Similar Articles

Home Page Spiritual Articles

नरेन्द्र मोदीलाई ध्यानाकर्षण--मुकुन्दप्रसाद उपाध्याय

बिराट नेपाल

हिमवत्खण्ड आर्यावर्त भारतवर्ष वैदिक सभ्यता र पूर्वीय दर्शनको केन्द्र भए तापनि यो केन्द्र बढ्दो कलिप्रभावले क्रमशः प्रदूषित हुँदैछ । वैचारिक प्रदूषणको आन्तरिक कारणको पर्दाफास होला भनेर वर्तमान धर्माधिकारीहरूले त्यसको कारणमा बाह्य कारणहरूको मात्र बखान गर्ने गरेको सुनिन्छ । ती कारणहरूमा पाश्चात्य संस्कृतिको प्रभाव, क्रिस्चियन धर्मको प्रचार एवं जबर्जस्ती धर्म परिवर्तन, मुस्लिम राष्ट्रहरूमा सङ्गठित आतङ्कवादी, पृथकतावादी र अतिवादी समूहहरूलाई बताउँछन्, जबकि यथार्थमा आन्तरिक कारण बढी छन् । त्यसमा सन्तका नाममा महन्त र मठाधीश हुने होडबाजी, धर्म र शास्त्रको नाममा ठगिखाने प्रवृत्ति, संस्कृत भाषाका मन्त्र र श्लोकहरूको अपव्याख्या र स्वार्थपरक व्याख्या, धर्मको राजनीतीकरण, धार्मिक सम्प्रदायहरूबीचको कलह, द्वेष र प्रतिस्पद्र्धा आदि नै हुन् । यी यावत् आन्तरिक कारणहरूको प्रतिफलका रूपमा रहेका उदाहरणहरूमा आशारामजी महाराज, निर्मल बाबा, रामपालजी महाराज आदिलाई लिन सकिन्छ । 

हिजोआज टिभी स्क्रिनहरूमा र छापाहरूमा छ्यापछ्याप्ती छाएका गेरुवा वस्त्रधारी व्यक्तित्वहरू प्रायः सन्तको भेषमा महन्तहरू बढी भेटिन्छन् । अचेलका यस्ता व्यक्तित्वहरू ‘थ्री इन वन’ अर्थात् ‘एकमा तीन’ हुन्छन् । अथवा मनमा एउटा, तनमा एउटा र प्रवचनमा एउटा ।  à¤†à¤® मानिसहरू ‘प्रवचन’ मा फस्ने गर्छन्, धनसम्पत्ति र सर्वस्व पनि गुमाउँछन्, केही पढेलेखेका मान्छेहरूसमेत त्यस्ता धर्माधिकारी व्यक्तित्वका केही तान्त्रिक उपलब्धि, तिलस्मी जादुगरी शैलीमा लट्ठ पर्ने गर्छन् । ‘प्रवचन’ का शब्दावली, प्रस्तुति र मधुरतामा फस्नेहरू बिचरा पन्छीहरू मानवपासो वा जालमा परेजस्तै हो भने तान्त्रिक, तिलस्मी र जादुगरी खेलमा फस्नेहरूचाहिँ सर्पहरू सपेराको बीनको धुनमा लट्ठिएजस्तै हो । त्यसैले त त्यस्ता धर्माधिकारी भनाउँदाहरू ‘ओ माई गड’ र ‘पीके’ जस्ता फिल्महरूको अनावश्यक विरोध र प्रतिरोध गर्दै हिँड्छन् । 

यस्तो प्रवृत्तिमा रोक लगाइएन भने यसले सनातन वैदिक धर्म–संस्कृतिप्रति वितृष्णा फैलाउँछ । भाग्यले पहिलोपटक भारतवर्षको केन्द्र भारतमा हिन्दूवादी पार्टी भारतीय जनता पार्टीको स्पष्ट बहुमतको सरकार बनेको छ । आफैँमा शिवभक्त सन्तजस्ता देखिने नरेन्द्र दामोदरदास मोदीको सरकारले केही दूरगामी प्रभाव पार्न ठोस कदम चाल्नुपर्ने हुन्छ । दुई–चारजना स्थापित सन्त–महात्माहरूलाई ‘भारतरत्न’ जस्ता पुरस्कारको सिफारिस गरेर मात्रै धार्मिक दायित्व पूरा हुँदैन । अनि गङ्गा सफाइ अभियानले पनि भौतिक जल प्रदूषण त केही कम होला, तर वैचारिक प्रदूषणचाहिँ घट्तैन । आजको वैदिक सभ्यता र संस्कृतिमाथि मडारिएको कालो बादल नै वर्तमान वैचारिक प्रदूषण हो । 

इतिहासका विभिन्न कालखण्डहरूमा यस्ता महन्त, पण्डित, मठाधीश र प्रचारप्रेमी जोगीहरूकै कारणले हिन्दूधर्ममा बहुविवाह, बालविवाह, नारीशोषण, जातपात, भेदभाव, छुवाछुत, बलिप्रथा, दासप्रथा, सतीप्रथा जस्ता विकृति–विसङ्गतिहरू मौलाएका हुन् । मोदी सरकार हिन्दुहरूको मत पाएर सत्तारूढ भएकाले हिन्दूधर्मको जगेर्ना र विकासप्रति उसको नैतिक जिम्मेवारी पनि छ । त्यसैले हिन्दूधर्म र संस्कृतिको शुद्धीकरण, वैचारिक प्रदूषण न्यूनीकरण र सम्वद्र्धनका लागि केही ठोस नीतिगत व्यवस्थाहरू गर्नुपर्ने हुन्छ । जस्तै —

(१) हरेक वर्गीय पोसाक लगाउन न्यूनतम योग्यता, मापदण्ड र सर्तहरू पूरा गर्नुपर्छ, जस्तै ः कालो कोट, सेतो कोट, गाउन, खाकी बर्दी, नीलो सर्ट आदि–आदि । गाउन लगाउन त सार्वजनिक समारोहमा नै ‘तपाईँलाई यो गाउन लगाउने अनुमति प्रदान गर्छु’ भनेर उद्घोष गर्ने गरिन्छ । तर गेरुवा वस्त्र लगाउन कुनै न्यूनतम योग्यता, मापदण्ड र योग्यता पूरा गर्नुपर्दैन । त्यसैले त तीर्थहरूमा भिक्षाटन गर्नेहरू पनि गेरुवा वस्त्रमै भेटिन्छन् । जाली, फटाहा, पाखण्डी, न्यायालयबाट दोषी घोषित मान्छेसमेतले सामाजिक रक्षाकवचका रूपमा र ठगिखाने भाँडोका रूपमा दाह«ी, जुँगा र जटा पालेर पीत वस्त्र धारण गर्ने गरेकाले आम गृहस्थ, जिज्ञासु र मुमुक्षुहरूका लागि गुरु र गोरु, पण्डित र पाखण्डी, सन्त र महन्त छुट्याउन गाह«ो परेको छ । यिनै छद्मभेषधारी गुरु, सन्त र महन्तहरूका कारण सनातन वैदिक धर्म, संस्कृति र परम्परामा विकृति, विसङ्गति र प्रदूषण व्याप्त भएकाले सरकारले गुरुवा वस्त्र धारण गर्ने न्यूनतम योग्यता र मापदण्ड बनाई अनुगमनसमेत गर्नुपर्ने हुन्छ । 

(२) त्यस्तै, विभिन्न मठमन्दिर, आश्रम र सम्प्रदायका सन्त, महन्त र महात्माहरूले अनेकानेक उपाधिहरू धारण गरेका हुन्छन् । ‘श्री’ नै पनि १ देखि १००८ सम्म लगाउँछन् । अनि योगाचार्य, वेदाचार्य, स्वामी, जगद्गुरु, देव, पीठाधीश, महाराज जस्ता उपाधिहरू धारण गरेका हुन्छन् । त्यस्ता उपाधिहरू धारण गर्दा पनि एउटा निश्चित योग्यता, क्षमता, योगदान र दक्षता आदि निर्धारण गरेको हुनु अति आवश्यक छ । त्यस्तो नियामक निकायको व्यवस्था र मापदण्डहरू निर्धारण हुनु जरुरी देखिन्छ । हिन्दूधर्मका देवीदेवतालाई बढीमा ३–४ अक्षरको नाम भए पुग्ने, त्यो नाममा कुनै उपसर्ग र प्रत्यय पनि नचाहिने, जस्तै ः राम, कृष्ण, हरि, शिव, देवी, काली, चण्डी, ब्रह्मा, विष्णु, सरस्वती, नारायण, राधा, सीता गौरी, गणेश, सूर्य (भास्कर) आदि–आदि । तर तिनैका उपासकहरूलाई चाहिँ खाडी प्रदेशका राजा–सुल्तानहरूको जस्तै लम्बाचौडा नाम किन चाहिएको होला ? यस विषयमा पनि भाजपा सरकार, मोदी सरकारको ध्यान जानु आवश्यक देखिन्छ । 

(३) केही आश्रम, सम्प्रदाय र मठमन्दिरहरूसमेत पवित्र देवस्थल हुनुपर्नेमा मुनाफा आर्जन गर्ने उद्योग, कलकारखाना र प्रतिष्ठानजस्ता भएका छन् । मुख्य मठाधीशलाई भेटेको रु. यति, भोजन गराएको रु यति, आरतीको रु. यति, भण्डाराको भोजनको रु. यति भनिन्छ अनि ती आश्रमका उत्पादनहरू, रामनामी, भस्म, माला, गौमुखी, धूप, पूजाभाँडा, सिक्का, मन्त्र, ताबिजहरू, चकलेट आदि व्यापारिक विज्ञापन गरेर बेचिन्छ र मार्केटिङ थिमका रूपमा धर्म, संस्कृति र धार्मिक ग्रन्थहरूको चरम दुरुपयोग गरिएको हुन्छ । यस्ता विकृति–विसङ्गतिको एउटै कारण छ धार्मिक मठ, आश्रम आदि निजी गुठी र निजी ट्रस्टका रूपमा सञ्चालन हुनु । धार्मिक संस्था, समिति, आश्रम, मठ, मन्दिर आदि सबै नै मुनाफा आर्जन नगर्ने सरकारी स्वामित्वमा हुनैपर्ने हुन्छ । व्यक्तिगत सम्पत्ति आर्जन गर्न र छोरानातिको लागि अकुत सम्पत्ति व्यवस्थापन गर्नका लागि हिन्दूधर्म, वैदिक मन्त्रहरू र पवित्र ग्रन्थहरूको प्रयोग र दुरुपयोग हुन दिनु हुँदैन । यस दिशामा पनि मोदी सरकारले ठोस नीति–नियमको तर्जुमा गर्नु जरुरी देख्तछु । 

(४) प्राचीन भारतीय शिक्षापद्धति र शिक्षाकेन्द्रहरूलाई आधुनिक पाश्चात्य बोर्डिङ स्कुलहरूले प्रतिष्ठापन गरिरहेको, अङ्ग्रेजी शिक्षा अजिँगर बन्दै संस्कृत शिक्षाचाहिँ अजिँगरको आहारा बनेको, अचेल संस्कृत पढ्नु र गुरुकुल जानु गर्वको विषय नभएर बाध्यताको विषय र केही हदसम्म हीनताबोधको विषय हुने र भएको स्थितिमा सनातन वैदिक धर्म र दर्शनको उत्थान कठिन छ । त्यसैले सम्पूर्ण गुरुकुल, संस्कृत पाठशाला, संस्कृत महाविद्यालय र संस्कृत विश्वविद्यालयहरूको पुनरावलोकन गरी यिनलाई वैदिक धर्म र षट्दर्शनका अनुसन्धान केन्द्रहरूका रूपमा विकास गर्नु र राज्यले गुरुकुललाई सूचना–प्रविधिको युगअनुसार आधुनिकीकरण गर्नु जरुरी छ । 

धर्मको आडमा विशाल हिन्दूस्थानको सत्तामा आरूढ भएपछि भारतीय जनता पार्टीको सरकारले सनातन वैदिक धर्मको दिगो स्थायित्व र स्वच्छताका लागि पनि केही ठोस कार्य गर्नैपर्छ । काङ्ग्रेसले मुसलमानहरूलाई र भाजपाले हिन्दुहरूलाई आफ्नो भोट बैङ्कका रूपमा मात्र उपयोग गरिरहने हो भने हिमवत्खण्ड भारतवर्ष आर्यावर्त हिन्दूस्थान, पूर्वीय दर्शनको केन्द्र ‘इन्डिया’ मा कहिले मुगल साम्राज्य त कहिले इसाई उपनिवेश हुनु कुनै नौलो कुरो होइन ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक