Similar Articles

बिचार

अमेरिका बस्नेहरु आफ्नो गाउँघरको सामाजिक सेवामा सहयोग गर्न किन उदास देखिन्छन् ?-प्रकाश श्रेष्ठ

बिराट नेपाल

सबैले भन्ने गर्छन् जन्मभुमि स्वर्ग भन्दा प्यारो हुन्छ । चलनचल्तीको भाषामा यसो भने पनि जब मानिसहरू आफ्नो मुलुक भन्दा सम्पन्न मुलुकमा बसाई सराई गरेर सदाको लागी बस्छन् तर व्यवहार भने अलग देखाउँछन् । खासगरि अमेरिका, क्यानडा, बेलायत लगायत युरोपियन मुलुक जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ उनीहरू सदाको लागी बस्नको लागी चाँजोपाजो मिलाएका हुन्छन् अर्थात् पी.आर.(ग्रिन कार्ड) र सिटीजनसिप लिने अनि त्यतै बाँकी जीवन सपरिवार विताउने योजना अनुरूप बस्ने चाहिने सम्पत्ति जोडजाड पार्ने गरेका हुन्छन् । कहिलेकाही आफन्त भेट्न र नेपालमा रहेको पुर्खौली सम्पत्ति तथा कहिकतै लगानी गरेको भए त्यसको व्यवस्थापन गर्न २-३ वर्ष विराएर जाने आउने गर्न सक्छन् त कतिपय लामै समय पनि नेपाल गएका हुँदैनन् ।

त्यस्तै बिस्तारै उनीहरूले नेपालको पुरानो गतिविधि सकभर दिमागबाट हटाउन खोजिरहेका हुन्छन् र आफ्ना सन्ततीहरुलाई समेत विदेशी संस्कार र वातावरणमै घुलमिल गराएर नेपाली संस्कार, भाषा, रहनसहनलाई आफ्ना सन्ततीहरुमा हस्तान्तरण गर्न त्यति सारो रुचि देखाएका हुँदैनन् । कहिलेकाही देशमा ठुलै आपतविपत पर्दा आर्थिक, भौतिक सहयोग गर्न तत्परता देखाएपनि आफ्नो गाउँघर र आफू हुर्केको बढेको, पढेको ठाउँमा सक्दो सहयोग गरौँ, सबै मिलेर अरूलाई सहयोग गरेर उनीहरूको जीवनमा खुसीयाली ल्याउ एवं गाउँघरमा सामाजिक सेवाहरूको पहुँच सबैमा सहजरुपमा उपलब्ध गराउन केही न केही योगदान बाहिर बसेर भए पनि गरौँ भन्ने मनोभावना खासै देखिदैन । 

सकभर आफ्ना नातापाताहरुलाई पनि के कसरी ल्याउन सकिन्छ आफू बसेको विकसित देशमा भन्ने सोच मात्र दिमागमा राखेर सोही अनुसार योजना बुनिरहेको पाइन्छ र त्यसकिसिमको पहल गरेका पनि हुन्छन् । यसो गर्नु आफैमा गलत होइन र आफन्तहरुको चाहना पनि विदेशमा आफ्नो मान्छे छ भने त्यतै बोलाई दिए हुने थियो भन्ने चाहना हुन्छ त्यो स्वभाविक हो । तर पनि कमसेकम आफू जन्मे र हुर्केको ठाउँको लागी केही न केही आर्थिक सहयोग सङ्गठित रूपमा विदेशबाट निश्चित कार्य जस्तो स्कुलहरु बनाउन, पुस्तकालय बनाउन, स्कुलमा कम्प्युटर शिक्षा, मल्टिमेडिया वा प्रोजेक्टरबाट कलास शिक्षण गर्ने व्यवस्था, आर्थिक कमजोर भएका बालबालिकालाई छात्रवृती , कलेजको लागी सहयोग, स्वास्थ्य सेवा, खानेपानी, सरसफाई, बाटोघाटो आदिको लागी भनेर सहयोग पठाउन सकेमा कम्तीमा विदेशबाट बसेर पनि जन्मभुमि प्रति माया, सद्भाव गरेको ठहरिने थियो । 

केवल ओठे भक्ती देखाएर आदर्शको भाषण गरेर सामाजिक सञ्जालमा मिठो साहित्यिक भाषामा फुलमाला गाँसेर जन्मभुमि प्रति अत्यान्तै माया छ भनेर कुनै अर्थ हुँदैन । बोलीले देखाउने माया र आमालाई वृद्धाश्रममा पठाएर, घरबाट निकालेर बर्षदिन एक्लै राखेर आमाको मुख हेर्ने औशीमा आमासँग फोटो खिचेर फेसबुकमा राखेर "आई लभ यु ममी" भने जस्तै मात्र हो । अत: हामीलाई कम्तीमा पनि आफू जन्मेको गाउँ ठाउँको माया छ भने सबै गाउँलेहरू मिलेर सङ्गठित भएर आ-आफ्नो गाउँ ठाउँमा सामाजिक सेवाको लागी कम्तीमा पनि आफूले कमाएको केही हिस्सा १-२ प्रतिशत वा कम्तीमा एक, दुई दिनको कमाई हरेक वर्ष सहयोग गर्ने गरौँ तब मात्र " जन्मभुमि स्वर्ग भन्दा प्यारो "भन्ने उक्तिले काम गर्छ र आफू सदाको लागी अमेरिका, क्यानडा, बेलायत लगायत युरोपियन मुलुकमा बसे पनि अर्थात् विदेशी ठाउँमा बसेर पनि गाउँघरको विकासमा आफ्नो सहभागिता रहेको सम्झेर गौरभान्वित बन्न सकिन्छ साथै त्यहाँ गाउँघरमा बस्नेले पनि गाउँ छोडेर गएपनि जन्मेको ठाउँलाई माया गरिरहेको ठान्ने छन् र आपसमा आत्मियता रहिरहने छ । 

हामीले देखेका छौ की खाडी मुलुक लगायत, जापान, कोरिया, इजरायल जानेहरुले आफू एक दिन फर्केर आफ्नै गाउँ ठाउँमा जानु पर्छ भन्ने सोचले होला उनीहरू आफ्नो गाउँठाउँका सामाजिक सेवामा आर्थिक एवं भौतिक सहयोग गर्न दिलो ज्यानले लागेको पाइन्छ । तर त्यसको तुलनामा अमेरिका लगायत विकसित देशमा रोजगारी र पेसा गर्नेहरु त्यति सकृयरुपमा गाउँठाउँमा सहयोग गर्न तत्परता देखाएको पाईदैन । यस्ता विकसित देशहरूमा धेरै सामाजिक सङ्घ, संस्था खुलेर पनि खासै आफू जन्मेको ठाउँको लागी आवश्यक सहयोग गर्नु भन्दा पनि नेपाली राजनीति गर्ने र आफ्नो दम्भ र घमण्ड देखाउन यी संस्थाहरू व्यक्तिहरू बढी अग्रसर भएका हुनकी भन्ने आभास हुने गरेको पाइन्छ । तुलनात्मक रूपमा हेर्दा खाडी मुलुकमा काम गर्ने नेपालीहरूको कम कमाई भएर पनि गाउँघरमा सामाजिक कामको लागी बढी आर्थिक सहयोग गरिरहेका हुन्छन् । त्यसको लागी उनीहरूलाई हार्दिक नमन गर्नै पर्छ । यति भनिरहँदा अमेरिका, बेलायत, अस्ट्रेलिया र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरुबाट केही सहयोग मातृभूमिको लागी भएकै छैन भन्न सकिदैन तर जति हुनुपर्ने र गर्न सकिने हुन सकेको छैन । 

हामीलाई थाहाँ छ अमेरिका जस्तो सम्पन मुलुकमा जन्मेर " माईक्रोसफ्ट" जस्तो नाम चलेको कम्पनीको बजार निर्देशक पदमा काम गरेर यथेष्ट दाम र नाम कमाएका " जोन उड " ले उक्त कम्पनी बाटनै हात धोएर "रुम टु रिड" जस्तो संस्था खोलेर नेपालका विकट गाउँहरुमा स्कुल र पुस्तकालय खोलेर गरिब विद्यार्थीहरूलाई छात्रवृती प्रदान गरेर उदाहरणिय काम गरिरहेका छन् । साथै भियतनाम, कम्बोडिया लगायत विश्वका विपन्न मुलुकमा धेरै स्कुल खोल्ने, पुस्तकालय खोल्ने, कम्प्युटर प्रयोगशाला बनाउने, गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृती दिने काम गरिरहेका छन् । यसका लागी अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत विश्वभरिका विभिन्न व्यक्ति एवं व्यावसायिक संघसंस्था, अन्य सामाजिक संस्थाहरुबाट आर्थिक एवं भौतिक सहयोग, पुस्तकहरुको सहयोग आदी जुटाउँदै निरन्तर अगाडी बढिरहेर अति विपन्न राष्ट्रहरुका लाखौ बालबालिकाहरुलाई शिक्षित बनाई योग्य नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । 

यसरीनै सबै व्यक्तिमा सामाजिक सेवामा समर्पित हुने समय र आँट हुन सक्ने सम्भावना कमै हुन्छ तापनि हामीले कम्तीमा विदेशमा रहेपनि आफूले सक्दो सहयोग आफ्नो गाउँठाउँमा गर्नको लागी आफ्ना गाउँलेहरूको समूह वा औपचारिक एवं अनौपचारिक संस्था वा समिति बनाएर आर्थिक सहयोग बर्षैपिच्छे उठाएर महत्त्वपूर्ण समस्याहरू पहिचान गरी सहयोग गर्न सकियो भने गाउँठाउँमा बस्नेहरुले सामाजिक सेवाहरू सहजरुपमा प्राप्त गर्न सक्ने अझै विशेषगरि शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पुग्न सक्ने देखिन्छ । यसको लागी सबै आ-आफ्नो ठाउँबाट लाग्नु जरुरी छ । आखिर हामी जन्मेको गाउँठाउँको विकास हुन सक्यो, हाम्रो जन्मभुमि नेपालको विकास हुन सक्यो भनेनै हामी विदेशमा बस्नेहरुको समेत इज्जत र सम्मान हुन सक्छ अन्यथा हामी विदेशमा जतिसुकै सम्पन्न बनेपनि हामीलाई कसैले सम्मानका साथ हेर्नेवाला छैन यसै पनि हामी जस्तोसुकै विकसित देशमा बसेपनि दोस्रो दर्जाकै नागरिक हौ र कदापि पहिलो दर्जाको नागरिक बन्नै सक्दैनौ । 

कहिकतै जघन्य अपराध गरिहालेमा वा कुनै कारणवस विदेशीलाई देश निकाला गर्ने कानुन बनिहालेमा नेपालनै हाम्रो अन्तिम शरण लिने ठाउँ हो तसर्थ हामी कहिल्यै पनि आफ्नो गाउँठाउँ, देश, धर्मकर्म, भाषा, संस्कार, भेषभुषा, रहनसहन, चालचलन, रितीरिवाज, परम्परा भुलेर विदेशीभुमिमा विदेशकै संस्कारमा आफूलाई पुर्णरुपमा रुपान्तरित गर्न नखोजौ । आफ्नो पहिचान र नेपालीपनलाई नभुलौ, सबैभन्दा ठुलो कुरा गाउँठाउँमा सक्दो सहयोग गरी सबैलाई माथि उकास्ने काममा साथ दिने गरौँ । देशलाई विदेशमा हरतरहले चिनाएर पर्यटन प्रवर्धन गर्न महत्त्वपूर्ण टेवा पुर्याउ, नेपाली सरसामानलाई विदेशमा आयत गर्नको लागी व्यापार व्यवसायमा लागेहरुले सक्दो प्रयास गरौँ । जसरी पनि जताबाट हुन्छ नेपाललाई माया गरौँ र सम्पन नेपाल बनाउनको लागी सक्दो योगदान दिन तत्परता देखाऊ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक