Similar Articles

लेख रचना

वेमौसमका धुनहरु --डा. टीकाराम पोखरेल

बिराट नेपाल

बेमौसमका धुनहरु जतिसुकै कलात्मक भए पनि कर्णप्रिय हुँदैनन् । त्यो कसैलाई कर्णप्रिय लाग्छ भने धुन बजाउनेलाई मात्र लाग्छ । धुन सुन्नेलाई दिक्क लाग्छ । दसैँमा बजाउने मालश्री धुन असारमा बजाएर र असारमा बजाउने वेठीबाजा दसैँमा बजाएर मीठो सुनिँदैन । जुन बेला, जुन ठाउँमा, जुन सन्दर्भमा जे बाजा बजाउनपर्ने हो त्यही बजाए मात्र त्यसको सान्दर्भिकता हुन्छ  à¥¤ दौरा सुरुवालमा टाई लगाएर हुँदैन टाई लगाउन सर्ट नै चाहिन्छ ।  

नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश त्यसमा पनि हाम्रो जस्तो सिँचाइँको पर्याप्त सुविधा नभएको र आकाशे खेतीमा भर पर्नुपर्ने ठाउँमा वर्षायामको विशेष महत्व हुन्छ । असार श्रावण धान  à¤°à¥‹à¤ªà¥à¤¨à¥‡ समय हो तर यस्तो धान रोप्ने समयमा संविधान रोप्ने कुरा भैरहेको छ । सभासद्हरु संविधानको मस्यौदा बोकेर जनताका घरदैलोमा छन् । जब कि यतिबेला जनता घरमा होइन धानको बीऊ बोकेर खेतबारीमा छन् । त्यसैले धान रोप्ने बेलामा गरिएको संविधानको कुरा त्यति कर्णप्रिय हुन सकिरहेको छैन । जबर्जस्ती लादिएको यो काम व्यस्त किसानलाई पचाउन गारो भैरहेको छ । काम राम्रै हो तर मौसम गलत भयो । मानो रोपेर मुरी फलाउने काममा खेतका गरामा व्यस्त कृषकलाई यतिबेला अफ्ठेरो छ । सुकिलो पानाका संविधानमा सुझाव दिनु कि हिलो खेतमा धानमा व्यस्त हुनु । संविधान पनि चाहिएको छ र धान पनि चाहिएको छ । यस्तो अवस्थामा किसानको प्राथमिकता के होला ? सहजै अनुमान लगाउन सकिन्छ । संविधानले खेतमा धान फलाउँदैन । धान नफली जनताको पेट भरिँदैन । त्यसैले जनता संविधानका सुकिला पाना हेर्दैनन्, धान रोप्ने हिला गरा नै हेर्छन् ।

निरपेक्ष आँखाले हेर्दा छिटो संविधान बन्नु आफैँमा राम्रो कुरा हो । संविधान अझ छिटो बन्नु पर्दथ्यो, ढिला भयो । ढिला भएको होइन ढिला गरियो । तर हिजो ढिला गरियो भन्दैमा अब अनावश्यक हतार गर्नु चाहिँ हुँदैन । जति दुरीको यत्रा तय गर्नलाई जति समय लाग्ने हो त्यति समय लिनुपर्छ । ढिला भयो भन्दैमा मान्छेले दुईवटा पखेटा हालेर उड्ने प्रयास सुरक्षित होइन । हिँड्ने बाटोमा खुट्टाले हिँडे मात्र पुगिन्छ, पखेटा हालेर उड्छु भन्यो भने पुगिँदैन । मोटर बाटो नभएको ठाउँमा पैदल हिँड्नै पर्छ । एयरपोर्ट नभएको ठाउँमा मोटरमा गुड्नै पर्छ । तर यहाँ त संविधान छिटो बनाउने नाममा बाटो नभएको भिरमा हिँड्ने, गोरेटो बाटोमा मोटर चढेर गुड्ने र एयरपोर्ट नभएको ठाउँमा प्लेन चढेर उड्ने कसरत भैरहको छ । यस्तो कसरतले सही गन्तव्यमा पु¥याउला ? पु¥याउँदैन । यस्तो असुरक्षित दौडाइको अवतरण सुरक्षित हुँदैन । जबर्जस्ती अवतरण गरे त्यसले कालान्तरमा सही परिणाम ल्याउँदैन ।

संविधान सहमति विना बन्नु हुँदैन भनेर धेरै भनियो, सुनियो । तर पनि गणितीय खेल कहिल्यै समाप्त भएन । संविधानको स्थायित्व गणितका सूत्रमा आधारित हुँदैन, आफ्नत्वको भावनामा आधारित हुन्छ । गणितीय कुरा गर्ने हो भने हिजो एमाओवादी काँग्रेस एमालेको साथमा नहुँदा पनि संविधान बन्नलाई चाहिने गणीतीय सङ्ख्या एमाले काँग्रेससँग थियो । किन एमाओवादी र मधेशकेन्द्रित दलहरू चाहिएको थियो र ? तर गणित महत्वपूर्ण होइन रहेछ भनेर नै चारदल बिच १६ बुँदे सहमति भयो । तर १६ बुँदेमा पनि अझै केही छुटे । त्यसैले अहिले ६०१ को जतिसुकै प्रतिशत संविधानको पक्षमा छन् भने पनि केही महत्वपूर्ण शक्ति अझै पनि बाहिर छन् । जसको ६०१ भित्र जति प्रतिशत देखिन्छ त्यो प्रतिशतभन्दा बढी प्रतिशत जनतामा पकड छ ।

अहिले तराईमा विखण्डनको उग्र नारा लागिरहेको छ । मधेशकेन्द्रित दल जो १६ बुँदेमा  à¤›à¥à¤Ÿà¥‡à¤•à¤¾ छन्, तिनीहरूलाई संविधानको निर्माण प्रक्रियाबाट बाहिर राख्यो भने यसले त्यही उग्र नारालाई नै मलजल पुग्छ । उग्र नारा भनेका सलाईका काँटीहरु हुन् । सलाईका काँटीहरु कोरिनु अगाडि नै सलाइलाई आफ्नो पक्षमा लिनुपर्छ । सलाई कोर्न दिने र त्यही सलाईका काँटीबाट निस्केको आगोको झिल्कामा घिउ थप्ने काम कोही कसैबाट पनि हुनु हुँदैन । यस्तो काम गरियो भने आत्मघाती हुन्छ । किनभने बनाउन धेरै जना चाहिन्छ, बिगार्न थोरैले पुग्छ । एउटै सलाइको काँटीले ठुलो बस्ती ध्वस्त पारिदिन सक्छ ।

भनाइ नै छ, बिस्तारै गए अवश्य पुगिन्छ तर हतार गरे भन्न सकिन्न । त्यसमाथि पनि वेमौसममा छिटो दौडने रहरले मान्छे चिप्लिन्छ । अहिले सडक मात्र चिप्लो छैन, संविधान निर्माणको बाटो पनि चिप्लो छ । चिप्लो बाटोको यात्रा होसियारपूर्वक नगर्ने हो भने त्यो घातक हुन्छ । यस्तो बाटो चिप्लो हुँदा सकेसम्म संविधानको मस्यौदा बोकेर बाहिर ननिस्कँदै राम्रो हुन्थ्यो । संविधान निर्माणसँग सम्बन्धित ‘टेबलओर्क’का लागि यो समय पनि उपयुक्त नै होला तर ‘फिल्डओर्क’का लागि यो उपयुक्त समय होइन  à¥¤ फिल्डमा जनता नभएको बेला संविधान बोकेर के फिल्डमा गएर के सुझाव प्राप्त हुने अपेक्षा गर्ने ? यसमा अलि गम्भीरतापूर्वक सोचिएन । हतारमा निर्णय गरियो । यस्तो हतारले फुर्सदमा पछुताउनु नपर्ला भन्न सकिन्न ।

हरेक कुराको समय हुन्छ । असार धान रोप्ने समय हो । संविधान रोप्ने होइन । असारे चटारो भन्ने चलन नै छ । कृषिप्रधान देशको सबैभन्दा व्यस्त समय भनेकै असार हो । त्यसैले नेपालमा कुनै पनि महत्वपूर्ण निर्णय गर्ने अवधि असार वा श्रावण होइन । त्यसैले यतिबेला संविधानको घोषणा गर्न खोज्नु भनेको जनतालाई कुनै न कुनै रूपमा अधिकारविमुख बनाउनु हो ।

अब बन्ने संविधान जनताको हुनुपर्छ । जनताको संविधान हुन जनताले पर्याप्त समय लिई मस्यौदा  à¤ªà¤¢à¥‡à¤° बुझेर सुझाव दिन पाउनुपर्छ । तर यहाँ त जनताका नाममा दलका कार्यकर्ता त्यो पनि सहरमा बस्ने दलका कार्यकर्ताका बिच छलफल र सुझाव प्राप्त गरे झैँ गरी संविधान घोषणा गराउने काम हुँदै छ । यो ज्यादै खतरनाक छ । जनताको घरदैलोमा  à¤ªà¥à¤—ेर सुझाव सङ्कलन गर्नुपर्ने ठाउँमा एउटा निर्वाचन क्षेत्रमा एक ठाउँमा बसेर सुझाव सङ्कलन गर्ने भन्ने सुन्नमा आएको छ । असारको चटारोमा कसरी जनता घण्टौँ हिँडेर सुझाव दिन पुग्लान् । हेर्दा बिरालो बाँधेर सराद्धे गर्ने उखान चरितार्थ हुन लागेको देखिन्छ ।

यस्तो धानको मौसममा संविधानको खेती गर्नु भनेको वेमौसमको खेती हो । त्यसैले अहिले संविधानको मस्यौदा बोकेर निर्वाचन क्षेत्रको एक ठाउँमा जाने त्यो पनि थोरै समय लिएर भनेको जनतालाई संविधानको मालिक बनाउने होइन बरु जनतालाई संविधानमा आफ्नो सुझाव पेस गर्नबाट छल्ने काम हो । यस्तो संविधान जनताले आफ्नो अनुभूति गर्न सक्दैनन् । त्यसैले वर्षाको मौसम समाप्त नभएसम्म संविधान घोषणा गर्ने वा संविधानमा सुझाव सङ्कलनका लागि गाउँ जाने काम गर्नु हुँदैन । भदौ लागेपछि मात्र यो काम उपयुक्त हुने हुँदा संविधान दुई महिना ढिला घोषणा गर्दै बेस । ढिलो होस् राम्रो होस् । हतार गरे गन्तव्यमा नपुग्न सकिन्छ तर बिस्तारै गए अवश्य पुगिन्छ । युगौँका लागि बनाउने संविधान एक दुई महिना ढिला हुँदा कुनै फरक पर्दैन । 

संविधान निर्माण एउटा पद्धति पनि हो । लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया महत्वपूर्ण हुन्छ । कुन प्रक्रियाबाट त्यो परिणाम आयो भन्ने कुरामा नै त्यो परिणामको महत्व र स्थायित्व निर्भर हुन्छ । तर अहिले पद्धतिलाई तिलाञ्जली दिएर परिणामको दौडमा दलहरू लागेका छन् । जसरी पनि संविधान बनाइ छोड्ने एक सुत्रीय दौडमा लाग्दा अहिले विधि र प्रक्रिया चाहिँ धरापमा परको छ । खासगरी जनमत लिने काम नै धरापमा परेको अवस्था देखिन्छ । यसको असर दीर्घकालीन हुनेछ । समयमै सोच्नु बुद्धिमता हुन्छ । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक