Similar Articles

कृष्ण धरावासीको कलमबाट

गणेशबहादुर प्रसाई: एक गाडधन -कृष्ण धरावासी

बिराट नेपाल

जताबाट तान्न थाल्यो त्यतैतिर फुक्दै जाने धागो जस्तो व्यक्तित्व थियो गणेशबहादुर प्रसाईको । शिक्षा, साहित्य, राजनीति तीनै क्षेत्रमा विशिष्टता हासिल गरेको यो नाम तर मलाई लाग्छ गुमनाम नै रहयो । विशेषता अनुसार जति चर्चा पाउनु प¥थ्यो त्यसको दश अंश पनि उहाँले जीवन कालमा पाउन सक्नु भएन ।

मेरो तीस वर्षको झापाली साहित्यिक यात्राका नायकहरुमा गणेशबहादुर प्रसाई एक छुट्टै व्यक्तित्व हुनुहुन्थ्यो । विभिन्न अग्रजहरुबाट विभिन्न कुराहरू सिकें, त्यसमध्ये गणेशबहादुर प्रसाईबाट मैले सिकेको कुरा निबन्ध र समालोचना हो । 

उहाँको बारेमा मैले विद्यार्थी कालमै शनिश्चरेका शिक्षकज्यूहरुका मुखबाट सुनेको हुँ । उहाँले केही समय शनिश्चरे मा.वि.मा पनि पढाउनु भएको रहेछ । उहाँको शिक्षणकला, तार्किकता र हरेक विषयमा नयाँपन भेट्ने क्षमताको चर्चा प्रायः सुनिरहन्थे म । मैले उहाँलाई वाक्लै गरी भेट्न थालेको चाहिँ २०३७ साल देखि हो, जब मैले शनिश्चरे मा.वि.मा शिक्षण गर्न लागें । 

साहित्यिक गतिविधिमा सक्रिय हुन थाले पछि विभिन्न कार्यक्रमहरूमा अग्रजहरुसँग भेटिने क्रममै भेटिनु भएको हो उहाँ पनि । ्अग्रजहरुका कुरा सुनिरहने, छेउमा जाने, बस्ने गरिरहन्थें । मेरो त्यही बानीले उहाँलाई पनि आकर्षित गरेछ होला । एक दिन अलिक विशेष रूपले चासो राखी मेरो बारेमा जानकारी लिनु भयो । ् उहाँले पहिलोपल्ट मेरो कविता सुन्नु भएको रहेछ मेची अञ्चल स्तरीय साहित्य सम्मेलन– २०३७, बिर्तामोडमा । त्यहाँ मैले त्यो दिन शीर्षकको कविता सुनाएको थिएँ जसको विशेष प्रशंसा गर्नु भएको थियो मोहनराज शर्माले पनि । 

विश्वदीप मासिक प्रकाशन हुन थाले पछि नियमित रूपमा हाम्रो भेटघाटको थलो भएको थियो त्यो । मदन ढकाल र गोपीकृष्ण खनालले अत्यन्तै आदर गरेर उहाँलाई पत्रिकाको संरक्षक सल्लाहकार पनि राख्नु भएको थियो । संभवत त्यसबेला काठमाडौँ बाहिरबाट छापिने साहित्यिक पत्रिकाहरूमा त्यो धेरै नै स्तरीय छ भन्ने मलाई लाग्छ । रामकृष्ण शर्मा, लिलबहादुर क्षेत्री, इन्द्रबहादुर राई, डा. कुमार प्रधान, लख्खिदेवी सुन्दास, कमला साँकृत्यायन, शरद क्षेत्री, डा. जसयोञ्जन प्यासी जस्ता नेपाली भाषाका भारतीय लेखक देखि नेपालका विशिष्ट व्यक्तित्वहरुका रचनाहरुले त्यहाँ ठाउँ पाएका छन् । त्यसै पत्रिकामा नियमित जस्तो गणेशबहादुर प्रसाईका निबन्धहरु छापिन थाले । प्रत्येक अङ्कमा छापिएका ती निबन्धहरुले अत्यन्तै ठुलो चर्चा पाउथे । ती निबन्धहरु पढेर म प्रायः अलमलमा पर्ने गर्थे किन कि ती पढ्दा खेरि पूराका पूरा आख्यान लाग्थे, त्यसमा पनि फेन्टासी मिसिएका । 

शङ्कर लामिछानेका निबन्ध पढेर, म जति धेरै प्रभावित र आश्चर्यचकित भएको थिएँ, त्यो भन्दा बढी प्रभावित थिएँ गणेशबहादुर प्रसाईका निबन्धहरुले । यी कसरी निबन्ध हुन् भनेर कतिपय ठाउँमा मैले बहस पनि गरेँ तर बिस्तारै म आफै त्यतै तिर तानिदै गएँ । विश्वदीप मासिकमा प्रकाशित ती निबन्धहरुको त्यसबेला राजनीतिक अर्थ पनि थियो । त्यो जनमतसंग्रह काल थियो । पंचायत विरोधी ठुलो लहर चलेका बेला प्रकाशित भइरहेका थिए ती निबन्धहरु र ती प्रत्येकले बिम्वात्मक रूपमा त्यस बेलाको राजनीतिमाथि चर्काे व्यंग्य गर्थे । 

वि.सं. १९८७ मा इलाममा जन्मिनु भएका उहाँको शिक्षा इलाम, काठमाडौँ र दार्जेलिङमा भयो । काठमाडौँमा पढ्न बसेका बेला एकाएक साधुको सङ्गतमा परेर पशुपतिमा आएका साधुकै पछि लागि बनारसतिर पुगेको कुरा उहाँले नै लेख्नु भएको छ । मलाई लाग्छ, वाल्यकालमा उहाँ भित्र पसेको त्यो सन्यास भावले जीवनभरि काम ग¥यो । 

२००५ सालमा काँग्रेस पार्टीमा लागेर राणा विरोधी आन्दोलनमा लाग्नु भएको उहाँ २००८ सालसम्म आइपुग्दा कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर झापाको किसान आन्दोलनका एक सशक्त विद्रोही भइसक्नु भएको थियो । काँग्रेस भएका कारण राणाहरुको थुनामा पर्नु भएको उहाँ, कम्युनिस्ट भएर पनि थुनामा पर्नु भएको थियो । अझ रमाइलो त के समेत छ भने २०१७ साल पछि पंचायतमा लाग्नु भएका र पंचायतकै प्रवक्ता सरह देखिनु भएका मान्छे २०४२ सालमा पंचायत विरोधीको आरोप लागि राजकाज मुद्दामा समेत जेल पर्नु भयो । नेपाली राजनीतिमा स्थापित सबै विचार र पार्टीको अनुभव गर्दै सबैका तर्फबाट जेल पर्ने अनौठो मान्छेको रूपमा पनि हामी उहाँलाई हेर्न सक्छौँ । 

उहाँको सबैभन्दा प्रशंसनीय पक्ष भनेकै गहिरो अध्ययन र विश्लेषण क्षमता हो । अङ्ग्रेजी विषयको स्नातक उहाँ, अङ्ग्रेजी साहित्यका सिर्जना र समालोचनाका विशिष्ठ अध्यता हुनुहुन्थ्यो । आफ्नो युगका अङ्ग्रेजीका विद्वानहरुको लश्करमा अग्लो उभिने क्षमता थियो उहाँमा । त्यही भएर त भारतको दार्जेलिङमा रहेका बेला इन्द्रबहादुर राईसँग उहाँको बौद्धिक सामिप्यता देखिन्थ्यो । वैरागी काइँलाले निकै पल्ट विभिन्न सन्दर्भमा भनेको कुरा मलाई स्मरण भइरहन्छ । उहाँले तेस्रो आयामको बारेमा कुरा गर्दा भन्नु हुन्थ्यो– २०२० सालमा तेस्रो आयामको घोषणा गर्नु अघि इन्द्रबहादुर राई र गणेशबहादुर प्रसाईको सैद्धान्तिक अध्ययन र विश्लेषण एकदम नै महत्त्वपूर्ण थियो । त्यसबेला पश्चिममा चलेका विभिन्न समकालीन वाद र सिद्धान्तहरुलाई खोज्ने, अध्ययन गर्ने र सामूहिक छलफल गर्ने चलन थियो । तेस्रो आयामको घोषणा गरे पछि दार्जेलिङमा निकै तिखो आलोचना भयो । हामीले आयोजना गरेका भेलाहरुमा हाम्रा कविता सुन्ने श्रोतामा प्रायः सधैँ एक जना गणेशबहादुर प्रसाई मात्र हुन्थे ।’

मुलतः उहाँ समालोचक र निबन्धकार नै हो । उहाँका निबन्धहरुमा काव्यिक र स्वेर काल्पनिक शक्ति भेटिन्छ । अनि समालोचनाका क्षेत्रमा तार्किकता र नौलोपनको खोज । रामकृष्ण शर्मा र तारानाथ शर्माको समालोचकीय कित्तामा उभिन पुग्नु भएको उहाँले पनि ‘भानुभक्त’ आदिकवि होइनन्बाट नेपाली साहित्यको इतिहासको अध्ययन गर्ने गरेको पाइन्छ । त्यही दृष्टिकोणको निरन्तरता हो ‘राजीवलोचन देखि सुवानन्ददास सम्म’ भन्ने ग्रन्थ । उहाँहरूको जिकिर थियो भानुभक्त भन्दा अघि नै थुप्रै कविहरु भइसकेका थिए त्यसैले भानुभक्तलाई आदिकवि भन्नु अरू कवि माथि अन्याय गर्नु हो । 

छोपिएका वा पछि पारिएकाहरुलाई खोतल्न खुब रमाउने उहाँले नेपाली साहित्यको स्वच्छन्दतावादी काव्यधारामा महाकवि भन्दा सिद्धिचरण अघि छन् भनेर आफ्ना सशक्त तर्कहरू प्रस्तुत गर्नु भएको छ । मुलधारबाट पछि छोडिएका विषय, विधा र व्यक्तिहरू उहाँका रुचिका सन्दर्भ हुन्थे । जहाँ र जहिले भेट भए पनि कुनै न कुनै गम्भीर विषयमा प्रवेश गर्ने र एकदम नै लामो व्याख्यामा पुग्ने उहाँको बानीले गर्दा कहिलेकही आफ्नो हतारो सङ्कटमा प¥थ्यो । प्रायः साथीहरू भन्थे– ‘गणेशबालाई भेट्न जाने भए हतारको भारी घरमै छोडेर जानू ।’

खास गरी तेस्रो आयाम र लीलालेखनको बारेमा अध्ययन गर्ने रुचि भने मैले उहाँबाटै पाएको हुँ । बैरागी काइँलाको सानिध्यता पाएर पनि उति सजिलो भएको थिएन । किन कि जुन ढङ्गले गणेशबहादुरले व्याख्या गर्नु हुन्थ्यो, त्यस्तो व्याख्या काल्दाइबाट पाइदैन थियो । जति जति उहाँले आयाम र लीलाको व्याख्या गर्नु हुन्थ्यो उति उति म त्यतातिर तानिदै गएँ । 

मलाई लाग्छ, तेस्रो आयामेली बाहेक त्यो विचार र प्रयोगलाई सबैभन्दा धेरै बुझ्ने भनेको गणेशबहादुर प्रसाई नै हो । उहाँले पनि इन्द्रबहादुर राईले जस्तै घण्टौं ् व्याख्या गर्न सक्नु हुन्थ्यो । उहाँ आफू भने त्यो आन्दोलन वा अभियानमा सामेल हुनु भएन । उहाँ भन्नु हुन्थ्यो – ‘मलाई संसारका सबै खाले विचार र सिद्धान्तमा रुचि छ । म एउटा असल पाठक हुन सक्छु तर एउटै कुरामा लागिरहने अभियन्ता हुन सक्दिन ।’

पहिलो पल्ट उहाँले मलाई जब इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथासंग्रह दिँदै ‘यो पुस्तकका कथाहरू’ पढ्नोस् तपाईँलाई काम लाग्छन् भन्नु भो । घरमा लगेर पढ्दा पटक्कै बुझिनँ, त्यसको एकमहिना पछि उहाँलाई भेटेर कथाबारे जिज्ञासा राखें । उहाँले बुँदागत रूपमा यसरी व्याख्या गर्दै जानु भो, मेरा लागि कुनै तिलश्मीको ढोका खुले झें हुँदै गयो । अचम्म भो ! म त एकाएक लीला विचारले दीक्षित जस्तो पो भएछु । त्यस पछि इन्द्रहादुर राईलाई खोजी खोजी पढ्न थालेँ । 

एक दिन फेरि एउटा किताब दिँदै भन्नु भयो – ‘यो किताब पढ्नोस् त । एउटा सानो चौरासी पृष्ठको किताबमा राईले चौरासी सय पृष्ठमा पनि नआँट्ने कुरा लेखेका छन् ।’ त्यो किताब थियो इन्द्रबहादुर राईको ‘अर्थहरुको पछिल्तिर ।’ लीला समालोचनाको एक नमुना कृति हो त्यो । त्यसमा राईले नेपाली साहित्यमा लेखिएका समको प्रल्हाद नाटकको प्रल्हाद, जगदीश शमशेरको ‘नृसिंह अवतार’ को प्रल्हाद र भागवतको ‘प्रल्हाद’ को तुलनात्मक अध्ययन गर्दै एउटै प्रल्हाद मिथकमा प्रक्षेपित गरिएको विषय वस्तु माथि छलफल गरिएको छ । 

म अचम्मित हुन्थें कहाँ कहाँबाट के–के भेटेर पढिवरी ल्याएर मलाई दिनु हुन्थ्यो र जाँच लिए झैँ गर्नु हुन्थ्यो । एक दिन धुलावारीको कृषि विकास बैङ्कको कार्यालयमा काम गरिरहेकै बेला आइपुग्नु भयो । अलिक फुर्सदकै बेला पनि थियो त्यो । भर्खरै संजीव उप्रेतीको ‘पोटाटो बटर एण्ड कफी’ भन्ने उपन्यास बजारमा आएको थियो । त्यो पुस्तकको त म लेखनकाल देखि कै जानकार थिएँ तर उहाँले त्यसलाई जसरी व्याख्या गर्नु भो त्यो सुनेर म अवाक भएको थिएँ । विषयलाई बुझ्ने र केलाउने त्यो अदभूत क्षमताको मलाई लाग्छ सही सदुपयोग हुन सकेन । 

२०४८ सालमा प्रकाशित मेरो पहिलो निबन्ध कृति ‘बालक हराएको सूचना’ मा उहाँले भूमिका लेखि दिँदै भन्नु भएको छ– ‘नेपाली निबन्धमा देवकोटा शङ्कर लामिछाने र कृष्ण चन्द्र सिंह पछि नयाँ पाराले निबन्ध लिएर आउने लेखक यिनै भए ।’ यस्तै आशयमा । त्यसको विमोचन गर्दै काठमाडौँमा कृष्णचन्द्र सिंह प्रधानले पनि मैले निबन्धमा आफ्नो उत्तराधिकारी पाएको अनुभव गरेको छु भन्नु भएको थियो । त्यसै वर्षको मधुपर्कको कुनै अङ्कमा कृष्ण गौतमले नेपाली निबन्धमा आख्यानको सफल प्रयोग गरिएको यी निबन्धले नयाँ शैलीको प्रवेश गराएका छन् भन्नु भएको थियो । तर मलाई थाहा थियो मैले ती निबन्धमा प्रयोग गरिएको शैली गणेशबहादुरबाटै अनुकरण गरेको थिएँ । 

पचासको दशकको गरिमाको कुनै अङ्कमा मैले गणेशबहादुर प्रसाईको निबन्धहरुका बारेमा एउटा लेख प्रकाशित गराएको थिएँ, त्यसमा मैले स्पष्ट रूपमा लेखेको थिएँ, वास्तवमा देवकोटा, शङ्कर लामिछाने र भैरव अर्याल पछि अलग्गै पहिचान र शैलीका साथ निबन्धमा स्वेर कल्पनाको प्रयोग गर्ने पहिलो काम प्रसाईले गरेका छन् र यसलाई नेपाली निबन्धका समालोचकले राम्ररी हेर्न बाँकी छ । यो भनाइमा आज पनि म अडिग छु । उहाँको दीर्ध प्रतीक्षा नामक निबन्ध सङ्ग्रहमा संग्रहित निबन्धलाई मात्र हेरे पनि पुग्छ, जुन २०४२ सालमा छापिएको थियो र त्यसको भूमिका तारानाथ शर्माले लेख्नु भएको थियो । 

सैद्धान्तिक समालोचनाको क्षेत्रमा विशिष्ट योगदान रहेका उहाँका फुटकर समालोचनाहरु पनि अत्यन्त महत्त्वपूर्ण छन् । पछिल्लो कालमा गरिमामा धारावाहिक रूपमा छापिएका मोहन कोइराला र कृष्णभक्त श्रेष्ठका कविता माथिको समालोचनाहरु अत्यन्त पठनीय छन् । गणेशबहादुर प्रसाईले आफ्नो समालोचनालाई पनि विशेष शैली दिनु भएको छ, जसले उहाँको अलग्गै पहिचान राख्छ । 

इन्द्रबहादुर राई र गणेशबहादुर प्रसाई मलाई कहिलेकही उस्तै उस्तै जस्तो लाग्छ जब उहाँहरूले अरूले छुँदै नछोएका वा कुनै नचाहेका विषयहरुलाई विशेष प्रकारले हेर्न थाल्नु हुन्छ । इन्द्रबहादुर राई पनि कहिले नृसिंह अवतार, कहिले सेतो ख्याक, कहिले भूमिसुक्त, कहिले ईश्वरबल्लभका कविता, कहिले यस्तै के–केहरुमा पस्नु हुन्छ । उहाँको ‘उपन्यासका आधारहरु’ नै एक विचित्र कृति मानिएकै छ । 

२०५० साल पछिको नेपाल प्रज्ञा प्रतिष्ठानमा उहाँले झन्डै दश वर्ष विताउनु भयो तर प्राज्ञ भएर होइन, एउटा सामान्य कर्मचारी जस्तो भएर । माथि उल्लिखित दुवै समालोचनात्मक कृतिहरु माथि उहाँले लामो समय देखि खोज कार्य गरिरहनु भएको थियो । त्यसको लागि झापामा बसेर सम्भव थिएन । काठमाडौँका पुस्तकालयहरुसम्म पुग्ने आर्थिक श्रोत नभएका उहाँलाई प्रज्ञाले सामान्य सम्पादकका रूपमा नियुक्ति गरी आर्थिक टेवा दियो, जसको कारणले ती दुई महत्त्वपूर्ण कृतिहरु तयार हुन पाए । तर म त्यति बेलै र अहिले पनि जब विचार गर्छु कुनै गणित मिले जसले लाग्दैन । गणेशबहादुर प्रसाई जस्ता मान्छे त्यहाँ सम्पादक थिए जो वास्तवमा विशिष्ट प्राज्ञको रूपमा कुनै विभागमा हुनुप¥थ्यो अनि सामान्य वर्णविन्यासमा पनि दखल नभएकाहरु प््राज्ञ परिषदका ठाडो शिर थिए । जब जब म प्रज्ञामा पुग्थे सबैभन्दा पहिला गणेशबहादुर सरलाई भेट्थे जो प्रज्ञाका सहायक स्तरका कर्मचारीहरुसँग आफ्ना विचार पोखेर चित्त बुझाइरहेको देख्थें । ्

उहाँकै प्रभावले हुनुपर्छ, म कविता लेखनबाट साहित्यमा प्रवेश गरेको थिएँ । मेरो पहिलो प्रकाशित कृति ‘बालक हराएको सूचना’ निबन्ध थियो र दोस्रो कृति ‘विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासहरु’ समालोचना थियो । त्यसपछि पनि उत्तमजगं सिजापतिको आलु, नारीभित्र त्यस्तो के छ हजुर, र आँधी नआउने घर, निबन्ध संग्रहहरु आए । लीलालेखन, तेस्रो आयाम र वैरागी काइँला, पाठकको अदालतमा– तीन समालोचना कृति थपिए । प्रकाशोन्मुख अवस्थामा तीन निबन्ध सङ्ग्रह र चार समालोचना कृति लश्करमा छन् । पछिल्लो कालमा अरू थुप्रै अग्रजहरुबाट पनि प्रभाव ग्रहण गर्दै गएँ होला तर प्रारम्भिक प्रभावको श्रेय गणेशबहादुर प्रसाईलाई नै जान्छ । 

म दिनदिनै अलिक छुच्चो लेखक हुँदै जान थालेको थिएँ । साना–साना कुराहरूमा पनि तुरुन्त प्रतिक्रिया व्यक्त गर्ने र लेखिहाल्ने गर्न थालेँ । सामाजिक, राजनीतिक वा व्यक्तिगत विषय मै पनि छिटो कलम चल्न थाल्यो । छापाहरुले पनि त्यस्ता, ताता विषयहरुलाई चाँडै ठाउँ दिइहाल्थे । म दिन दिनै विवादहरुमा तानिदै जाँदै थिएँ । एक दिन प्रज्ञामा भेट भएका बेला मेरो साहित्यिक यात्राको प्रशंसा गर्दै भन्नु भो– ‘तपाईँको कलम प्रशस्त तिखारिई सकेको छ । पाठक पनि पाउनु भएको छ । छापाहरुले पनि खुब ठाउँ दिएको देख्छु । तपाईँलाई अब मेरो एउटा सुझाव छ । तपाईँले अब लेखनमा संयम हुने समय आएको छ । तपाईँको उमेरमा म पनि आगोको कोइलो जस्तो थिएँ तर थाहै नपाई मेरो कलम अङ्गार भइसकेछ । छुचो लेख्नु एकछिनको चर्चा मात्र हो तर त्यसको प्रभाव कालान्तरमा नकारात्मक हुन्छ । यी मलाई हेर्नाेस् अहिले मेरा आलोचक र मन नपराउनेहरु मात्र छन् । कैयौँ मौकाहरुबाट मैले आफ्नै पुराना लेखनका कारण पन्छिनु परेको छ । यो मेरो अर्ति होइन अनुभव हो, रिस उठेको बेला कहिल्यै नलेख्नोस् । लेख्नै परे निकै पर्खिएर मात्र लेख्नोस् ।

उहाँको यो पछिल्लो सुझाव चाहिँ मेरो लागि मन्त्र भएको छ । त्यसपछि साँच्चै नै मैले ताता प्रतिकृयाहरु दिनँ कम गर्दै गएँ र संयमित हुन थालेँ ।। 

सधैँ आदरणीय पुरुषको रूपमा रहनु भएको उहाँलाई दुई वर्ष अघि धाइजन मै पुगेर भेटेका थियौँ रश्मिशेखर र मैले । मुटुको समस्या थियो । आँखा र कान दुवै कमजोर हुँदै गएका । तै पनि समसामयिक राजनीाित र साहित्यका बारेमा मिहिन विश्लेषण गर्नु भएको थियो । मेरो अमेरिका यात्रालाई सिर्जनाात्मक बनाउने र आफ्ना कृतिहरु अङ्ग्रेजीमा भाषान्तर गर्ने सुझाव दिनु भएको थियो । 

एक वर्ष अघि एकाबिहानै कसैले मलाई फेसबुकमा म्यासेज गरेको थियो उहाँको निधनको समाचार । दिनभरि मन अमिलो भयो । उमेर जतिसुकै बुढो भए पनि कसैको मृत्यु सामयिक मानिदैन । मेरा त झन् एक मानस पिताको निधन भएको थियो । मैले झलझली सम्झे ती दिनहरू । उहाँका सुझाव र सहयोगको प्रोत्साहन र प्रशंसाका । 

गणेशबहादुर प्रसाई नेपाली साहित्यकै एक गाडधन हुन्, उत्खनन गरिनु पर्छ ।

कृष्ण धरावासी
कृष्ण धरावासी
कृष्ण धरावासी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक