Similar Articles

बिचार

म चङ्गा तिमी मेरो लट्टाई ! -सुनिल मणि दाहाल

बिराट नेपाल

मलाई चङ्गा बनाई आकाशमा उढाउने मेरो जीवनको लट्टाई प्रति समर्पित
हामी जिउन लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरुको जिन्दगी बर्बाद गर्दैछौ  !

घरबाट वाशिङ्टन डिसी स्थित मेरो कार्यालय आते जाते गर्न दुई घण्टा लाग्छ । करिब पाँच वर्ष अघीको कुरा हुदो हो, एक दिन भने कार्यालयबाट छिट्टै घर फर्किए । बेलुकाको करिब पाच बजेको थियो होला । छिट्टै घर आएर केही समय श्रीमतीसँग कुरा गर्ने, छोरा छोरीको पढाइको बारेमा छलफल गर्ने र नजिकै रेस्टुरेण्टमा सँगै डिनर खाने योजना बुनेको थिए । नेपालमा रहदा अनुकूल मिलाएर हामी यस्तै गर्थेउ ।

एक घण्टाको ड्राईभ पश्चात् घर पुग्दा श्रीमती कामबाट फर्की सकेकी रहेछिन । बैठकको ठुलो स्क्रिन भएको टिभीमा कुनै सिरियलमा लठ्ठिएकि थिइन उनी । सोफामा ल्यापटप ब्याग राखी उनले टिभी हेरुन्जुल कार्यालयको केही काम सकिहालौ भनी ल्यापटपमा म पनि एकोहोरिए ।
 
श्रीमतीसँग केही मिठा कुरा गरौला र पछि डिनर खान बाहिर निस्कौला भन्ने सोच्दा सोच्दै झपक्क रात परेछ । भित्ताको घडीले दस बजाएको न त उनले चाल पाइन न मैले नै ।
 
श्रीमतीले नजिकको डाइनिङ्ग टेबलमा खाना राखी दिइन । म चुपचाप डिनर खान थाले । डिनर खाएर एकछिन नजिकको पार्कमा घुम्न जाऊ, गफ गरौँ भने उनीलाई । उनी खुसीले फुरुंग भईन र सहमति जनाईन ।

हामी दुवैले चुपचापसँगै खाना खान थालेउ । यसै दौरान मलाई मन पर्ने एलेनको टिभी कार्यक्रम लाईभ आई रहेको थियो, खाना खादै एलेनको सोमा म डुबे । अति नै रोमाञ्चक एलेनको सो हेर्दा हेर्दै म नजिकको सोफामा निदाएछु ।

राती बाह्र बजे छोरा कामबाट आएर उठाउदा आधी रात बितेछ । छोरा कलेज पढदछ र आफ्नो पाकेट खर्च जोहो गर्नका लागि हप्ताको दुई दिन पार्ट टाइम काम पनि गर्दछ ।

आँखा खुलेता पनि मन भने शान्त थिएन । धेरै नै पश्चाताप भयो । छिट्टै घर आएको मौका पारेर पाएको समय श्रीमतीसँग बिताउने मेरो चाहनामा ठेस लागेको थियो । यति सम्म कि मातेको मान्छे झैँ आधी रातमा लर्बराउदै उठेको अवस्था थियो मेरो । 

मान्छेको जिन्दगीमा सोचे जस्तो नहुदो रहेछ । हामी केही सोच्छौ तर हुन्छ अर्कै । हामी सोच्छौ कि एक दिन अवश्य हाम्रो जीवन सुखमय हुने छ, तर हामीले कहिले पनि सुखी हुन जानेनौ वा सकेनौ । हामी सोच्छौ कि एक दिन यो गर्ने छौ त्यो गर्ने छौ, तर गर्न र पुर्‍याउन सक्दैनौ । 

मध्य रात थियो, सोफामा ढलेको जीउलाई ठड्याउदै उठे, हात मुख धोएर थाकेको गोरु झैँ आफ्नो पलंग नजिकको सोफामा ढल्किए । नजिकै श्रीमती सारा दिनको थकानले मस्त निदाई रहेकी थिइन । भोलि सबेरै उठेर हामी दुवैलाई आ-आफ्नो काममा जानु थियो । बेडरुमको नाईट बल्बको मधुरो उज्यालोलाई हेर्दै म चुपचाप केही सोची रहेको थिए । 

तेइस साल पहिले यिनलाई माग्न म काठ्माण्डोबाट बिराटनगर गएको थिए । यस अघि कहिले पनि यिनलाई मैले देखेको थिइन । मलाई सम्झना छ यिनी सँगको पहिलो भेट एक होटलमा भएको थियो । पहेलो कुर्ता सलवार लगाएकी यिनी आफ्नी मीतिनीलाई लिएर मलाई हेर्न आएकी थिइन । केही महिना पश्चात् मैले यिनलाई बिहे गरेको थिए । मैले बचन दिएको थिए कि सुखमा होस् वा दुखमा, जिन्दगीका हरेक गोरेटाहरुमा सदा तिमिलाई साथ दिनेछु ।



लेखक दाहाल परिवार

जिन्दगीको रथ चल्दै थियो, यस बिच अवसर र उत्साहाहरु धेरै आए, केही गुमे त केही पछि आएर थपिए पनि । दुई छोरा छोरी पनि भए ।  बाकी जिन्दगीको रथ चलाउन र श्रीमतीलाई दिएको बचन पुरा गर्न कै लागी मैले अमेरिकामा पाएको जागिर प्राथमिकतामा पर्‍यो । खास गरी केटा केटीहरूको उच्च शिक्षाका लागी र तिनीहरूको भविष्य सुध्रिढ गर्नका लागी पनि अमेरिका बसाइ सराइको निर्णयबाट हामी दुवै खुसी थियौ ।  सपरिवार सहित अमेरिकामा घरजम गरियो । 

तर, हाम्रो जिन्दगी कस्तो ? बिहानै आँखा खुल्दा काममा जान हतार । आपसमा कुरा गर्न समेत फुर्सत छैन । बिहान सबेरै म भन्दा आधा घण्टा अगाडी उठेर उनी मेरो लागि चिया बनाउछिन । चिया पिएर म फ्रेश हुन थाल्छु, उनी भगवानको पूजा पाठ र दिउसोको लागी बेलुका नै बनाएको लन्च प्याकिङ्ग मा व्यस्त हुन्छिन । हामी दुवै लन्च बक्स हातमा झुण्ड्याउदै कामका लागी अलग अलग गाडीबाट हुईकिञ्छौ । एक घण्टा पछि छोरा छोरीहरू पनि स्कुल तर्फ लाग्छन ।

बिहान पाच बजे उठेकी उनी काम सकी  बेलुका चार बजे घर फर्किन्छिन । छोरा छोरीहरूका लागी स्कुल पठाउन लन्च तथा स्न्याक्स अनि सपरिबारका लागी ब्रेकफास्टको नित्य चिन्ताले दैनिक कामबाट घर फर्कदा उनको हातमा ग्रसरीका पोकाहरु नभएको दिन सायद बिरलै होला । जति कमाउछिन त्यति नै घर परिवारका लागी त्यही स्टोरमा खन्याएर आउछिन । कामबाट फर्किएपछि एकछिन फ्रेश भएर बेलुकाको डिनर बनाउन व्यस्त हुन्छिन ! म कामबाट घर पुग्दा केटा केटी सुति सकेका हुन्छन् । म घर नपुगुन्जेलको समयमा उनी आफ्नो टिभी सिरियल  हेरेर मन बुझाउछिन, दिन भरीको थकान मेटाउने प्रयास गर्छिन । आफू पनि डिनर खाएर दिन भरि जोतेको गोरु झैँ थकान शरीर लिएर बेडमा पल्टनछु ।
 
अमेरिकामा जिउनका लागी एउटा पुरा दिन यसरि नै खर्च हुदो रहेछ । 
 
ती पहेलो कुर्ता सलवाल वाली मेरी श्रीमतीले आज सम्म मलाई कुनै सिकायत वा गुनासो गरेकी छैनन् । मैले जे दियो त्यही मन पराउछिन, जस्तो लुगा वा गहना दियो त्यही लगाउछिन । उनको विशेष चाहनाका बारेमा आज सम्म मलाई थाहा छैन । उनले कुनै पनि कुरामा हुरुक्क भएर आफ्नो लागि खर्च गरेको समेत मलाई थाहा छैन । उनले मसँग गुनासो किन नगरेकी होलिन मलाई त्यो समेत थाहा छैन तर आज मलाई आफू देखि नै ठुलो गुनासो छ । सायद मान्छेले जोसँग बढी माया र स्नेह गर्छ उसै लाई कम ध्यान दिने वा कम ख्याल गर्ने भएर पो हो कि? आखिर किन ?
 
धेरै पटक मैले महसुस गरे कि यसरि हड्डी घोटेर हामीले आफ्नोलागि काम गरेको हुँदै होइन । आफ्ना प्रियहरुको चाहना र रहरको हत्या गरेर आफ्नो लागि काम गरेको भन्न मिल्छ ? हामी त कुनै अज्ञात शक्तिको भय वा डर सँग लडनका लागि काम गर्दैछौ । यसै कारणले हामी जिउनका लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरुको जिन्दगी नै बर्बाद गर्दैछौ ।

म सोच्छु त्यो दिन कस्तो होला जब हामी वास्तविक जिन्दगी रमाएर जिउन सकौला ? अमेरिकामा होस्  वा अन्य मुलुकमा, के गाडी, घर, टिभी, कम्प्युटर, ल्यापटप, स्मार्ट्फ़ोन, ट्याब्लेट, कपडा किन्न कै लागि हामी बाचेका हौ ?  

आज पाँच वर्ष भयो मैले महसुस गर्न थालेको । परिवारलाई धेरै भन्दा धेरै समय दिई उनीहरू प्रति उत्तरदायी हुन ऐले पनि म यही सोच्दै छु । काम र परिवार बिच सन्तुलन राख्नु पर्ने आवश्यकताका बारेमा अब आएर म सचेत भएको छु । प्रतेक वर्ष घुमफिर गर्ने समय छुट्याउने, बजेटका लागी अनावश्यक खर्च कटौती गरी केही पैसा संचित गर्दै जाने र छोरा छोरीका लागी प्रयाप्त समय दिने हाम्रो प्रयास विगत पाँच वर्ष देखि कायम छ । यही कारणले नै आजकाल म पनि समय मै घर फर्कन्छु, किचेनमा खाना पकाउन सघाउछु र हासी खुसीसँगै खाना खान्छौ । बेलुका काउन्टीसँग लिजमा लिएको गार्डेन प्लटमा तरकारी लगाउन र हेरचाह गर्न दुवै निस्कन्छौ । दुई घण्टा पछि फ्रेस भएर घर फर्कन्छौ ।

जिन्दगी धेरै छोटो छ, समय बितेको पत्तो हुँदैन । यो छोटो जिन्दगीलाई त्यसै खेर नफ़्यालौ । हाम्रा हरेक पलहरू महत्त्वपूर्ण छन् । कामलाई एक ठाउमा राखेर हाम्रो प्यार र हामीले निर्बाहा गर्नु पर्ने कर्तव्य लाई समय मै चिनौ । आफ्नो जीवन साथी र छोरा छोरीहरूसँग धेरै समय बिताउ, उनीहरूसँग माया र स्नेह साटा साट गरौँ । 
 
आफ्ना जन्म दिने बाबु आमा लगायत दाजु भाइ, दिदी, बहिनी तथा नाता गोता सबैलाई छोडी अर्काको घरमा सम्बन्ध गासेकी आफ्नी जीवन साथीलाई बेला बेलामा उनको सुख र दुख सोधेर बुझेर हेरौ, उनको भावना र रहरको कदर गरेर हेरौ .... माया र प्रेम भित्र जीउनेहरु जस्तो भाग्यमानी कोही हुँदैन ।
 
तपाईहरु पनि सोच्नुहोस । सके सम्म आफू लाई सुधार्ने र परिवर्तन गर्ने प्रयास गर्नु होस् । आफ्नो जीवन साथी र छोरा छोरीहरूसँग धेरै समय बिताउने प्रयास गर्नुहोस ।

मलाई आज घर जान हतार छ किनकि आज हामी सपरिवार एक रेस्टुरेण्टमा डिनर खान जादैछौ । आजको विशेष दिनका लागी डिनरको कार्यक्रम छोरा र छोरी दुवैले मिलेर जुराएका छन् ।
 
ती पहेलो कुर्ता सलवालवाली युवतीसँग लगनगाठो गासिएको आज बाइस वर्ष पुगेछ । मलाई चङ्गा बनाई आकाशमा उढाउने मेरो जीवनको लट्टाई प्रति आभार प्रकट गर्दै मेरी उनीलाई हार्दिक धन्यवाद ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक