Similar Articles

बिचार

मृगौला पीडितको आवाजले तिम्रो सम्झना आयो -प्रकाश श्रेष्ठ

बिराट नेपाल

यो कुरा साँचो हो की जीवनमा रोग दुनियाँको सबै भन्दा ठुलो शत्रु हो । सामान्य देखिने व्यक्तिलाई पनि कतिपय अवस्थामा भित्र भित्रै यसले थला पारेको हुन्छ । देखिदा सामान्य देखिने रोग पनि समयमै उपचार नहुने हो भने यसले ठुलो रूप लिन सक्छ । त्यसमा पनि कतिपय रोगहरु त रोग लागेको पत्ता लाग्दा सम्म असमान्य अवस्थाको भईसकेको देखिन्छ । त्यस्तै मध्येको रोग हो मृगौलाले काम गर्न नसक्ने अर्थात् "kidney Failure" हुनु । आज धेरै नेपालीहरू समेत यस रोगबाट ग्रसित भइरहेका छन् । यसैको सेरोफेरोमा रहेर केही लेख्ने प्रयास गरेको छु जुन यथार्थतामा आधारित रहेको छ । 

कुरा २०५६/५७ साल तीरको हो त्यतीवेला किर्तीपुरमा म व्यवस्थापन विषयमा डिग्री पढ्दै थिए । वास्तवमा किर्तीपुर केन्द्रीय क्याम्पसमा लगभग नेपालका अधिकांश ठाउँहरुबाट उच्च शिक्षा अध्यायन गर्न आउने गर्दछन् । हुनत: त्यतिवेला पनि पोखरा, भरतपुर लगायत विभिन्न मुख्य सहरहरूमा डिग्री तहका क्यापस नभएका होइनन् तापनि व्यस्थापन विषयको डिग्री अध्ययनको लागी काठमाण्डौका शंकरदेव, मिनभवन क्याम्पस र किर्तीपुर केन्द्रीय क्याम्पस नाम चलेको क्याम्पसमानै गणना गरिन्थ्यो । आजकल त त्रिभुवन विश्वविद्यालयका अलवा काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा पनि धेरै उच्च कोटीको पढाई हुने गर्दछ । 

त्यतिवेला हामीले पढाई सुरु गरेको बर्षनै त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन विषयमा पुरानो कोर्षमा केही परिमार्जन गरेर नयाँ कोर्स सुरुवात गरेको थियो र त्यो स्नातकोत्तर तहको पढाइलाई एम.वि.एस.( Master of Business Studies ) भनिन्थ्यो । त्यहाँ भन्दा पहिला एम.वि.ए.( Master of Business Administration) पढाई हुन्थ्यो सबै व्यवस्थापन संकायको डिग्री तहमा । हुनत: यो MBA पढाइलाई पनि पछि निरन्तरता दिईदै आए नेपालका विश्वविद्यालयहरुले ।  त्यतिनै बेला देखिनै विशेष गरेर आपसमा विद्यार्थीहरूले गुरुप वर्कको रूपमा विभिन्न प्रजोक्ट वर्क र विभिन्न " एसाईन्टमेन्ट" लाई पुरा गर्नु पर्थ्यो किनकि प्रत्येक विषयको लागी २०% प्राक्टिकलमा आधारित मार्क छुट्टाईएको थियो । 

त्यतिवेला शुरुबाटनै हप्तै पिच्छे जस्तो एउटा न एउटा विषयको केही न केही Assignment हुने गर्दथ्यो त्यो होमवर्कको रूपमा कुनै शीर्षकमा दिइएको समस्या समाधान गर्ने पनि हुन सक्थ्यो र कतिपय "गुरुप वर्क प्रिजेन्टेशन" पनि हुन सक्थ्यो । त्यो प्राध्यापकहरुको तजविजमा र कोर्षले निर्धारण गरेअनुसार प्राध्यापकहरुबाट निर्देशित गरे मुताविकनै हुने गर्थ्यो । त्यसैले पनि आपसमा सँगै पढ्ने साथीहरूको घुलमिल बढी हुने गर्दथ्यो। 

यसै क्रममा त्यतिवेला हाम्रो कलासमा पढ्ने एक जना साथी बुटवल तिर उनको घर थियो उनको नाम " शोभा" थियो । उनी अत्यान्तै लजालु स्वभावकी अर्थात् झटपट कसैसँग नबोल्ने स्वभावकी थिइन । केटी साथीहरूसँग पनि कहिल्यै छिल्लिएर नबोल्ने निकै शान्त मुद्रामा देखिने काम विशेषले बोल्नै परे थोरै खिस्स हाँसेर मात्र बोल्ने र औपचारिक भाषा मात्र प्रयोग गर्ने लामो कुराकानी लामो भूमिका बाँधेर कहिल्यै नबोल्ने गर्थिन् । 

कहिलेकाही कलासमा ढिलो आउँदा र कलासमा अनुपस्थित आउँदा उनले कहिलेकाही "कलास नोट" सार्न  माग्दा मैले दिने पनि गर्थे त्यसले गर्दा पनि होला धेरैपटक मेरो गुरुपमा रहेर "Group Assignment"सँगै पनि गरेका थियौ । त्यसै सिलसिलामा पनि मैले उनी कहिलेकाही केही हतास र उदास एवं तनावयुक्त देख्थे र एक दिन उनलाई त्यसबारे सोध्न मन लाग्यो । अनि मैले सोध्ने आँट गरे वास्तवमा उनलाई के भइरहेको छ भनेर, त्यो स्वभाविक पनि थियो उनी हाम्रो कलासको एक जना सहपाठी साथीनै थिइन । 

मैले हजुरलाई के भएको छ "शोभा जी" भनेर सोधे र उनले जवाफमा खासै केही भएको छैन भनिन् तर पनि मैले पुन: केही त भएको छ नढाँटी बताउनु होस्, समस्या आफैले मनमा गुम्साएर हुँदैन अरूलाई भन्दा हल्का हुन्छ भनेर भने त्यसपछि भने उनले भनिन् की मेरो टाउँको प्रायः दुखिरहन्छ र ब्लड प्रेसर पनि निकै हाई छ भन्छ डाक्टर, खै के भएको हो औषधी खाइरहेको छु तर खासै यो रोग भनेर पत्ता लागेको छैन । यति भनिरहँदा मैले उनलाई राम्रो डाक्टरलाई चेकअप गराउनु होस् फेरी पछाडि झन् गारो हुन्छ भनेको पनि थिए । धेरैपटक यस्तै ब्लड प्रेसर एक्कासि बढेको अनि डाक्टरकोमा गएर कलास छुटेको भन्ने गर्थिन् र मैले आफूले सक्दो सहयोग कलास नोटहरु दिएर एकाउन्ट लगायतका प्राक्टिकल विषयमा जानेको कुरा भनेर साथीको हिसाबले सहयोग गरेको थिए । 

एक दिनको कुरा हो , एउटा विषयको कलास नोट कपि र प्रोजेक्ट वर्कको ड्राफ्ट कपि लिन उनी हाम्रो कोठामा साथीसँगै आईन र कोठा बाहिरबाटै भित्रै नपसी कलास नोट र प्रोजेक्ट वर्कको डाक्ट कपि लिएर गईन् । मैले एकछिन भित्र बसेर चिया मात्रै खाएर भए पनि जानु होला भने तर उनी भित्र आउन निकै संकोच मानिन् र मैले करकाप गर्न सकिन । मनमनै मलाई लाग्यो की उनी पनि "गाउँघरकै पुरातन सोचकी नेवार्नी केटी जस्तै रहिछिन् शहरबजारकी नेवार्नी भएर पनि"। तर मैले कहिल्यै त्यसबारे भन्न पनि भनिन् र कहिल्यै पनि उनी बाटो विराएर पनि हामी बसेको कोठा तिर आईनन् । 

दिनहरू वित्दै गए, मानिसलाई समयले जस्तै अवस्थामा पनि कसै गरी पनि पर्खिन सक्दैन । समय अगाडी बढिरहेको थियो । हाम्रो पढाइको अन्तिम दिनहरू आइरहेको थियो अर्थात् दोस्रो वर्षको कलास पनि समाप्त हुँदै थियो र परीक्षा नजिकिदै थियो । हामीले परीक्षा पनि दियौ र आ-आफ्ना बाटाहरु लागियो । १-२ महिना पछि लगत्तै सोधपत्र"/थेसिसको लागी "प्रपोजल" पास भएपछि सम्बन्धित फिल्डमा गएर डाटा सङ्कलन गर्ने काम लगायतको काममा जुटियो । त्यसपछि शोभा सँग भेटघाट हुन सकेन त्यतिवेला अहिले जस्तो मोबाइल फोन थिएन र उनको ल्याण्डलाईन नम्बर मैले मागेको थिइन । 

यत्तिकैमा म पनि काठमाण्डौबाट फर्केपछि गाउँमै व्यस्त भए थेसिसको लागी आवश्यक रिफ्रेन्सको सामाग्री सबै क्याम्पस लाईब्रेरी लगायतबाट जुटाएर लगेकोले घरमै थेसिसको ईन्ट्रोडक्सन देखि "डाटाको प्रिजेन्टेशन र एनलाईसिस"देखिका काम गरेर काठमाण्डौ तिर समय-समयमा आएर मेरो थेसिस सुपरभाईजर तत्कालीन व्यवस्थापन संकायका विभागीय प्रमुख प्रा.डा. अनन्तलाल कर्णसँग उहाँकै निवासमा गएर भेटेर थेसिसको ड्राफ्ट देखाउने र आवश्यक सुझावहरू लिने गर्दथे ।

यसै क्रममा एक दिन केन्द्रीय क्याम्पस किर्तीपुर घुम्दै गएको वेला  एक्कासि अनेपेक्षितरुपमा शोभालाई देखे र पहिलो पल्ट झट्ट देख्दा मलाई उनीनै हुन् भनेर ठम्याउन समस्या पर्‍यो । किनकि पहिला निकै पातलो शरीर र अनुहारभरि डन्डीफोरले भरिएको अवस्थामा देखिने उनी त्यो वेला भने ह्वाम्मै मुख फुलेको अनुहार देख्दा म एकछिन अलमलमा परेको थिए । अनि उनलाई बोलाएर सोधे शोभा तपाईँ आरामै हुनुहुन्छ भने र उनले आरमै छु भनिन् । त्यसपछि मैले तपाईँ त निकै मोटाउनु भएछ नि भने त्यसपछि उनी एकछिन केही बोलिनन् र अनुहारमा फरक दृश्य देखियो । 

अनि मैले पुन दोहोराएर हैन तपाईँ मोटाएको हैन र ? त्यसो भए किन यसरी अनुहार मोटाएको देख्दै छु त भनेको उनले निन्याउरो अनुहार पारेर भनिन् की यो मेरो अनुहार फुलेको हो, मेरो दुवै मृगौला फेल भएको छ केही महिना पछि दिल्लीमा गएर "ट्रान्सपलान्ट" गर्ने हो, त्यसको लागी निकै महँगो लाग्ने रहेछ भनिन् । त्यो सुनिरहदाँ म छागाँबाट खसे झैँ भए र केही भन्ने आँट आएन र मात्र राम्रोसँग उपचार गर्नु सबै ठिक हुन्छ भने अरू बढी भन्ने शब्दहरू म सँग थिएन । तैपनि मैले के कसरी पत्ता लाग्यो किड्नी फेल भएको भनेर बिस्तारै सोधे त्यसपछि उनले भनिन् एक दिन वीर हस्पिटलमा विदेशी डाक्टर आएको थाहाँ पाएर चेक अप गर्दा यो सबै कुरा पत्ता लाग्यो भन्ने जवाफ दिइन र मैले किन के कामले आज यहाँ आएको भनेर सोधे र उनले थेसिसको प्रोपोजल तयार गर्ने काम सुरु गरौँ की भनेर आएको सरहरुलाई भेटेर कुरा गर्न भनिन् । 

यति सारो कठिन रोग लाग्दा समेत उनको हिम्मत र आँट देख्दा मलाई उनी प्रति अझै बढी सहानुभूति र श्रदा जागेर आयो । केही समयको कुराकानी पछि आफ्नो स्वास्थ्यको ख्याल राख्नु भन्दै म त्यहाँबाट उनीसँग विदावादी भएर आफ्नो बाटो लागे । त्यस दिन पछि मेरो अझै सम्म प्रत्यक्ष वा अप्रत्यक्ष भेट भएको छैन, आजको डिजिटल युगमा सामाजिक सञ्जालको व्यापकता हुँदा समेत उनलाई कहिकतै भेटेको छैन । समय-समयमा उनलाई सम्झिरहेको थिए तर कतैबाट उनको बारे जानकारी पाइन । 

अहिले आएर नेपाल सरकारले मृगौला पीडितलाई निःशुल्क डाआलोसिस गरिदिने सरकारी निर्णय गरेको खबर सुनिएको छ र साथै एउटा टेलिभिजनको साक्षात्कार कार्यक्रममा मृगौला पिडीतहरुको अति दयनीय अवस्था बारे उनीहरुलाईनै बोलाएर बोल्न लगाइएको थियो । यो सुनिरहदाँ र उनीहरूको पिडा देख्दा निकै मानवीय संवेदनायुक्त अवस्था झल्कने कुरा स्वतः: अन्दाज जो कोहीले पनि गर्न सक्दछ । यो घटनाक्रमले झन् मलाई ती मृगौला पीडितको माझमा रहेकी एक सोझी, ईमान्दार चेली शोभाको यादले निकै सतायो र उनी आजकल ठिकठाक होलिन् की नहोलिन्, के गर्दै होलिन् कहाँ होलिन्, वैवाहिक जीवनमा बाँधिएकी होलिन् की नहोलिन् भनेर निकै सोचमा परे ।

हुन पनि चिनजान नभएको व्यक्तिलाई टेलिभिजनको पर्दामा देखेर उसका समस्याहरू र बाँचेर पनि दैनिक तड्पेर बाँचेको अवस्था ह्रदयविदारक तवरबाट सुन्दा कति धेरै मन पोल्छ, आफुलाईनै त्यस्तै समस्या भए कस्तो होला भनी सोच्न बाध्य पार्छ भने उनी त चिनजान भएर एउटै कलासमा दुई वर्ष सम्म नोटवुक साटेर पढेको साथी त्यस्तो हालतमा हुँदा भेटेको र अहिले सम्म कुनै खबर नहुँदा अवश्य याद आउनु स्वभाविक नै हो । 

"शोभा तिमी जहाँ भए पनि ठिक अवस्थामा हुनु, तिमी टेलिभिजनमा देखाईएका पीडित जस्तो आर्थिक रूपमा त्यति सारै कमजोर पक्कै छैनौ तर पनि महँगो उपचार विधि र सधैँ भरि नियमित औषधी गरिरहनु पर्ने समस्याले सामान्य परिवारलाई मात्र हैन सम्पन्न परिवारलाई समेत आर्थिकरुपमा पिरलो हुन्छ ।" तसर्थ तिमीलाई पनि पक्कै आर्थिक समस्या परे होला तापनि जे जस्तो भए पनि तिमी पढेलेखेको थियौ र तिमीलाई काम गरेको अनुभव पनि थियो त्यसैले कुनै सरकारी, गैरसरकारी कार्यालयमा काम गरेर भए पनि र तिम्रो पुर्खौली पेसा व्यापार गरेरै भए पनि तिमीले आफ्नो जीवनलाई अगाडी बढाउन अवश्य सकिरहेकी छौ भन्ने कामना गर्दछु । कहिकतै यो मैले लेखिरहेको कुरा पढ्ने मौका मिल्यो भने मलाई फेसबुकमा रिक्वेस्ट पनि पठाउनु र धेरै कुरा गरौला । यही अनुरोध आज तिमीलाई धेरै समय पछाडि गर्दैछु । 

वास्तवमै दिनप्रतिदिन नेपालमा मृगौला रोगीहरुको सङ्ख्या बढ्दै जानु र अझै उपचार गर्ने आर्थिक हैसियत नभएर पिडादायी जीवन विताउनु पर्ने अवस्था व्यक्त गरेर साध्य छैन । अझै आर्थिक अवस्था कमजोर हुनेहरुको लागी कहालि लाग्दो अवस्था छ, त्यसै त गरिब त्यही माथि खर्चिलो ज्यानमारा रोग लाग्नु निकै कष्टप्रद हुनेनै भयो । मृगौला रोग लागेको बारे थाहाँ नपाउँदै अधिकांशरुपमा मृगौला विग्रिसकेको हुने र जब रोग लागेको पत्ता लाग्छ त्यतिवेला सम्म आईपुग्दा प्रायः मृगौला फेल भईसके अवस्थामा आईपुग्ने भएकोले पनि यो रोग लागे पछि मृगौलाले आफ्नो नियमित काम गर्न छोडिसकेको हुँदोरहेछ र यसलाई प्रत्यारोपण गर्नु पर्ने हुँदो रहेछ । तत्काल प्रत्यारोपण गर्ने अवस्था नहुँदा सम्म नियमित हप्तामा २-३ पटक डाआलोसिस प्रक्रियाबाट पनि मृगौलाले गर्ने काम कृत्रिम तरिकाले गरिदो रहेछ । साथमा निकै महँगो औषधी समेत सेवन गर्नु पर्ने रहेछ । यसले गर्दा कमजोर आर्थिक अवस्था हुनेलाई निकै समस्या पर्ने देखिन्छ त्यसैले सरकारलेनै पुर्णरुपमा मृगौला सम्बन्धी निःशुल्क उपचारको व्यवस्था गरिदिनु पर्ने देखिन्छ । 

हाल सरकारले मृगौला डाआलोसिसलाई नि:शुल्क गर्ने निर्णय गरेको छ जुन स्वागत योग्य काम हो र पनि अझै मृगौलानै प्रतिस्थापन सम्बन्धी खर्च पनि सरकारलेनै गरिदिने व्यवस्था हुनसके पक्कै पनि पीडितले राहतको सास फेर्न सक्ने छन् । त्यस्तै नेपालमै मृगौला प्रतिस्थापन गर्न मृगौला दान सम्बन्धी आवश्यक नितीनियम समय सान्दर्भिक बनाउनु पर्ने, परिवर्तन गर्नु पर्ने कुनै कानुनी बाधाव्यवधान भए तुरुन्तै कानुनमा परिवर्तन गरेरै भए पनि त्यस तर्फ सरकार लाग्नु पर्ने देखिन्छ । देशमा आएको नयाँ गणतान्त्रिक संविधान कार्यान्वयन गर्ने सन्दर्भमा स्वास्थ्य क्षेत्रलाई आवश्यक नीति, नियम बनाएर व्यवस्थित गर्दै आर्थिक अवस्था कमजोर हुनेहरुका लागी जटिल रोग लाग्दा निःशुल्क उपचार गरिदिने व्यवस्था गरिनु आवश्यक छ । स्वस्थ जनशक्ति विना राज्यका अरू निकायमा आवश्यक विकास गर्न निकै समस्या पर्छ किनकि स्वस्थ जनशक्ति राज्यको अमूल्य सम्पती हो । 

स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था राज्यबाट उचित व्यवस्था भएमा मात्र जनताले उचित गाँस, बाँस, कपासको व्यवस्था आफै गर्न सक्षम हुन सक्छन् अन्यथा कोरा सरकारको, नेताको भाषण र आस्वासनले जनताको दैनिकी निकै दयानिय हुँदै जान्छ । तसर्थ राज्यले सर्वप्रथम स्वास्थ्य क्षेत्रलाई गम्भीर ढङ्गले सोचेर सोही अनुसार नीति, नियम, कानुन बनाएक सर्वसाधरणको हितमा लागु गर्नु पर्ने देखिन्छ । पक्कै पनि अहिलेका सरकार प्रमुख प्रधानमन्त्री केपी ओली आफै पनि एक किसिमको जटिल रोगबाट ग्रस्त भएर नयाँ जीवन पाएको व्यक्ति (मृगौला प्रतिस्थापन गरिएको) भएकोले यस बारे अवश्य विचार पुर्याउने छन् र आवस्यकरुपमा यसतर्फ लाग्ने छन् भन्ने सबै जनताले आशा गरेका छन् । 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक