Similar Articles

बिचार

अमेरिकामा रहेका नेपाली संस्थाहरूमा डा. के.सी.को आन्दोलन प्रति उदासिनता किन ?-- राजु सिटौला

बिराट नेपाल

नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको पैसाको फोहरी चलखेल रोक्न र सर्वसाधारण जनताको स्वास्थ्यमा खेलबाड हुन नदिन डा. गोविन्द के.सी.ले आफ्नो प्राणको बाजी लगाएर आमरण अनसन बसेको आज १४ दिन कटिसक्यो । तर के.सी.को आन्दोलनले यत्तिका दिनहरू पार गरिसक्दा पनि र उनको स्वास्थ्य अत्यन्त नाजुक स्थितिमा पुगिसक्दा पनि नेपाल सरकारले गम्भीर चासो दिएर उनको मागहरुको सुनुवाइ गर्न पहलकदमी गरेको छैन । अहिले संसदमा रहेका हरेक राजनैतिक दलहरूको सबैभन्दा ठुलो चासो र चिन्ता भनेको कि त सरकारको आयु कसरी लम्ब्याउने कि त सरकारलाई कसरी ढाल्ने भन्नेमा नै सीमित छ । 

 

आफ्नो पदीय मर्यादा र सीमालाई कुल्चेर र नाघेर स्वास्थ्य क्षेत्रमा नाङ्गो हस्तक्षेप गरिरहेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको डर त्रासकै कारणले पनि कतिपयले बोल्न सकिरहेका छैनन् । त्यसो त अहिलेको सरकार फेर्ने खेल जस्तै डा. गोविन्द के.सी.को प्रत्येक आमरण अनसनको समयमा केही न केही विकर्षणका अन्य घटनाहरू घटिनै रहेका हुन्छन् । पुरै संसद सरकारलाई ढाल्ने र नयाँ सरकार बनाउने खेलमा व्यस्त भएको अहिलेको समयमा डा. के.सी.को मागहरू मध्येको प्रमुख माग अख्तियार प्रमुखलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा आइहाल्ने सम्भावना अत्यन्त क्षीण छ । 

 

यी सबैका बाबजूद पनि ड.के.सी.को आन्दोलनप्रति आम नेपालीको समर्थन बढ्दो छ; सडकमा, सामाजिक संजालहरुमा र आम नेपालीको मनमस्तिष्कमा डा. के.सी. छाएका छन् । स्वास्थ्य क्षेत्रलाई पैसाको फोहरी खेलबाट मुक्त राख्न र आम नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भन्ने पवित्र उद्देश्य लिएर डा. के.सी.ले सुरु गरेको यो अनसनको माग पुरा गराउन देश र विदेशमा रहेका सबै नेपालीले डा. के.सी.को आन्दोलनप्रति एेक्यबद्दता जनाउन आवश्यक छ ।   

 

अहिलेको सूचना प्रविधिको युगमा नेपालमा हुने हरेक साना-ठुला साना घटनाहरुले विदेशमा रहेका नेपालीहरू समक्ष नपुग्ने र त्यसले उनीहरूलाई नछुने भन्ने कुरै भएन । अमेरिकामा रहेका नेपालीहरूले पनि सामाजिक सञ्जालको माध्यमहरुबाट डा. के.सी.को अनसनप्रति येथेस्ट चासो, चिन्ता र एेक्यबद्दता देखाएका छन् । तर अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्ने भनिएका संस्थाहरूले यहाँ रहेका नेपालीहरूको भावनाको प्रतिनिधित्व गर्दै डा. के.सी.को आन्दोलनको समर्थनमा एक शब्द पनि नखर्चनु अत्यन्तै आश्चर्यजनक मात्र होइन अत्यन्तै दु:खलाग्दो पनि छ । 

 

अमेरिकामै पनि कतिपय स्थानीय नेपाली संस्थाहरूको कार्यक्षेत्र त्यहाँ रहेका नेपाली अमेरिकनहरु माझ सम्पर्क र सम्बन्धको माध्यम बन्नुमा मात्र सीमित छ । त्यस्ता संस्थाहरुलाई तिमीहरूले यो विषयमा किन बोलेनौ भन्नुको कुनै तुक पनि छैन । तर अमेरिकाको हरेक राज्यमा च्याप्टर स्थापना गरेर हामी अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा ठुलो संस्था हौ भन्दै प्रतिस्पर्धामा रहेका र त्यस्ता संस्थाहरूमा पद ओगटेकै कारणले नेपालमा पनि राजनैतिक र सामाजिक हैसियत खोज्नेहरुले नेपाली समाजको यत्रो ठुलो चिन्ताको विषयमा केही बोल्नुपर्ने हो कि होइन ? के कुनै राजनैतिक विचारधारा र कुनै राजनैतिक दलसँग आवद्द भएकै कारणले नेपालमा रहेका राजनैतिक दलहरूले जसो जसो गरे र जसो जसो भने त्यस्तै त्यस्तै गर्नुपर्छ ? यस्ता संस्थाहरूले अमेरिकामा रहेका नेपालीहरूको भावनालाई बोक्ने कि नेपालमा रहेका पार्टीहरूको निर्देशनलाई बोक्ने ? के परेड र कन्भेसनहरु गरेर ढाका टोपी ढल्काउनुमा मात्रै सीमित छ यी संस्थाहरूको मातृभूमि प्रतिको माया ? 

 

आफ्नो संस्थाको एक जना सदस्यको कोही नातेदार मर्दा पनि समवेदनाका अनेकौ फेरिस्त बनाउनेहरुले करोडौ नेपाली मनहरुले आफ्नो ठानेका एक सच्चा समाजसेवक मृत्‍युको मुखैमा पुगिसक्दा पनि चुइक्कँसम्म किन नगरेका ? कि त हामी नेपालीहरूको संस्था हौ भनेर ढोङ गर्न छोड्नुपर्यो, कि त केही बोल्नुपर्यो । 

#IamwithDrKC rpsitaula@gmail.com



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक