Similar Articles

बिचार

नेपाली युवाहरूको उत्थानका लागी अमेरिकामा नेटवर्किङको आवश्यकता -सुनिल मणी दाहाल

बिराट नेपाल

अमेरिकामा नेपालबाट उच्च शिक्षाका लागी कोही विद्यार्थीका रूपमा, कोही ग्रीनकार्ड पाएर, कोही अमेरिकन नागरिकको रूपमा, कोही निश्चित समयको जागिर पाएर, कोही शरणार्थीका रूपमा बसोबास गरेका छन् ।  स्थायी बसोबासका लागि जब अमेरिका आइन्छ त्यस ताका आफू नयाँ भएका कारण केही गल्ती पनि गरिन्छन्। आफ्नो कमाइको भरपर्दो स्रोत नहुँदै घर किन्नु, महंगा गाडी किन्नु, नबुझी जीवन बिमामा पैसा हाल्नु, अत्याधिक क्रेडिट कार्ड लिनु र चलाउनु आदि। सुरुसुरुमा क्रेडिट कार्डलाई सित्तैमा आएको सम्झी आँखा चिम्लेर लिने र प्रयोग गर्नाले चुर्लुम्म डुबेका पनि धेरै छन् ।

त्यस्तै, अधिकांश नेपालीहरू अमेरिका टेके देखि गास र बासको जोहो गर्न आफ्नो सर्टिफिकेटलाई सुटकेसमा थन्क्याएर जे जस्तो काम पाइन्छ त्यसैमा होमिन बाध्य हुन्छन् र आफ्नो थप अध्ययन कार्यलाई अगाडी बढाउन नसकेको पाइन्छ । केही पैसा कमाएर पछि पढ्ने, तालिम लिने र आफूलाई निखार्ने मन गरिएता पनि घरको किस्ता, गाडीको किस्ता, स्वास्थ र जीवन बिमाको किस्ता लगायत अन्य दायित्वहरुले सिर ठाडो पार्न धौ धौ पर्छ ।
 
अमेरिकामा आफू र परिवारलाई टिकाउन प्रयास गर्दा गर्दै दिन बितेको र आफ्नो उमेर ढल्केको यकिन गर्न गाह्रो पर्दछ । किडन गार्डेन हुँदै इलेमेन्ट्री, मिडल अनि हाई स्कुलको ग्राजुएसन सक्किएको दिन छोरा छोरी हुर्किएको पत्तो नै पाइदैन । कानुनत उमेरले अठार वर्षमा बयस्क हुने भएकाले छोरा छोरीलाई अभिभावक पनि चाहिदैन । उनीहरू घर बाहिर वा अर्को स्टेटमा गएर स्वतन्त्र रूपले बस्न मन पराउछन । अठार वर्ष उमेर पुगेका छोरा छोरीलाई कलेजमा अन्डर ग्राजुएसनको पढाई गर्न वा तीनको चाहना अनुरूप घरबाट बिदा गर्दाको दिन सपनाबाट हामी जस्याङ हुन्छउ ।
 
हाम्रा छोरा छोरीले अमेरिकाको शिक्षा, तालिम तथा यस देशको रिति रिवाजसँग बढी परिचित हुने भएकोले पनि आफ्नो सोचाइ, बोलाई तथा व्यवहारलाई भिन्न किसिमले हेरेको पाइन्छ। यस प्रकार बिस्तारै एकै घरका बाबु आमा र छोरा छोरी बिचमा बोलाई, बुझाइ, खुवाई र आपसी व्यवहारमा धेरै ठुलो भिन्नता आउन थालेको छ । यसै कारणले पनि नेपाली भाषीहरूले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरूमा छोरा छोरीको सहभागिता न्यून हुने गरेको छ । नेपाली भाषीहरूले गर्ने कार्यक्रमहरूमा प्राय नेपालको राजनीतिसँग सरोकार भएका विषयहरूमा गन्थन हुने, छोरा छोरीको चाहना र इच्छा अनुरूपको कार्यक्रमहरू नहुने र त्यसबाट आफुहरुको व्यक्तित्व विकासमा कुनै फायदा नपुग्ने उनीहरूको भनाई रहदै आएको छ। 
 
कामको चटारो र घन्टाको हिसाबको पछि लाग्दा लाग्दै हामी सामाजिक तथा पारिवारिक दायित्व पूरा गर्न बिर्सन्छौ । पैसा कमाउनकै लागी आवश्यकता भन्दा बढी घण्टा काम गर्ने चाहना राख्नाले नेपाली समाजले आयोजना गर्ने सामाजिक कार्यक्रममा जान नभ्याउनु, सहयोगका लागी समय दिन नसक्नु, घुम्ने फिर्ने समय नहुनु, एक आपसमा घुलमेल हुन नसक्नु आदिले गर्दा छोराछोरीलाई सिकाउने र आफू पनि सिक्ने कुराबाट सदैव टाढा भएको तितो यथार्थ हामी सामुन्ने छ ।
 
आफ्नो काम र पारिवारिक कर्तव्य बिचको तालमेल मिलाउन नसक्दा हामी पारिवारिक दायित्व बुझाउन, पारिवारिक संस्कार र संस्कृति, सामाजिक कर्तव्य सिकाउन अलिकति समय निकाल्न सक्दैनौ वा पटक्कै मन गर्दैनौ। यसै कारणले प्रवासमा आज हाम्रा छोरा छोरी हाम्रा सस्कार र संस्कृति, सामाजिक कर्तव्यबाट क्रमस टाढा हुँदै छन् । 
 
समयमै हाम्रा सामाजिक संरचना, मूल्य, मान्यता तथा सामाजिक मर्यादा र माथिल्लो पुस्ताप्रति तल्लो पुस्ताले निर्वाह गर्नुपर्ने दायित्वबारे शिक्षित गर्न सकियो भने नयाँ पुस्ताले नेपाल र नेपालीपन लाई बिर्सने छैन । अन्यथा हाम्रो मात्री भाषा, मौलिक सस्कार, आफ्ना मूल्य र मान्यतालाई नयाँ पुस्ताले बिस्तारै बिर्सदैँ जाने निश्चित छ।
 
यसै यथार्थ लाई मध्य नजर गरी अमेरिकामा छरिएर रहेका नेपाली भाषी दोस्रो पुस्ताका युवाहरू बिच नेटवर्किङ गराई उनीहरूको चाहना र व्यक्तित्व विकासका लागी पहिलो पुस्ताका नेपाली भाषीहरूले अभियानका रूपमा कार्यक्रमहरू सन्चालन गरिनु आवश्यक छ । यस अभियानका माध्यमबाट युवाहरूलाई एक आपसमा समन्वय बढाइ आ-आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने भाबी अध्ययन र अनुसन्धान तथा नोकरीको खोजीमा समेत सहयोग पुग्नेछ । यस अभियानबाट आपसमा भाईचारा कायम गरी नेपाली कला, सस्कार र संस्कृति, अनि  सामाजिक कर्तब्यबोधमा समेत थप योगदान मिल्नेछ ।

अमेरिकामा छरिएका दोस्रो पुस्ताका नेपाली भाषी युवाहरू लाई एकै छाता भित्र राखी उनीहरू बिच भाईचारा कायम गराउदै आपसी सहयोग र समन्वयमा आ-आफ्नो प्रतिभाको प्रदर्शन गर्दै नेपाली कला, सस्कार र संस्कृति, अनि  सामाजिक कर्तब्यबोधमा समेत थप योगदान पुगोस भन्ने उदेस्यले यस पङ्तिकारले फेसबुकमा एक पेज खोली नेटवर्किङ गराउने प्रयासको थालनी गरेको छ । यसका लागी ईक्छुक युवाहरूले  यस पेज मार्फत (https://www.facebook.com/A-Campaign-to-Promote-Nepalease-Youth-in-USA-372299332953037/ ) आपसी नेटवर्किङ गर्न सक्नु हुनेछ । यस तर्फ सबै नेपाली भाषीहरूले पहल गर्ने हो कि?

A Campaign to Promote Nepalease Youth in USA Community


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक