Similar Articles

आतङ्कवादमा केन्द्रित हुँदै अमेरिकी निर्वाचन

बिराट नेपाल

काठमाडौँ, असार ४ गते । अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा गएको आइतबार भएको आमनरसहांरस्थलको भ्रमणपछि राष्ट्रपति बाराक ओबामाको प्रतिक्रिया आयो– डोनाल्ड ट्रम्पको चुनाव प्रचार नीतिले देशमा उत्तेजना फैलाउने काम बढी गरेको छ ।

उहाँले भन्नुभयो, ट्रम्पको शैलीले यतिखेरको निर्वाचन अभियानमात्र होइन कि यसले देशमा असुरक्षाको खतरनाक अवस्था पनि ल्याउन सक्छ । उहाँले ट्रम्पको निर्वाचन प्रचार शैलीको बिहीबार खुलेरै विरोध गर्नुभयो ।

ओल्र्याण्डोमा रहेको समलिङ्गीहरुको एक रात्रि क्लबमा एक २३ वर्षीय युवकले गोली चलाउदा त्यहाँ रहेका ४९ जना निर्दाेष नागरिकको ज्यान गएको थियो । त्यसमा परी कम्तीमा पनि ५३ जना मानिस घाइते भएका छन् र तीमध्ये अधिकांश अझैपनि उपचाररत छन् ।

अमेरिकामा पछिल्ला वर्षहरूमा समय समयमा हुने गरेका यस्ता गोलीकाण्डमध्येको एक ठुलो नरसंहार हो यो । हालैका दिनमा राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड ट्रम्पले गरेको प्रचारको शैली आक्रामकमात्र नभएर हिंस्रक हुनसक्ने भन्दै राष्ट्रपति ओबामाले आफ्नो अभिव्यक्ति त्यसतर्फ सङ्केत गर्नुभएको हो ।

ओल्र्याण्डोमा मारिएका व्यक्तिका परिवारजनसँग राष्ट्रपति ओबामाले यो बन्दुक आतङ्कले मुलुकभित्र अतिवादीहरुको जन्म दिइरहेको र त्यसको फाइदा अरू विदेशी आतङ्कवादी र अतिवादीहरुले लिइरहेको गुनासो गर्नुभयो । आफ्नो कार्यकालमा यो अमेरिकी नागरिकको हातको बन्दुक खोस्नका लागि गरेको आफ्नो प्रयासको अवरोध पनि रिपब्लिकनहरु नै भएको र त्यसलाई झनै पछिल्लो पटक ट्रम्पले प्रचारात्मक शैलीमा नै प्रतिरक्षा गर्ने गरेको बताउनुभयो ।

उहाँको यो प्रतिक्रियाको भोलिपल्टै ट्रम्पले पनि अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउने भनी यसअघिदेखि गर्दै आउनुभएको दाबीको बचाउ गर्नुभयो । उहाँले होस्टनमा शुक्रवार रिपब्लिकनले निकालेको ¥यालीमा आफ्नो पूर्वघोषित नीतिको बचाउ गर्नुभएको हो ।

फ्लोरिडा राज्यमा हालै भएको बन्दुककाण्डपछि पनि उहाँले आफ्नो नीतिको बचाउ गर्दै भन्नुभयो– यदि त्यो रात्रि क्लबका सञ्चालकहरुसँग नै आवश्यक मात्रामा हतियर भइदिएको भए त्यो नरसंहार हुन पाउदैनथ्यो ।

साथै उहाँले आफ्नो अध्यागमनसम्बन्धी मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गर्नुपर्छ भन्ने नीतिको पनि सो ¥यालीमा बचाउ गर्नुभयो । उहाँले भन्नुभयो, म मेरो पुरानै नीतिमा अडिग छु, मेक्सिकोसँग पर्खाल निर्माण गर्नैपर्छ र यदि त्यसो गरियो भने मात्र अमेरिका हत्या, हिंसा र डकैतीका धेरै प्रकोपबाट बच्नसक्छ ।

ट्रम्फले सन् २०१५ को अगष्टमा आफ्नो आप्रबासीसम्बन्धी नीति सार्वजनिक गर्दै म्याक्सीकोसँगको सीमामा पर्खालै बनाउने बताउनुभएको थियो । अमेरिकासँगको सीमामा विशाल पर्खाल बनाउने र त्यसको खर्च समेत म्याक्सिकोबाट भराउने घोषणा उहाँले गर्नुभएको हो । अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी मेक्सीकन आप्रबासीलाई त उहाँले लागू औषध तस्कर र अपराधीको समेत आरोप लगाउनुभएको थियो । उहाँको मुख्य निशाना मुस्लिम समुदायका नागरिप्रति पनि छ र आफ्ना भाषणहरुमा भन्दै हुनुहुन्छ कि मुस्लिमका कारण नै अमेरिकामा असुरक्षा र हत्या हिंसा मच्चिँदैछ, मुस्लिम नागरिकलाई छिर्न नदिएपछि सबैकुरा ठिक हुन्छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा अल कायदाले आक्रमण गरी तीन हजार भन्दा बढीको ज्यान लिएपछि अमेरिकाले आतङ्कवाद विरोधी अभियान सुरु ग¥यो । खासगरी त्यो आतङ्कवाद विरोधी अभियानले मुस्लिम भावना विरोधीको रूप ग्रहण गरेकोजस्तो देखिदै आएको थियो र आजका दिनसम्म पनि यस्तो प्रकारको भावना देखिन्छ ।

अहिले त्यही भावनाले अमेरिका र मुस्लिम संसारका बिचमा एउटा निकै ठुलो पर्खाल निर्माण गरिदिएको छ । अमेरिकाले आतङ्कवाद विरोधी कानुन ल्यायो र ओसामा बिन लादेन खोज्ने अभियानको थालनी ग¥यो । चार वर्षअघि अमेरिकाले पाकिस्तानमा आएर त्यो काम सम्पन्न गरेपछि ओबामाको दोस्रो कार्यकालको निर्वाचन लड्ने प्रमुख एजेण्डामध्येको एउटा त्यो पनि बन्न पुगेको थियो । 

अहिले पनि अमेरिकामा लडाइको शृंखला रोकिएको छैन । लडाइँ लड्नका लागि अमेरिकाका लागि फेरि अर्काे आतङ्कले जन्म लिएको छ आइएस नामको । यही आतङ्कका विरुद्ध लड्ने प्रतिबद्धता अहिलेका अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारले व्यक्त गरेका छन् । ट्रम्पले यस्तो आतङ्कलाई देशभित्र प्रवेश गर्न नदिनलाई अमेरिकामा मुस्लिमलाई नै प्रवेश गर्न दिन नहुने धारणा राख्नुहुन्छ भने डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलरी क्लिन्टनले पनि यस हिंसाका विरुद्धमा लड्नका लागि आफू अमेरिकी नागरिकको साथमै रहेको बताउने गर्नुहुन्छ । अमेरिकालाई सबै नागरिकको संयुक्त राज्य बनाउने अठोट गर्ने क्लिन्टनले तर पनि मुस्लिम वा मेक्सिकन नागरिकप्रति भने कुनै पनि किसिमको विभेद गर्न नहुने बताउनुहुन्छ । 

विश्व महाशक्ति अमेरिकामा अगामी नोभेम्बर ८, मा हुन लागेको राष्ट्रपतीय चुनावको अधिकांश विषय आतङ्ककवादका विरुद्धमा नै केन्द्रित भएको देखिन्छ । ४५ औं राष्ट्रपतीय चुनावको प्रतिस्पर्धामा पार्टीको तर्फबाट आधिकारिक उम्मेद्वारको चयन गर्न रिपब्लीकन र डेमोक्र्याट पार्टीको आन्तरिक चुनावी प्रक्रिया जारी रहेको भए पनि हालसम्म बलियो रूपमा मैदानमा रहेका हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्नेमा लगभग निधो भएको छ । तर, यसपालिको चुनावी परिणाम र उम्मेद्वारलाई पनि विगतका जस्तै आतङ्कवादका विरुद्ध लड्ने शक्तिशाली अभियान नै हो भनेर हेर्दा कुनै गल्ती हुनेछैन । 

सन् २०१५ डिसेम्बरमा ट्रम्पले आफ्नो निर्वाचन अभियानको सुरुवात एक विवादास्पद प्रस्तावबाट सुरुवात गर्नुभयो र भन्नुभयो– मुस्लिमहरुलाई पूर्णत अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ र अमेरिकामा रहेकालाई पनि कडा निगरानी गर्नुपर्छ । यसरी उहाँको यो निर्वाचन अभियानको सुरुवात नै आतङ्कवादलाई निर्मूल पार्छौँ भन्ने प्रतिबद्धताबाट सुरु भएको छ । 

ट्रम्पका यी आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिर पनि तरङ्ग ल्याएको छ । उहाँले अमेरिकामा हाल बसिरहेका अवैध आप्रवासी सबलाई देश निकाला गर्नेभनी दिएको अभिव्यक्तिले भित्र मानिस तरंगति पारेको छ भने मेक्सिको, दक्षिण कोरिया र जापानलाई पनि अमेरिकी सेनाको सुरक्षाबाट लाभान्वित हुने नभई सुरक्षाको व्यवस्था आफै गर्न पनि चेतावानी दिनुभएको छ । यी अभिव्यक्तिबाट अमेरिकाको कूटनीतिक सम्बन्धमा अहिलेसम्मकै सबैभन्दा धेरै असर पारेको प्रतिक्रिया दिएका छन् । यस अवस्थालाई नै डेमोक्रयाटहरुले यदि यस्तै हो भने मुस्लिमका कारण नभएर ट्रम्पकै कारण अमेरिकामा हिंसा मच्चिन सक्ने धारणा राख्ने गरेका छन् । 

डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनको अभिव्यक्ति त्यति तातो त छैन तर उहाँले पनि यसरी अभिव्यक्ति दिनेक्रममा आतङ्कवादी क्रियाकलापलाई अमेरिकाबाट सदाका लागि अन्त्यगर्ने र अमेरिकी नागरिकमा यस्तो कुनै पनि भयको अवस्था नहोस भनरे भने आफू लड्ने बताउनुुहुन्छ । गत जनवरीमा आफ्नो निर्वाचन अभियानको सुरुवात गर्दै उहाँले भन्नुभएको थियो– देशलाई आतङ्कवादीको छायाँबाट मुक्त गर्न म सबै अमेरिकीका लागि लड्ने छु । 

क्लिन्टनले विशेषगरी आप्रवासीसम्बन्धी कानुनलाई खुकुलो बनाउने वर्तमान राष्ट्रपति बाराक ओबामाको नीतिदेखिकै निरन्तरताको कुरा बढी गर्नुभएको छ । उहाँ अमेरिकामा आप्रवासीसम्बन्धी कानुनको नरमपन्थी हुनुहुन्छ । उहाँ मुस्लिमहरुका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको पनि विरोधी हुनुहुन्छ । सबै मुस्लिम आतङ्ककारीको कोटिमा राखिनु अराजकता मात्र हो भन्नुहुन्छ । अमेरिकामा बस्ने संसारका सबै नागरिकले संयुक्त राज्यमा बस्ने अनुभूति पाउनुपर्छ भन्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । 

अमेरिकामा बसिरहेका अल्पसंख्यकहरु इतिहासमै सबैभन्दा बढी निषेधका रूपमा जिउनुपर्ने लक्षणहरु आफूले देखिसकेकोले अबका दिनमा आफूले त्यसो हुन नदिने उनको प्रतिबद्धता छ । ट्रम्पको अभिव्यक्तिले तर्सिएका कैयौँ नागरिक यतिखेर हिलरीको आश्वासनको ओतलाग्न पुगेका पनि बताउन थालिएको छ । अमेरिकी अर्थतन्त्रलाई संसारको बलियोकैरुपमा राखिराख्न अब केही गर्नु जरुरी देखिन्छ भन्दै उहाँले त्यसतर्फका आफ्ना पाइलाहरू आगामी दिनमा दरिलोगरी अघि बढ्ने धारण राख्दै आउनुभएको छ । (बाँकी) 

अमेरिकामा अहिले पनि मुस्लिम भावना भड्किएको अवस्था छ । ओल्र्याण्डोमा एक जना मुस्लिमले कम्तीमा पनि ४९ जनाको हत्या गरेको छ । उसले सेप्टेम्बर ११ कै नाम लिएर यो नरसंहार निम्त्याएको थियो । डेढ दशक अघिको त्यो हिंसा र त्यसले रोपिदिएको मुस्लिम विरोधी भवनाको चर्चा यस समयमा पनि राष्ट्रपतिका उम्मेदबारबीच छँदै नै छ । त्यसैले अमेरिकी निर्वाचनलाई नियाल्नेहरुले अहिले पनि यहाँ आतङ्कवादलाई नै प्रमुख एजेण्डका रूपमा अघि सारिएको रूपमा पनि हेर्ने गरेका छन् । रासस/विभिन्न एजेन्सीहरुको सहयोगमा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक