Similar Articles

लेख रचना

पुस्तक यात्रा-: नारायण श्रेष्ठ

बिराट नेपाल

किताबहरू मेरा लागि ज्ञानको भण्डार मात्र हैनन, सबभन्दा असली गुरु र बाटो देखाउने सबभन्दा नजिकको हितैसी हुन । कुनै कुराको अभाव हुँदा गर्जो टार्ने, बाटो अलमलिंदा हात समातेर डोर्‍याईदिने, पिडा र निराशामा हुँदा  à¤‰à¤¤à¥à¤¸à¤¾à¤¹ र उमंग छरिदिने पुस्तकहरू नै हुन । आज म जहाँ छु, जस्तो छु, किताबकै कारण छु । यस्तो सम्बन्धलाई ‘वेष्ट फ्रेण्ड’ भन्न यदि मिल्छ भने किताब मेरो सर्वोत्तम साथी हो । पहिलो रोजाई हो । 

अति नै पढन्ते, आफूलाई देखाउन खोजेको हैन मैले । थोरै पढ्छु, पढ्दा सकेसम्म मन दिएर पढ्ने कोसिस गर्छु । किताबहरुसंगका मेरा केही क्षणहरु आज बाँड्न चाहेको हुँ ।
किताब मेरो विरासत हैन । मेरो पुस्तौनी खान्दानी भित्र पनि पर्दैन । गोर्खाको कुनै अनकन्टार गाउँको एउटा किसानको छोरा, मास्टरी जागिर गरेर जीवन गुजारा गर्ला भन्ने आसमा, बा आमाले मलाई स्कुल पठाउनुभयो । भाग्यले, मौकाले र परिवारको सहयोगले स्कूले पढाई सकेपछि राजधानी छिरें। त्यसपछि मात्र पुस्तक पढाइको मेरो यात्रा सम्भव भएको हो ।    

स्कुलमा हुँदा कोर्ष बाहेक अरू किताब पढ्ने मौका र सुविधा दुवै थिएन । स्कुलमा र गाउँमा पुस्तकालय हुन सक्छ भन्ने कल्पना सम्म पनि थिएन । र सरहरुले कोर्ष बाहिरको कुरा पनि पढ्न हुन्छ भनेको सम्झना पनि छैन । त्यसबेलाको कुरा अहिले संझिदा अनौठो लाग्ने केही यस्ता प्रसङ्ग पनि छन्; 

- à¤—ाउँ पञ्चायत भवनमा महिनादिन पछि आईपुग्ने गोरखापत्र, गोरखा जिल्लामा भएकाले ‘गोरखापत्र’ भाएको होला, पारि धादिङमा ‘धादिङ पत्र’ र उता चितवनमा ‘चितवन पत्र’ को नाममा यस्तै पत्रिका छापिएको हुनु पर्छ ।

- à¤•à¥‹à¤°à¥à¤· बाहेकको किताब भनेको दाईहरुले पाईन्टको पछिल्लो खल्तीमा बटारेर हालेको गोठाले जाँदा लैजाने युधिर थापा र प्रकाश कोविदाका उपन्यासहरु मात्र हुन । त्यस्ता किताब पढ्नु अपराध गरेजस्तै गल्ती गर्नु हो । 

- à¤šà¤¿à¤¤à¤µà¤¨à¤¬à¤¾à¤Ÿ माईत आएकी दिदीले भाइले पढ्ला भनी सम्झेर ल्याईदिने वर्षदिन पुराना युवामञ्चका अंकहरु दर्जनभन्दा धेरै चोटि दोहोर्‍याएर पढ्नु । 

उच्च शिक्षाका लागि सहर छिरेपछि किताबको मेरो संसार फराकियो । गाउँका खुल्ला चौरहरुमा गाई गोठालो गरेर आएको मान्छे, सहरका गल्ली मलाई साँघुरा लाग्थे । तर सहर आएपछि किताब पढ्न पाउने अबसरहरु फराकिला भए । पुस्तक पसलहरुमा पत्र पत्रिकाको लहर झुन्डिएको हुन्थ्यो । टुँडिखेल अघिको भारतीय सांस्कृतिक केन्द्र र नारायणहिटी पारिपट्टिको केशर पुस्तकालय मेरो पहुँचका केन्द्रहरु थिए । मबाट ती नजिक थिए । बिहानको क्याम्पस सकेपछिको मेरो कति समय ती पुस्तकालयको अँध्यारो कुनाका र्‍याकमा किताब खोज्दैमा बिते । कुन किताब राम्रो? कुन नराम्रो? खुट्याउन सक्ने सायद थिइन । तर पढ्न मन लाग्थ्यो । किताबले आफू पुग्न नसकेको संसारको ज्ञान दिन्छ, भोग्न नपरेको क्षणको अनुभव दिन्छ भन्ने लाग्थ्यो । किताबका पानाहरूमा अरूले भोगेको अनुभवमा डुवुल्की मार्दा रुमानी संसारमा उडिरहेजस्तो आफूलाई पाउँथें । 

विकट गाउँको केटो सहर आईपुग्दा यो सहर भुमरि जस्तै थियो मेरो लागि । अविभावक कोही थिएनन । त्यो अन्यौलमा सही कुन, गलत के, नयाँ के हो, पुराना विचार कुन, जीवन र जगतलाई गतिशील कसरि बनाउने? त्यसबेला मलाई बाटो देखाउने मार्ग दर्शक किताब मात्र भए ।

पारिजातका सबैजसो किताबहरू त्यहीबेलातिर भ्याएको हुँ । ‘शिरिषको फूल’ र ‘अनिदो पहाडसंगै’ - लेखन दर्शनले विपरीत ध्रुवीय हुन । पहिलो घोर निराशाबादी, दोस्रो क्रान्तिकारी । तर यी दुवै किताब मैले सबभन्दा धेरै दोहोर्‍याएको छु । म्याक्सिम गोर्कीको ‘आमा’ र अरू रचनाहरू, चिनीया उपन्यास ‘युवाहरूको गीत’, आहुतिको ‘नयाँ घर’ त्यसबेलाका रोजाईका पुस्तक थिए । त्यो उमेरमा परिवर्तनको राप समाज र मनभित्र, दुवै ठाउँमा चर्को थियो । परिवर्तनको, व्यवस्था विरोधको रापलाई मलगल गर्न, त्यस्तै किताबहरू खोजी खोजी पढें । मार्कसबाद नै सर्वोत्तम विज्ञान हो, अरू सायद भ्रम हुन भन्ने भ्रम मनमा थियो । त्यसबेला पढेका किताबहरुले त्यो धारणालाई झन उकेरा हालिदिएका थिए ।  

पुस्तकको मोह कतिसम्म थियो भने पहिलो जागिरको पहिलो तलब बुझेको दिन सिधै डिल्लिबजारको प्रगति पुस्तक पुगेको थिएँ। रसियाली किताबहरूमा त्यो महिनको १००० रुपैयाँ सकें । प्राईमरि स्कुल टिचर, त्यो महिनाको मेरो कमाई १५०० रुपैयाँ थियो ।  

तातो रगतलाई अझै तताउने उमेरका किताबहरू पछि मेरो रुचि अन्तै मोडियो । सिरानी कविताका कितावहरुले ओगटे । त्यस समयमा नेपाली बजारमा उपलब्ध सायद सबैजसो कविताका किताबहरू हेरेँ हुँला मैले । मदन रग्मीका कविताहरू, पारिजात, ईश्वर बल्लभ, मोहन कोइराला, द्वारिका श्रेष्ठ मेरो रुचिको माथिल्लो सूचीमा परे । पढेका कति अहिले विर्सें पनि । कति अझै पनि मनभित्रै छन् ।  à¤…हिले पनि ती कविता बेला मौका पल्टाउँछु । मदन रेग्मीको कविता ‘आजा जुजे पहाड र घाउका आँखाहरू’ कति चोटि दोहोर्‍याएं हुँला, सीमा नै छैन ।

जब पत्रकारिताको पेस सघन बन्यो, पेशाकै कारण थप किताबहरू पढ्नु पर्ने भयो । राजनीति, विश्वा इतिहास, कला, अर्थतन्त्र, समाज; जसलाई पनि पढ्नै पर्ने भयो । पढ्दै जाँदा लाग्यो ती झन रुचिपूर्ण रहेछन् । 
किताबले मानिसलाई कल्पनासिल बनाउँछ । त्यही कल्पनामा कतिचोटी म सोच्थें किन यो संसारमा धन दौलतको वितरण असमान छ? आज हामीले अनुसरण गरिरहेको सभ्यात किन युरोपमै विकसित हुन सम्भव भयो? किन गोराहरुले नै संसारमाथि विजय हासिल गर्न सके? कालाहरु वा अरू ठाउँका मानिसहरू किन दमित हुनु पर्‍यो? कहाँ पाईएला यी प्रश्नहरूको जवाफ? गफ चल्दैथ्यो । अमेरिकाको वोष्टनमा थिएँ । प्रोफेसर ज्यारेड डाईमण्ड को ‘गन, जर्मस एण्ड स्टिल’, युनिभर्सिटि अफ म्यासाचुसेट्समा पि एच डि गर्दै गरेका साथीले जवाफ दिए । त्यसपछिको अर्को वर्ष लण्डन यात्रामा एउटा बुक सपमा त्यो किताब फेला पारें । नेपाल फर्केपछि पनि धेरै समय देशको राजनीतिलाई ओल्टाईपोल्टाई गर्ने गोरख धन्दामै बित्यो । त्यो पुस्तक पल्टाउने मौका मिलेन । जब त्यो पल्टाएं मेरा कतिपय प्रश्नको जवाफ त्यसमै पाएँ । यो पृथ्वीमा किन स्रोतहरूको असमान वितरण भयो? गोराहरु धनी हुन किन सके र अरू जातका मानिसहरू किन सकेनन् ? जवाफ मिल्यो – करिब दश हजार वर्ष पहिले कृषि युग सुरु हुनेबेलामा जुन ठाउँका मानिसहरूले खाने कुराको सजिलै जोहो गर्न सके तिनीहरू नै कालन्तरमा बढी सिर्जनसिल भए र मानव सभ्यताले आजको यो रूप लियो ।  à¤†à¤«à¥‚ले खोजेको किताब पढ्न पाउनु पहाड आरोहण गरे भन्दा पनि ठुलो जस्तो हुन्छ कहिलेकाहीँ । जब त्यस्तो किताब पढिसकिन्छ , केहीबेरकै लागि सही, संसारै जीतेजस्तो अनुभव हुन्छ । 
मनभित्रका कति प्रश्नहरूको जवाफ दिने किताबहरूको लामो सूची बन्न सक्छ । जोसेफ स्टिग्लिजको ‘ग्लोवलाईजेसन एण्ड ईट्स डिस्कण्टेन्टस’, अमेरिकी राष्ट्रपति बाराक ओवामाको ‘ड्रिम्स फ्रम माई फाद(अ)र’, गुरुचरण दासको ‘ईण्डिया अनवाउण्ड’ अरविन्द अडिगाको ‘ह्वाईट टाईगर’ टेकनाथ रिजालको ‘निर्वासन’, नयनराज पाण्डेको ‘लू’ नारायण वाग्लेको ‘पल्पसा क्याफे’, जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’ हर्क गुरुङको ‘मैले देखेको नेपाल’ र ‘विषय विविध’, डोर बहादुर विष्टको ‘फ्याटलिजम एण्ड डिभलवमेण्ट’ बि पी कोइरालाको ‘आत्मबृतान्त’, नेल्सन मण्डेलाको ‘लंग वाक टु डेमोक्रेसी’; मेरो सुचीको माथिल्लो लिष्टका पुस्तकहरू हुन । यी मध्ये कति कितावहरुले जीवन र जगतलाई हेर्ने मेरो दृष्टिकोणलाई नै फेरिदिएका छन् । बि पीको ‘आत्मवृतान्त’ त्यही कोटीको किताब हो । जसले मलाई अन्तरमुखि नारायणबाट बहिर्मुखी नारायण बन्न उत्प्रेरित गर्‍यो ।  

किताब एउटा कारणले मात्र मन पर्दैनन रहेछ । कति किताबका विषयवस्तु उत्तम हुन्छन् । कतिका भाषा । कतिका नौलो विषयवस्तु वा कल्पनासिलता । समग्रमा मालाई चैँ किताबमा प्रयोग भएको भाषाले बढी आकर्षित गर्छन् ।  
मन परेका सबै किताब पढ्न पाइन्छन भन्ने पनि हुन्न । कति किताब सापटीमा पनि मिल्छन । तर किताब सापटी यस्तो व्यवहार हो जो प्राय लगेपछि भुलिन्छ । एउटा उखानै छ ‘किताब माग्नु एक आँखो फुटे बराबर हो, दिनु दुवै आँखो फुटेको ।‘ मेरा कति किताबहरू त्यसरी नै गायव भए । भित्रैदेखि मन परेका किताबहरू त्यसरी अलप हुँदा कता कता मन दुख्छ । बारम्बार दुखिरहन्छ । अल्वर्ट क्यामुको ‘दि आउटसाईडर’ मेरो तखताबाट त्यसरी नै हरायो । विद्यार्थी कालमै डलरको मूल्यमा किनेको किताबलाई एउटी साथीले लगिन, छिट्टै फिर्ता गर्ने बाचा गरेर । तर त्यो चाँदी रङ्गको क्यामुको पातलो किताब ‘दि आउटसाईडर’ ले दोहोर्‍याएर मेरो दैलो टेकेन ।

केही किताबहरू मबाट पनि फिर्ता भएनन । साझा प्रकाशनको नाटक भाग १ एकजना साथीबाट ल्याएपछि त्यसले मेरो र्‍याकमै डेरा जमायो । विनोद प्रसाद धितालको ‘योजनगन्धा’ र महाभारतको नेपाली संस्करण त्यसरी नै मेरोमा घरजम गरेर बसेका छन् । तर मलाई विश्वास छ ती कितावहरुले मेरो कोठामा बिरानिनु परेको छैन । राम्रो सम्मान र उचित ठाउँ पाएका छन् ।

जब विश्वका विकसित भनिएका केही देश पुगें, तिनीहरूको उन्नति र राजनीतिक प्रणाली देख्ने मौका पाएँ, विविध खाले किताबहरू पढ्ने अवसर मिल्यो, मेरो विश्वास पनि फेरियो । उमेरसंगै मेरो रुचिका पुस्तकहरू पनि फेरिए । सोचाईको तरिका सायद बदलियो; अहिले मलाई त्यस्तै लाग्छ । उमेर, पेस र मानिसहरुसंगको चिनजान पछि साहित्य बाहेक राजनीति, इतिहास, अर्थतन्त्र, मावन समाज आदि विषयका पुस्तक पनि रुचिमा थपिए । यस्ता कितावहरुले ज्ञनाको भूगोल झन फराकिलो बनाउन मद्दत गर्ने रहेछन् । 

किताब अध्ययकै कारण थोरै भए पनि कुन कुरा ठिक र कुन बेठीक भन्ने तुलनात्मक विश्लेषण गर्न सक्ने क्षमता विकास भयो । र यसैका कारण मेरो मेशलाई म चलायमान बनाइरहेको छु । त्यसैले मैले सुरुमै भनेको हुँ मेरो गर्जो टारिदिने, हात समाएर डोर्‍याईदिने, अँध्यारोमा मलाई उज्यालो बाटो देखाईदिने किताब नै हुन ।

नारायण श्रेष्ठ
नारायण श्रेष्ठ
नारायण श्रेष्ठ
.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक