Similar Articles

संस्मरण

अमेरिकादेखि अष्ट्रेलिया रक्तदान गर्न --अर्जुनप्रसाद मैनाली

बिराट नेपाल

यात्रा संस्मरण

नेपालीहरूले बसोबास गरिरहेका देश, सहरमा रक्तदान गरून् । उहाँहरूको रगतले स्थानीय मानिसहरूलाई बचाउन सहयोग पुगोस् भन्ने ठुलो चाहना छ । त्यसैले, आफ्नो नेटवर्कमार्फत संसारका नेपालीहरूलाई घचघचाउने गरेको छु । रक्तदान कार्यक्रम गर्न साधारण गाइडलाइन बताएको छु । उहाँहरूलाई हौसला प्रदान गर्न म आफैँ ती ठाउँहरूमा पुगी रक्तदान गरेको छु ।

सन् २०१४ मा ६ वटा देशका नेपालीसँग होल ब्लड र न्युयोर्कमा १३ पटक प्लेट्लेट्ससहित १९ पटक दान गरेँ । ९ लिटर ५०० मिलिलिटर ! यो परिमाण साधारण नेपालीले गर्नेभन्दा ४ गुणा बढी हो ।

सन् २०१४ डिसेम्बर ३१ मा नेपालीहरूले रक्तदान गरेका देश र आफू पुगी रक्तदान गरेका ठाउँ ग्लोबमा हेरेँ । चिन्ह लगाएँ । फेरी हेरेँ । म अमेरिका बसेको छु, पृथ्वीको उत्तर–पश्चिमी भागको अमेरिकामा म बसेको रहेछु । ग्लोबको अर्को पट्टी मुन्तिर दक्षिणी पूर्वी भागमा अष्ट्रेलिया छ । अमेरिकामा 'समर' हुँदा त्यहाँ 'विन्टर' हुँदो रहेछ । त्यस देशबारे 'गुगल' मा खोजें ।

अष्ट्रेलिया नेपालभन्दा ५२ गुणा ठुलो र कम जनसङ्ख्या भएको देश रहेछ । युरोपको ओ इ सी डी (आर्थिक विकास तथा सहयोग सङ्गठन) ले विश्वका जनताहरूको खुसी तथा सुखी जीवन प्राप्तिको सन्तुष्टि मापनमा १० मा ७.४ नम्बरमा पर्दो रहेछ । त्यो देशमा बसोबास गरेका ७० हजारभन्दा बढी नेपालीमध्ये १३ सय जनाले संस्थागत रूपमा रक्तदान गरेका रहेछन् ।

विश्व रक्तदाता दिवस (जुन १४, २०१५) को अवसर पारेर उहाँहरूलाई हौसला प्रदान गर्न रक्तदान नै गर्न अमेरिकादेखि अष्ट्रेलिया जाने सोंच बनाएँ । १० हजारभन्दा बढी उचाइबाट हवाईजहाजले करिब १६ हजार किलोमिटर २२ घण्टा लगाएर न्युयोर्कबाट सिड्नी पुर्‍याउने रहेछ ।

यी सबै जानकारीपछि सिड्नीमा रहेका विनोदप्रसाद मैनालीसँग मेरो योजनाबारे बताएँ । उहाँ अष्ट्रेलियाली-नेपाली समुदायमा सर्वाधिक रगत दाता हुनुहुन्छ । उहाँले 'युथ फर चेन्ज' संस्थाका अध्यक्ष विजय पोखरेलमार्फत जून १२ र १३ मा अष्ट्रेलियन रेडक्रसको पारामट्टा र टाउन हल ब्लड डोनर सेन्टरमा करिब एक सय जनाको रक्तदान कार्यक्रम राख्ने योजना बनाए । प्रवासमा अमेरिकापछि बढी रक्तदान गर्ने अष्ट्रेलियाली-नेपाली हुन् ।

फेब्रुअरी २०१५ मा ट्राभल एजेन्सीसँग जून १२ मा सिड्नी पुगी १५ मा फर्कने हिसाबले टिकट बुकिङ्ग गरेँ । करिब १६ सय अमेरिकन डलर लाग्ने रहेछ । मसँग त्यत्रो रकम थिएन । मैले काम गर्ने गाईको इन्सुरेन्स कम्पनीको क्रेडिट युनियनसँग २ वर्षमा थोरै-थोरै तिर्ने गरी ऋणका लागि आवेदन भरेँ । ४ दिनपछि ऋण स्वीकृत भएको जानकारी पाएँ । त्यो पैसा तुरुन्तै निकाली टिकट किनी सिड्नीको नेपालीहरूसँग रक्तदान गर्न बडो उत्सुकताका साथ दिन गन्ती गर्न थालेँ । अफिसमा एक हप्ताको छुट्टी मिलाएँ । म बसेको अपार्टमेन्टमा कार पार्किङ्गको व्यवस्था छैन । एक हप्ताका लागि अफिसकै पार्किङ्ग लटमा कार राख्न सेक्युरिटी पर्सनलबाट स्वीकृत लिएँ । अनलाइनबाट भिसाका लागि निवेदन गरेँ । पासपोर्टमा 'भिसा' लगाएको थिएन ।

अमेरिकाको उत्तरी पूर्वी भागमा पोलेन (फूलको पराग) को एलर्जी हुन्छ । अप्रिलको दोस्रो हप्तातिर त्यसबाट म साह्रै बिरामी भएँ । आँखा चिलाउने, नाकबाट पानी बग्ने, हाच्छ्यू आउने, नाक-कान-घाँटी दुख्न् थाल्यो । मे महिनाको तेस्रो हप्तातिर दाहिने कानबाट पीप बग्न थाल्यो । अष्ट्रेलिया जान नसक्ने हो कि भन्ने पिर लाग्यो । आफ्नो नियमित डाक्टरकहाँ गएँ । आफ्नो बिमार र सिड्नी गएर रक्तदान गर्न लागेको समेत बताएँ । डाक्टरले १० दिनसम्म एन्टीबायोटिक औषधी खान र कानमा हाल्न औषधी दिँदै मेरो कार्यक्रमको सफलताका लागि शुभकामना दिए । औषधी खान थालेपछि सन्चो भयो ।

पर्खाइको घडी पनि निकै छटपटी हुँदोरहेछ । आजभोली गर्दागर्दै बल्लतल्ल जून १० भयो । श्रीमतीले मलाइ बाह्र बजेतिर एयरपोर्ट जान सम्झाउँदै पौने १० बजेतिर उनी काममा हिँडीन । सानो सुटकेसमा २ जोर सर्ट, पेन्ट, कोट, भित्र लगाउने लुगाहरू ३-३ वटा हालें र एअरपोर्टतिर लागे ।

मेरो फ्लाइट ४ बजे हुने टिकटमा लेखिएको थियो । म घरबाट हिँडे कि हिँडीन, कहा पुँगे, हवाईजहाज चढें कि चढिन ? श्रीमतीले आफ्नो काममा हिँडेदेखि म हवाईजहाज चढ्ने बेलासम्म करिब ८ चोटि फोन गरिन् होला, मेरो हवाईजहाज नछुटोस् भनेर । यसभन्दा अगाडी तीन पटक हवाईजहाज छुटेको थियो । यसपालि हवाईजहाज छुटेन । न्युयोर्कबाट लस एन्जल्स जाने उडानमा खासै सर्भिस थिएन । लस एन्जल्सबाट सिड्नीसम्म राम्रो सर्भिस थियो । समय-समयमा वाइन, खानेकुरा खाँदै, हिन्दी फिल्म हेर्दै, केहिबेर निदाउदैं सिड्नी जून १२ बिहान ७ बजे पुगेँ । मेरो अमेरिकन पासपोर्ट भएका कारण अध्यागमनका अधिकारीहरूले केही पनि सोधेनन ।

विमानस्थलमा रक्तदान कार्यक्रम आयोजक संस्था 'युथ फर चेन्ज' का अध्यक्ष पोखरेललगायत तीन जना आउनु भएको रहेछ । फेसबुकमा फोटो देखेकाले चिन्न गाह्रो परेन । उहाँहरूले अष्ट्रेलियामा स्वागत छ भन्दै मलाइ कारमा राखेर घरमा लग्नुभयो । त्यहाँ नुहाएपछि एकछिन आराम गरेँ । त्यत्तिकैमा एन.आर.एन अष्ट्रेलियाका सचिव भरत पोखरेल आइपुग्नुभयो । उहाँसँग टाउन हल ब्लड डोनर सेन्टर गयौँ । बाटामा पर्ने ऐतिहासिक ठाउँबारे पनि बताउँदै उहाँले लैजानुभयो । ब्लड सेन्टरमा विनोदप्रसादलगायत अरू थुप्रै रगतदाताहरूसँग भेट भयो । एक आपसमा परिचय गर्‍यौँ । फोटो खिच्यौं । मेरो उच्च रक्तचापलाई नियमित औषधिद्वारा नियन्त्रण गरिएको छ । जेट-ल्याकका कारण रक्तचाप (१५७/१०५) भएकाले त्यसदिन रक्तदान गर्न मिलेन । त्यहाँका साथीहरूले भिक्टोरिया भवनलगायत ऐतिहासिक ठाउँ घुमाइ दिनुभयो । बेलायती महारानीले त्यहाकाँ मेयरलाई सन् १९८६ मा पठाएको चिठी '१०० वर्षपछि सन् २०८५ मा खोल्नु' भवनको भित्तामा फ्रेममा राखेका रहेछन् । त्यस्तै थुप्रै आकर्षक कुराहरू देख्न पाएँ ।

करिब ३ बजेतिर विनोदको अपार्टमेन्टमा गयौँ । उहाँले मलाई संस्थाको अध्यक्षकै घरमा बस्नका लागि व्यवस्था मिलाउनु भएको थियो । काठमाण्डौका मेरा छिमेकी र आफ्नै भाइ जस्ता प्रेमकुमार श्रेष्ठले आफ्नो घरमा बस्न मरिहत्ते गरेकाले पोखरेलले उहाँकै घरमा पुर्‍याइदिनु भयो । मैले समय म्यानेज नै गर्न सकिनँ । प्रेम भाइ व्यवस्थित तरिकाले बस्नुभएको रहेछ । घर-परिवार-बालबच्चा सबै राम्रै रहेछ । धेरै खुसी लाग्यो । बेलुका दाइका लागि खसीको मासु र नेपाली खाना बनाएका छौँ भन्दै चौरासी व्यञ्जन जसरी टेबल सजाइएको थियो । खानाको मज्जा लिइयो । मेरा लागि भनेर सुत्नका लागि छुट्टै कोठा तयार गर्नुभएको रहेछ । त्यही सुतें । राति २ बजेतिर प्रेम भाइ आएर दाइ, ए दाइ भनेर बोलाउनुभयो । म जुरुक्क उठें । 'दाइ, 'तपाईँलाई जाडो भयो कि ? झ्याल खुलै छ कि भनेर हेर्न आएको, पानी तिर्खा लाग्यो होला, ल यो पानी' भन्दै तामाको जगमा पानी नजिकैको टेबलमा राख्नुभयो । भाइको यस्तो सत्कारले एकछिन मलाइ ससुरालीको याद गरायो । त्यसपछि निदाउन प्रयास गरेँ । सकिनँ । सायद अमेरिका र अष्ट्रेलियाको समय फरकका कारणले होला ।

जुन १३ तारिख बिहान एन.आर.एन का सचिव भरत मलाइ लिन प्रेम भाइको घरमा आउनुभयो । नेपालका भुकम्पपिडितहरूलाई उठाएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा मलाइ लग्नुभयो । त्यहाँ एन.आर.एनका पदाधिकारीलगायत अन्य गन्यमान्यहरू हुनुहुन्थ्यो । आफ्नो परिचय दिँदै भ्रमणको उद्देश्यबारे जानकारी गराएँ ।

करिब ११ बजिसकेको थियो । भरतले मलाइ विजयको घरमा लगी एकजना रक्तदाताका साथ टाउन हल ब्लड डोनर सेन्टरमा पठाउनुभयो । रक्तदान गर्ने ठाउँमा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म नेपालीहरूको उपस्थिति, जाने-आउने भइरहेको थियो । रक्तदान कार्यक्रम आयोजकले मलाइ रक्तदानका लागि फर्म दिनुभयो । अष्ट्रेलियामा रक्तदान गर्न चार महिना बसेको हुनुपर्ने रहेछ । मैले नेपाली आइ.डी. देखाउँदै रक्तदान गर्न पाउने हिसाबले फर्म भरेँ । स्वास्थ्य परीक्षण गर्दा फेरी उच्च रक्तचाप देखियो । डाइसिस्टोलिक १०५ नै रहेछ । नर्सले अलिकति ब्लडप्रेसर 'हाइ' भयो भन्नुभयो । त्यसपछि मैले 'हेमोग्लोबिन, पल्सहरू चेक गर्दै गरौँ, अनि फेरी ब्लडप्रेसर हेरौंला, कम पो भई हाल्छ कि' भनेँ । नर्सले हुन्छ भन्दै औंलाको टुप्पाबाट रगत निकालिन् । परीक्षण गरिरहँदा नर्सको अलि बढी समय लिन 'तपाईँ यहाँ काम गरेको कति वर्ष भयो ? रक्तदाताहरू कत्तीका मिजासिला आउँछन ?' आदि इत्यादि कुरा गर्दा करिब २० मिनेट समय बितेछ । नर्सले फेरी ब्लडप्रेसर चेक गरिन् । सिस्टोलिक १४० र डाइसिस्टोलिक ९८ देखियो । रक्तदान गर्न सबै प्रक्रिया पूरा भयो । अष्ट्रेलियाका नेपाली माझ मैले १३७ औं पटक रक्तदान गरेँ । साह्रै खुसी भएँ । एन.आर.एन. अध्यक्ष महेश बलि, सचिव भरत पोखरेललगायत ७७ जनाले रक्तदान गर्नुभयो ।

त्यसदिन बेलुका हिमालय, पाकिस्तानी एण्ड इण्डियन रेष्टुरेन्टमा रक्तदाताहरूलाई सम्मानका लागि रात्रीभोज आयोजना गरिएको थियो । आयोजकले मलाइ स्पेसल गेस्ट भनेर मन्चमा आसन गराउँदै रक्तदानबारे बोल्न लगाउनु भयो । परदेशमा आफ्नो व्यस्तताका बाबजुद अमूल्य रक्तदान गरी स्थानीय बिरामीहरूलाई बचाउन प्रयास गरेकोमा सबैलाई धन्यवाद गर्दै नियमित रक्तदान गरी रहन आग्रह गरेँ ।

रक्तदान गरेर कमजोरी भँइदैन भनेर प्रत्यक्ष आफ्नो उदाहरण प्रस्तुत गरेँ । मैले गरेका काम सुनाउन मन लाग्यो । मैले १६ औं पटक रक्तदान गरेको १ घण्टापछि कम्तीमा वर्षको एकपटक रक्तदान गरौँ भन्ने नाराका साथ नेपालका पूर्वमा मेची पश्चिममा बुटवल उत्तरमा कोदारी र दक्षिण वीरगञ्जसहित ३१ दिनमा २२ किलोमीटर साइकल-यात्राको अनुभव सुनाएँ । त्यस्तै रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि क्यानाडासम्म ८०० किलोमिटर ड्राइभ गरी रक्तदान गरेर पुन न्यु योर्क फर्केको अर्को उदाहरण प्रस्तुत गरेँ । त्यस्तै न्युयोर्कदेखि बर्मुडा, बेलायत, आयरल्याण्ड, मकाउ, नेपाल, भारत र अहिले अष्ट्रेलियाका नेपालीमाझ रहेको व्यक्त गरेँ । अमेरिकामै, न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्सस, मेरिल्याण्ड, जर्जिया, इन्डियाना, सिकागो, बोस्टन, कनेटिकटका नेपालीमाझ बिहान गई रक्तदान गरी बेलुका फर्किएको उदाहरण प्रस्तुत गरेँ । नेपालमा बिरामीहरूका लागि आफूले रक्तदान गर्ने र नपुगेको अवस्थामा अन्यत्रबाट खोजेर भए पनि सेवा गर्ने, रक्तदान कार्यक्रमका आयोजकमध्ये केहीलाई उपराष्ट्रपतिको बाहुलीबाट नगद पुरस्कार र प्रशंसा-पत्रले सम्मान गरेको सुनाएँ । प्रसुति महिलाहरूलाई उपचार गर्दागर्दै अत्यधिक रक्तश्राव भई मरणासन्न अवस्थामा पुगेका बेलामा रगत कहिँबाट उपलब्ध नहुँदा उपचार गर्ने डाक्टर आफैँले रगत दिनेलाई नगद पुरस्कारले सम्मान गरेको छु ।

अमेरिकामा नेपाली समुदायमा १०० भन्दा बढी रक्तदान कार्यक्रम राख्ने एउटा पुलको काम गरेको छु । हजारौँ नेपालीहरूले रक्तदान गरेका छन् । यी कुराभन्दा सबैले एकाग्र भएर सुन्नुभएको थियो । अब यसपछि उपस्थित हुनु भएकाहरू रक्तदाता मात्र नभई रक्तकर्मी हुनुहुनेछ भन्ने मेरो बुझाइ छ ।

जून १४ तारिखमा प्रेम भाइले अष्ट्रेलियाको राजधानी केनवारा साढे तीन घण्टा ड्राइभ गरी घुमाउन लैजानुभयो । उहाँकी दुई जिउकी श्रीमतीले बाटामा खानका खाना पोको पारेर पठाएका खानेकुरा अति नै स्वादिष्ट थिए । नेपालमा म बालककालमा आमासँग मामाघर जाँदा घुलो उकालोको चौतारामा बसेर खाएको सम्झना भयो ।

जून १५ तारिख बिहान ७ बजे संस्थाका अध्यक्ष पोखरेल र अर्का सक्रिय रक्तदाता मनोज अधिकारीले मलाइ विमानस्थल ल्याउनुभयो । त्यहाँका नेपालीहरूबाट म आफैँले पनि कसैलाई दिन नसक्ने माया र आतिथ्य पाएँ । यसरि तीन दिनको रक्तदान भ्रमणले मलाई अझ बढी ऊर्जा मिलेको छ । यत्रो लामो दूरीको रक्तदान यात्राले सम्पूर्ण नेपाली समुदायमा पनि रक्तदान कार्यक्रम गर्न प्रोत्साहन हुनेछ भन्ने विश्वास लिएको छु ।

यात्रा संस्मरण
यात्रा संस्मरण
यात्रा संस्मरण
यात्रा संस्मरण



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक