Similar Articles

बिचार

नेतृत्वको खँडेरी र राजनीतिक भूँमरी -डा. टीकाराम पोखरेल

बिराट नेपाल

सरकार परिवर्तनको हल्ला अन्ततः त्यत्तिकै सेलायो । तर तत्कालको लागि सेलाए पनि यो फेरि तात्नेमा शङ्का छैन । राजनीतिक पासा फाल्ने र परिणाम आफ्नो पक्षमा पार्ने सत्ता खेलाडीहरुको कमी छैन । त्यसैले केही हप्ताको लागि मत्थर भएको यो खेल पुनरुक्ति नभई छाड्ने छैन । तर समस्या कहाँनेर हो भने सत्ता खेलमा कोभन्दा को कम भन्ने अवस्था भए पनि जनमुखी काम गर्न चााहिँ त्यो कोभन्दा को दौडमा कोही पनि उत्रन सकेन । सत्ता दौडलाई जनमुखी दौडमा परिवर्तन गर्न सके देशले फड्को मार्ने थियो । तर नेपालीको दुर्भाग्य त्यो हुन सकेन ।

राजनीति सत्ता र शक्तिको खेल हो । यतिसम्म भन्नलाई त्यति गाह्रो मान्नु पर्दैन । धेरैले भन्ने गरेको फोहोरी खेल हो कि रोमाञ्चक खेल भन्ने कुरा चाहिँ देश, परिस्थिति र चरित्र अनुसार फरक फरक हुने गर्छ । राजनीतिलाई  फोहोरी खेलको संज्ञा हामीले दिएको होइन । कुनै राजनीतिशास्त्रीले दिएको हो । हामीले चाहिँ ती राजनीतिशास्त्रीको भनाइलाई प्रमाणित गर्र्न मलजल गरेकोे मात्र हो । कुशल नेतृत्वको अभावमा राजनीति बढी फोहोरी बन्ने गर्दछ । हाम्रो राजनीतिमा तत्काल नपुरिने खाडल त्यही हो । 

शक्तिद्वारा नभई आफ्नो कलात्मक प्रभावले अरूलाई प्रभाव पारेर कुनै अभियान वा कामको जिम्मेवारी लिने र त्यसको व्यवस्थापन गर्ने कामलाई नेतृत्व भनिन्छ । यस्ता नेतृत्व सबै एकै प्रकारका हुँदैनन् । कार्य कुशलताका आधारमा नेतृत्व फरक फरक हुन्छन् । विभिन्न प्रकारका नेतृत्वमध्ये सबै प्रकारका निर्णय खुला र स्वतन्त्र छोडिदिने नेतृत्व, सबैलाई काम गर्न आग्रह गर्ने तर आफू पनि नगर्ने र अरूले गरे नगरेकोमा पनि त्यति चासो नलिने, अरूले काम गरिदेओस् र आफू नेता हुन पाइयोस् भन्ने ठान्ने, चाकडी चाप्लुसी मन पराउने अनौपचारिक खालको नेतृत्वलाई खुला वा स्वतन्त्र नेतृत्व भनिन्छ । यस्तो नेतृत्वलाई नेतृत्वहीन नेतृत्व (नो लिडरशीप एट अल) पनि भनिन्छ । नेपालमा अहिले यस्तै खालको नेतृत्वका छ । 

नेतृत्व भनेको कुनै खास व्यक्ति र प्रक्रियाको मिश्रित रूप हो । जसले कुनै उद्देश्य र लक्ष्य हासिल गर्नका लागि अरू व्यक्ति वा व्यक्तिहरूको समूहलाई निर्देशन दिने, आदेश तथा नियन्त्रण गर्ने कार्य गर्नुका साथै काम गर्ने इच्छा सिर्जना गराउनेतर्फ आवश्यक प्रभाव पार्दछ । सफल नेतृत्वले शक्तिद्वारा नभई प्रभावले अरूलाई इच्छा जगाउने काम गर्दछ । नेतृत्वको भूमिका एक मात्र नभई बहुआयामिक हुन्छ । राजनीतिक नेतृत्वले राज्यको नीति र कार्यक्रमअनुसार उद्देश्य प्राप्ति गर्ने क्षमता राख्नु पर्दछ । राज्यलाई रक्तसंचार गराउन सक्नु पर्दछ । आम नागरिक र कर्मचारीमा नयाँ जोस, जाँगर उमंग र भित्री इच्छा सिर्जना गराई काममा प्रतिबद्ध गराउन सक्नु पर्दछ । 

नेता भनेको चाहिँ एउटा त्यस्तो व्यक्ति हो जो समूहको बिचमा रहेर त्यस समूहका क्रियाकलापमा प्रभाव पारी त्यहाँ कार्यरत व्यक्तिहरूलाई सन्तुष्टि दिलाई स्वतस्फूर्त रूपले काम गर्ने भावना जगाउने क्षमता वा खुबी राख्दछ । नेता केही व्यक्ति समूह वा सङ्गठनको हुन्छ तर नेतृत्व सबैको हुन्छ । जब कुनै नेताको एजेण्डा सबैले स्वीकार गर्छन् र उसलाई नेता मान्न सबै तयार हुन्छन् त्यतिबेला कुनै नेता नेतृत्वकर्तामा बदलिन्छ । नेतृत्व सक्षम भएमा देश सुध्रिन्छ, नेतृत्व असक्षम भए देश असफल हुन्छ । देश सफल बनाउने नेतृत्व भए त्यसलाई राजनेता भनिन्छ । तर नेपालमा त्यस्तो नेता किन जन्मेन ?

नेतृत्व प्रभावशाली हुनुपर्दछ तर यसको अर्थ अरूलाई प्रभावमा वा दबाबमा राख्ने होइन ।  अरूको इच्छा आकाङ्क्षा र सिर्जनात्मक कदर गर्ने, कर्मचारीको सुविधालाई ध्यान दिने, सबैलाई आकर्षित गर्ने खुबी भएको, कानुनी अधिकार र पदीय अहम् नभएको नेतृत्व नै सफल नेतृत्व हुन्छ । आजको युग विज्ञान र प्रविधिको युग हो, त्यसैले आजको नेतृत्वले प्रविधि, सीप र दक्षताको वकालत गर्नुपर्छ । जसले नयाँ प्रविधि भित्र्याउँँछ, उसैले नेतृत्व गर्न सक्छ । 

तर नेपालको नेतृत्व यी गुणले युक्त देखिन्न । सर्बसम्मत नेतृत्व कोही पनि छैन । पार्टीका नेता छन् तर राष्ट्रका नेता कोही हुन सकेन । कुर्सीमा बस्न सबै हतारिए तर जनताको मनमा पनि कोही बस्न सकेन । जुन जोगी आए नि कानै चिरेको भन्ने उखान जनताले बिर्सन सकेनन् । कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने दिन टुङ्गिएनन् । पटक पटक सत्ता परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो, व्यक्ति परिवर्तन भयो तर प्रवृत्ति पटक्कै परिवर्तन भएन । 

नेतृत्व सकारात्मक नेतृत्व हुनुपर्छ । तर नकारात्मक गुणले युक्तहरुले आफूलाई नेतृत्वको दाबी गरिरहेका छन् । कार्यकर्ता अगाडि पछाडि लगाएर हिँड्नु र चुनाव जित्नुमै नेतृत्व ठान्ने भ्रम नेपाली नेताहरूमा भएकाले राजनीतिक स्थिरता हुन सकेन । नेतामा नयाँ विचारको प्रादुर्भाव, प्रतिनिधित्व गर्ने, कार्य सम्पादन गर्ने, व्याख्या गर्ने, उद्देश्यको निर्धारण गर्ने, सङ्गठनमा एकता कामय गर्ने, सहयोगीहरुलाई बुझ्न सक्ने, निर्णय दिने, प्रोत्साहन दिने क्षमता हुनुपथ्र्यो । तर हामीले त्यो पाउन सकेनौँ, त्यसैले नेता र जनता बिचमा ठुलो खाडल देखा परिरहेको छ । 

नेपालमा यतिबेला लोकतन्त्र छ तर नेतामा लोकतान्त्रिक चरित्र छैन । त्यसैले लोकतान्त्रिक नेतृत्व जन्मन सकेन । आफूलाई कुशल नेतृत्वको दाबी गर्नेहरु पनि सबै अख्तियारी आफ्नै हातमा लिने, एकल निर्णय गर्ने, सबै आफैँले मात्र जानेको छु भन्ने भ्रमित, हाकिमी शैली देखाउने, अरूलाई त्रासमा राख्ने प्रवृत्तिका छन् । एक प्रकारले कुलीनतन्त्री नेतृत्व छ । यो कुशल नेतृत्वको गुण होइन । त्यसैले नेपालमा नेपालमा नेता छन्, तर नेतृत्व दिन सक्ने नेता कोही छैन ।
लोकतन्त्रमा लोकतान्त्रिक चरित्र बोकेको नेता हुनुपर्दछ । निर्णयमा सबैलाई सहभागी गराउने, सबैले छलफलमा सहभागी हुन पाउने वातावरणको सिर्जना गर्ने, सबैको क्षमतामा विश्वास गर्ने, सबैको सुझावलाई स्वागत गर्ने खालको नेतृत्वले नै लोकतन्त्रको प्रतिनिधित्व गर्न सक्दछ । नेतृत्व ऐन, नियम, कानुन मान्ने र हरेक कुरालाई व्यवस्थित तरिकाबाट अगाडि बढ्ने हुनुपर्दछ तर नेपालका सरकारी कार्यालयमा जस्तो बढी नीति, नियम, ऐन, कानुन, परिपत्र चाहने, कागजी घोडा हुन खोज्ने र औपचारिकता बढी खोज्ने हुनुहुन्न ।

प्रभावशाली व्यक्तित्व, असल चालचलन, स्वच्छ चरित्र, पूर्ण र स्वच्छ ज्ञान, काम गर्ने क्षमता र पूर्ण तयारी, छिट्टै नरिसाउने वा नतात्ने, कामप्रति सहानुभूति राख्न सक्ने, प्रभाव पार्न सक्ने क्षमता, लक्ष्यहरु प्राप्त गर्नमा सक्षम, सिर्जनात्मक क्षमता, देखाइमा परिपक्व, निर्णय लिने क्षमता, मानसिक र उत्तेजनामा परिवपक्वता, जनताहरुसँग मीठो व्यवहार गर्न सक्ने, अरूलाई सिकाउने र निर्देशन गर्ने इच्छा र क्षमता, सिक्ने जान्ने बुझ्ने इच्छा र क्षमता, साहसी, आत्मविस्वासी, स्वयम त्यागी, सञ्चार गर्ने क्षमता, धैर्य र सहनशील, मानवीय सम्बन्धको ज्ञान, लचकदार दिमाग, अवरोधहरुको सामना गर्ने क्षमता आदि सफल नेतृत्वका गुणहरू हुन् । तर हाम्रा नेतामा यी गुणहरू कोसँग छ ? कोही पनि नेताको नाम लिन सकिने अवस्था छैन ।

त्यसैले सरकार परिवर्तनको हल्ला चलिरहँदा वा संविधान कार्यान्वयन गर्ने बृहत्तर जिम्मेवारीको बहस गर्दा, देशको गिर्दो आर्थिक अवस्थालाई माथि उकास्ने विकल्प खोजिरहँदा वा संक्रमणकालीन राजनीतिबाट देशलाई निकास दिने वैकल्पिक नेतृत्वको खोजी गरिरहँदा दिमागमा त्यस्ता नामहरू आउँदैनन् । विश्वका महान् नेताको नाम श्रद्धाले सम्झने हाम्रा दिमागमा आफ्नै नेताका नाम श्रद्धाले किन नआएका होलान् । दोष कस्को नेताहरूको कि हाम्रो ? 

त्यसैले सरकार परिवर्तन जनतालाई हर्ष न विस्मातको विषय बन्ने गरेको छ । छोटो समयमै पटक पटक सरकार ढलाउने र बनाउने खेलले राज्यको ढुकुटीमा व्ययभार थपिने काम बाहेक अरू केही गर्दैन । विगतदेखिकै सरकारको तुलना गर्दा उन्नाइस विष कोही छैन । त्यसैले सरकार परिवर्तन जनताका लागि सरोकारको विषय नै हुन सकेन । सरकार परिवर्तनको विषय मिडियाका लागि समाचार बन्नु बाहेक देश र जनताका लागि अरू केही उपलब्धि हुन्न । किन कि हाम्रोे राजनीतिमा कुशल र दक्ष नेतृत्वको खँडेरी छ । नेतृत्व असक्षम भएपछि राजनीतिलाई सधैँ भूँमरीमा धकेल्छ । जबसम्म कुशल नेतृत्व जन्मदैन तबसम्म निकास निस्कन्न ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक