अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-05
अग्नी चौलागाईं तथा शैलेश पोखरेल, एटलान्टा, अमेरिका।
अमेरिकामा रहेका नेपालीहरूको पुरानो संस्था एएनएको कन्भेन्सनमा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले पत्रकारिताका चुनौती र समाज रूपान्तरणमा सञ्चारको भूमिका विषयमा मिडिया फोरम सन्चालन गर्यो । आयोजित मिडिया फोरममा सभासदद्वय गगन थापा र रविन्द्र अधिकारी, अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, पत्रकार भूषण दाहाल र एएनए अध्यक्ष रोजर अधिकारीले पत्रकारिताका विविध पक्षमा चर्चा गर्नु भयो ।
नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले सञ्चालन गरेको मडिया फोरममा पत्रकार भूषण दाहालले दुईदशक अगाडी भन्दा आज संख्यात्मक रूपमा मिडियाको सङ्ख्या बढेको छ तर सङ्ख्याको आधारमा गुणात्मक रूपमा समेत वृद्धि गर्न सकिरहेको अवस्था नरहेको, समाचार कसले पहिला प्रसारण गर्न सक्ने होडबाजीमा सत्य समाचार बाहिर आउन नसक्ने हुँदा चाडो भन्दा सत्यको लागि पहल गर्नु पर्ने, एउटा मिडियामा विविध प्रकारका समाचार आउने हुँदा समाजमा प्रतिकुल असर पार्न सक्ने खालका सामाग्रीहरुलाई प्रश्रय दिने परिपाटी हटाउनु पर्ने तथा सही रूपमा पत्रकारिता गर्दा कसैको समाचार ब्ल्याक आउट गर्ने नभई सहीलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो ।
आफ्नो धारणा राख्दै एएनएका अध्यक्ष रोजर अधिकारीले समाज विकासमा सञ्चारको महत्त्वपूर्ण भूमिका रहने हुँदा यस क्षेत्रले जिम्मेवारी पूर्वक आफूलाई प्रस्तुत गर्नु पर्ने धारणा राख्दै सञ्चार क्षेत्र राज्यले समेत चौथो अङ्गको रूपमा प्रस्तुत गरेको बताउनुभयो ।
फोरममा धारणा राख्ने क्रममा नेकपा एमालेका युवा नेता तथा सांसद रबिन्द्र अधिकारीले प्रविधिले छलांग मारेको अहिलेको समयमा हामीले बोलेको भन्दा मिडियाले लेखेको कुरा समाजले बुझ्ने हुँदा सही कुरा सम्प्रेषण गर्नु सञ्चार क्षेत्रको जिम्मेवारी भएको बताउनुभयो । लेखा समितिमा रहेर कार्य गर्दाको अनुभव सुनाउदै बाहिरबाट आएका हजारौँ उजुरी भन्दा सञ्चार क्षेत्रमा उठेका कुरामा पहिला कारबाही बढ्ने हुँदा मिडियाको पहुँच कति सम्म छ र यसले कसरी जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्न आवश्यक छ भनी बताउनुभयो । धारणाको क्रममा सञ्चार क्षेत्रको बढ्दो र परिवर्तित स्वरूपमा अनलाइन मिडिया अहिले अग्ररुपमा आएको हुँदा यसलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने वातावरण बनाउन जरुरी भएको धारणा राख्नुभयो ।
नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले आफ्नो मन्तव्य राख्दै शहरी क्षेत्र मात्र नभएर दुर्गम क्षेत्रमा समेत आफू भन्दा अगाडी आफूले बोलेका कुराहरू समाचार मार्फत पुग्ने हुँदा सदैव सञ्चार अगाडी नेताहरू सतर्क भएर बोल्ने र सोही अनुसार कार्य समेत गर्ने विचार राख्नुभयो । सञ्चारको स्वरूपमा आएको परिवर्तनले गर्दा केही वर्ष अगाडी सम्म केही साहुमहाजनको रूपमा चिनिने सञ्चार क्षेत्र अहिले आम मानिसको पहुँचमा पुग्न सफल भएको बताउनुभयो । आगामी दिनमा मिडियाले समाचारको गहिराइमा गएर आफूलाई खोजमुलक पत्रकारिमा लैजानुपर्ने, आफूले सत्य लेख्ने भन्दा तथ्य पाठक समक्ष राख्दै सत्य छुट्टाउने जिम्मेवारी पाठकलाई दिनुपर्ने धारणाराख्नु भयो ।
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले आफ्नो धारणा राख्दै पत्रकार भन्दा समाचार बोल्दा सही अभिव्यक्ति आउने विचार राख्नुभयो । पत्रकार बोल्दा कुनै जात,जाती, धर्म वा वर्ग इत्यादिबाट पर्न सक्दछ, उसले बोलेका कुराहरू गलत रूपमा बुझिन सक्दछ भने समाचार बोल्ने हो भने समाजले सही सूचना पाउन सक्दछ भनी बताउनुभयो । कुनै पनि क्षेत्रमा विसंगती आएको अवस्थामा सबै भन्दा बढी क्षति सोही क्षेत्रलाई पर्नजाने हुँदा सञ्चार क्षेत्रमा कसैले गलत क्रियाकलाप गर्दछ भने सर्वप्रथम सोही क्षेत्रले नियन्त्रण गर्ने हो भने आफ्नो पेसालाई सम्मानित र मर्या्दित समेत बनाउन सकिने हुँदा आचार सहिता बनाएर जानुपर्ने धारणा राख्नुभयो । मन्तव्यकै क्रममा डा. कार्कीले मियिाले राम्रो कामगर्न सकेमा समाजमा उन्नति र प्रगतिको मार्गमा जाने र गलत ढङ्गमा गए दुघटना समेत निम्तने र निस्किरहेको समेत बताउनुभयो ।
Post Comments Using Facebook
Your Comments