Similar Articles

कृष्ण धरावासीको कलमबाट

पात्रको खोजी र आता- कृष्ण धरावासी

बिराट नेपाल

मैले लेखेका अधिकांश आख्यानहरुमा उल्लिखित पात्रहरुको नाम र विवरण यथार्थ हुने भएकाले प्रायः पाठकहरू सोधिरहन्छन् ‘फलानो’ पात्रको खबर के छ अचेल ? वा ऊ कता छ ? आदि । कतिपय पात्रहरुको बारेमा मलाई पनि चासो भइरहन्छ तर तिनीहरूको स्थितिबारे खासै जानकारी हुन्न । त्यसो त आफैले पनि त्यो घटना र परिवेशबाट टाडिदै गएपछि तिनीहरुसँग भेट हुने सम्भावना न्यून हुनु स्वभाविक हुन्छ नै । कैयौँ यस्ता पात्रहरु छन् जोसँग मेरो लेखकीय घनिष्ठता अत्यन्त गहिरो छ । उनीहरू बारम्बार मेरो स्मृतिमा आइरहन्छन् । तिनीहरूका बारेमा चासो भइरहन्छ । कत्ति पात्रहरु त व्यक्तिगत जीवनमा समेत सम्पर्कमा रहिरहेका हुन्छन् । धेरै जसो लेखनमा पात्रहरुकै प्रभाव मलाई बढी छ । त्यो पात्रको अवस्था देखे पछि घटना र विषय वस्तुको रचना गर्न तिर लाग्छु । कति घटना त पात्रकै जीवनका यथार्थहरु पनि हुन्छन् । पात्रसँगका प्रत्यक्षताहरुले कहिले कहीँ सङ्कट पनि पारेका छन् । 
धेरैले सोध्ने गर्छन्– ‘आधाबाटो उपन्यासकी आता’ कता छिन् । मलाई पनि भित्र मनमा लागिरहन्थ्यो वास्तवमा ऊ कता होली ! झन्डै पैतिस वर्ष अघिकी म भन्दा पाँच वर्ष कान्छी त्यो मेरी सानी साथी अहिले त कत्ति बुढी देखिदी हो । वालककालदेखि नै राम्रो खान लाउन नपाएको, स्याहार नपुगेकी त्यो आदिवासी बालिकाको वयस्क जीवन पनि कति नै स्वस्थ्य रह्यो होला र ? त्यसमा पनि कलिलैमा सुत्केरी भइसकेकी थिई त्यो । आतालाई संझने बित्तिकै इलाम क्याम्पस, चियाबारी, चुरेघाटी, सिम्फ्रिङ्ग, माइपोखरी सबै आँखा अघि नाँच्न थाल्छन् । बाहुनी बज्यै, कार्की दाइहरु पनि नाच्न थाल्छन् आँखामा । सम्झना जति पुरानो हुँदै गो, त्यसको स्मृति झन् ताजा हुँदो रैछ । मैले आफैँ पनि आताका बारेमा बेला बेला चासो राखी बस्थें । मलाई उसको किन धेरै माया लाग्थ्यो भने– ऊ म भन्दा पाँच वर्ष कान्छी भएर पनि मलाई अर्तिउपदेश दिन्थी । मेरा लागि छुट्टिएका कामहरू गरिदिन्थी र भन्थी– ‘तिमीलाई कुमार बाबुले पढ्न पो पढाएको त दाजु, यहाँ काम गर्न पठाको हो र ? काम त हामी गरी हाल्छौं नि । तिमी धेरै पढेर ठुलो मान्छे हुनु नि ।’ म छक्क पर्थे उसका कुराले । मेरी माइली बहिनी जस्तै लाग्थ्यो मलाई त्यो । मैले लेखेका कविता कथाहरू लेखिसके पछि सारो सारो कराएर पढ्ने बानी थियो मेरो । मैले पढिरहँदा ऊ पर दैलोको कुनोमा टुक्रुक्क बसेर सुनिरहन्थी र पढिसके पछि मुसुक्क हाँस्दै भन्थी– ‘यस्ता कुरा कसरी आउँछन् दाजु तिमीलाई ?’ दुईचार दिन दुई चार दिनमा सोध्थी– ‘अचेल केही पढ्दैनौ त दाजु !’ मलाई अचम्म लाग्थ्यो– त्यो केही नपढेकी तेह्र वर्षकी सन्थाल केटीलाई पनि मेरो लेखाइले तान्न थालेको थियो । 

पैँतिस साल चैत्रमा गाउँभरि रगतमासीको महामारी चल्यो । गाउँले दवाई औषधिको भरमा पर्नेहरु निकै जना त्यही विमारले मरे पनि । अरुण बुढाथोकी दाइको घरमा बस्ने आताकै उमेरकी फ्याङ्गुली कान्छी पनि मरी । घोष गाउँमा आठ जना मरे भन्थे । एकाएक म पनि रगतमासीले ढलें । म ढले पछि आता निकै चिन्तित भई । उसले कता कताबाट लाली गुराँसको फुल, पुत्काको मह, कुमालकोठीको माटो, मेलको अमिलो जसले जे भन्छ त्यही खोजेर ल्याउन थाली । मन नलाग्दा पनि जवरजस्ती खुवाउन थाली । मलाई त्यसमा विश्वास नभए पनि खान मन नभए पनि उसको मन राखिदिन म खाइदिन्थे । तर ती कुनै पनि घरेलु औषधिले मलाई छोएको थिएन । मिश्र बाजेले पनि के–के औषधिहरु ल्याइदिनु भो । राइनी कान्छी भाउजूले पनि घरेलु औषधि ल्याउनु भो तर म ठिक भइनँ । तीन दिन क्याम्पस नगए पछि साथीहरू मलाई खोज्दै डेरामा आइपुग्दा म झन्डै अद्र्धवेहोस अवस्थामा थिएँ रे । 

आताको सेवा सारै अनौठो थियो । त्यति सानी फुच्चीमा पनि अभिभावकीय क्षमता देखा पर्न थालेको थियो । एकपल्ट त्यो बैदार दाइसँग बाझ्दै थिई – ‘आज मेरो यो भान्सामा नपस है बैदार दाइ । तिमीले सिनो काढेको छ ।’ वैदार दाइले झन्डै पिटे उसलाई तर ऊ टेरिन । बोलीरही । काली भए पनि ऊ सफा थिई । जस्तै जाडोमा पनि हप्तैपिच्छे धारोमा गएर नुहाउथी । उसको मलाई मन नपर्ने एउटा बानी थियो– चुर खाने । मेरी आमाकै चुरको वेपार थियो तर पनि त्यति कलिलैमा उसले चुर खाएको मलाई मन पर्दैनथ्यो । चुर मात्र होइन, ऊ चुरको खरानी पनि जीब्रोमा खसाल्थी र निल्थी । मैले जत्ति कराए पनि, रिसाए पनि चुर खाने बानी भने उसले छोड्न सकिन । हरेक बिहीबार मिश्र बाजेले आताको लागि एकताउ कागज र आठ आनाको चुर ल्याइदिनै प¥थ्यो, नत्र ऊ मिश्र बाजेसँग चरचरी बाझ्थी र काम नै छोडी दिन्थी । 

तोरीको पिनाको अचार बनाउन मलाई उसैले सिकाएकी हो । सिद्राको अचार सारै मीठो पार्थी । बाहुनी बज्यै भए सम्म त हामीलाई अगेना भन्दा माथि जाने अनुमति नै थिएन । बज्यै हिडे पछि त आता नै भान्से लागेकी थिई । कहिले कहीँ मिश्र बाजे अनौठो अनुहार पार्दै भन्थे– ‘हैन बाहुन नानी ! आताले पकाएकै खाने गरेको छ ?’ म सजिलै भनिदिन्थें–  â€˜à¤®à¥‡à¤°à¥‹ ब्रतबन्ध भाको छैन बाजे ।’ उनी चुप लाग्थे । सिस्नो टिपेर ल्याउथी कहिले । सिस्नोले पोलेर सुन्निएको पाखुरा देखाउँदै भन्थी– ‘नफ्याँकी सप्पै खाउनी दाजु । हेर पाखुरो यस्तो हुने गरी पो टिपेर ल्याएकी छु नि ।’ मलाई सिस्नोको साग कहिल्यै मीठो लागेन तर आता रिसाउली भनेर जबरजस्ती खान्थें । 

कार्की दाइले छोडे पछि बैदार दाइ काम गर्न बसेका थिए । बैदार दाइ खुब गफाडी थिए । जहिले पनि भन्थे– ‘म राणाको पालाको छत्तिस मौजाको बैदार हुँ ।’ उनी के हुन् के होइनन्, मैले कहिल्यै खोजिन तर ध्यान दिएर उनको कुरा सुनिदिन्थें । प्रायः मानिसहरू वैदार दाइका हावा कुरा सुन्न दिक्क मान्थे, म भने बुझ्झकी विद्यार्थी झैँ सुनिदिन्थें । उनका कुरा सुनिदिए पछि खुसी हुँदै भन्थे– ‘भाइले अब यी सानातिना काम नगर्नु । आता र म गरिहाल्छौं । भाइ पढिरहनु । हुन पनि बाहुनी बज्यैले मलाई काममा पेलेको देखेर रिसाएकी आता एक दिन खुट्टा बजार्दै मेरो कोठामा पसेकी थिई । कस्तो कस्तो हान्ने राँगाको जस्तो अनुहार पार्दै भनी– ‘हेर है भट्टराई दाजु । म यी बज्यैलाई कुन दिन भुत्लाई दिन्छु नि ।’ उसको रिस देखेर छक्क पर्दै सोधेँ– ‘आज फेरी केमा प¥यो हौ तिमीहरुको ?’ 

ठिङ्ग मेरो अगाडि उभिएर हात नचाउदै भनी–
– ‘त्यो भट्टराईको काम तैले कि गर्नु प¥यो हँ ! तेरो पोइ हो कि के हो त्यो रे ।’ यति भनिसक्दा साँच्चै अहिले नै गएर त्यसले बज्यैलाई जगट्याउँछे जस्ती देखिइ । म पनि अलमल्ल भएँ । मनमा नमिठो लाग्यो । रिस–रिस उठ्यो भित्र भित्रै । तर मसिनो स्वरमा भनेँ– ‘त्यसरी झगडा गर्नु हुँदैन त । तँ सानी छेस्, उल्टै कुटाइ खान्छेस् । उनले जे भने पनि कुरै नसुन्नु क्या त ।’ 

– त्यस्तो कुरा पनि भन्ने हो त ! तिमी मेरो पोइ हौ त ! ऊ त मै माथि पो खनिएली जस्ती भई । संझाउँदै भनेँ– ‘तिनले भन्दैमा के हुन्छ त हौ । तँ नबोल्न त ।’ ऊ फन्किदै निस्केकी थिई । त्यस दिन देखि त झन् त्यसले मलाई कुनै काम गर्न दिइन् । बज्यै ठुला ठुला आँखा पारेर आतालाई हेर्थिन् । 

बैदार दाइले खुसी भएर मलाई काम नगर्नु भनेको दिन पनि आता खुसी देखिएकी थिई । बैदार दाइ जति फस्र्याला, भए पनि सारै फोहोरी थिए । उनी कहिल्यै नुहाउदैनथे । जीउको मयल पसिना आएका बेला हातैले माडेर लुडालुडा बनाएर टकटक्याउथे । एक दिन फेरि आता र वैदार दाइको भनाभन हुँदै रैछ । छेउमा गएर मैले सोधेँ– ‘किन बाझेकी आता आफूभन्दा ठुलासँग ?’ ऊ फेरि औंला नचाउदै बोल्न थाली– ‘यस्तो गन्हाउने किनिमा नहाल्नु दालमा भट्टराई दाजुले खाँदैन भनेको नटेरी हाले । ‘आज तिमी केसँग खान्छौ अब भात ?’ 

म अलमल्ल परें । मन कस्तो कस्तो भयो । यो प्रदेशमा यो फुच्ची केटी मेरी आमा भएकी थिई । मेरा साना साना कुरा याद गर्थी । निकै पहिला उसले सिद्रामा झोल हालेका बेला गन्हायो भनेर म भातै नखाई उठेको थिएँ । त्यो दिन ऊ निकै सुर्ताएकी थिई । सिद्रा त मन नपराउने मैले किनिमा कसरी मन पराउँला भनेर ऊ चिन्तित भएकी रैछ । 

जत्ति संझिदै गयो, मलाई आता एउटा विशाल बिम्ब जस्ती हुन्छे । आधा बाटो पढेका कति पाठकले मलाई जिस्काएका पनि छन्– ‘आतासँग तपाईँको प्रेम परेको थियो हो ?’ भनेर । प्रेम त त्यो उमेरमा के पर्नु तर मलाई उसको खुब माया लाग्थ्यो । उसले मलाई गरेको सेवाको कारणले त होला नि । 

म भन्दा अघि नै ऊ सिन्फ्रिङ्गबाट मधेस झरेकी थिई । त्यस पछिको कथा पनि मैले आधाबाटो मै लेखेको छु ।

तर यसपालि मलाई मनमा कतै चस्स दुख्यो जब केशवकुमार बुढाथोकी दाइले भन्नु भो– ‘आता त सिक्किम तिर गएकी थिई रे उतै मरिछे ।’


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक