भुपेन्द्र तिम्सिना
दमक, ११ साउन
लगातारको बर्षाका कारण डाँस खोलामा उर्लिएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीमा पर्ने डाँस खोलाको पुल संकटमा पार्दा समेत सडक विभागले चासो देखाएको छैन ।
बाढीले लगातार ३ दिनदेखि डाँसखोलाको पुलको पूर्वी भागमा कटान गरी त्यहाँको सुरक्षाका लागि लगाईएको तारजाली र ढुंगा बगाएर पुलको फेदको भाग समेत कटान गरेको छ । पुलको पूर्वी किनारमा रहेको पशुपतिनगर टोलका २ घर विस्थापित भएका छन् । सो टोलका १ सय घर संकटमा छन् ।
बाढी पुलको फेदमा ठोक्किएर पश्चिमको जिरिखिम्तीतिर मोडिदाँ बस्ती समेत उसैगरी संकटमा परेको छ । कटान हुँदै गएर दिपेन्द्र दहाल सहितको २ दर्जन घर समेत संकटमा पारेको छ । पुल र वस्ती जोगाउनका लागि नगरक्षेत्रका अगुवाहरुले सम्बन्धित निकायसँग हारगुहार मागिरहेका छन् । आफुहरुले जिल्ला दैविप्रकोप समिति, सडक डिभिजन कार्यालयमा समेत जानकारी गराएको नगरका समाजसेवी किशोर राईले जनाउनु भएको छ । उँहाले पुल ज्या दै जोखिममा परेको अवस्थामा पुल जोगाएर वस्तीलाई समेत संरक्षित गर्न सडक विभागले उत्तर र दक्षिणको केही भागमा तारजाली सहितको व्यवस्थित तटबन्ध गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ ।
पश्चिमतर्फको जिरिखिम्ती वस्तीको खोला किनारमा तारजाली सहितको तटबन्ध नहुँदा संकट निम्तिएकाले सम्बन्धित निकायको त्यसमा ध्यान जानु आवश्यक रहेको कटान पिडीत मध्येका दिपेन्द्र दहालले उल्लेख गर्नुभएको छ ।
बाढीको संकटपछि सोमबार पथरीशनिश्चरे नगरपालिका कार्यालयले २ वटा जेसिवी मगाएर खोलाको बहाव सिधा पार्ने प्रयत्न गरेपनि सफल हुन सकेन ।
नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले सानाखाले जेसिवीले खोलोको बहाव परिवर्तन गर्न समस्या भएकाले ठूलाखाले स्काभेटर लगाउन आवश्यक रहेको बताउनु भएको छ । उहाँले आफुले समेत पटक पटक सडक विभागलाई जानकारी गराएको जनाउनु भएको छ ।
उता, सडक डिभिजन कार्यालय विराटनगरका निमित्त प्रमुख नन्दकुमार गुप्ताले आफुहरुसँग खोला फर्काउने मेसिनरी सामग्री नभएको उल्लेख गर्दै पुल जोगाउने सवालमा खासै चासो देखाउनु भएन ।