Similar Articles

टीपीएस र अध्यागमन जेलमा रहेका १ सय ११ नेपालीको भविष्य--एटर्नी बासु फुलारा

बिराट नेपाल

म धेरै राज्यहरूमा अध्यागमनका मुद्दाका सन्दर्भमा पुग्ने गरेको छु । झण्डै दुईदर्जन राज्यहरूमा अध्यागमनका मुद्दाका सन्दर्भमा म पुगेको छु । टेक्सासदेखि साउदर्न बोर्डरहुँदै बफेलोसम्मका कैयन अध्यागमन जेलहरुमा म पुगेको छु । हालै खसोखास साप्ताहिकमा प्रकाशित र खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले प्रदान गरेको तथ्याङ्क हेर्दा अमेरिकका अध्यागमन जेलमा रहेका नेपालीहरूको सङ्ख्या १ सय ११ रहेको छ । अमेरिकाका २९ वटा अध्यागमन जेलमा ती नेपालीहरू रहेका छन् । अध्यागमन जेलमा भएका अधिकांश नेपालीहरू मेक्सिकोको बाटोहुँदै गैरकानुनी रूपमा सीमा पार गरेर अमेरिकामा आउनेहरु छन् । अध्यागमन जेलहरुमा पुगेर नेपालीहरुसँग कुराकानी गर्दा अधिकांशले मेक्सिकोबाट अमेरिकामा छिर्दै गर्दा पक्राउ परेको बताउने गरेका छन् । टेक्सासको सिमानादेखि एरिजोनाको सिमानासम्मबाट गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्दा उनीहरू पक्राउ पर्ने गरेका छन् । उनीहरूले आफू नेपालमा जान नसक्ने अवस्था भएकाले अमेरिका आएको कुरा हामीसँग बताउने गरेका छन् । उनीहरूका मुद्दाहरू अदालतमा पनि पेन्डिङ अवस्थामा रहेका हुन्छन् । कतिजना धरौटीमा रिहा भएका पनि छन् । धरौटीमा रिहा भइसकेपछि उनीहरूले आफ्नो स्थान परिवर्तन पनि गर्छन् । उदाहरणका लागि टेक्सासबाट अमेरिका छिरेकाहरु पक्राउ परेर धरौटीमा रिहा भएपनि न्यु योर्क आएर न्युयोर्ककै अदालतमा उनीहरूको मुद्दा सारेको पनि पाइन्छ । डिटेन्सन सेन्टर (अध्यागमन जेल) वरपर वा त्यो क्षेत्रमा बस्ने गरेको कमैमात्र देखिएको छ । मुख्य हब टेक्सास, एरिजोना लगायतका क्षेत्र भएपनि केही बन्दीहरूलाई न्युयोर्कको बफेलोमा पनि सार्ने गरेको छ ।
 
अध्यागमन जेलमा एकदुईजना बस्ने भन्ने हुँदैन । त्यहाँ सामूहिक रूपमा धेरै मान्छेहरूलाई राखिएको हुन्छ । त्यहाँ प्रदान गरिने खाना स्वास्थ्यवर्धक नै हुने सुनिने गरेको छ । जेलभित्र अरू खाले समस्याहरू भएपनि खानाबारे जेलभित्र रहेका नेपालीहरूले गुनासो गरेको मैले सुनेको छैन । मैले खानपिन र स्वास्थ्यउपचारबारे बेलाबेलामा सोध्ने पनि गरेको छु । उनीहरूले एउटै कोठामा धेरैजना हुँदा मिलेर बस्नुपर्ने र धेरैजना भएका कारण समस्या हुने गरेको बताएपनि खानाका बारेमा गुनासो गरेका छैनन् । तर जेल भनेको त जेल नै हो । बाहिरजस्ता् जेलभित्र स्वतन्त्रता हुने कुरा भएन । स्वास्थ्य र खानाका बारेमा नेपालीहरूले खासै कम्प्लेन गरेका छैनन् ।
 
युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले छापामार्दा भिसा अवधि भन्दा धेरै बसेका वा अध्यागमन कानुन उल्लंघन गरेकाहरु पनि पक्राउ पर्ने गरेका छन् । तर त्यसरी पक्राउ परेका नेपालीहरू थोरैमात्र छन् । अधिकांश सिमाक्षेत्रबाटै अमेरिका छिर्नेहरु रहेका छन् । नेपालीहरूको आपराधिक इतिहास त्यति धेरै देखिदैन । आइसले छापामार्दा वा कुनै राज्यमा कसैले अपराध गरेको छ भने बन्दीगृहमा राखिएका त्यस्ता नेपालीहरू १० देखि १५ प्रतिशत रहेका छन् । तर प्रायजसो बन्दीगृहमा रहेकाहरु अध्यागमन कानुनको उल्लंघन गर्दै सिमाक्षेत्रबाट छिरेकाहरु नै छन् । मेक्सिको लगायतका देशका व्यक्ति पटकपटक डिपोर्टेशनमा पर्दा पनि अमेरिका छिरेको इतिहास भएपनि प्रायजसो निरिक्षण विना छिरेकाहरु (ईडब्लुआई) का नेपालीहरूका सन्दर्भमा उनीहरूको पुरानो त्यस्तोखाले इमिग्रेशन इतिहास देखिदैन । नेपालीहरूले अपराध गरेको कमै रेकर्ड छ । उनीहरूलाई केहीसमय इमिग्रेशन जेलमा १५ सय देखि पच्चिस तीस हजार डलर सम्म धरौटी तोकेर रिहा गर्ने गरिएको पाइन्छ । यसरी धरौटीमा छुट्ने नेपालीहरू धेरै छन् । यदि उनीहरू धरौटीमा छुटेका छैनन् भने उनीहरूका लागि व्यक्तिगत सुनुवाइको मिति दिइन्छ । एसाइलम फाइल गरेका व्यक्तिलाई धरौटीमा रिहा गरिएन भने उनीहरूको अदालती सुनुवाइ अलिक छिटो हुने गरेको पनि देखिएको छ । नेपाललाई अमेरिकी सरकारले टीपीएस प्रदान गरिसकेपछि माहौल अलिकति नयाँ बनेको छ । हामीले जेलमा रहेका केही नेपालीको प्रतिनिधित्व गरेर टीपीएसका लागि आवेदन दिएका छौँ । तर टीपीएस आउँदैमा अदालतबाट छुट्ने भन्ने नहुन सक्छ । न्यायाधिसले त्यसबारे समझदारी त गर्न सक्छ । तर न्यायाधिसलाई टीपीएस दिने अधिकार हुँदैन । टीपीएसबारे काम गर्ने होमल्याण्ड सेक्युरिटी अन्तरगत युएससीआईएसले हो ।

अध्यागमन जेलमा कोही नेपालीहरू छिट्टै छुट्छन् भने कोही महिनौंसम्म पनि छुट्न सकेका हुँदैनन् । यो मुद्दाहरूमा भरपर्छ । कतिपयको अध्यागमन इतिहासमा कुनै खराबी नहुँदानहुँदैपनि धरौटीमा रिहा नगरेका घटनाहरू छन् । अध्यागमन जेलमा राख्नुको अर्थ मुद्दा लम्बाउने भन्ने होइन । कानुनी रूपमा पनि अध्यमगन जेलका मुद्दाहरू अत्यन्तै छिटो हेर्ने गरिएको छ । औंठाछाप लिएर पृष्ठभूमि परीक्षण गर्दा पनि अध्यागमन जेलमा बाहिरजस्तो ढिलो हुँदैन । कुनै अवस्थामा १ वर्ष वा त्यो भन्दा पनि ढिलो अवधिसम्म नेपालीहरूलाई अध्यागमन जेलमा राखिएको पाइन्छ । तर अध्यागमन जेलमा त्यहाँभित्रको खाना खुवाएर धेरै समय राख्ने सरकारी अवधारण होइन । यदि कोही व्यक्ति आपराधिक मुद्दामा छ, अध्यागमन इतिहास खराब छ भने जेलभित्र राख्ने अवधि लम्बिन पनि सक्छ । धरौटीमा रिहा गर्नका लागि अनुरोध गरिएपछि कतिपयलाई त पैसा नलिइकनै पनि रिहा गरिएको पाइन्छ । धरौटीमा रिहा गरिएन भने र त्यो व्यक्ति एसाइलमका लागि योग्य छ भने एसाइलमको आवेदन दिन सक्छ । एसाइलमको मुद्दा जितेमा विना धरौटी ग्रिन कार्ड नै पाउनेगरी रिहा गरिन्छ । तर एसाइलमका लागि योग्य नभएमा वा एसाइलमको मुद्दा हारेमा उसलाई डिपोर्ट गरिन्छ ।

अहिले अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जा प्रदान गरिसकेपछि अध्यागमन जेलमा रहेका नेपाली बन्दीहरु पनि टीपीएसको आवेदनका लागि योग्य भएका छन् । तर उनीहरूले टीपीएसका लागि प्रक्रिया अपनाउनुपर्छ । टीपीएसको दर्जा प्रदान गर्नासाथ म टेक्सासको सिमाक्षेत्रमा रहेका जेलमा रहेका नेपालीहरूलाई भेट्न गएको थिएँ । हामीले इमिग्रेशन जेलमा रहेका कैयन नेपालीका टीपीएस केसको प्रतिनिधित्व गरिरहेका छौँ । जेलमा रहेका कैयन नेपालीहरूलाई पनि रिहा गर्न थालिएको छ । टीपीएस आवेदनबारे अन्तिम निर्णय नभएपनि जेल प्रशासनले टीपीएसको अवधारणालाई मान्यता दिदै आवेदन दिएका नेपालीहरूलाई रिहा गर्न थालेको छ ।

जेलमा रहेका नेपालीले टीपीएस आवेदन नदिएमा त्यो व्यक्ति धरौटीमा छुटेपछि उसको मुद्दाबारे फैसला हुन्छ । मुद्दाको फैसलापछि धरौटीबापत राखेको रकम फिर्ता पाउन सकिन्छ । धरौटीको सुनुवाइ र एसाइलमको सुनुवाइ फरक फरक हुन्छ । कुनै पनि बन्दीको वकिलले धरौटीमा छुटाउनका लागि आवेदन दिनसक्छ । अफिसरले धरौटीमा रिहा गर्न अस्वीकार गरेमा त्यो मुद्दा अदालतमा जान्छ । त्यतीबेला धरौटीको सुनुवाइमा न्यायाधिसले पनि धरौटीमा रिहा नगर्ने फैसला गरेमा व्यक्ति बन्दीगृहभित्रै बसिरहनुपर्छ । धरौटीमा रिहा गर्ने फैसला भएमा धरौटी राखेर व्यक्ति रिहा हुन्छ । धरौटीमा रिहा भएको व्यक्तिले एसाइलम वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएमा उसलाई देश निकालाको फैसला हुन्छ । तर अहिले टीपीएसका लागि आवेदन दिएमा र त्यस्तो आवेदन स्वीकृत भएमा भने उसले टीपीएस अवधिभरका लागि अस्थायी सुरक्षा प्राप्त गर्छ । धरौटीमा रिहा भएपनि रिहा नभएपनि एसाइलम वा टीपीएस फाइल गरेको छैन वा फाइल गरेर पनि स्वीकृत भएन भने उसको भविष्य डिपोर्टेशन नै हो ।

(यो सामाग्री खसोखास साप्ताहिकमा प्रकाशित अन्तरवार्तामा आधारित छ । यसमा प्रदान गरिएका जानकारीहरु कानुनी सल्लाह होइनन् । कानुनी सल्लाह चाहिएको खण्डमा एटर्नी बासु फुलारालाई उहाँको इमेल bp@chhetrlawy.com वा फोन नम्बर 718 440 5754 मा सम्पर्क गर्न सकिनेछ ।- सम्पादक)



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक