Similar Articles

लेख रचना

तीजः गोडा पखालेर पानी खाँदैमा पतिको आयु बढ्दैन –मन्दिरा मधुश्री

बिराट नेपाल

हरितालिका अर्थात् तीज । हिन्दूधर्मावलम्बी महिलाहरूको अत्यन्तै महत्वपूर्ण चाडको रूपमा मानिन्छ । साच्चै भन्नुपर्दा महिलाको पेवा चाड वा पर्व नै भन्दा पनि हुन्छ तीजलाई । पेवा यसकारण कि, यो पर्व पुरुषहरुसँग सम्बद्ध भएपनि पुरुषहरुले नभएर महिलाहरुलेमात्रै अत्यन्तै श्रद्धा र भक्तिकासाथ मान्ने गरेकाछन् । अबिवाहित केटीहरूले राम्रो र सुयोग्य पति पाउने र बिवाहित महिलाहरूले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामाना राखेर तीजको ब्रत बस्दछन् । 

तीजको अघिल्लो दिनको आधा रातमा उठेर दर खाने गरिन्छ । ब्रतका दिन बिहानै नदी, खोला, तलाउ या त धारा, इनार, कुवामा नुहाइधुवाई गरेर गरगहना र रातो लुगा लगाएर ब्रत बसिन्छ । दिनभर नाचगान गरिन्छ । तीजको ब्रतको दिन भोजन पानी दुवै वर्जित मानिन्छ । साँझमा  शिव पार्वतीको पूजा आराधना र उपाशना गरिन्छ । तील जौ, अक्षता, फूल, बत्ती गनेर एकसय आठ चढाइन्छ । रातभर श्रीमानको नाममा अखण्ड दियो बालेर, भजन कीर्तन गरेर जाग्राम बस्ने र भोलिपल्ट अगस्ती ऋषिलाई अर्घ दिएर पारायण गरेपछिमात्र ब्रत पूरा हुन्छ ।

परापूर्वकालमा हिमालय पर्वतकी पुत्री पार्वतीले सानै उमेरदेखि महादेवलाई आफ्नो भावि पतिका रूपमा स्वीकार गरेकी थिइन् मनै मनले । विवाह योग्य भएपछि हिमालय पर्वतले महादेवसँग नभएर विष्णु भगवानसँग पार्वतीको विवाह गराउन लागे । यो कुरा थाहा पाएपछि पार्वती साथीहरूको सहयोगले घरबाट भागेर जङ्गलमा गएर लुकेर बसिन् र विष्णुको आराधना गर्न थालिन् । पछि विष्णु उपस्थिति भएर आराधना गर्नुको कारण सोधे । पार्वतीले सबैकुरा बताइन् । सत्य थाहा पाएपछि हरितालिकाको ब्रत गर्ने र त्यही ब्रतको प्रभावले महादेव स्वामी पाउन सकिने उपाय बताए । पार्वतीले पनि विष्णुको सल्लाहअनुसार अत्यन्तै आस्था र भक्तिकासाथ ब्रत गरिन् । पछि ब्रतका प्रभावले महादेवसँग नै विवाह भएको किंवदन्ती छ । सखीले हरेर जङ्गलमा लुकाएर राखेको हुनाले यो व्रतको नाम नै ‘हरितालिका’ रहन गएको पनि भनिन्छ । पछि हिन्दुधर्मावलम्बी महिलाहरूले यो व्रत गर्न थालेका हुन । 

तीज भन्ने बित्तिकै दुईकुरा आउँछन् । प्रथम, दर र दोस्रो निलाहार र निर्जल गरिने ब्रत । नेपाली हिन्दु महिलाहरूको मौलिक परम्परा र संस्कृति पनि बोकेको छ तीजले । खासमा दर खानुपर्ने आवश्यक किन त भने तीजमा खानेकुरा र पानी वर्जित छ । दिनभर भोकै बस्दा कठिन हुन्छ भनेर आधारातमा उठेर खाने चलन भएको हो कि भन्न सकिन्छ । हुन त कुनै पनि ब्रत बस्दा सकिन्छ नखानु, सकिँदैन भने शुद्ध र सात्विक खाना खानुु । सात्विक भोजनले हामीमा सत्वगुण बढाउँछ । आत्मा शान्त हुन्छ । शुद्ध र पवित्र विचार आउँछन् । त्यसैले दर खाँदा सात्विक खाना खानुपर्छ । 
 
दर ब्रत बस्ने दिनको अघिल्लो रातमा राति उठेर खाने चलन हो । खासगरि घिउमा चामल रातो हुनेगरि भुटेर दूधमा पकाएपछि चिनी र सम्भव भएसम्म काजु, किसमिस, नरिवल, मरिच आदि मसला राखेर पकाइने परिकार ‘ढकने’ नै दरमा खाइन्छ । यसकासाथै दही, चिउरा, केरा, मिठाई, फलफूल, सेलरोटी आदिका परिकार पनि हुन्छन् । किनकि यी सबै परिकार शुद्ध र सात्विक हुन्छन् । सुपाच्य हुन्छन् । अझ सकिन्छ भने, वा शरीरले पचाउन सक्छ भने, ताजा र शुद्ध भेटिन्छ भने दर खाँदा घिउको मात्रा बढी खाँदा भोलिपल्ट भोक, थकाइ, तिर्खा केही लाग्दैन । हामी सानैहुँदादेखि नै दर खाने दिन भनेको कर्केली डाडुले घिउ हालेर भात खाने दिन र राति उठेर ढकने खाने दिन भनेर बुझेका थियौँ ।  

प्राचीन समाजमा सात वर्ष देखिकै उमेरमा छोरीको विवाह गरिदिने प्रचलन थियो । स्कुल, पाठशाला थिएन । केही गुरकुलहरुमा पुरुषहरुलाईमात्र पढाइन्थ्यो । छोरी पढाउँदा बहुलाउँछन् भन्ने अन्धविश्सास थियो । त्यसले महिलाहरू शिक्षाबाट पुरै बन्चित हुन्थे । 
बिहे गरेर दिएकी छोरीको घर टाढा हुन्थ्यो । कुनै कुराको  विकास भएको थिएन । बाटोघाटो थिएन । मोटर हवाइजहरु जस्ता यातायातका साधन असम्भव थिए । छोरी सँधै माइत आउन असम्भव प्रायः थियो । त्यसैले वर्षमा एकचोटी भएपनि तीजको दरखाने निहुँले छोरी लिन पुग्थे माइतीबाट । 

घरमा बुहार्तन बढी हुन्थ्यो । बुहारीको स्थान एकदमै न्यून र हेपिएको हुन्थ्यो । मीठो–मसिनो कमै मात्रामा खान पाउँथे । त्यसैले माइतीमा ल्याएर मीठो–मसिनो खुवाउने चलन नै ‘दर’ भयो । त्यसैले पनि तीव्र प्रतीक्षा हुन्थ्यो तीजको बिवाहित महिलाहरूलाई । माइतीमा आएका सबै साथी–संगी भेला भएर नाचगान गर्ने, मनमा भएका र घरमा भोगका तीता–मिठा कुराहरूलाई गीतको माध्यमबाट पोख्थे । यसरी मीठो मीठो खाने र राम्रो राम्रो लाएर उन्मुक्तिका साथ नाचगान रमाइलो गर्दै तीज मनाउने परम्परा भएको हो भन्न सकिन्छ । 

गहिरिएर हेर्दा प्राचीन समाजमा समाजलाई आदर्श बनाउन नैतिक शिक्षाको आडमा अन्धविश्वास व्याप्त थियो । महिलाहरूलाई आफूले पति रोज्ने अधिकार थिएन । सानै उमेरमा अझ भनौँ यौन के हो र पति के हो भन्ने बुझ्ने उमेर नै नभई आफूभन्दा दोब्बर, तेब्बर उमेरका पुरुषहरुसँग विवाह भएर भित्रिन्थे कर्म घरमा । अनि पछि यौन बुझ्ने भएपछि बुढो लोग्ने छोडेर दायाँबायाँ नबरालिउन भनेर त्यही पतिको नाममा ब्रत बस्ने, उसैको नाम जप्ने, सुस्वास्थ र दीर्घायुको कामना गर्ने । यसोगर्दा धर्म हुन्छ । पाप पखालिन्छ  भन्ने धार्मिक नियम लगाइयो । यसैमा सीमित हुँदैगए महिलाहरुपनि । त्यसैले तीजजस्तो कठिन ब्रतपनि आस्था र भक्तिकासाथ सजिलैसँग बस्थे महिलाहरू । 

दिनभर अन्न–जल नखाई, रातभर आफ्ना लोग्नेको नाममा दियो बालेर जाग्राम बस्ने र भोलिपल्ट मात्र खानेकुरा खाने । यति कठिन ब्रत भएपनि सानैदेखि श्रीमानप्रति गर्न लगाइएको अन्धभक्ति वा प्रेम र सद्भावले सजिलै भएको मान्दथे । तर वास्तवमा भोकै, प्यासै पानी पनि नखाई यसप्रकारले धर्मका आडमा ब्रत बस्न लगाउनु धर्म नभएर महिलामाथि हुने धार्मिक हिंसा र शोषण थियो भन्दा नि अन्युक्ति नहोला ।
हुन त सृष्टिकालदेखि नै महिला र पुरुष एउटै रथका दुई चक्का भनेर मानिन्छ । परिवारमा एक अर्काका पूरक भएता पनि महिलाले पुरुषकालागि तन–मनले गरिने ब्रत–तिर्थ थुप्रै छन् । जुन आफ्नो ज्यानका बाजी थापेर पनि महिलाहरूले गर्छन् तर कुनैपनि एउटा यस्तो तीर्थ, ब्रत, धर्म छैन जो महिलाकालागि भनेर कुनै पुरुषले आस्था र भक्तिकासाथ भोकै र तिर्खै बसेर गर्छन् ।

आज वैज्ञानिक दृष्टिले पनि ब्रत बस्नु उत्तम भन्छ । हप्ताको एकदिन खाना त्यागेर उपवास गर्नु स्वास्थ्यकालागि फाइदाजनक हुन्छ । शरिररमा भएका विकार बाहिर जान्छ । शरीरमा स्फूर्त र ताजगीपन आउँछ । ब्रतको अर्थ, हो सात्विक खाना । देवोपसाना । मनमा भएका कुबिचार कुभावना (रिस, राग द्वेष, इष्र्या, व्यभिचार, हिंसा आदि) त्यागेर मनमा शान्त भाव ल्याउनु नै व्रत हो । पवित्र र सकारात्मक सोच बनाउनु । मन वचन र कर्म पवित्र राख्नु । शरीर शुद्ध र पवित्र राख्नु । परोपकार गर्नु  सम्पूर्ण प्राणीमात्रको सेवा गर्नु । दीनदुःखी र पीडितहरुलाई उद्धारमा जसरी सकिन्छ सकेको सेवा गर्नु नै धर्म हो । पवित्र तीर्थस्थलमा गएर हुने धर्म भन्दा ठुलो धर्म वा व्रत हो । यो कुरा हामीले मनन् गर्नुपर्छ । परम्परादेखि चलिआएका धर्म संस्कृति हाम्रा पुर्खाका नासो हुन् र ती नासो हामीले हाम्रा सन्ततीलाई हस्तान्तरण गर्नुपर्छ । तर अन्धविश्वास र कु–परम्परालाई परिमार्जित गरेर हामीले परम्परा जोगाइरहनुचाहीँ पर्छ नै । 

आजभोलि तीजको नाममा अलिक विकृति पनि भित्रिँदैछ हाम्रो समाजमा । शिक्षित र आधुनिकताको नाउँमा विकृति भित्रिनु राम्रो पक्ष होइन । दर खाने प्रचलनमा पनि आधुनिकता पसेको छ । महिला हरुमा होटलमा गएर पार्टी गर्ने, माछा, मासु, मदिरा र आधुनिक  तामसी परिकार दरको रूपमा खाने चलन राम्रो होइन । 

होटलमा खानु नै त नराम्रो होइन । आजकल कामकाजी महिला हरुलाई समयको कमी हुन्छ । दरका परिकार घरमा पकाएर खान खुवाउन । यसको विकल्प होटलमा गएर खाने खुवाउने पक्ष रामै्र हो तर आडम्बर झल्किनेगरि भव्य पार्टी गर्नु र महँगो मदिरा र मासुको सट्टा सादा सात्विक खाना पनि दरको रूपमा खान सकिन्छ । मासु मदिरा जस्ता तामसी परिकारले हाम्रो मन मस्तिष्कमा तमोगुण उत्पन्न हुन्छ । यस्ता तामसी वस्तु हाम्रो धार्मिक अवसरमा, व्रत तीर्थमा वर्जित पनि छन् । यस्ता वस्तुले हाम्रा मन, शरीर, विचार, सबै असुद्ध बनाउँछन् ।  सकेसम्म यस्ता वस्तुहरू प्रयोग गर्नु राम्रो होइन ।

तीजको नाममा महँगो लुगा, किमती गरगहना लगाएर भड्किलो बनाउनै पर्छ भन्ने पनि छैन । कतिपय महिलाहरूको सोच तीजमा नयाँ महँगो साडी, गरगहना किन्ने हुन्छ । अरूको देखासिकीको पछिलाग्नु राम्रो होइन । आफ्नो क्षमता अनुसारको खर्च गर्नुपर्छ । महँगो साडी र कीमती गहना लगाएर मात्र तिज रमाइलो हुन्छ भन्ने होइन । घरैमा भएका पुरानै गरगहना, सुती धोती लगाएर पनि तीज रमाइलोगरि मनाउन सकिन्छ । पुरानो नै भए पनि शुद्ध र सफा हुनु ठुलो कुरा हो । यसो गर्दा अनावश्यक र फाल्तु खर्च कटौती हुन्छ र बचत पनि हुन्छ । सानो बचतले पनि भविष्यमा ठुलो सहयोग हुनसक्छ । 

कतिपय श्रीमानहरु तीजको बेला श्रीमतीको नयाँ साडी र आाधुनिक गहनाको माग पूरागर्न रिनमा डुब्न पनि बाध्य छन् । रिन बोक्ने श्रीमानमात्र भएपनि यसको नकारात्म असर पुरै परिवारमा पर्न सक्छ । रिन लिन जति सजिलो हुन्छ तिर्न त्यति नै समस्या । श्रीमान श्रीमती बिच कलह शुरुहुन बेर लाग्दैन । यसबाट बिस्तारै बिस्तारै सम्बन्धमा पनि दरार पैदाहुनु कुनै ठुलो कुरा हैन । अनि स्वर्गजस्तो घर नर्क अनि ढुकुरकोजस्तो जोडी कुकुर बिरालाकोजस्तो नहोला पनि भन्न सकिन्न । त्यसैले आ–आफ्नो क्षमतानुसार र आफ्नो घरमा जे जस्तो छ त्यसैमा सन्तुष्ट भएर हाँसिखुसी चाड मनाउनुपर्छ । 

तीजको ब्रत बस्दा पनि देखासिकी गर्नुहुन्न । न त हजुरआमाहरुकै नीति अपनाउनै पर्छ भन्ने छ । दिनभर भोकै, प्यासै बस्नु पनि कति महिलाहरुकालागि कठिन हुन्छ । आजभोलि विभिन्न रोगले गर्दा भोकै बस्न नसकिने हुन्छ । औषधी खानकोलागि खानेकुरा खानुपर्ने हुन्छ । आफनो् शरीरको अवस्था बिचार गरेर के गर्दा सजिलो र सहज हुन्छ त्यसैगरि ब्रत लिनुपर्छ । 

तीजको व्रत नै आफ्नो श्रीमानमा समर्पित हुन्छ । श्रीमानको लामो आयु, सुस्वास्थ, दीर्घायु, र प्रगतिको कामनाकासाथ सबै श्रीमतीहरुले लिन्छन् । ब्रतका दिन पानी र अन्य खानेकुरा खाँदा आफ्नो श्रीमानको रगत र मासु खाएजस्तै हुन्छ, पाप लाग्छ, अन्तमा श्रीमानको खुट्टाको पानी खाएर ब्रत तोड्नुपर्छ भन्ने जुन अन्धविश्वास छ त्यो ब्रतको नाममा भएको अन्धविश्वासलाई बढावा दिनुहुन्न । पहिला बुझ्नुपर्छ । बुझेपछि के उचित हो त्यही गर्नुपर्छ । हजुरआमाकै पालाका चलनलाई कपि पेष्ट गर्ने होइन कि त्यसलाई फिल्टर गरेर उचित कुराकोमात्र पछि लाग्नुपर्छ । 

भोकै, तिर्खै, बसेर, आफ्नो शरीर सुकाएर, अशक्त भई–भई श्रीमानको नाउँमा व्रत बस्दैमा आफू जन्मदै लिएर आएको लोग्नेको आयु बढ्दैन पनि र कुनै खानेकुरा खाँदैमा घट्दैन पनि । अनि खुट्टाको पानी पवित्र मानेर खानैपर्छ भन्ने पनि होइन । वास्तवमा खुट्टा भनेको हाम्रो शरीरको सबभन्दा तुच्छ र अपवित्र वस्तु । त्यसैले त शरीरको सबैभन्दा तल हुन्छ । अनि यस्तो अपवित्र र तुच्छ चिज पखालेर खाँदा व्रतमा झन अपवित्र हुन्छ । हामीले यस चलनलाई सही मानेमा बुझ्नुपर्छ । कति अनौठो र अपाच्य छ चलन । कि आफनो पत्निीका शरीरका सम्पूर्ण अंगहरुचाहिँ श्रीमानले छुन हुने रे खुट्टाचाहिँ छुन पनि नहुने रे । अनि श्रीमतीलेचाहीँ त्यो खुट्टा पखालेर पानी खानुपर्ने रे । त्योपनि व्रत बसेर पवित्र भएको बेला । के यो दासताको पराकाष्टा हैन र ?? अनि हामीजस्ता पढेलेखेका आधुनिक भनाउँदा महिला–पुरुषहरुले चुपचाप यो परम्परा मान्ने त ? पतिप्रति माया, प्रेम, सद्भाव, सहयोग हुनु नै धर्म होइन ?  

सबै महिलाहरूले आफ्नो अन्र्तआत्मालाई स्वीकार भएको कुरामात्र गरौँ । आफ्नो परिस्थिति, शरीर अनुसार सहज र सरल तरिकाले व्रत बसौँ । सुखी हाँै । खुसी हौँ । सात्विक भोजन र शुद्ध पहिरणले सुबिचार उन्पन्न हुन्छ । सुबिचारले सकारात्मक सोच पैदा हुन्छ । सकारात्क सोचले सँधै खुसी बनाउँछ । खुसी भएपछि सुखी आफैँ भइन्छ । जीवनको सुखको साँचो नै यही हो ।  
सम्पूर्ण महिलाहरूलाई तीजको हार्दिक मङ्गलमय शुभकामना ।।।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक