Similar Articles

बिचार

अमेरिकामा मबाट हामीमा कसरी रुपान्तरित हुने -प्रकाश श्रेष्ठ

बिराट नेपाल

एक जना फेसबुक मित्रले अमेरिकाकै अर्को राज्यबाट फोन गर्नु भयो र हामीले छोटो कुराकानी गरियो जसमा सामान्य परिचयबाट कुराको थालनी गरियो । कुराकानीको सन्दर्भमा उहाँले आफ्नो २-३ वर्षको अमेरिकी बसाइमा नेपाली समुदाय बारेमा मनमा लागेको कुरा भन्नु भयो की अझै हामी अमेरिकामा सामूहिक रूपमा अगाडी बढ्न नसक्नुमा "म" बाट "हामी" मा रुपान्तरित हुन नसकेर हो । मैले पनि यो कुरालाई सहमति जनाए  र यसबारे आफ्नो धारणा राखे । 

यसै सम्बन्धमा केही धारणाहरु पनि पेस गर्ने प्रयास गरेको छु जसअनुसार सबैभन्दा पहिला त हामी सधैँ सकारात्मक सोच राखौ र एकैचोटी बृहत् तवरमा भन्दा पनि आफू बसेको सहर वा काउन्टी वा स्टेटमा कम्तीमा केही व्यक्तिहरूको प्रयासमा किन नहोस् आपसमा मिलेर नेपाली समुदायलाई एकीकृत रूपमा अगाडी बढाउन सङ्गठित हुने काम गरौँ र सामूहिक भावनाको विकास गर्ने कार्यक्रम सञ्चालन गर्न प्रयास गरौँ । 

यसका लागी आजकल प्रचलित सामाजिक सञ्जालको पनि प्रयोग गर्न सकिन्छ । जस्तो की केही व्यक्तिहरू मिलेर सामाजिक सेवाभावले काम गर्नको लागी सामाजिक सञ्जाल फेसबुकमा निश्चित एरियाका व्यक्तिहरूलाई समेट्ने वा जोड्ने गरी फेसबुक पेज वा गुरुप खोलौ र त्यसमा नेपाली समुदायलाई जनचेतना फैलाउने देखि समसामयिक विषयवस्तुमा सूचनाहरू आदान प्रदान गर्ने वा आपसमा सामूहिक हितका संदेशहरु आदान प्रदान गरौँ, समुदायमा देखा पर्ने साझा समस्याहरू बारे समाधान गर्न आपसमा सहयोग गर्न आधारहरु खोजौ, त्यो क्षेत्रमा नेपालीहरुबाट सञ्चालित सामाजिक सङ्घ, संस्थाहरू सँग समन्वय राखेर कार्यक्रमहरू सञ्चालन गरौँ, व्यापार एवं व्यवसाय के, कसरी, व्यक्तिगत, साझेदारी वा कम्पनी स्वरूपमा सञ्चालन गर्न सकिन्छ त्यस बारे छलफल एवं परामर्श दिने व्यवस्थाको लागी विभिन्न अभिमुखीकरण कार्यक्रमहरू विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थितिमा सञ्चालन गरौँ र यस्तो फोरमलाई विशुद्ध सामूहिक हित गर्ने हिसाबले सञ्चालन गरौँ । प्रत्येक कार्यक्रम गर्नको लागी समुदायका व्यक्तिहरू, व्यवसायीहरुबाट सहयोग जुटाउने प्रयास गरौँ वा थोरै थोरै आर्थिक सहयोग स्थानीय सबै नेपालीहरुबाट सङ्कलन गरौँ र यसरी संकलित रकमको सही सदुपयोग गरी हरेक कार्यक्रमको समाप्ति सँगै आर्थिक हरहिसाब पारदर्शी हुने गरी त्यही सामूहिक पेजमा राख्ने गरौँ । यसलाई अन्य नेपाली सामाजिक सङ्घ संस्थाहरू जसरी चलेका छन् तिनीहरू भन्दा नितान्त नयाँ ढङ्गबाट सञ्चालन गरौँ । 

यसो हुन सकेमा पक्कै पनि सानै स्तरमा भए पनि नेपालीहरू बिचमा आपसमा आत्मियता र सम्बन्धहरु स्थापित गर्न सकिन्छ जसको फलस्वरूप हरेक व्यक्तिहरूमा सामूहिक भावनाको विकास हुन सक्छ । त्यस्तै यस्तो फोरमलाई बिस्तारै विकसित गरेर भविष्यमा नेपाली समुदायलाई सुसोचित गर्ने सूचना एवं जानकारीहरु प्रदान गर्ने सामाजिक हितयुक्त परामर्श केन्द्रको रूपमा विकास गर्न पनि सकिन्छ र यसको सहयोगबाट सामान्य रोजगारी बारे परामर्श लिनको लागी र साना तथा मझौला व्यापार, व्यवसाय एवं लगानी सम्बन्धी परामर्श साथै दैनिक जीवनसँग गाँसिएको विषयहरू जस्तै हेल्थ ईन्सुरेन्स, मोटरकार, घरजग्गा खरिद बिक्री, घर एवं सम्पत्ति बिमा लगायत अन्य व्यवहारिक समस्याहरू समाधानको उपायहरुको लागी समेत मार्गदर्शन गर्न सकिने हुन सक्छ ।

नेपाली समुदायलाई कसरी कामदार वा श्रमिकबाट व्यवसायी वा उद्यमी बनाउने, कसरी बालबच्चाहरुलाई जिवनोपयोगी शिक्षा दिएर राम्रो रोजगारीमा वा व्यवसायमा संलग्न हुने गरी सक्षम बनाउने, नेपाली कला, भाषा, संस्कार, भेषभुषा, संस्कारलाई संरक्षण गर्दै आउँदो पुस्तामा के, कसरी हस्तान्तरण गर्दै जाने, नेपाललाई के, कसरी विश्व समुदायमा परिचित गराउने, नेपालीहरूलाई कसरी अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गराउने र प्रवेश भईसकेकालाई के, कसरी सहयोग गर्ने एवं उनीहरूलाई नेपालीको हित हुनेगरि कस्तो खाले एजेण्डा अमेरिकाको सम्बन्धित निकाय जहाँ सामूहिक हितको सुनुवाइ हुन्छ त्यहाँ राख्न लगाउने, नेपाली समुदायलाई कसरी जिम्मेवार र सबै किसिमबाट सबल बनाउन सकिन्छ यस बारे विभिन्न क्षेत्रका नेपाली विज्ञहरुसँग मिलेर विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जस्ता अनेक किसिमको कार्यक्रम सञ्चालन गरेर नेपालीहरू बिच आपसमा आत्मियता र भातृत्वको विकास गर्न सकिन्छ र यस किसिमका कार्यक्रमहरू सञ्चालनको लागी क्रमश: नेपालीहरूको बाहुल्यता वा बाक्लो बस्ती भएको ठाउँमा समेत आपसमा सङ्गठित हुने प्रयास यसै तवरबाट सामाजिक सञ्जाल मार्फत गर्न सकिएको खण्डमा अवश्य एक दिन समग्ररुपमा अमेरिका बस्ने नेपाली समुदायको विकास र उन्नति हुनेछ । 

त्यस्तै व्यक्तिगत विकासका लागी हुने प्रयास सामूहिक प्रयासबाट प्राप्ति गर्न सकिनेछ । "आफूलाई" मात्रै केन्द्रमा राखेर हेर्ने प्रवृतीमा क्रमश: सुधार आएर "हामीलाई" केन्द्र बनाएर अगाडी बढ्ने वातावरण बन्ने छ । जे जसरी भए पनि व्यक्तिगत र पारिवारिक उन्नति चाहने हो सबैले तथापि त्यसको लागी विदेशीभुमिमा एकल प्रयास भन्दा पनि " कलेक्टिभ बय " बाट सबै मिलेर अगाडी बढ्दा सामूहिक प्रयासमा व्यक्तिगत आवश्यकता र सफलता प्राप्त गर्न सहज हुन सक्छ । हामीले देखेका छौ की अन्यमुलकहरुबाट आएका आप्रवासीहरुले समेत आपसमा मिलेरनै व्यावसायिक एवं अमेरिकन मुलधारको राजनीतिमा सफलता पाएको देखि रहेका छौ त्यसलाई मध्यनजर राखेर समेत यसरी समुदायबाट सबैको हित हुने गरी अगाडी बढ्ने प्रयास नयाँ ढङ्गबाट गर्नु जरुरी छ । 

आखिर समुदायको राम्रो पहिचान र छाप पार्न सकिएको खण्डमा मात्र विदेशीभुमिमा विभिन्न बाधा व्यवधानहरुलाई परास्त पार्दै अगाडी बढ्न सकिने र आफ्नो पकड सर्वत्र कायम गर्न सकिन्छ । यदि नेपाली समुदाय सबैतिर सशक्त हुन सक्यो भने मात्र कुनै पनि विदेशी आप्रवासी वा रैथाने अमेरिकनहरुले नेपालीहरूलाई हेपाहा प्रवृतीले व्यवहार गर्न सक्दैनन् । अत: "म" बाट "हामी" मा रुपान्तरित हुन सामूहिक रूपमा सङ्गठित हुन आवश्यक छ । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक