अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-02
अग्नी चौलागाईं तथा शैलेश पोखरेल, अमेरिका २ जुलाई ।
अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था एएनएको ३३ औं अधिवेशन आज जर्जियाको एटलान्टामा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की र एएनएका अध्यक्ष रोजर अधिकारीले उदघाटन गर्नुभयो ।
कार्यक्रमको सुरुमा अध्यक्ष अधिकारीले स्वागत भाषण गर्दै स्थापना कालदेखि हालसम्म संस्थाले गरेका कार्यक्रमहरूको बारेमा प्रकाश पारेका थिए । उद्घाटन सत्रका प्रमुख अतिथि डा. कार्कीले भूकम्पबाट क्षतिग्रस्त भएको देशको सम्झनामा अमेरिकामा रहेका नेपाली संस्था र व्यक्तिहरूले सहयोग पुर्याएका थिए भने आगामी दिनमा समेत आफ्नो मातृभूमि र अमेरिकामा रहेका नेपाली समुदायको हितमा अझ बढी कार्यगर्ने दिशामा यस अधिवेशनले गति प्रदान गरोस भन्दै सम्मेलन सफलताको शुभकामना दिनुभयो ।
जर्जिया स्टेट सिनेटर स्टिभ हेन्सन र जर्जिया हाउस अफ रिप्रिजेन्ट्टिभका प्रतिनिधि पेड्रो "पेट" मारिनले अमेरिका आप्रवासीहरुको देश भएको हुँदा आफुहरु नेपाली समुदायका मानिसलाई कुनै क्षेत्रमा सहयोगको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध गर्दै सम्मेलन सफलताको शुभकामना दिए।
नगमा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरु हरि शर्मा ए एन ए संस्थापक अध्यक्ष, डा कुल चन्द्र शर्मा ए एन ए बोर्ड अफ ट्रस्टी,डा केशव पौडेल एनआरएन अध्यक्ष,राष्ट्रिय योजना आयोगका डा. जय निशान, विमल नेपाल नासा अध्यक्ष,सुशील शर्मा आन्मा अध्यक्ष,रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव विनोद त्रिपाठी,वाना पूर्व अध्यक्ष विजय श्रेष्ठ, पदम विश्वकर्मा अनेसास केंद्रीय अध्यक्ष, दुर्गादहाल पूर्व अध्यक्ष नान्सले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
सत्रको अन्त्यमा खगेंद्र अधिकारी एएनए उपाध्यक्ष, संतोष पहारी- उद्घाटन समारोहका संयोजक र अनुप श्रीवास्तव कन्भेनरले सम्मेलनमा सबैलाई स्वागत गर्दै एटलान्टामा सबैलाई स्वागत गरेका थिए ।
एएनए वरिष्ठ उपाध्यक्ष तथा कन्भेन्सन अध्यक्ष शम्भु ढुंगानाले एकता, सहयोग र सफलताको उद्देश्य सहित एएनएले कार्यक्रम लिएर आएको हुँदा नेपाली समुदायको हितमा सबैले मिलेर काम गरौँ भन्दै सत्रको अन्त्य गरेका थिए । आज दिउसो युवा नेताहरू गगन थापा र रबिन्द्र अधिकारीका साथमा नेपाल फोरम सञ्चालन हुने कार्यक्रम रहेको छ।
Post Comments Using Facebook
Your Comments