Similar Articles

बिचार

त पनि पोईला जानी भईस् अमेरिका बाबु -प्रकाश श्रेष्ठ

बिराट नेपाल

विनयले २०५६/५७ ताका त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर प्रथम वर्ष पढ्ने क्रममा पहिलो पटक अमेरिका जानको लागी "डिभी चिट्ठा" भरेको थियो । पहिलो पटक उसको चितवनको साथी मार्फत त्यो चिट्ठा भर्नेबारे र यदि छनौटमा परेमा अमेरिका जान पाउने अनि जाँदा बित्तिकै स्थायी बसोबास सम्बन्धी पी.आर.(ग्रिन कार्ड) पाउने बारे पनि जानकारी पाएको थियो । त्यतीवेला अहिले जस्तो अनलाइन माध्यमबाट डाईरेक्ट इन्टरनेटको प्रयोगबाट फर्म भर्ने चलन थिएन । त्यतीवेला त निश्चित फर्मेटमा इन्टरनेटमा "U.S. Department of State " ले तोकीदिएको ढाँचाको फारममा आवश्यक जानकारीहरु भरेर प्रिन्ट आउट निकालेर खाम भित्र राखेर तोकिएको साईजको पासपोर्ट फोटो समेत संलग्न गरी हुलाक मार्फत उक्त Department of State को नाममा पठाउनु पर्दथ्यो । केही वर्ष यसरी नै नियमित उसले डिभी भरेर पठाउने काम गर्‍यो र केही वर्ष पछि अनलाइन मार्फत डाईरेक्ट फर्म भर्ने सुविधा पनि आयो साथै त्यस्तो फर्महरु भरेर पठाउने सेवादायक व्यापारिक संस्थाहरू पनि जिल्ला सदारमुकाम लगायत पोखरा, काठमाण्डौ लगायत प्रमुख सहरहरूमा धेरै स्थानमा खुलेकोले त्यस्तो डिभी फर्महरु भरपर्दो र सही तरिकाले भरेर पठाउन सकिने अवस्था पनि आयो । उसले प्रायः पोखरा, काठमाण्डौ र उसकै जिल्ला सदरमुकाम बाग्लुङमा त्यस्तो डिभी चिट्ठा फर्म भर्ने काम गरेको थियो । 
          
अमेरिका जाने तीव्र इच्छा र अमेरिका गएर आएकाहरुले त्यहाँको बारे बताएका रंगीचंगी कुराहरू र उनीहरूले सहर-बजारमा जोडेको घरघडेरी बारे सुन्दा विनयको मन पनि अमेरिकी काल्पनिक आकाशमा उडिरहेको थियो । नउडोस् पनि कसरी केवल १००/१५० रुपियाँ खर्च गरेर भरेको फर्म " बाइ चान्स " विजेतामा छानियो भने त सपना र अवसरको भूमि अमेरिका चुट्कीको भरमा जान पाइने भयो । यस्तै सपना साँचेर निरन्तर ८/९ पटक फर्म भर्दा उसलाई २०६५ सालमा डिभी चिट्ठाको पहिलो लेटर आयो र आवश्यक जानकारीहरु सहित प्रक्रिया पुरा गरी पुन फर्महरु भरेर पठाए पछि दोस्रो लेटर पनि उसलाई प्राप्त भयो र तोकिएको समयमा स्पोन्सर सहित सपरिवार ईन्टरभिउ अमेरिकन एमवेसीमा गएर दिए पछि उसलाई सपरिवार सहित भिसा समेत लाग्यो । 
  
ईन्टरभिउमा समावेश हुनु पहिला स्पोन्सरको आवश्यक कागजात उसकै गाउँले नातेदार दाइ जो अमेरिका सपरिवार केही वर्ष पहिला देखि बस्दै आएका थिए उनैबाट प्राप्त भएको थियो । उसका गाउँले दाइलाई समेत डिभी चिट्ठा नै परेर अमेरिका आएका थिए र उनी अमेरिकाको मेरिल्याण्ड राज्यमा सपरिवार बस्दै आएका छन् । उनीहरूले सुरु देखिनै कडा मिहिनेत गरेर अमेरिका आएको केही समय पछि आफ्नै व्यवसाय पनि सञ्चालन गरेका थिए अर्थात् ग्याँस स्टेसन नामको व्यवसाय सञ्चालन गरेका थिए  र त्यस व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएर आफ्नै आकर्षक घर पनि खरिद गरेका रहेछन् साथै दुईवटा छोरा-छोरी पनि राम्रो कलेजमा आईटी विषयमा पढ्दै रहेछन् । सरसर्ती हेर्दा उनको आर्थिक हैसियत र प्रतिष्ठा नेपाली समुदाय बिच राम्रो देखिने रहेछ । 

सपरिवार भिसा लागेर अमेरिका जाने अवसर पाउँदा एक हिसाबले विनयको परिवार निकै खुसी देखिन्थे । स्वाभाविक पनि  हो, सामान्य अस्थायी शिक्षकको रूपमा राहत दरवन्दीमा मावि तहको स्थानीय स्कुलमै ६-७ वर्ष देखि पढाई रहेको व्यक्तिले जीवनमा कल्पानै नगरेको डिभी चिट्टा परेर अमेरिका जान पाउने मौका पाउनु उसको लागी त अकल्पनिय खुसीको कुरा नै भयो । उसका इष्टमित्र, नातेदारहरुले पनि उसलाई भेट्ने, फोन सम्पर्क गर्ने र बधाई दिने क्रम तीव्र हुन थाल्यो जसले गर्दा उसले आफू निकै भाग्यमानी संझिदै भगवान् र आफ्ना कुल देवतालाई मनै देखि श्रद्धाका साथ स्मरण गर्दै धन्यवाद दिएको थियो । हुन पनि लाखौ व्यक्ति मध्ये केही हजार व्यक्तिहरूमा उसको नाम छानिएको थियो । 

यो खुसी सँगै उसको परिवारमा वृद्ध र रोगी बाबु, आमा, हजुरआमा भने यो डिभी चिट्ठा परे देखिनै निकै दुखी देखिएका थिए किनकि उनीहरूलाई आड भरोसा दिने छोरो र उसका सपरिवार बिरानो मुलुक जाँदै थिए स्थायी बसोबास गर्नको लागी । उनीहरूको एक मनले नाति -नातिनीहरुको उज्वल भविष्यको लागी राम्रो अवसर मिलेकोमा खुसी मानेको थियो त अर्को मन बुढेसकालको साहारा बन्ने व्यक्ति सात समुन्द्र टाढा जाँदै गरेको र आफुहरु एक्लो जीवन बाँच्नु पर्ने नमिठो भविष्यको कल्पनाले रातदिन भित्रभित्रै मन रुवाएर विछिप्त भएर बसिरहेका थिए । त्यसमा पनि साहुको भन्दा ब्याजको माया बढी हुन्छ भन्ने उखान नै छ अर्थात् नाति नातिनीहरुको हजुरबा, हजुरआमाहरुलाई निकै माया लाग्छ भन्ने गरिन्छ । सायद त्यही भएर होला अझै उनीहरूलाई त्यस कुराले बढी दुखी र चिन्तित तुल्याएको थियो । कहिकतै छिमेकीकोमा जाँदा समेत कसैले लाहुरेले पठाएको मिठाई, चक्लेट खान दिएपनि आफूले नखाई धरो(पटुका) वा सारीको टुप्पोमा बाँधेर ल्याएर नातीनातीनीहरुलाई दिने गरेकी विनयकी आमा झन् उनीहरूको भिसा लागे देखि विछिप्त थिइन । 

भिसा लागेको केही दिनमा नै अमेरिका रहेका आफन्त गाउँले दाइसँग सरसल्लाह गरेर विनयले अमेरिका जाने सपरिवारको टिकट काट्यो र जनावरी ३० तारिक २००९ मा अमेरिका जाने टिकट उसको हातमा थियो । उसलाई २००८ डिसेम्बर पहिलो हप्तामा नै अमेरिकाको भिसा लागेको थियो । गाउँघरमा कुटो कोदालो, चुलो चौको गरेर बसेकी उसकी श्रीमती राधा र भरेखरै बोर्डिंग स्कुलमा पढिरेका उसका छोराछोरीहरु पनि उसका छिमेकी दाइको छोराछोरीहरुले अमेरिका बारे भन्दा सुनेका कुराहरू र घर परिवारमा अमेरिका बारे चलेका गफगाफ सुनेर उनीहरू पनि अमेरिका जान पाइने भयो भनेर फुरुगं थिए । 

यस्तै क्रममा एक दिन विनयका छिमेकी काकाले उसलाई घरमा भेट्न आएछन् र कुराकानीको सिलसिलामा उसलाई अमेरिका कहिले, कुन ठाउँमा र कसकोमा पहिलो पटक जाने बारे सबै कुरा सोधे छन् अनि उसले पनि सबै कुरा विस्तृतरुपमा बताएछ र अन्तमा उसको छिमेकी काका हर्क बहादुरले उसलाई भनेछन् बाबु सबै त कतार , दुबई, कोरिया , जापान आदी ठाउँमा केही समय बसेर पैसा कमाएर फर्केर आउनको लागी जान्छन् त भने सधैँ सपरिवार उतै बस्न "पोईला" जान पो थालिस् । त जस्तो डिग्री पढेको मान्छे नै गाउँ र देशनै छोडेर पोईला जाँदा भने मेरो कत्ति चित्त बुझेको छैन । कम्तीमा तेरो जागिर थियो, खेती किसानी गरेर खाने जग्गा/जमिन थियो, गाउँमै भए पनि केटाकेटीहरुले बोर्डिंग स्कुल पढेका थिए । किन, कत्रो भाउ खाम्ला भनेर तैले अमेरिका जाने सोचिस् खै ? पछि यही राहत दरवन्दी बाट पनि स्थायी शिक्षकको आयोग खुल्दा आवेदन दिएर लड्न पाउँथिस् , आखिर आमाबाबुको काख जस्तो प्यारो ठाउँ केही हुँदैन बाबु तेरो यो निर्णयमा म त्यति सन्तुष्ट छैन । 

हुनत: तैले केही न केही नयाँ कुरा सोचेर जाने विचार गरे होलास् अझै भाग्य चिट्टानै परिसकेपछि जाने विचार गर्नु अस्वाभाविक पनि हैन तर जति महत्वकांक्षी सोचले बाहिर जान थालेको छस् त्यो त्यहाँ पुगे पछि मिल्दैन बाबु । प्रदेश भनेको प्रदेशनै हो कसै गरी पनि आफू जन्मे, हुर्केको ठाउँ जस्तो हुन सक्दैन जसरी छोरी अर्काको घरमा विवाह गरेर जान्छे तर पनि सधैँ उ माईतीमै बस्न पाए हुन्थ्यो भनेर मनले सोचिरहन्छे र पछि नाता गाँसेर लगाएको माया को घरलाई भित्री मन देखि आफ्नो मान्न तयार भएको देखिदैन साथै सधैँ माईती घरको अभाव खड्की रहेको महसुस गरिरहेकी हुन्छे श्रीमानको घरमा, त्यही अवस्था तलाई त्यहाँ गएर बसे पछि हुनेछ मैले भनेको यो कुरा तलाई पछि साँचो लाग्नेछ । 

यतिका कुरा सुनिरहदाँ विनयको मन भरिएर आयो र भित्र भित्रै निकै मन कोक्काएर आयो अनि उसले मुखबाट केही शब्द निकाल्न सकेन । एकछिनको मौनता पछि उसले केही बोल्ने हिम्मत जुटायो र उसले प्रतिउत्तरमा भन्यो के गर्ने काका समयले मलाई विदेशिन बाध्य पार्यो, समाजले मलाई गाउँमै बसेर भविष्य सजाउने अवसर दिएन । राज्यको अस्थिर राजनैतिक अवस्था र भनसुन र चिनजानविना अनि चाकरीविना दशनंग्रा खियाएर खान समेत मुस्किल परेको अवस्थामा बरु विदेशीको गल्लीमै रगत र पसिना बगाएर स्वाभिमानपुर्वक श्रमको मूल्य लिएर बाँच्न सही लाग्यो मलाई र यो बाटो रोजे । मलाई थाहाँ छ म अमेरिका गई सकेपछि बेचैनले अवश्य बाँच्ने छैन हरपल मेरो गाउँको माटोको सुगन्धले मेरो मनलाई तानिरहने छ र भौतिक शरीर प्रदेशमा रहेर पनि मन र मस्तिष्क गाउँका घरआगनमानै हुनेछ तर पनि म एकपटक जानै पर्छ अनि प्रदेशको जीवनको यथार्थता भोग्नै पर्छ । अरूले भनेको सुनेर कल्पना गर्नुमा र आफैले भोगेर अनुभव गर्नुमा कति फरक हुँदो रहेछ त्यसलाई मनन गर्न पनि म यो अवसर र चुनौतीलाई साथमा लिएर अमेरिका जानै पर्छ काका भनेर उसले भन्यो । 

अमेरिका जानु भन्दा अगाडी भेट्नु पर्ने आफन्त, इष्टमित्र , साथीभाईहरु, छिमेकीहरुलाई भेटघाट गर्ने र आफू प्रदेश गएपनि समय-समयमा गाउँमा आउने जाने गर्ने कुरा बतायो । यसै क्रममा उसका दुई बहिनीहरू पनि उसलाई भेटघाट गर्न उसको घरमा आए साथमा भान्जा-भान्जी पनि साथै गाउँ देखि सहर गएर सानोतिनो व्यवसाय गरेर बसेको भाइ र भाइका परिवार पनि भेटघाटको लागी घरमा आए । सबै बसेर दु:ख,  सुखका बातचीत गरे त्यसै क्रममा उसका बहिनीहरू पनि निकै दु:ख र विलाउन गरी रोए । हुनपनि सधैँ तिहारमा टिका लगाई दिने बहिनीहरू र सघै माईती आउँदा रमाएर हाँसी मजाक गर्ने भाउजू, भतिजा-भतिजी समेत एकैचोटी घरको आगननै अध्यारो पारेर जान लाग्दा कुन दिदी-बहिनी, चेलीहरुको मन रुदै न होला त्यस्तै  भयो उनीहरूलाई पनि । उसले भाइ बहिनीहरूलाई बाबु, आमा, हजुरआमाको ख्याल गरिरहनु समय-समयमा आउँदै जाँदै गर्नु र ठुली बहिनी तेरो घर नजिकै भएकोले सकभर दिनको एकपटक त र भान्जा-भान्जीहरु आएर रेखदेख गर्नु भनेर उसले संझायो । 

अनि उनीहरू पनि दाजु विनयले  भनेका कुरामा सही थाप्दै यता घरको चिन्ता नलिनु बरु बिरानो ठाउँमा यतिका जहान/ परिवार एकैपटक खाली हात र मुठ्ठी लिएर जाँदा त्यहाँ गएर बस्न, खान असुविधा होला त्यसको चिन्ता हामीहरुलाई लागिरहेको छ भनेर भाइ, बहिनीहरूले भने । त्यसपछि उसले संझाउँदै भन्यो म जाने ठाउँमा छिमेकी दाइको आफ्नै घर र स्टोर रहेछ त्यसैले बस्न र कामको लागी समस्या पर्दैन उनलाई काम गर्ने मान्छे पनि चाहिएको रहेछ । गएको भोलिपल्ट देखिनै काममा जान सकिने र केही दिनमा काम सिकेर सजिलै स्टोरमा काम गर्न सकिने अनि काम गरेवापत सेलरी पनि पाइने हुँदा खासै समस्या पर्दैन बिस्तारै सबै व्यवस्था मिलाउन सकिन्छ त्यतातिरको चिन्ता नगर, बाटो लागे पछि भगवानले अवश्य साथ दिन्छन् । यदि भगवानको साथ भरोसा नभएको भए यतिका धेरै मान्छेहरू मध्ये म किन छानिएर जाने मौका पाउने थिए र ? तसर्थ ढुक्क हुनु अव हाम्रो खलकमा पनि अमेरिका जाने अवसर आएको छ यसलाई सकारात्मकरुपमानै लिउ । हुनत: मलाई पनि सबै परिवारका सदस्य बिचबाट टाढा जाने रहर त थिएन तर हाम्रा आफ्नै समस्याले जानु नै पर्ने बनायो । 

यसरी भेटघाट र जानको लागी आवश्यक तयारी गर्दा गर्दै विनयको अमेरिका जाने दिन पनि नजिकीदै गयो र उ र उसका सपरिवार घरबाट विदावादी भएर काठमाण्डौ तिर लाग्न थाले । घरमा निकै रुवावासी नै चल्यो, झटपट कहिल्यै सानो चोट नरुने विनयकी श्रीमती पनि निकै कोक्काएर रोई त्यसपछि बिदाइको हात हल्लाउँदै बाटो लाग्दै गर्दै उसको आमाले "बाबु परेवाको गुँडबाट बचेराहरु लिएर हिडिस् " तिनीहरूको राम्रो ख्याल गर्नु र हामीलाई माया नमार्नु भन्दा विनय  समेत भक्कानिएर रोयो । वास्तवमै त्यो समय निकै हृदयविदारक समय भएको थियो तर लामो दुरीको यात्रा तय गरिसकेकाले जसैपनि उनीहरू अगाडी बढ्नुनै थियो ।
 
अन्ततः घरबाट काठमाण्डौ जाने बाटो सोझाए र काठमाण्डौ आए अमेरिका उड्नु भन्दा केही दिन पहिला र  उसले काठमाण्डौ आईसके पछि आफू अनि सपरिवारको लागी चाहिने सामानहरू किनमेल गर्न भाइसँगै काठमाण्डौको विभिन्न स्थानको डिपार्टमेन्टल स्टोरहरुमा गएर  खरिद गर्‍यो साथै छिमेकी दाइ र भाउजूले अमेरिकाबाट फोनमा बताए अनुसारका सामानहरू पनि किनेर लैजानको लागी ४ वटा लगेजहरु, एउटा ह्याण्ड क्यारी सुटकेश पनि तयार गर्‍यो । समय बितेको पत्तै भएन अन्ततः उ जाने दिन आयो र सपरिवार काठमाण्डौमा रहेको केही आफन्त र भाइको साथमा एरपोर्ट पुगे अनि बेलुकी ४ बजे जनवरी ३० तारिकका दिन कतार एयरलाईन्सबाट अमेरिकाको लागी उडे । 

मनमा अनेक तरंगहरु खेलाउँदै सपनामा डुव्दै अमेरिकाको लामो हवाईजहाजको यात्रा गरेर अमेरिका आई पुगे । अमेरिका आई पुगेपछि उसको छिमेकी दाइको घरमा नै बसे र उनले आफ्नै स्टोरमा विनयलाई काम दिए साथै गर्नु पर्ने  आवश्यक सहयोग गरे । केही समय पछि अन्यत्रै एपारेटमेन्ट लिएर विनयका परिवार बस्न थाले । उनीहरूको परिवारलाई सेटल गर्नको लागी भरपुर सहयोग ती छिमेकी दाइले गरे । वास्तवमा अमेरिकामा जो कोहीले मनै देखि सहयोग कमै गर्छन् अझै चिनेजानेका मान्छेहरू नहुने हो भने सुरुको दिनहरू अति कष्टकर हुन्छ अमेरिकामा किनकि सुरुमा बस्ने बास र काम खोज्न कसै न कसैको साहारा चाहिन्छ साथै बच्चा-बच्चीहरुलाई स्कुल भर्ना गर्ने प्रक्रिया देखी सबै कुराको चाजोपाजो मिलाउने काम त्यति सजिलो हुँदैन । 

अहिले विनयका छोराछोरीहरुले(एउटा छोरा र दुई वटी छोरीहरू ) आफू बस्ने ठाउँबाट नजिकै पर्ने सरकारी  स्कुलमा पढ्छन् र दुईजनाले समय मिलाएर काम गर्छन् । उनीहरूको दैनिक जीवन सामान्यरुपमा चलिरहेको छ । विनयको अनुभवमा जति नेपालमा भनिने गरिन्थ्यो त्यस्तो सजिलै डलर भने टिप्न नपाईने रहेछ, दरै रूपमा काम गर्नु पर्दो रहेछ, नेपालमा जस्तो ठगठाग गरेर महिना पाक्दा बित्तिकै तलब हातमा थाप्ने चलन हुँदो रहेन्छ । तोकेको समय पूर्ण जिम्मेवार भएर काम गर्नु पर्ने रहेछ, काममा नै रमाउनु पर्ने रहेछ, बच्चाहरुको भविष्य राम्रो होस् भनी सारा खुशीहरुसँग सम्झौता गर्नु पर्ने रहेछ । जुनसुकै कामको पनि सम्मान गर्नु पर्ने र ठुलो-सानो भन्ने कुनै विभेद हुँदो रहेन्छ भन्ने पाठ सिक्ने मौका विनय र उसको श्रीमतीले पाएको कुरा उसले बताउने गर्दछ आजकल । 

अहिले त उ र उसको परिवार अमेरिका आएको पनि झन्डै ७ बर्षै पुग्न लागेछ तापनि अझै पनि उसलाई एउटा कुराले भने दिमागमा कहिलेकाही तनाव सृजना गर्दो रहेछ कहिलेकाही काम गर्ने ठाउँमा कस्टुमर सँग सामान्य भनाभन पर्दा कुनै अव्यवहारिक किसिमको कस्टुमरले " गो व्याक योर होम" भन्दा तिनै छिमेकी काकाले भनेको शब्द (" बाबु त पनि पोईला जाने भईस् " ) याद आउने र मन भत्भति पोल्छ भन्छ जसरी रिसाएको वेला श्रीमानले श्रीमतीलाई तेरो माईत गई हाल, खान नपाएर मसँग आएकी भन्ने गाली प्रायः दिने गर्छन् नि त्यही झस्को उसलाई आउने रहेछ । जे भए पनि उ अव समयको छाल र ठक्करहरुसँग खेल्न सक्ने भएको छ तसर्थ यस्ता मन दुख्ने कहिलेकाही सुनिने वचनलाई पचाउने भएको छ । तरपनि अझै उ नाजवाफ छ की साँच्चिकै उ अमेरिका पोईला नै आएको हो की हैन ? यसैको प्रति उत्तर चित्तबुझ्दो खोजी गर्न सकिरहेको छैन अझै पनि विनय ! 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक