Similar Articles

कृष्ण धरावासीको कलमबाट

विचारको मृत्यु ---कृष्ण धराबासी

बिराट नेपाल

नित्सेले भने– “ईश्वरको मृत्यु भयो ।” ईश्वरको लासको छेउमा टुक्रुक्क बसेर उनले यो कुरो भनेका थिएनन् । बरु मानव सभ्यता र आधुनिक चेतनाको भौतिक स्तर बढ्दै गएपछि मानवजीवन र जगतको गतिविधिलाई हेर्दै यो कुरा भनेका थिए । ईश्वरमा विश्वास गर्दै आफ्नो क्षमता माथि सँधै निम्न मूल्याङ्कन गर्ने परम्पराबाट मानिसहरू मुक्त हुन थालेपछि र आफ्नै बुद्धि, मेहनत र दृढताबाट सफलताका सिंढी चढ्न थाले पछि ईश्वरप्रतिको निर्भरता कम हुँदै गइरहेको देखेका थिए तिनले ।
अलिकपछि आएर नित्सेकै भनाइलाई पच्छ्याउँदै रोलाँ बार्थले भने “लेखकको मृत्यु भयो ।” उनले पनि भकाभक दिनैपिच्छे मर्दै गएका लेखकहरूलाई देखेर यो कुरा भनेका थिएनन् । बरु कृति प्रकाशन भइसकेपछि लेखकको भन्दा कृतिको चर्चा हुने, कृतिभित्र रहेका गुणदोषहरू लेखकको पहुँच र जिम्बेदारीबाट टाढा पुग्ने, प्रकाशित कृति लेखकको संशोधन क्षेत्रबाट टाढा पुगिसक्ने र लेखकभन्दा कृतिले वस्तुताको रूप धारण गर्ने देखेर भनेका थिए । लेखकको मृत्युको घोषणा आएपछि एकपल्ट साहित्यिक क्षेत्रमा ठुलै हलचल मच्चिएको थियो । उत्तर आधुनिक चेतनाभित्र लेखकको मृत्युको सन्देश पनि एक सशक्त सूचना बन्यो । 

अब आज “विचारको पनि मृत्यु भएको कुरा भन्ने बेला हुन लागेकोे छ ।”
मानिसले कैयौँ शताब्दि खर्च गरेर विचारको स्थापना गरेको थियो । दृष्टिकोण र आस्था केन्द्रहरू निर्माण गरेको थियो । सोचाइको सृंखला निर्माण गरेको थियो । कुनै पनि विषयलाई आकार दिन त्यसको औचित्यताको फर्मा निर्माण गरेको थियो । विकास र सभ्यताको यस युगसम्म आइपुग्न प्रत्येक क्षेत्रमा कैयौँ खाले वैचारिक रुढताहरु निर्माण गरिएका थिए । सामाजिक, राजनैतिक, धार्मिक अनेक विचारहरूले परम्परागत रूप धारण गरिसकेका थिए । विचार एउटा बाटो बनिसकेको थियो, जसमाथि चढेर समाज र राष्ट्र कतै यात्रा गथ्र्यो । आउँदो पुस्ता पनि तिनै विचारहरूको सामान्य संसोधित तहमा टेकेर अघि बढ्ने गर्थे । 

ठूलाठूला सामाजिक तथा राजनैतिक परिवर्तनहरू विचारकै माध्यमबाट हुने गरेका थिए । कुनै स्पष्ट दृष्टिकोण र धारणाले परिवर्तनलाई सम्बोधन गथ्र्यो । संसारभरि नै राजशाहीको शासन चलिरहेको बेला, सामन्तवादी संस्कृतिले सत्ता सञ्चालन गरिरहेका बेला, मानव बेचविखनले कानुनी वैधता पाइरहेका बेला शक्तिशाली विचारको पहाड उठाएका थिए कार्ल माक्र्सले । माक्र्सवादको वैचारिक आन्दोलन प्रत्यक्ष जीवनसँग जोडिन पुगेपछि त्यो सामाजिक तथा राजनैतिक परिवर्तनको संवाहक बनेको थियो । संसारभरि नै सशक्त विद्रोह र परिवर्तनहरू आएका थिए । माक्र्सवादी चिन्तन सक्रिय भएपछि त्यसको समानान्तरमा अरू विचार दर्शन र चिन्तनहरु पनि सशक्त हुँदै आउन थाले । प्लेटोदेखि हेगेलसम्मका कैयौँ विचारहरूको सम्पादन गर्दै माक्र्सले देखेको द्वन्दवाद धेरै नै प्रयोगात्मक र ताथ्यिक बन्यो । वैज्ञानिक समाजवादको राजनैतिक अवधारणाले विश्वकै राज्य सञ्चालनको अल्छीलाग्दो मनोगत परम्पराको अन्त्य ग¥यो । प्रत्येक व्यक्ति राज्यशत्ता सञ्चालनको उत्तराधिकारी बन्ने दृष्टिकोणको स्थापना हुन पुग्यो । राज्यको प्रत्येक वस्तुमा, प्रत्येक नागरिकको स्वामित्वबोधको चेतना स्थापना हुन थाल्यो । सर्वहारावर्गको अधिनायकत्वको अवधारणाले माक्र्सवादी दृष्टिकोणसँग फरक मतहरु जमजमाउन थाले । प्रत्येक व्यक्तिको राज्यमाथिको वैयक्तिक अधिकारको सत्ताको खोजी पनि हुन थाल्यो । राजशत्ताहरु ढल्दै जाँदा, जनशत्तामा व्यक्तिको हैसियतको खोजी हुन थाल्यो । यस्ता अनेक वैचारिक मन्थनहरु हुन थाले । समाजमा चेतनाको स्तर अत्यन्त छोटो समयमा धेरै नै अग्लिएर गयो ।
वैचारिक आधारमा मानवविश्व नै विभाजित हुन थाल्यो । समाजभित्र वैचारिक बहस र चिन्तनहरुले धेरै समय खान थाले । द्वन्दको प्रत्यक्ष उपस्थिति देखा पर्न थाल्यो । सशस्त्र विद्रोहहरू जनधनको क्षतिको कारक बने । राज्यशत्ता कब्जा गर्ने नयाँ शैलीहरु विकसित हुन थाले । 

राजनीति, समाजशास्त्र, मनोविज्ञान, अनेकतिरबाट समाज र मानवसभ्यतालाई हेर्ने आधुनिक शैली निर्माण हुन थाल्यो । माक्र्सवादी अधिनायकत्वले तर, मानिसको सार्वभौम अधिकार फेरि पनि कुण्ठित ग¥यो, राजशाहीहरुबाट मुक्त भएकाहरु अधिनायकवादीहरूका कब्जामा पुग्न थाले । लामो समयसम्म सामन्तहरूका अधिनमा बाँधिएको समाज त्यसबाट मुक्त हुँदा एउटा अर्को वर्गीय अधिनायकवादी घेरामा पसिसकेको थियो । मुक्तिको चेतना बन्धनको कसिलो डोरी पनि बन्यो । सामन्ती बन्धनबाट मुक्तिको युद्ध लडियो तर फेरि पनि अर्को कुनै रुढ सत्ताको अधिनमा पुर्याउने संस्कृतिको स्थापना हुन खोज्यो । 

विश्व वैचारिक रूपमा दुई धुरीमा विभाजित भयो । साम्यवादी र पुँजीवादी धारमा विश्वचेतना विभक्त भयो । सामरिक सम्बन्ध राजनैतिक बोध, आर्थिक संरचना सबै कुरामा धुरीको स्थापना भयो । मानिसभित्र विचारले ठुलो सत्ताको स्थापना ग¥यो । सोच्ने शैली नै अर्कै भयो । यिनै वैचारिक आधारलाई टेकेर अनेकौँ उपचिन्तनहरू सक्रिय हुन थाले, साहित्य, कला, संस्कृति अर्थतन्त्र, समाजशास्त्र आदि अनेक क्षेत्रतिर यो फैंलिंदै गयो । जता–जता गए पनि बोध र चेतहरूका माध्यमले मानिसहरू कुनै आधारभूत आस्थाका बन्धी बनिसकेका थिए । 

दोस्रो विश्वयुद्धको मानव संघारले सभ्यताको कुरा गरिरहनेहरू निराश भए । सशस्त्र युद्धको कहालीलाग्दो परिणामपछि वैचारिक धरातलमा उथलपुथल आउन थाल्यो । जीवनमा देखा परेको संकटपूर्ण स्थितिले अस्तित्ववाद र विसंगतिवादको चेतना आयो । जीवनलाई एउटा स्थिर दृष्टिकोणबाट विचलनतिर बग्न लागेको देखियो । विश्व राजनीतिमै ठुला–ठुला परिवर्तनहरू आए । राज्य विलयन र विघटनहरू सँगसँगै हुन थाले । माक्र्सवादको राजनैतिक सत्तामा पनि हलचलहरू देखापर्न थाले । साम्यवादी संसारमा शिथिलता देखा पर्न थाल्यो र पुँजीवादी युगको पुनः उदय हुनथाल्यो । 

सन् ६० पछि संसारभरि नै वैचारिक उथलपुथलहरू देखा परे । एकातिर चीन तथा पूर्वी यूरोपका देशहरूमा स्थापना हुँदै गएको नवसाम्यवाद र अर्कोतिर अमेरिकी पुँजीवादी घेरामा समेटिएका जापान, बेलायत आदि मुलुकहरूमा देखा परेको आर्थिक क्रान्तिले विश्वलाई नयाँ मञ्चमा उभ्याउन पुग्यो । खुला अर्थतन्त्रको पुँजीवादी–चुनौती बन्ध अर्थतन्त्री साम्यवादीहरुका लागि कठोर बन्यो । दोस्रो विश्वयुद्धपछि जर्मनीको बर्लिनमा लागेको पर्खाल बिसौं शताब्दिको विश्व राजनीतिको सबैभन्दा अनौठो दृश्य थियो । 

आधुनिकतावादले विचारको स्थापना गरेको थियो । हरेक कुराका पछि स्पष्ट विचार र दृष्टिकोणहरू हुन्थे । परिभाषाले बाँधिएको हुन्थ्यो सबै कुरा । सिद्धान्त र सूत्रमा आबद्ध थियो जीवनचक्र । कुनै पनि कुराको एउटा सूत्र समातेपछि त्यसलाई बुझ्न र चिन्न जहिले पनि सजिलो थियो । स्पष्टसँग अलग, अलग देखिन्थे सबै कुराहरू । धर्म, संस्कृति, भाषा, पोशाक सबै कुराहरू अलग–अलग चिनिन्थे । 

तर सन् ६० पछि बिस्तारै वस्तुको स्वतन्त्र सत्ता धुमिल हुँदै जान थाल्यो । विचार, कला, दृष्टिकोण कुनै पनि अलग देखिन छोडे । तिनीहरुमा अरू–अरू कुराहरू पनि मिसिएका जस्ता देखिन थाले । एक्लै अलग्गै आफ्नो निजी पहिचानमा कुनै चीज पनि देखिन छोड्यो । झलकहरु आउन थाले — किसिम किसिमका ।

विश्वभरि नै एउटा विचार, दृष्टिकोण र चेतको सत्ता विघटित हुँदै गयो । अब मानिएका र बानी परेका कैयौँ कुराहरू विसर्जन हुन थाले । स्थिर विचारहरू आदर्शहरू र मान्यताहरू भत्किन थाले । परम्परा जस्तै भएका ठूलाठूला राजनैतिक सिद्धान्त र दर्शनहरू पनि कमजोर हुँदै गए । त्यसैका निम्ति कैयौँ मान्छेहरू मरे तर फेरि पनि त्यसले आपूmलाई उभ्याउन नसक्ने हुनथाल्यो । जब माक्र्सवादी दृष्टिकोणबाट स्थापित भएका सोभियत रुस तथा पूर्वी यूरोपका मुलुकहरूबाट साम्यवादी सत्ता ढल्दै गयो, विश्वमा शितयुद्धको अन्त्य र पुँजीवादी सत्ताको एकल धुरी सशक्त भएर आयो ।

आज विश्वमै विचारको अन्त्य भइरहेको छ । अब मानिस कुनै एउटा निश्चित रुढ विचारको सूत्रमा बाँधिन सक्दैन । कैयौँ प्रकारका वैचारिक ‘चिप्स’ हरूले सम्प्रेसित छ आजको मान्छे । उसको आस्थाको रुढ उपस्थिति पनि विखण्डित छ । मानिसले आज आफ्नो वैचारिकताको सुरक्षार्थ लडाइँ लड्न छोडिसक्यो । 

हामी विचारको मृत्युको सानो उदाहरण आफ्नै देशभित्र हेर्न सक्छौँ । —
वर्षौंदेखि प्रजातन्त्र, समाजवाद, जनवाद आदि अनेक दृष्टिकोणहरूको पक्षमा लडेर आइरहेका राजनैतिक शक्तिहरूले लामो सङ्घर्षपछि पुरानो सत्तालाई परास्त गरी नयाँ सत्ताको स्थापना गर्न सफल भए । खासगरि प्रजातान्त्रिक समाजवादी धारको नेपाली काँग्रेस र साम्यवादी धारका वामपन्थी शक्तिहरूको कहिले सामूहिक र कहिले पृथक् सङ्घर्षको परिणाम निरङ्कुश राजशत्ता ढल्न पुग्यो । सबैले उत्सव मनाए । आ–आफ्ना विचार र दृष्टिकोणको उल्लेख गरे, भाषण गरे, ठुला–ठुला ग्रन्थहरु लेखे । तिनै विचारहरूलाई बुझेर जनताले आन्दोलन गरेको भनी प्रचार पनि गरे तर आप्mनो अनुहारको विजयको रङ राम्ररी पखाल्न पनि नपाउँदै ती राजनैतिक शक्तिहरू बिच अन्तद्र्वन्द, विघटन तथा एकअर्काका विचारमाथि नै आक्रमण हुन थाल्यो । 
 
पार्टीय अनुशासन र वैचारिक आदर्शवाट विचलित राजनीतिकर्मीहरू आफू आफैँ अन्यौल ग्रस्त अवस्थामा छन् । हिजो हिंडेर आएको बाटो, हिजो आफैँले बोलेको अभिव्यक्ति, आफैँले पनि कल्पना गरेको संसार सबै कुरा भ्रमपूर्ण देख्न लागिरहेछन् आज । आज प्रत्येक मान्छे आफ्नो पूर्वमान्यता र विश्वासबाट विचलित छ । लेखमा भाषणमा र नारामा पुरानै कुरा दोहोर्याइरहे पनि व्यवहारमा अब ऊ – ‘त्यो’ छैन । संशोधित वा विघटित अवस्थामा ऊ छरपस्टिएको छ । उसको वैचारिक अडान कमजोर भएको छ । विचारले जीवनको यथार्थतालाई सम्बोधन गर्न छोड्यो । वैचारिक रुढताबाट मुक्तिका ‘स्वर’ हरू गुञ्जिंदै गर्दा मानिस थाहै नपाई अव्यवस्थित मैदानमा पछारिन पुगेको छ । 

नेपालको सन्दर्भमा आधा शताब्दिदेखि लड्दै आएको नेपाली काँग्रेस पार्टी र त्यसको वैचारिक धरातल, जसमा टेकेर आजसम्म हजारौँ योद्धाहरूले आफ्नो जीवनलाई समर्पण गरे, त्यस पार्टीले आफ्नो स्थापनाकालको घोषणालाई आउँदा आउँदै बाटोमा कहाँ खसायो, कहाँ । प्रजातान्त्रिक समाजवादको बाटो सत्तामा पुगेपछि कहिले मेटियो, कहिले । शत्तामोह र लिप्सामा फसेको नेतृत्व पार्टीको आदर्शबाट आफैँ खुइलिँदै गयो र आखिरी दुई टुक्रा भयो । पार्टी फुट्दै विचार मर्ने होइन, तर वैचारिक मतभेदले त्यो पार्टी फुटेको थिएन । शत्ताद्वन्दको परिणाम थियो । पार्टीको वैचारिक अडानलाई त्यागी वैयक्तिक ऊर्जा सङ्कलनको परिणाम थियो । विचारविहिन द्वन्दको परिणाम – फुटेका दुवै पार्टीहरू आज फेरि जुटे पनि त्यो विचार र आदर्श फर्किन सकेको छैन । नेपाली काँग्रेसको कुनै कार्यकर्तालाई “तिमी किन काँग्रेस हौ ?” भनी प्रश्न गरे उसले आफु काँग्रेस हुनुको कुनै उत्तर दिन सक्दैन । दिई हाले – म कम्युनिस्ट र पञ्च हुइन त्यसैले काँग्रेस भन्ला । 

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्व महत्वाकांक्षाले पटकपटक टुक्रिंदै र जुट्दै गरिरह्यो । माक्र्सवादको सैद्धान्तिक पातलो आवरण ओढेर आफैँभित्र अहम्को विवादले ग्रस्त भइरहे । दर्जनौं टुक्रामा विभक्त कम्युनिस्ट पार्टीहरू वैचारिक रूपले एकठाउँमा सङ्गठित हुन कहिल्यै नसक्ने र माक्र्सवादको आत्मपरक व्याख्या गरी अलग हुने दीर्घ संस्कृतिका संवाहक भएका छन् । कम्युनिस्ट पार्टीहरुमा जुट्नेभन्दा फुट्ने सम्भावना जहिले पनि प्रबल रहन्छ । तर्क र बहसमा विश्वास गर्ने यी पार्टीहरू हार्न नचाहने अहम्का कारण फुट्दछन् । छुट्टै, अलग्गै कुनै विशिष्ट वैचारिक मतभेद नभएर पनि उनीहरू फुट्छन् ।

वैचारिक अन्तरविरोधभन्दा पनि व्यक्तिगत महत्वकांक्षाहरूले निरन्तर विभाजन हुने यी दलहरूभित्र बिस्तारै वैचारिक विचलनका डरलाग्दा नमुनाहरू देखिन थाले । जनआन्दोलन–२ पछाडि देशभित्र भाषिक, जातिक, क्षेत्रीय आदि नाराका साथ देखा परेका समूह र विद्रोहहरूले वैचारिक आस्थाको सीमामाथि अतिक्रमण गरेको छ । हिजोसम्म विभिन्न दलका भातृ सङ्गठनमा आबद्ध देखिएकाहरू ती दलहरूको नियन्त्रणबाट बाहिर पुगे । दलहरूले आफ्नो पकडमा राख्न सकेनन् बरु दलहरू नै उनीहरूको नाराको पछि लागे र आफ्नो ऐतिहासिक अडान त्यागेर घर न घाट हुनथाले ।
संसारका मजदुरहरू एक हौँ, राज्यको सीमाहीन संसारको कल्पना, आदि सबै बिर्सेर वामपन्थी दलहरू जाति, भाषा, क्षेत्र, धर्म, संस्कृति, रङ्ग, नाक, भूगोल आदिको विभाजनको नाराका अगुवा हुन खोजे । बर्गीय चेतनालाई स्थगित गरी जातीय नाराका पछि कुद्न थाले । समाजवाद, प्रजातन्त्र समानता, राष्ट्रियता जस्ता मान्यतालाई आदर्श ठान्ने नेपाली काँग्रेसहरू चुनावमा हारिने डरले जुन जुन क्षेत्रमा जस्ता नारा चल्न थाले तिनै नाराका अघि आफ्ना झण्डाहरु फर्फराउन पुगे । न वी.पी.को आदर्श काम लाग्यो, न माक्र्सको विचार । असारको भेलमा जे पनि बगेझैं पार्टीहरू सस्तो लोकप्रियताका लागि विचार र दृष्टिकोणलाई विर्सेर अघि बढे । 

नेपाली राजनीतिमा विचारको मृत्यु भइरहेको छ । राजनीतिमा विचार मरेपछि समाजका सबै क्षेत्र जहाँ तहाँ विचार पसेको छ — सबैतिर त्यसको प्रभाव पर्नु स्वभाविक छ । विचारको मृत्यु सबैभन्दा डरलाग्दो समयको सङ्केत हो । विचारले बाँधिएको समाज त्यसबाट फुत्केपछि फेरि केले बाँधेर अनुशासित गर्ने ? भाषा, धर्म, जाति, संस्कृति भन्ने कुरा छुट्टाछुट्टै टुक्रा कुरा हुन् । यी बाट सिङ्गो समाज बाँधिन सक्दैन,। सिंगै समाज र राष्टको एउटै गौरवमय बन्धन भनेको विचार हो तर, यो मरिरहेको हेरेर किन रमाइरहेछन्, मानिसहरू । विचारको मृत्युमा किन भोज खाइरहेछन् मानिसहरू । साँच्चै विचारको संवेदनशीलता मरेको दिन हामीसँग हाम्रो आफ्नो भन्नु केही पनि हुँदैन, मात्र – दासता बाँकी रहन्छ हामीसँग । अर्काको करिया बनिसकेका हुन्छौं ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक