पुस्तककै रूपमा लेख्नु पढनु पर्दैन। उहिले श्रुति-स्मृतिको जमानामा पनि मानिसहरू भेला भएर मानिसका व्यथाकथा सुनाउँथे, र सुन्थे पनि।“

कालीप्रसादलाई दिवसले निम्मीको बचाउ गरेको ठिक लागेन – 

“तँ पनि दिवस। कस्तो मान्छेसँग साहित्यको मर्मको कुरा गर्छस? जो नौ कक्षा पनि पास छैन। भैंसीको अगाडि बाँसुरी नबजा। छोड साहित्यका कुरा। बरु भन, के गरी डेनभर आइपुगिस?”

निम्मी भान्सातिर लागिन।

“साहित्यको कुरा नगर भन्छस। साहित्यले नै मलाई डेनभर ल्याइपुर्यायो।“ मुस्काउँदै रामप्रसादले जवाफ दिए।

“कसरी?”

“यहाँ साहित्य सम्मेलन थियो आज। त्यस सम्मेलनले मलाई यसवर्षको डायस्पोरिक नेपाली साहित्य सेवा सम्मान प्रदान गर्‍यो। त्यो सम्मान थापेर म तँलाई भेटन आइपुगें।“

“ल त, त्यसो भए धेरै धेरै बधाई। ठुलै साहित्यकार भइछस।“ 

कालीप्रसाद कुराको प्रसङ्ग साहित्यबाट अन्तै मोड्न चाहन्थे। त्यसै वेला ढोकाको घण्टी बज्यो। निम्मी ढोका खोल्न गइन। काली र रामप्रसाद दुवैको घाँटी ढोकातिर फर्क्यो। ढोकामा दीपकलाई देखेर निम्मी दङ्ग परिन। बाहिर पानी पनि परिरहेको रहेछ। 

“ए, ए, झट्ट भित्र पस बाबु। भिजिस कि क्या हो?”

“होइन आमा, भिजेको छैन। बुवा हुनुहुन्न?”

“हुनुहुन्छ। बुवाको साथी पनि आउनुभएको छ।“

दीपक, २६ वर्षको तन्नेरी युवक। ऊ सामान्य मुस्कानका साथ रामप्रसादको अघिल्तिर नमस्कार गर्दै उभियो – 

“मेरो नाम दीपक।“ 

अनि, कालीप्रसादलाई देखाउँदै भन्यो - “म उहाँको छोरा।“

रामप्रसादले उठेर दीपकलाई अँगालो हाले, र कालीप्रसादतिर फर्कंदै भने – 

“ओ हो! क्या लायकको छोरा रहेछ तेरो त?” 

अनि, दीपकतिर फर्कँदै भने – 

“म तिम्रो बुवाको नेपालदेखिको साथी, रामप्रसाद दिवस।“

दीपकका आँखामा एक्कासि प्रसन्नता छायो। उसले भन्यो – 

“मैले तपाईँको खबर आज मात्रै इन्टरनेटमा पढें। तपाईँलाई नेपाली साहित्यको कुनै सम्मान प्रदान गरियो। होइन र?”

“हो, हो, बाबु। म त्यही रामप्रसाद दिवस हुँ।“ 

अनि, कालीप्रसादतिर फर्कंदै गर्वका साथ भने – 

“देखिस त कालीप्रसाद। तँलाई नभए पनि छोरालाई थाह रहेछ, मेरो सम्मानबारे।“

कालीप्रसादले एउटा फिक्का मुस्कानबाट आफ्नो प्रतिकृया टारे। निम्मीले दुइकप चिया टेबुलमा राखिदिइन। रामप्रसादले चियाको पहिलो चुस्की मात्र के लिएका थिए, झ्यालबाहिर एक्कासि आकाशमा बिजुली चम्केको झलल उज्यालो देखियो। कानको जाली फुटाउनेजस्तो चट्याङ्गको आवाज। 

रामप्रसाद जुरुक्क उठेर झ्यालअघिल्तिर उभिन पुगे। आकाशभरि ठाउँठाउँमा बिजुलीका लामा लामा झिल्काहरू देखिरहेको थियो। मकै पडकेको जस्तो आवाज पनि सुनिंदै थियो। रामप्रसादलाई लाग्यो – 

बिजुलीका तारहरूको सञ्जाल आकाशभरि छरिएको छ... तारको खोल फुटेर ठाउँठाउँमा नाङ्गा हुनपुगेका तारहरू हावाको वेगले एकअर्कासँग जुध्दा बिजुलीका झिल्काहरू निस्किरहेका छन्... आकाशको विशाल पर्दामा मानौं कुनै अलौकिक खेलको प्रदर्शन भइरहेको छ।

यो तिलस्मी दृश्यले रामप्रसादलाई मोहनी लगायो। उनले यसअघि पनि घनघोर मेघहरू देखेका हुन, वर्षाको झरी पनि देखेको हो, तर मेघ, वर्षा र चट्याङ्गको यस्तो अदभुत आकर्षक संयोग उनले पहिले देखेका थिएनन।
 
रामप्रसादले कालीप्रसादतिर फर्केर आफ्नो आश्चर्य व्यक्त गरे – 

“काली, तेरो डेनभरको चट्याङ्गमा त एउटा रहस्यमयी आकर्षण रहेछ!“

कालीप्रसाद विगत १६ वर्षदेखि डेनभर बसेका हुन, यस्तो मौसम अनगिनत पटक देखेका पनि हुन, तर रामप्रसादलाई यो दृश्य किन आकर्षक लाग्यो उनले बुझ्न सकेनन्। त्यसैले कालीप्रसाद मौन रहे। 

निम्मीले हत्तपत्त अघि सरेर आफ्नो राय प्रस्तुत गरिहालिन – 

“हो दिवस बाबु। डेनभरमा जुन महिनाको वर्षा र बिजुलीको संयोग जहिले पनि अदभुत हुन्छ।“

निम्मीको प्रतिक्रियाले रामप्रसाद हौसिए – 

“हगि भाउजू। कस्तो अदभुत दृश्य? शरीरलाई नै रोमाञ्चित गर्ने! अलिकति त्रासदीपूर्ण, अलिकति रहस्यमयी! “के भएको होला यो?” भनेर खोतल्न कौतूहल जाग्ने! मलाई त भाउजू, यो लोमहर्षक दृश्य कुनै सिद्ध तान्त्रिकले शक्तिदेवीलाई खुसी पार्न नियोजित रूपमा प्रस्तुत गरेको उद्यम होजस्तो लाग्यो।“ 

कालीप्रसादलाई साहित्यकारका कुरा सधैँ हावादारी लाग्दथ्यो, रामप्रसादको आजको कुराले उनको यस विचारको पुष्टि भयो। उनले कुराको प्रसङ्ग मोडन खोजे – 

“ए दिवस। अब यस्तो तिलस्मी रातमा यस्तै बगमफुस कुरा गरेर समय खेरा फाल्ने कि यसो बिजुलीपानी पनि घुटकाउने?” 

रामप्रसाद ठुलो हाँसो हाँसे – 

“हा हा हा। कालीलाई कुन वेला सुर्काउँ भइसक्यारहेछ, मौसमलाई दोष लाउँछ।“ 

“ए दीपक। ह्विस्की र दुइटा गिलास ले। “कालीप्रसादले दीपकलाई अह्राए। 

दीपक भान्साको क्लोजेटमा ह्विस्की खोज्न लाग्यो। यता रामप्रसादले कालीप्रसादलाई भने – 

“तँ छोरालाई रक्सी ल्याउन लगाउँदो रहेछस। यस्तो कुरो छोरालाई अर्हाउनु हुँदैन, आफै गर्नुपर्छ।“

“कस्तो कुरा गर्छस् दिवस? यस्तो लाठेलाई नअह्राए अटेरी भइहाल्छ।“ रोबका साथ कालीप्रसाद बोले । अनि, उही रोबिलो पारामा कराए – 

“ए निम्मी। एउटा कचौरामा आइस ल्या त।“

“आमा तपाईँ भान्साको काम गर्नुस। म नै आइस लैजान्छु।“ दीपकले आमालाई बिस्तारै भन्यो।
 
रेडलेबलको एउटा बोतल, दुइटा गिलास र एउटा कचौरामा आइसका केही डल्लाहरू दीपकले सोफाअघिल्तिरको टेबुलमा राखिदियो।

“ल अब एकएक पेग बनाएर हामीलाई दे।“ कालीप्रसादले अह्रायो।

दीपकले बोतल समातेको मात्र के थियो, रामप्रसादले बोतल खोसे र भने – 

“तिमी छोड दीपक। म बनाउँछु।“

रामप्रसादले एउटा पेग बनाए र कालीप्रसादलाई दिए। अघिदेखि कालीको जिब्रो मात्र चलेको थियो, उनी आफ्नू ठाउँबाट टसमस भएका थिएनन। उनी हुकुम चलाइरहेथे र स्वास्नी र छोरा हुकुम तामेल गरिरहेथे। अहिले पनि रामप्रसादले पेग बनाएर दिँदा उनी उही रवाफसाथ आफ्नो स्थानमा बसिरहे। मानौं, रामप्रसाद घरपट्टी हुन र कालीप्रसाद पाहुना।

कालीप्रसादको रक्सी पिउने वेग तेज थियो, आज उनको पुरानो साथी जो आएको थियो। दीपक दुई साथीहरूको चर्तिकला हेर्दै थियो, र वेलावेला आमालाई भान्सामा मदत पनि गर्दै थियो।  à¤°à¤¾à¤®à¤ªà¥à¤°à¤¸à¤¾à¤¦à¤²à¥‡ दीपकलाई देखेर प्रभावित भए। उनले सोधे – 

“तिमी के काम गर्छौ बाबु?”

“म कम्प्युटर प्रोग्रामर हुँ अंकल। यहाँबाट एकघण्टाको ड्राइभमा फोर्टकलिन्स भन्ने सहर छ, त्यहीँ ह्युलेट प्याकर्ड भन्ने कम्पनीमा काम गर्छु।“ 

“अनि, सधैँ एक घण्टा ड्राइभ गरेर काममा जान्छौ त?”
“होइन। फोर्टकलिन्समै बस्छु। आज वीकएण्ड भएकोले आमाबुवालाई भेटन आइपुगें।“

“बिहे भइसक्यो तिम्रो?”

“अझै कुमारै छु। बुवामम्मीको ठ्याकठुक देखेर बिहे गर्ने हतार लागेको छैन मलाई।“ दीपकले हाँस्दै जवाफ दियो।

रामप्रसाद पनि दीपकको कुरा सुनेर हाँसे र कालीप्रसादतिर फर्केर जिस्क्याए – 

“काली, के भन्छ त तेरो छोरा? तिमीहरू लोग्नेस्वास्नीको ठ्याकठुक परिरहन्छ कि क्या हो?”

“बेबकुफ हो। स्वास्नीलाई टाउकोमा चढाउनुपर्छ भन्ठान्छन् नि अचेलका केटाहरू। जुन दिन स्वास्नीले रिंगाउँन थाल्छे, त्यै दिन यस्ताको चेत खुल्छ।“ मुख बङ्ग्याउँदै कालीप्रसादले जवाफ दिए। 

दीपक त्यहाँबाट जुरुक्क उठेर हिंड्यो। निम्मीले सलाद र टमाटरको अचार ल्याइन। कालीप्रसाद रिसाए – 

“के यो सागपात ल्याएकी? मासु परपर भुटेर छिटो ले।“

रामप्रसादले नरम स्वरमा निम्मीतिर फर्केर भने – 

“होइन भाउजू, कुनै हतार छैन। आरामले गर्नुस।“ 

कालीलाई रक्सी चढदैथ्यो। उनले आफ्नो गिलासमा ठुलो पेग थपे र रामप्रसादको गिलासमा पनि थप्न खोजे। 

“काली, मेरो स्पीड स्लो छ। यो पेग सिद्धियोस, म आफै थप्छु।“

“साले, यति वर्षमा भेट भएको छ। तै पनि तेरो उही स्लो बानी छँदैछ।“ कालीप्रसादले जिद्दी गरे।

“हो काली। मेरो बानी उस्तै छ। तेरो पनि त दन्काउने बानी उस्तै फास्ट छ। यतिका वर्षपछि तलाईं भेटें। अब तँसँग, भाउजू र छोरासँग पनि त कुरा गर्नैपर्यो। फेरि, बाहिर हेर्न, आजको मौसम कस्तो आकर्षक छ। त्यसको पनि त मजा लिनु पर्‍यो।“ 

यति भनेर रामप्रसाद बाहिरको दृश्य हेर्न फेरि झ्यालमा गएर उभिए। घरभित्र डाडु, पनेउ, प्रेसरकुकरको सिटीको आवाज आउँदै थियो। घरबाहिर भने वर्षातको सुमधुर सङ्गीत बजिरहेको थियो। काली पेगमा पेग थप्दै थिए। उनको अनुहारमा नशाको प्रभाव स्पष्ट देखिन थालेको थियो। 

निम्मी रामप्रसादनिर आइन र भनिन – 

“दिवस बाबु, भान्सा तयार भयो। डाइनिङ्ग टेबलमा बसौं।“

निम्मीले रामप्रसादलाई भनेको कुरा कालीप्रसादको कानमा पनि पर्‍यो। उनी एक्कासि जंगिए – 

“के भन्छेस् ए राँडी? अहिले साथीसँग रक्सी पिउनै पुगेको छैन। स्न्याक्स ल्याउन छोडेर छिटछिटो ख्वाएर भान्सा उठाउन खोज्छेस?“

निम्मी रुन्चे अनुहार लाएर भान्सातिर लागिन। दीपकलाई बुवाको व्यवहार चित्त बुझेन – 

“किन त्यस्तो भन्नुहुन्छ बुवा? आमाले कति मीठो खाना पकाउनु भएको छ। किन ढिलो गर्ने? सेलाउँछ। सबै जना खान बसौं।“

“साले। तँ आमाको पुर्पच्छे गर्छस्? लात्ती हानौंला।“ कालीप्रसादले छोरालाई हप्काए।

“ए काली, यसौ गरौँ। आआफ्नो गिलास लिएर हामी डाइनिङ्ग टेबलमा बसौं। त्यहीँ बसेर रक्सी पिऊँ। मीठो लागेका परिकार पनि खाऊँ। मलाई त भोक लागिसकेको छ यार, मेरो दर्द पनि बुझ न।“ रामप्रसादले कालीलाई बुझाउने प्रयत्न गरे। अनि, उनको हात समाएर डाइनिङ्ग टेबलमा बसाए। 

निम्मी र दीपकले टेबुलमा खाना सजाए। सबैले राम्ररी खाए। कालीप्रसादको जोड खानमा भन्दा रक्सी पिउनमा बढी रह्यो। हेर्दाहेर्दै उनी एकछिनमा कुर्सीमै निदाएर ढल्न लागे। दीपक र रामप्रसादले थामेर सोफासम्म पुर्याए र सोफामै सुताइदिए। 

•

भोलिपल्ट बिहानै कालीप्रसाद रामप्रसादलाई सहर घुमाउनुपर्छ भनेर बाहिर निस्के। दश बजेतिर दीपक पनि बाहिर निस्कन खोजेको थियो, निम्मीले छोरालाई आग्रह गरिन – 

“बाबु, तँ निस्कँदा मलाई शारदाकहाँ छोडदे। अनि, तँ कति वेला फर्किन्छस, त्यति वेला मलाई टिप्दै आउनु।“

“हुन्छ आमा, म फर्कँदा ३-४ बज्छ नि।“

“भैहाल्छ नि। शारदाको आज बिदा नै हो।“

आमाछोरा कारमा निस्के। दीपकले कुरा कोट्यायो – 

“बुवाले तपाईँलाई त्यस्तो हेंला गरेर वेलावेलामा बोल्नुहुन्छ। तपाईँ किन सुनिराख्नुहुन्छ आमा?”

“मेरो भाग्यै यस्तै बाबु। म के गर्न सक्छु र?”

“विरोध त गर्नसक्नुहुन्छ नि। यो एक किसिमको घरेलु हिंसा हो।“

“हिंसा? कुटनु पिटनु त हुन्न नि?” निम्मीले अचम्म मान्दै सोधिन।

“हिंसा गर्न हातहतियारले नै कुटनै पर्छ र? दुर्वचनले पनि कुटे हुन्छ। बुवाले तपाईँलाई गाली गर्दा मलाई त असह्य हुन्छ। तपाईँलाई कस्तो हुँदो हो?“

कुरा गर्दागर्दै शारदाको एपार्टमेन्ट आइपुग्यो। 

“ल भैगो। अहिले छोड यो कुरा। बरु गाडी रोक बाबु। म ओर्लन्छु। तँ फर्कँदा मलाई लिएर जानू।“  

दीपकले गाडी रोक्यो, निम्मी ओर्लिन, दीपकले आफ्नो गन्तव्यतिर गाडी मोडेर हिंड्यो । निम्मी शारदाको ढोकामा ढकढक्याउन पुगिन। 

“ओ हो दिदी, आउनोस, आउनोस।“ ढोका खोल्दै, अनुहारमा मुस्कानका साथ शारदाले स्वागत गरिन।

“आज तिम्रो बिदा भनेर दु:ख दिन आइपुगें।“ निम्मी हाँस्दै ढोकाभित्र छिरिन।

“के दु:ख? बस्नोस दिदी। म चिया बसाल्छु।“

निम्मी डाइनिङ्ग टेबलको कुर्सीमा गएर बसिन, तर उठिहालिन र शारदाकै छेउमा गएर उभिइन। शारदा स्टोभमा चियाको ताप्के बसाउँदै थिइन। नजिक उभिन आइपुगेकीले निम्मीतिर मुन्टो फर्काउँदै अनुहारभरि मुस्कान छरेर शारदाले भनिन – 

“आज मेरो बिदा, के गर्ने होला? सोच्दै थिएँ, तपाईँ आइहाल्नु भयो। अब दिन राम्ररी कटने भयो।“

निम्मी पनि मुस्काइन। शारदा र निम्मीले चार वर्ष म्याकडोनाल्डमा सँगै काम गरेका हुन। त्यसै सिलसिलामा उनीहरूको मित्रता प्रगाढ भयो। छ महिनाअघि मात्र निम्मीले काम छोडिन, तर शारदा अझ काम गर्दैछन। शारदाको उमेर ३५-३६ छ, नेपालमा बिएसम्म अध्ययन गरेकी हुन। श्रीमान र एउटी ७ वर्षकी छोरी नेपालमा छोडेर उनी अमेरिका आएकी हुन। अमेरिकामा बस्न पाऊँ भनी एसाइलमको आवेदन हालेकी छन्, कानुनी प्रक्रियामा ३ वर्ष नाघिसक्यो, एसाइलम स्वीकृत होला र परिवार ल्याउँला भन्ने प्रतीक्षामा बसेकी छन्। 

“कसले ल्यायो त दिदी? तपाईँलाई यहाँ?” निम्मीले प्रश्न गरिन।

“दीपकले। ३-४ बजेतिर लिन आउँछ। त्यति वेलासम्म तिमीसँगै समय बिताउने विचार छ। हुन्छ?“

“किन नहुनु। तपाईँले काम छाडिहाल्नुभो, मलाई बिस्तारै बिर्सनु हुन्छ कि भन्ने लागेको थियो।“

“तिमीलाई कसरी बिर्सनु?” निम्मीले शारदाका आँखामा हेर्दै भनिन। अनि, गम्भीर आवाजमा सोधिन - “एउटा कुरा साँच्चै भनूँ तिमीलाई?” 

“भन्नुस् न, के हो त्यस्तो कुरा ?“ शारदाले विस्मित स्वरमा सोधिन।

“यो परदेशमा मेरो मनको बह पोख्ने भाँडो एउटा तिमी मात्रै छौ। तिमी त मेरी बहिनी होऊ।“ आँखा रसाउँदै निम्मीले मनको कुरा पोखिन।

“ए! म त डराएकी थिएँ अब दिदीले के भन्न थाल्नुभयो भनेर। मेरो मनै हर्ने कुरा पो गर्नु भयो दिदी।“ शारदाका पनि आँखा रसाए। 

दुवैले एकअर्कालाई हेरे। त्यो हेराई फरक थियो, अरू वेलाभन्दा। आँखा माध्यम भएका थिए, एउटाको मुटुबाट अर्कोको मुटुसम्म पुग्ने एउटा अदृश्य पुल! दुवै नि:शब्द थिए, तर तिनका आँखा भलभली बोल्दै थिए, बलिन्द्र आँसुका धारा झार्दै।

शारदाले अँगालो हाल्न आफ्ना दुवै हात निम्मीतिर बढाइन। निम्मीले पनि त्यसै गरिन। कसिलो आलिंगनमा बाँधिए दुवै। आलिंगनमै शारदाले रुँदै भनिन – 

“मेरा पनि त श्रीमान र छोरी नेपालमै छन्। तपाईंनै मेरी दिदी हो।“

दुवै बिस्तारै आलिंगनबाट छुट्टिए। आआफ्ना आँखा पुछे, एकछिन सुँक्क सुँक्क गरिरहे। केही बेरको मौनतापछि शारदा बोलिन – 

“घरमा भिनाजु एक्लै हुनुहुन्छ?”

“होइन। साथीलाई डेनभर सहर घुमाउन भनेर निस्कनु भएको छ।“

“तपाईँ पनि सँगै जानुभएन त?”

“बल्ल त एकछिनलाई तिनबाट छुटकारा पाएको छु। उनको छुद्र बोली सुनिरहन किन सँगै जानु?”

“काम छाडेर घरमा बस्न कति रमाइलो भएको छ त दिदी?”

“रमाइलै छ। जाडोमा, हिउँमा, गरममा, हुरीमा, झरीमा, हतार हतार उठेर काममा जानुपर्दैन।“ 

निम्मीको स्वरमा उल्लास थिएन । शारदालाई निम्मीको मुस्कान पनि नक्कली लाग्यो। उनले छक्क पर्दै सोधिन – 

“रमाइलै छ त भन्नुहुन्छ, तर स्वरमा उदासी किन?”

निम्मीको ओंठबाट नक्कली मुस्कान हरायो । उनले गम्भीर स्वरमा जवाफ दिइन – 

“जीउलाई त आराम छ शारदा, मुटुको व्यथा चाहिँ बढेको छ।“ 

“कस्तो व्यथा?” शारदा छक्क परिन।
“घरमा छ नि कालीप्रसाद नाम गरेको एउटा कर्कश दैंत्य! जसको बोलीले मेरो मुटुलाई हिउँले भन्दा बढी कठ्याँग्रिदिन्छ। आगोले भन्दा बढी पोलिदिन्छ। झरीले भन्दा बढी वेदनाले निथ्रुक्क भिझाइदिन्छ। र, मेरो सन्तुलनलाई हुरीले भन्दा बढी डगमगाइदिन्छ।“ एकदमै कठोर स्वरमा निम्मीले व्याख्या गरिन। 

निम्मीका व्यङ्गात्मक बोलीहरूको प्रवाह सुनेर शारदा चकित परिन। झिमिक्क नै हुने गरी उनका आँखा खुलेका खुलै रहे, कुनै सालिकले झैँ उनले निम्मीलाई हेर्या हेरै गरिन।  

“काम छाडेर घरमा बस्न के थालेँ, उनको व्यवहार झन् अत्यासलाग्दो भयो।“ निम्मी भन्दै गइन।  

जब निम्मी चुप लागिन, शारदाका आँखा बल्ल झिमिक्क भए। उनले निम्मीको दुवै कुम समातिन, अनि एक हातले निम्मीको देब्रे पाखुरा तान्दै भनिन – 

“तपाईँ बस्नोस् दिदी। म चिया ल्याउँछु।“

दुवैका आँखा स्टोभतिर ताप्केमाथि पुग्यो। कुन वेला चिया उम्लेर चुल्होभरी पोखिसकेको रहेछ। दुवै एक्कासि हाँस्न थाले। 

“म फेरि बसाल्छु।“ यति भनेर शारदा चिया बसाल्ने तरखरमा लागिन। निम्मी डाइनिङ्ग टेबुलको कुर्सीमा थचक्क बसिन। 

एक कप निम्मीलाई र आफू पनि एक कप चिया लिएर शारदा निम्मीको अघिल्तिर बसिन। यति समय बित्दा दुवैको शिर केही हलुङ्गो भइसकेको थियो। 

“दिदी, तपाईँको बिहे भएको २८-३० वर्ष त भइसकेको होला? तर, अहिले आएर सम्बन्धमा तनाव किन?” शारदाले प्रश्न गरिन।

“त्यही त। अचम्म छ, मैले कसरी झेलिछु? सुरु सुरुमा यस्तै हो लोग्नेमानिसको बानी भनियो। म नपढेलेखेकी। त्यसपछि छोरा पाइयो। उसलाई हुर्काउनेमा समय गयो। फेरि, अमेरिका आइयो। यस्तै यस्तै गरी भाग्यले डोर्याउँदै ल्याएछ मलाई। अहिलेसम्म सहेर बसेकी थिएँ। तर अब...“

“अब के भयो?”

निम्मीले मनको बह पोख्न थालिन – 

“म पहिलो शिफ्ट काम गर्थें, तिम्रा भिनाजु दोस्रो शिफ्ट। त्यसैले केही सह्य भएको थियो कि क्या हो? मैले काम छोडें, उनी पनि रिटाएर भए। अब त चारै प्रहर उनकै ओरिपोरी बस्नुपरेको छ। चारै प्रहर उनको बोलीले काँडाजस्तो घोचिरहन्छ।“

“भिनाजुलाई भन्नुहुन्न त?“

“दीपक पनि त्यसै भन्दै थियो।“

“के भन्दै थियो?”

“बुवाले त्यस्तो बोलेको वेला विरोध गर, सहेर नबस भन्छ।“ 

शारदाले सहमतिमा टाउको हल्लाइन।

“म पनि परिवर्तन भएँ क्या र शारदा? नेपालमा उनको बानी “यस्तै हो” भनेर पचाइसकेकी थिएँ। बितेका १५-१६ वर्षमा अमेरिकाले मभित्र भिन्दै चेतना खुलाएछ। आत्मसम्मानको चाहना विकसित गरिदिएछ क्या र? यहाँका महिलाको स्वतन्त्र जीवन देख्छु, लोग्नेबिना पनि उनीहरूको जीवन उँचाईमा गएको देख्छु। मेरो मन पोलेर आउँछ।“

“हगि दिदी? यो समाजमा महिला र पुरुष दुवैको आत्मसम्मानलाई बरोबरको स्थान छ।“ 

“यसै समाजले त मेरो मति बिगार्यो कि क्या हो?”

“के मति बिगार्नु दिदी? मति सपार्यो। महिला पुरुषकी सम्पत्ति होइन, ऊ आफैमा पूर्ण मानव हो, त्यसको ज्ञान दियो अमेरिकाले।“

“हेर न। म नौ कक्षा पनि नपढेकी आइमाईलाई म्याकडोनाल्डले जागिर दियो। भान्सामा पकाउने काम गरेँ। तर कामको इज्जत छ यहाँ। हातमा हरिया डलर परे। मेरो पनि कमाई छ भन्ने आत्मसम्मानको प्रारम्भ त्यहीँ भयो। बिरामी परे पैसा छैन भने पनि अमेरिकामा अस्पतालले मर्न दिन्न। औषधीमूलो गरिदिहाल्छ।“ 

अनि शारदातिर हेर्दै निम्मीले थपिन – 

“भन त, अमेरिकाले सबैलाई बलियो बनाइदिन्न त?”

“मेरी दुलही अमेरिकामा बलियी भई भनेर भिनाजुलाई कुण्ठा भएको त होइन?” शारदाले कौतूहल राखिन।

“होला पनि। यसलाई हेपी रहिन भने हातबाट फुत्किन्छे भनेर झन मप्रति आक्रामक भएका हुन सक्छन्।” 

“होला, होला दिदी। त्यस्तो व्यक्तिलाई आफू कमजोर होइन, बलियो बनेर देखाउनु पर्छ।“

“म पनि अब अपहेलित भएर बस्न चाहन्न। असह्य भइसक्यो।“

त्यति भनेर निम्मी कुर्सीबाट उठिन र शारदालाई झ्यालबाहिर औंलाले देखाउँदै भनिन – 

“शारदा, हेर। ऊ त्यहाँ टाढा च्याटफील्ड ड्याम देखिन्छ नि?”

“हो दिदी, त्यो च्याटफील्ड ड्याम हो। अनि?”

“आइमाई भनेको पनि ड्याम हो। उनले भावनाहरूको रिजर्भ्वाएर आफूमा बाँधेर राखेकी हुन्छिन।“

निम्मीका कुरा शारदा मन्त्रमुग्ध भएर सुन्न थालिन। निम्मी भन्दै गइन – 

“त्यो रिजर्भ्वाएरमा उल्लास, खुसी र प्रेमको राशि जम्मा भए, त्यसले ड्यामलाई झन दरिलो बनाउँछ। तर, प्रेमको साटो वेदनाको छालले हानिरहे, एकदिन बाँध फुटेर घर छताछुल्ल हुनसक्छ। बाँधरूपी आइमाईको जीवन त भत्किन्छ नै, लोग्नेमान्छे पनि त्यसको प्रचण्डप्रवाहमा बगेर नाश हुन्छ । रहन्छ न घरका, न घाटका।“ 

“कस्तो गहिरो कुरा गर्नुभो दिदी!” शारदाले लामो निश्वास फाल्दै भनिन।  

“हो शारदा। मेरो मनको बाँध पनि फुटला कि भन्ने डर लागिरहेको छ।“ 

शारदा पनि कुर्सीबाट उठिन र निम्मीलाई अँगालो हालिन। उनलाई एक्कासि एउटा कुरा फुर्यो, बडो उत्तेजित भएर भनिन – 

“दिदी, तपाईँलाई एकदम स्ट्रेस भएको छ। मसँग एउटा उपाय छ, तनावमुक्त हुने।“

“के उपाय छ तिमीसँग त्यस्तो?” जिल्ल परेर सोधिन निम्मीले।
“पिनाटा।“ एकदम उत्तेजित स्वरमा जवाफ दिन शारदाले।

“पिनाटा? के हो त्यो?”

“मलाई पनि स्ट्रेस भएको वेला म पिनाटालाई कुट्छु।“

“के भन्या त्यो?”

“पख्नोस। पिनाटा ल्याउँछु म कोठाभित्रबाट।“ 

शारदा कोठामा पसिन र हातमा मानिसको आकृतिजस्तो एउटा खेलौना लिएर आइन। सँगै एउटा लट्ठी पनि । निम्मीलाई देखाउँदै भनिन – 

“यसैलाई भन्छन् पिनाटा।“

“अनि, के गर्ने यो?”

“अमेरिकामा बर्थडेका दिन पिनाटालाई एक ठाउँमा झुण्डाउँछन। अनि केटाकेटी त्यो झुण्डिरहेको पिनाटालाई बेस्गरी ठटाउँछन, पिनाटा फुटेर त्यसभित्र रहेको चकलेट र क्यान्डीहरू नखसुन्जेल। जब फुटेर क्यान्डी खस्छ, आफ्नो सफलतामा दङ्ग पर्दै केटाकेटीहरू त्यही क्यान्डी टिपी टिपी खान्छन।“

“यो मानिसको आकृतिको पिनाटा भनेको क्यान्डीको धोक्रो रहेछ?” 

““हो।“ 

“अनि, हामीले चाहिँ के गर्ने नि अहिले?” निम्मीले प्रश्न गरिन।

“म धेरै स्ट्रेस भएका वेला यसलाई (औंलाले छानातिर देखाउँदै) ऊ त्यहाँ झुण्डाउँछु र बेस्गरी चुट्छु। मेरो सबै तनाव जान्छ।“ 

“तिमीलाई केको तनाव?” निम्मी छक्कै परिन।

“मलाई स्ट्रेस छैन र दिदी? म श्रीमान र छोरी छोडेर परदेशमा बसेकी छु। चार वर्ष भइसक्यो, एक्लै बसेकी। कति पटक रुन्छु म? त्यसवेला नेपालका नेताहरूलाई बेस्मारी गाली गर्न मन लाग्छ। आफ्नू देशको परिस्थिति राम्रो भएको भए, किन लाखौँलाख नागरिक आफ्नो गाउँठाउँ परिवार छोडेर विदेशिने थिए? हुन त मैले यहाँ सरापेर तिनले सुन्ने होइनन, तैपनि म यै पिनाटालाई नेपालका नेता मानेर झुण्डाउँछु र बेस्गरी कुट्छु।“ 

“हो?” भन्दै हाँसिन निम्मी।

“हो नि। मलाई त सञ्चो हुन्छ दिदी। तपाईँ पनि यो पिनाटालाई भिनाजु ठान्नुस र चुटेर आफ्नू मन शान्त गर्नुस।“

“ठिक भनेऊ। साँच्चो मानिसलाई त कुटन भएन। यो प्रतिरूपलाई त कुटन पाइयो नि। ल झुण्डाऊ शारदा। म रेडी छु।“ निम्मी जोशिइन। 

शारदाले पिनाटा झुण्डाइन। शरीरमा भएभरिको बल झिकेर निम्मी त्यस पिनाटालाई दाहिनेबाट,  à¤¦à¥‡à¤¬à¥à¤°à¥‡à¤¬à¤¾à¤Ÿ, टाउकोबाट, मुनिबाट बेस्गरी लट्ठीले गोद्न थालिन। एकपटक यसरी लट्ठीलाई घुमाएर हानिन कि पिनाटा फुटेर छताछुल्ल भयो। भर्रर त्यसबाट चकलेट क्यान्डीको वर्षा भो। 

त्यसै वेला ढोकाको घण्टी बज्यो। शारदा ढोका खोल्न गइन। निम्मी एक हात कम्मरमा राखेर र एक हातले लट्ठी समाएर ठिङ्ग उभिइन। ढोका खुल्यो। दीपक रहेछ। उसले शारदा र निम्मी दुवैको अनुहार गम्भीर देख्यो, र देख्यो निम्मीको विचित्र रूप। पिनाटा फाटेर झुण्डिरहेको। उसले डराउँदै आमालाई सोध्यो – 

“के भयो आमा? के गर्नु भएको?”

“तेरो बाउलाई गोदेको।“ निम्मीले जवाफ दिइन।

“हँ?” दीपकको मुखबाट फुत्क्यो। ऊ एकदम आश्चर्यचकित भयो। 

“हेर, तेरो बाउको भुँडी फुटेर चकलेट छताछुल्ल भएको।“ भन्दै पिनाटातिर देखाइन, अनि निहुँरेर भुईँबाट एउटा चकलेट टिपिन, र ढोकातिर आउँदै दीपकलाई दिँदै भनिन – 

“लौ खा बाबु, तेरी आमाको पुरुषार्थ। “बुवाको विरोध गर” भन्थिस् नि मलाई?”

दीपकले चकलेट समात्यो, तर केही बुझ्न सकिरहेको थिएन। किंकर्तव्यविमुढ भएर उभिरह्यो।

परिस्थितिलाई सहज पार्दै शारदाले बिचमै बोलिन – 
“बस दीपक। केही भएको छैन। हामी पिनाटासँग खेलेको।“

शारदाले दीपकलाई कुर्सीमा बसाइन। बल्ल निम्मीको आवेग शान्त भयो। उनी दीपकनेर आइन र आफ्नो नरम स्वाभाविक स्वरमा हाँस्दै भनिन – 

“हेर बाबु, यो कस्तो रमाइलो खेल रहेछ? यो निर्जीव पिनाटालाई पिटेपछि सारा तनावबाट मुक्त होइने रहेछ। तिम्रो बुवाले दिक्क पारिरहनुहुन्छ, यो खेल खेलेर मलाई एकदम हलुङ्गो अनुभूति भयो।“ 

दीपकले शारदा र निम्मी दुवैलाई हेर्यो। दुवैको अनुहारमा बल्ल स्वाभाविक भाव पायो र बोल्यो – 

“म त डराएको। के पो भयो यहाँ भनेर।“

शारदा र निम्मी दुवै गलल हाँस्न थाले। दीपकको अनुहारमा पनि हाँसो छरियो। 

*

शनिवारको दिन। कालीप्रसाद एकजना नवागन्तुकसँग कुरा गर्दैथिए। निम्मी आगन्तुक र श्रीमानका लागि खाजा र चिया बनाउँदै थिइन ।  

सुवर्णले कालीप्रसादलाई सम्बोधन गर्दै सोधे – 

“दाइ, के उद्देश्यले मलाई बोलाउनु भयो, अब त्यसको कुरा गरौँ न त।“

“सुवर्णजी, तपाईँ अवकाशप्राप्त व्यक्तिहरूलाई लगानी र आम्दानी व्यवस्थापनबारे सल्लाह दिनुहुन्छ भनी एकजनाले बताएकाले तपाईँलाई बोलाएको हुँ। तर, त्यसभन्दा पहिले, तपाईँको पूरा नाम के हो?”

“मेरो पूरा नाम सुवर्ण मान कंसाकार हो। म ‘फ्रीडम म्युचुअल ईन्स्योरेन्स’ कम्पनीका लागि काम गर्छु। अवकाशप्राप्त व्यक्तिहरूलाई मात्र होइन, अवकाशको उमेर पुग्न लागेका व्यक्तिहरूलाई पनि सल्लाह दिन्छु। जति छिटो अवकाशको योजना बनाउनसक्यो उति असल हुन्छ।“ हाँस्दै सुवर्णले भने।

“तपाईँसँग पहिलै भेटनु पर्थ्यो होला, जानिएनछ।“
“होइन, अहिले पनि ढिलो भएको छैन। कुन विषयले गर्दा तपाईँलाई मसँग सल्लाह लिने विचार आयो, त्यसै विषयबाट कुरा प्रारम्भ गरौँ न त।“

निम्मीलाई पनि कुरा सुन्न चाख लाग्यो। उनी भान्साबाट बैठकतिर आइन र उनीहरूका नजिक उभिइन। सुवर्णले पुलुक्क निम्मीतिर हेरे र मुस्काए। कालीप्रसादले पनि निम्मीतर्फ नजर फ्याँके। काली र सुवर्णबिचको वार्तालाप एकक्षणका लागि रोक्कियो। निम्मी यसरी नजिक आएर उभ्भिएको कालीप्रसादलाई चित्त बुझेन, जुन कुरा उनको आँखा र अनुहारबाट प्रस्ट झल्किंदै थियो। 

‘श्रीमानलाई चित्त बुझेन’ भन्ने निम्मीले बुझिन। केही नबोलेर भान्सातिर फर्किन। कालीप्रसाद र सुवर्ण पुनः कुरामा व्यस्त भए। निम्मीले भने भान्सामा उभिएरै भए पनि कुरा सुन्ने अठोट गरिन। 

“भन्नोस न त दाइ, तपाईँलाई सबभन्दा बढी चासो वा चिन्ताको विषय के हो?” सुवर्णले सोधे।

“सुवर्णजी, अब बुढो भइयो, कति बाँचिन्छ थाह छैन। तपाईँसँग धेरै सल्लाह लिनु छ, तर तत्काल मलाई एउटा कुराले सताइरहन्छ।“ गम्भीर स्वरमा बोले कालीप्रसाद।

“के कुराले?”

कालीप्रसादले भन्न खोजे, तर रोकिए। उनी नजानिंदो तरिकाले एक हताले अर्को हात मल्न थाले र बसेको ठाउँबाट अलिकति सरे पनि। कालीप्रसादको अनुहारमा असमन्जसता देखेर सुवर्ण बोले – 

“दाइ, तपाईँ आफ्नू मनको कुरा मसँग ढुक्क भन्न सक्नुहुन्छ। असजिलो नमान्नुस। यो त मेरो पेसा र धर्म पनि हो। मैले आफ्ना ग्राहकसँग भएका कुरा मसम्मै सीमित राख्दछु।“

“म मरें भने मेरो सतगती के कसरी हुन्छ? छोराले गरिदिन्छ गरिदिंदैन? कसरी गर्छ? यिनै कुराले मलाई अचेल पिर लाग्छ सुवर्णजी।”

कालीप्रसादले भन्दै गए – 

“मेरो छोरो अमेरिकामा हुर्केको हो। उसलाई मृत्युसंस्कारको महत्त्व थाह छैन। उसले इच्छा राखे पनि अमेरिकाको वस्तुस्थितिले उसलाई बाधा पार्छ कि? भनेको वेलामा बिदा पाइन्न यो देशमा, दाहसंस्कारको काम खर्चिलो पनि छ।“
सुवर्णले आफ्नो टाउको हल्लाएर कुरा बुझेको सङ्केत गरे। कालीप्रसादको भन्न अझै सकिएको थिएन -  

“कर्मकाण्ड विधिविधान नपुगेर नर्क पो जाइन्छ कि भन्ने मलाई पिर लागिरहन्छ। प्रेत भएर मेरो आत्मा भटकी पो रहने हो कि भन्ने चिन्ता लाग्छ।”

यति भनेर कालीप्रसाद चुप लागे। टेबुलमाथि राखेको गिलास टिपेर पानी पिए। सुवर्णले पनि अर्को गिलास टिपेर पानी पिए। 

उस्तै संस्कृतिको डुङ्गा चढेकी निम्मीलाई पनि मृत्युसंस्कारबारे चिन्ता लाग्ने गरेको हो। 

कालीप्रसादले आफ्नो कुरा पुनः प्रारम्भ गरे – 

“सुवर्णजी। मैले बल्ल बुझें, किन मेरा पिताजीले मर्नुअघि नै दशदान गर्नुभएको थियो। मलाई जस्तै उहाँलाई पनि उसवखत चिन्ता लागेको हुनुपर्छ। म त झन भिन्दै संस्कृतिको देशमा बसिरहेको छु। ल सल्लाह दिनुस सुवर्णजी, मेरो समस्याको हल के हो?“

सुवर्णले विषयवस्तुको गाम्भीर्यताअनुसार नै जवाफ दिए – 

“तपाईँले अहिले नै दशदान, आफ्नो दाहसंस्कारको पूर्वतयारी र खर्चको बन्दोबस्त गर्नसक्नुहुन्छ। त्यसो गर्नुभयो भने, तपाईँले भने जस्तै सतगती गरिदिन्छन।“

“साँच्चै हो?” कालीप्रसाद आश्चर्यचकित भए। निम्मी पनि आश्चर्य भइन। 

“कसरी?“ कालीप्रसादले सोधे।

निम्मी पनि कुरा राम्ररी बुझ्न भान्साबाट आइन र नजिक उभिइन।

सुवर्णले निम्मीतिर फर्केर हेरे र हाँस्दै भने – 

“भाउजूलाई पनि यो विषयमा चाख छ जस्तो लाग्यो?“ 

निम्मीले मुस्काउँदै सहमतिमा टाउको हल्लाइन।

सुवर्णले कालीप्रसादतिर फर्कंदै भने – 
“दाइ, तपाईँले अब दुई थोक गर्नुस। एक, दाहसंस्कारका लागि कति रकम आवश्यक पर्छ जस्तो लाग्छ, त्यति रकमको बिमा गराउनोस। अर्को, एउटा विल, अर्थात् ईच्छापत्र लेखाउनोस। तपाईँको मृत्युपर्यन्त बिमाबाट प्राप्त हुने रकमबाट के कस्तो विधिविधानबाट तपाईँ दाहसंस्कार सम्पन्न गराउन चाहनुहुन्छ, त्यसै ईच्छापत्रमा लेखेर राखिदिनोस।“

“त्यस्तो बिमा गर्न पाइन्छ?” कालीप्रसाद र निम्मी एकैचोटी बोले।

“किन नपाउनु? २५ हजार डलर वा त्यसभन्दा कम रकमको बिमाको लागि मेडिकल जाँच पनि चाहिन्न। त्यति रकमको बिमाको आवेदन स्वीकृत भइहाल्छ।“ सुवर्णले जवाफ दिए।

अनि, निम्मीतिर मुन्टो फर्काएर सुवर्णले हाँस्दै थपे – 

“भाउजू, महिलाको प्रिमियम पुरुषभन्दा पनि कम हुन्छ।“

निम्मीको उपस्थिति र प्रश्नले कुरालाई कालीप्रसादको आफ्नो नितान्त निजी समस्याबाट पर लग्दै थियो। त्यसैले कालीप्रसादले निम्मीलाई हकारे – 

“तँ किन बढी जान्ने भएकी निम्मी? बिचमा टोक्न किन आउनुपर्यो?”

सुवर्ण असमन्जसमा पर्‍यो। उसलाई ‘के गरौँ, के नगरौं’ भयो। यत्तिकैमा कालीप्रसाद बोले – 

“लौ त सुवर्णजी, त्यसो भए १० हजार डलरको बिमाका लागि के कस्तो फारम भर्नुपर्छ गरिदिनोस।“

निम्मीले फेरी बिचमै टोकिहालिन – 

“बाबु, मेरो लागि पनि त्यो फारम भर्ने हो, है?“

कालीप्रसादको धैर्यको सीमा टुट्यो, उनी कडके – 

“किन तेरो बिमा गराउने?”

“तपाईँले जेका लागि गराउने, मैले पनि त्यसैका लागि गराउने।“ निम्मीले सहज जवाफ दिइन।
“मसँग जोरी खोजेकी? बढी नहो है तँ।“

“तपाईँलाई सतगती कसरी होला भन्ने पिर पर्ने, मलाई चाहिँ नपर्ने?” निम्मीले साहस बटुलेर बात फर्काइन।

कालीप्रसादले सुवर्णतिर एक नजर फर्काए। अनि, रिसलाई केही कम, तर बोली अझ कठोर पार्दै निम्मीलाई भने – 

“तेरो सतगत गर्ने त म छँदैछु नि।“

“तपाईँको सतगत गर्ने म पनि त छँदैछु नि।“

कालीप्रसादलाई साँच्चै हाँसो उठ्यो। कोठै थर्कने गरी हाँसे, व्यङ्गात्मक हाँसो। अनि, सुवर्णलाई सम्बोधन गर्दै भने - “ल हेर्नुस सुवर्णजी, नौ कक्षा पनि नपढेकी यो आइमाईको फूर्ती! हा...हा...हा।“

त्यसपछि निम्मीलाई हेर्दै भने – 

“तैँले मेरो सतगती गर्ने? तँ जस्ती दुइकौडीकी आइमाईमा म भर पर्छु?”

निम्मीका आँखा भरिंदै आए। उनले आफ्नू थरथराइरहेका ओंठहरूलाई पछौराको मुजेत्रोले छोपिन। एकछिनको मौनतापछि निम्मीले रुन्चे स्वरमा सुवर्णलाई भनिन – 

“सुवर्ण बाबु, उहाँले आफ्नू जे गर्नुहुन्छ गराउनुहोस, तर तपाईँले मेरोलागि पनि बिमाको फारम भरिदिनुस।“

राँकिएर आयो कालीप्रसादको अनुहार। सिटबाट जुरुक्क उठे र बिजुलीजस्तै कडके उनी – 

“होइन ए राँडी, मैले भनिसकें तेरो सतगती म गरिदिन्छु, तै पनि तँ जीरह गर्ने?”

“मलाई तपाईँ जस्तो दुइकौडीको लोग्नेमान्छेमा भर छैन।“ बडो साहस गरेर निम्मीले कुरो फर्काइन।

निम्मीले आजसम्म यसप्रकारको शब्द बोल्ने साहस गरेकी थिइनन। कालीप्रसाद जंगिने नै भए। बाघजस्तो झम्टे – 

“के रे? तँ राँडीको दुर्वाच्य बोल्ने यस्तो साहस?“ 
“हो, तिमी बाँचेर पनि म राँडीजस्ती छु। लोग्ने नभएकी आइमाई जस्ती। अनि, म कसरी तिम्रो भर पर्न सक्छु?”

कालीप्रसादका आँखाहरू राता राता भए, रिसले अनुहार तन्केर आयो। स्वास्नीलाई कुटिहाल्छन कि भन्ने डर मानेर सुवर्णले कालीप्रसादलाई सम्झाउन पानीको गिलास दिँदै भने – 

“दाइ, पानी खानुस।“ 

कालीप्रसाद पानी पिउन थाले। सुवर्णले त्यहाँ ‍बस्नु ठिक ठानेनन र आफ्ना फाइलहरू बटुलेर लुसुक्क त्यो घरबाट निस्के। 

निम्मी पनि बिस्तारै भरेङ्ग चढेर माथि लागिन। उनले माथि पुगेर कसैसँग फोनमा कुरा गरिन। एउटा खाली सुटकेस खोलिन, त्यसमा आफ्ना अत्यावश्यक लुगा, सरसामान र कागजपत्रहरू फ्वात्त फ्वात्त फालिन। अनि, हातमा सुटकेस बोक्दै भरेङ्गबाट ओर्लिन। 

कालीप्रसादले देखे। जिल्ल परे। उनको रिस अझै शान्त भइसकेको थिएन। तथापि चुप लागे।

तल ओर्लेर हातमा बोकेको सुटकेस निम्मीले भुइँमा राखिन। भान्सामा गइन, धाराबाट पानी थापिन, पिइन, र कालीप्रसादका नजिक आएर शान्त स्वरमा भनिन – 

“म अब तिमीलाई छोडेर जाँदैछु कालीप्रसाद।“

“किन?” कालीप्रसादको आँखामा विस्मय र रिस मिश्रित थियो।

“प्रत्येक व्यक्तिलाई माया नपाए पनि कमसेकम अपहेलित नभएर बस्ने नैसर्गिक अधिकार हुन्छ। त्यही अधिकारको उपभोग गर्न म निस्कँदै छु।“

कालीप्रसादको ओंठमा व्यङ्गको मसिनो हाँसो छरियो। उनले सोधे – 

“आज विवाह भएको ३० वर्ष पछि तँलाई यस्तो नैसर्गिक अधिकारको ज्ञान भयो?” 

“ढिलै भए पनि ज्ञान भयो। आत्मसम्मान प्राप्त गर्न कहिल्यै ढिलो हुन्न रहेछ।“

कालीप्रसादलाई निम्मीको कुरा नाबालकको जिद्दी जस्तो लाग्यो। रिसले थर्थर काम्दो तर कडा स्वरमा भने – 
“तँ बालक जस्तो बेतुक कुरा गर्दैछस। सधैँ मेरो छत्रछायाँमा बाँचिस तँ। मबिना एक्लै बाँच्नसक्ने छैनस। फेरी फर्केर तैँले मेरै शरणमा आउनुपर्नेछ... नासमझ।“

“आत्मसम्मानको मूल्य त मैले चुकाउनै पर्छ कालीप्रसाद। हेरौंला, जसो होला? तर, म तिम्रो शरणमा कहिल्यै आउने छैन। बरु तिमी नै मेरो शरणमा आउन खोजे अचम्म हुने छैन।“ निम्मीले शान्तस्वरमा जवाफ दिइन। उनको शब्द शब्दमा अठोट झल्किरहेको थियो।

कालीप्रसाद हाँसे। घर उचालेर हाँसे। एक्कासि हाँसो रोकेर कडके – 

“तँसँग के छ राँडी? तँसँग के छ र म तेरो शरण खोज्दै आउँला?”

त्यही बखत घरको ढोका खुल्यो। कालीप्रसाद र निम्मी दुवैको नजर मूलढोकातिर गयो। दीपक घरभित्र पस्यो। 

अब मुस्काउने पालो थियो निम्मीको। उनले मन्द हाँसो हाँस्दै भनिन – 

“देख्यौ त कालीप्रसाद, मसँग को छ?” 

अनि, अझ शिर ठाडो गरेर चर्को स्वरमा बोलिन – “मसँग छोरा छ। तिमीसँग को छ कालीप्रसाद? तिमीसँग को छ?”

उत्तरको प्रतीक्षा नगरेर निम्मी दीपकतिर लम्किइन। दीपकले आमाको सुटकेस हातमा बोक्यो। दुवै ढोका खोलेर बाहिर निस्के। 

समाप्त


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक