अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-01
आङछिरिङ शेर्पा/न्यु योर्क
म्यानहटनको ‘गेने फ्याङ्कल’ थिएटरमा कमै नेपाली पुग्ने गर्छन् । नाटक नै हेर्न जानेको सङ्ख्या झनै न्यून छ । तर, त्यही थिएटरमा गत हप्ता भने नेपालीको भीडभाड देखियो । झट्ट हेर्दा थिएटर सानो भए पनि त्यहाभित्र मञ्चन भइरहेको नाटक निकै रोमञ्चक थियो । पुरै अमेरिकन संस्कृतिमा जन्मेर हुर्केका युवाहरूको हाउभाउमा मञ्चन भइरहेको नाटकले अन्य मुलुकबाट आएकाहरुलाई फरक अनुभूति दिलाउँथ्यो ।
परम्परागत शैलीको नाट्यघरमा एकतिर नेपालीको हुल थियो भने अर्कोतिर विभिन्न मुलुकका नागरिक सयको हाराहारीमा दर्शकहरु थिए । शान्त नाट्यघरमा अमेरिकन कलाकारको माझ गोरी नेपाली युवती देखेपछि उनलाई नेपालीहरूले तालीले स्वागत गरे । ‘ब्रेकिङ हन्डेट’ नामक दुई घण्टा लामो युवाहरूको मनोविज्ञानमा आधारित नाटकमा ती नेपाली युवती दोस्रो महत्त्वपूर्ण भूमिमा अभिनय गरिरहेकी थिइन् । कलिलै उमेरमा अमेरिकी कलाकारको बिचमा अभिनय गर्ने उनी हुन इसी शेर्पा । विभिन्न नेपाली समाजमा उद्घोषण र नृत्यमा परिचित इसीलाई रंगमञ्चमा देख्दा धेरैले अचम्म पनि माने होलान् । किनकि उनी अभिनय पनि गर्छिन् भन्ने धेरैलाई थाह थिएन ।
म्यानह्टनस्थित ‘सेम परफर्ममिङ लगोडिया आर्टस’ स्कुलबाट ग्रजुएट गरेकी इसीले अमेरिकन नाटकमा अभिनय गरेको देख्दा अनुभवी कलाकार झैँ लाग्छ । सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान पाएकी उनले अहिलेसम्म करिब आधा दर्जन बढी नाटकमा अभिनय गरिसकेकी छिन् । अध्ययनसँगै सुरुमा निःशुल्क नाटकमा अभिनय गरेपनि उनको उत्कृष्ट प्रस्तुतिले अहिले विभिन्न थिएटरले उनलाई पारिश्रामिक दिन थालेको उनले सुनाइन् । ‘सानैदेखि नाटक हेर्ने र अरूले अभिनय गरेको देख्दा मलाई पनि नाटकमा अभिनय गर्न मन लाग्थ्यो,’ इसीले भन्छिन्, ‘मेरो रुचिसँगै अभिभावको हौसलाले यहाँसम्म आइपुगेकी छु ।’ नाटकमा उनको प्रस्तुति देखेपछि इसीलाई डिस्कभर क्रेडिट कार्ड कम्पनीले २० मिनेटको २ सय डलरको दरले विज्ञापनमा अनुरोध गरेको थियो ।
सोलुखुम्बु निवासी ङिमा शेर्पा र चुण्डी शेर्पाकी जेठी छोरी इसीले अध्ययनसँगै अतिरिक्त कार्यको रूपमा कलाकारितालाई निरन्तर अघि बढाइरहेकी छन् । उनी अहिले सुनि ‘पारचेज कलेज’मा समाजशास्त्र विषयमा अध्ययन गरिरहेकी छन् । भविष्यमा नाटकसँगै इमिग्रेसनको हितको लागि कानुन र पब्लिक हेल्थमा सहयोग गर्ने लक्ष्य लिएकी छन् । अध्ययनमा मेहनेती उनलाई यो अध्ययनसँगै ६ महिनाको लागि ब्राजिल, साउथ अफ्रिका र भारतको हयुमन हेल्थ रिसोर्च सम्बन्धित विषय अध्ययनको छात्रावृति पाएकी छन् ।
‘उ आफ्नै सङ्घर्षले यहाँसम्म पुगेको देख्दा निकै गौरव लागिरहेको छ,’ इसीकी आमा चुण्डीले भनिन्, ‘अध्ययनसँगै बिदाको समयमा रचनात्माक कार्य गर्न रुचाउने उनको इच्छाले यो उपलब्धि हासिल गरेको ठानेकी छु ।’ इसीको परिचय उद्घोषक, नृत्य गर्ने र नाटकमा मात्र सीमित छैन । उनी सनीसाइडस्थित समर क्याम्पको बालबालिकाको लिडरको रूपमा समेत चिनिन्छ । उनले तीन वर्ष समर क्याम्पमा कक्षा १ र २ मा अध्ययन गर्ने नेपाली बालबच्चाहरुलाई विभिन्न विषयको ज्ञान दिनका साथै खुसी बनाउने काममा निकै उत्कृष्ट कार्य गरेकी थिइन् । ‘आफू पनि अध्ययनमै व्यस्त छु तैपनि समर क्याम्पमा बालबच्चाहरुसग विताउँदाको क्षण निकै रमाइलो लाग्छ,’ इसीले भने, ‘समर क्याप्म सकेपछि बच्चाहरुले निकै आदार गरेर इमेल पठाएको र बाटोमा भेट्दा उनीहरूले चिनेर बोलेको पाउँदा बच्चाहरुसँग रमाउन मन लाग्छ ।’ इसिले गत वर्ष नेपालमा भूकम्प गएको लगतै आफना स्कुलका साथीहरूको साथमा भिडियो मार्फत सहयोगको आव्हान सहयोग गरेका थिए ।
उनी अभिनित नाटकका लेखकले पनि इसीको अभिनय मनपराएका रहेछन् । ब्रेकिङ हन्टेडको लेखक माइक बोन भेन्ट्री भन्छन्, ‘मैले लेखेको कथाअनुसार सबै कलाकारको उत्कृष्ट अभिनयले मलाई एकदम खुसी लागेको छ, विभिन्न पृष्ठभूमिका कलाकारहरू मध्येमा इसीको कला प्रस्तुतिले झन् हामीलाई निकै गौरवन्वित तुल्यायो ।’ बोनले थपे, ‘उनको जोशजाँगर र मेहेनत देख्दा पक्कै पनि राम्रो कलाकार बन्ने लक्षण देखिएको छ ।’
Post Comments Using Facebook
Your Comments