Similar Articles

कृष्ण धरावासीको कलमबाट

जीवन व्यक्तिगत हुन्छ ---- कृष्ण धरावासी

बिराट नेपाल

एकपल्ट कविता र कविका बारेमा कुरा गरिरहेका बेला ईश्वरबल्लभ दाइले भन्नु भयो– ‘त्यसबेला हामी दार्जेलिङमा भर्भराउँदा कवि हुन लागिरहेका थियौँ । कवितामा नयाँ सोच र प्रयोग भित्र्याउनु पर्छ भन्नेमा लागेका थियौँ । आफूलाई ठुलो कवि देखाउन हामी चौरस्तामा एउटा खुट्टो खोच्चाएर हिंड्थ्यौं किन भने वेलायती कवि वाइरन पनि एउटा खुट्टा खोच्याउँथे ।’ उहाँको यो भनाई सुनेर त्यसबेला हामी खुब हाँसेका थियौँ । उहाँको त्यो कुरा मनमा सारै गडेको थियो ।

वास्तवमा आफ्नो मनमा बिम्ब बनिसकेका व्यक्तिहरुका हरेक कुरा अनुकरणीय हुन्छन् भन्ने लाग्छ । कतिपय अवस्थामा मलाई पनि केही व्यक्तिहरूको अनुकरण गर्न मन लाग्थ्यो तर मैले चाहिँ ती व्यक्तिका व्यक्तिगत बानी बेहोराको होइन सिर्जनाहरुको अनुकरण गर्ने प्रयत्न गरेँ । किन किन मलाई भूपिको जस्तो सरल भाषामा वैरागीका जस्ता गहन कविता लेख्न मन लाग्थ्यो, इन्द्रबहादुर राईको जस्तो चेतना दौलतविक्रम विष्टको जस्तो भाषामा लेख्न मन लाग्थ्यो । मलाई विष्णुविभू घिमिरेका जस्तै मिथकीय प्रयोग गरेर कविता लेख्न मन लाग्थ्यो, कृष्णभूषण बलका जस्ता बिम्ब खेलाउन मन लाग्थ्यो । मुनामदनमा जस्तो कारुणिकता मन प¥थ्यो, माधवप्रसाद घिमिरेका जस्ता गीत लेख्ने रहर हुन्थ्यो । मैले हरेक पल्ट अरूका प्रभावहरुलाई सिर्जनामा प्रयोग गर्ने कोसिस गरेँ । मैले मेरा आराध्यहरुको व्यक्तिगत बानी, व्यहोरा, स्वभाव र गृहस्थीमा कहिल्यै चासो राखिन । त्यत्तिकै प्राप्त भएका जानकारीहरु पनि उति चर्चाका विषय बनेनन् ।

मैले मानेका र चिनेका अनेकौँ व्यक्तित्वहरुका व्यक्तिगत जीवनहरु विभिन्न समस्याले घेरिएका छन् । बानी र व्यवहारमा ठुलै असमानताहरु छन् । कुलत र नशायुक्त परिस्थितिसँग लडिरहेका पनि छन् । उनीहरूको व्यक्तिगत जीवनतिर प्रवेश गर्दा कहिले काही विकर्षण पनि हुन खोज्थ्यो तर मैले कहिल्यै पनि उनीहरूको व्यक्तिगत संसारमा प्रवेश गर्ने प्रयत्न गरिनँ । मैले केही त्यस्ता व्यक्तिहरू प्रतिको आफ्नो धारणामा संशोधन पनि गरेको छु जो सँग मेरो वैचारिकता र चिन्तनको धरातल नै मिलेन । आस्था माथि नै गम्भीर विवादहरु उठे ।

यो कुरा जहिले पनि विवादास्पद हुन्छ कि सार्वजनिक जीवनमा प्रवेश गरिसकेको मान्छेको आफ्नो व्यक्तिगत जीवन हुन्छ कि हुँदैन, हुनु पर्छ कि पर्दैन ? यो विषयको उत्तर कहिल्यै पनि ‘हुनुपर्छ’ वा ‘हुनुहुदैन’ ले पूरा गर्न सक्दैन । यी समानान्तर विषयहरू हुन् । कुनै बेला त्यस्ता व्यक्तिको आफ्नो जीवन सामाजिक बिम्ब जब बन्न पुग्छ, त्यस बेला ऊ व्यक्ति नभएर संस्था बन्दछ । कुनै बेला व्यक्ति नितान्त घरेलु समस्यामा एउटा साधारण पात्र मात्र बन्न बाध्य भई अरू सरह उपस्थित हुन्छ । कुनै पनि सार्वजनिक व्यक्तिलाई हामीले सबै समय सार्वजनिक मूल्य दिइरहनु कत्तिको व्यावहारिक होला ? व्यक्तिका आफ्ना नितान्त निजी विषयहरुलाई सामाजिक मूल्य प्रक्षेपण गर्नु कत्तिको सही होला ?

धेरै जसो सार्वजनिक व्यक्तिहरू विभिन्न समयमा व्यक्तिगत कारणले विवादास्पद अवस्थामा पुगिरहेका हुन्छन् । समाजले उसमाथि बनाएको धारणा र विश्वासमा घात भए पछि त्यस्ता प्रतिकृयाहरु आइरहेका हुन्छन् । कुनै पनि मान्छे आफू सामाजिक व्यक्तित्व धारण गर्नका निम्ति सुरुमा अनेकौ प्रयत्न गर्दछ । आफ्ना बानी, स्वभाव र सिर्जनाहरुको समानान्तर प्रयोग गर्दै ऊ सामाजिक बिम्ब बन्न पुग्दछ । समाजले उसलाई चिन्दा तिनै पूर्वधारणाहरुका आधारमा चिनेको हुन्छ । आफू चिनिनका निम्ति उसले पनि कैयौँ आफ्नो स्वभाव विपरीतका चरित्रहरु स्थापना गरिरहेको हुन्छ । कैयौँ त्यस्ता सामाजिक व्यक्तिहरू आफ्नो निजी स्वभावहरुलाई संशोधन गरेर वास्तवमै अनुकरणीय बन्दै गइरहेका पनि हुन्छन् ।

समाजका पनि आफ्नै विश्वास र धारणाहरु हुन्छन् । हजारौँ वर्षदेखि चल्दै आएका धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक प्रभावहरुले रुढ भइरहेका कैयौँ व्यक्ति मान्यताहरू सामाजिकीकरण हुँदै जाँदा सामाजिक दृष्टिकोण पनि रुढ बनी बसिरहेको हुन्छ । परिवर्तनलाई आत्मसात गर्न नसकेको सामाजिक धारणा र व्यक्तिगत जीवनका व्यावहारिक वाध्यताहरुका बिच उत्पन्न द्वन्दले समय समयमा ठूल ठुला चर्चाहरु पाइरहेको हुन्छ । कहिले काही त्यस्ता चर्चाहरु बहसका विषय बन्दछन् भने कहिले कुनै व्यक्तिको निष्ठा माथि प्रश्न चिन्ह बनेर पनि उभिन्छन् । ठुला–ठुला नेता, सामाजिक कार्यकर्ता, साहित्यकार, कलाकार, अभिनेता, वैज्ञानिक वा दार्शनिकहरु प्रायः यस्ता विवादमा परिरहन्छन् । वास्तवमा ती यस्ता सामान्य कुराहरू हुन्छन् जसले असामान्य चर्चा पाउँछन् । कतिपय विवादहरुले ठुला ठुला नकारात्मक दूर्घटनाहरु पनि निम्त्याउँछ जस्तो कि भारतीय अभिनेता ऋत्वीक रोशनले ‘नेपाली मन पर्दैन’ भन्ने अभिव्यक्ति दिएको भन्ने समाचार चितवन तीरको एउटा सामान्य पत्रिकामा छापिएको कुराले विद्रोहको रूप लिँदा नेपाल भरि नै ठुलो विरोध भयो र राजधानीमा त प्रहरीको गोली लागेर चार जना वालकहरु समेत मारिए ।

प्रायःश सार्वजनिक जीवनमा प्रवेश गरिसकेपछि एकप्रकारले उसको व्यक्तिगत जीवन नै अनुपस्थित हुन थाल्छ । उसका हिडाई, बोलाई, लवाई खवाई, सुताई, उठाई सबै निजी बानीहरु समेत महत्वपूर्ण हुँदै जान्छन् र ती अनुकरणीय हुन थाल्छन् । यो अप्ठयारोमा हरेक मानिसहरू पर्दछन् जसको जत्रो सामाजिक वृत्त हुन्छ ।

जब कुनै व्यक्तिको जीवनको सानो घटना पनि ठुलो चर्चाको विषय हुन थाल्छ तब उसले सोच्नु पर्छ अव उसका इच्छा, रहर, खुसी र उमङ्गहरु कुण्ठित हुन थाले । अब उसको आफ्नो जीवन सकिएछ र सुरु भएछ अरूको जीवनको बँचाई । अब उसले उनीहरूको इच्छा अनुसार चल्नु पर्ने भो, उनीहरूको रहर अनुसार नाच्नु पर्ने भो । उसले बोल्नु, उसले गाउनु, उसले रुन अब सबै उनीहरूको भयो र ऊ आफै पनि अब आफू रहेन । उसले लेख्दा उनीहरूलाई सोच्नु पर्ने भो, उसले बुझ्दा उनीहरूलाई पहिला बुझ्नु पर्ने भो । ऊ अब ऊ रहेन, ऊ अब मात्र उनीहरू भयो, उनीहरूको । यसै बिचमा यदि उसले आफू हुन खोज्यो भने, आफ्नोपनको खोजी ग¥यो भने, आफ्नो इच्छालाई रोज्यो भने उनीहरूको आस्थाबाट ढल्नेछ, उनीहरूको विश्वासबाट गिर्ने छ ।

यो सङ्कट एकदम नै कष्टप्रद छ । समाज स्वयम् पनि विभाजित छ । अग्रगमन तिर जान चाहने र यथास्थितिमा रहन खोज्ने । यथास्थितिवादी समाज परिवर्तनका विरुद्ध रुढ उभिन चाहन्छ, त्यसले व्यक्ति र समाज दुवैलाई शुन्यीकरणमा राख्न चाहन्छ, अग्रगमनकारी समाज आलोचनात्मक हुँदै अघि बढ्न खोज्दछ । तर दुवैको गति अत्यन्त ढिलो हुन्छ । यथास्थितिवादी समाजबाट खासै कुनै सकारात्मकता प्राप्त गर्न सकिन्न तर अग्रगमनकारी समाज स्वयम् पनि यथास्थितिबाट मुक्त भइसकेको हुन्न र यसले पनि तात्कालिक निर्णय दिन सक्दैन । अन्ततोगत्वा परिणाम नकारात्मक नै हुने गर्छ प्राय ः ।

आफूलाई धेरै नै क्रान्तिकारी र परिवर्तनशील ठान्ने व्यक्तिहरू समेत सामाजिक रुढताको बन्धी भइरहेका हुन्छन् । व्यक्तिगत रूपमा यथार्थलाई स्वीकार गरे पनि सामाजिकतामा प्रवेश गरे पछि उतै पट्टीको आवाज निकालिरहेकै हुन्छन् ।

त्यसो भए के त कुनै सार्वजनिक जीवनमा प्रवेश गरिसकेको व्यक्तिको आफ्नो निजी जिन्दगी हुँदैन ? उसले आफू बाँच्नु हुन्न ? यो प्रश्न सबैको दिमागमा उभिएको होला तर उत्तर किन मौन हुन्छ सधैँ ?

मलाई लाग्छ, व्यक्ति पहिला ऊ आफू हो । उसले अरूको समेत हुन खोज्दा केही विशेष कर्महरु गर्दाे हो जसका कारण ऊ सामाजिकतामा प्रवेश गर्दछ । ऊ सामाजिक हुनु समाजको सम्पत्ति बन्नु हो, तर आफू र आफ्नोपनलाई नै त्यागेर ऊ कसरी उनीहरूको पनि हुन सक्नु ? आफ्नोपनको अस्तित्व स्थापित नभई अरूको उद्धारक पनि कसरी हुन सक्ला ? कुनै एउटा व्यक्ति भित्र असम्भव आस्थाहरु थुपार्नु पनि हाम्रो भुल हुन्छ । उसका राम्रा कर्महरुबाट प्रभावित हुनु स्वभाविक छ तर उसले अब उता जे गर्छ त्यो सबै मेरो इच्छा अनुकूल गरोस् भन्ने सोच्नु पनि कति ठिक होला र ?

प्रत्येक व्यक्तिमा आ–आफ्ना रुचि, इच्छा, आकाङ्क्षा, कतव्र्य, बाध्यता अनेक हुन्छन्, ऊ कुनै विषयको विशेषज्ञ हुनु सँगसँगै आफू मात्र पनि हो । ऊ पनि आम मान्छे सरह कै भएकाले उसमा पनि अप्ठ्याराहरु, अवगुणहरु, कमजोरीहरू हुन्छन्, व्यावहारिक सीमाहरु हुन्छन् । तर त्यस कुरालाई त्यसरी बुझ्न नसक्नेहरु उसका कमजोरीहरू प्रति नकारात्मक हुन्छन् । हामीले बुझ्नु पर्ने छोटो कुरा के हो भने– प्रत्येक व्यक्तिको आफ्नो निजी जिन्दगी हुन्छ र ऊ पनि अरू सरह नै बाँचिरहेको हुन्छ ।

गिरिजाप्रसाद कोइराला दिवङ्गत भए पछि कान्तिपुर दैनिकमा मनिषा कोइरालाको एउटा संस्मरण छापिएको थियो । त्यसमा लेखिएको थियो– सानो बुबा बिरामी भएको बेला भेट्न जाँदा एक दिन भन्नु भो, ‘मलाई भेट्न आउनेहरु सबै मसँग माग्न मात्र आउँछन्, असन्तुष्टि व्यक्त गर्न मात्र आउँछन् तर तपाईँलाई कस्तो छ, हामीले के गर्नु पर्छ ? भन्न कोही आउँदैनन् ।’

वास्तवमा सबैले सोच्थे गिरिजाप्रसाद कोइरालालाई नपुग के नै होला र ? त्यत्रो ठुलो मान्छे, नेता, प्रधानमन्त्री आदि । तर उनी पनि त अरू जस्तै बिरामी भए एउटा सामान्य रोगी मरे जस्तै त मरे । त्यस्तै उनको निजी जीवन पनि त अरूको जस्तै त थियो नि । तर कसले सोच्थ्यो त्यसरी ।

सबैका आ–आफ्ना व्यक्तिगत सीमाहरु हुन्छन् भन्ने बुझ्यौं भने हामीले जीवनलाई सबैभन्दा नजिकबाट चिन्छौं जस्तो लाग्छ । आत्मपरक बुझाइलाई नै अन्तिम मानेमा हामीले धेरै कुरा नबुझी जीवन विताइरहेका हुन्छौं । जसरी प्रत्येक व्यक्ति उसको शरीरका कारणले चिनिन्छ, त्यसै गरी ऊ त्यही शरीरका माध्यमले यस जगतमा कर्मशील हुन्छ । शारीरिकताबाटै उत्पन्न हुने उसभित्रको असीमित क्षमता हाम्रो समेत सम्पत्ति त बन्दछ तर उसको नीजत्वको अवमानना गर्नु हाम्रो ठुलो भुल हुनेछ । यदि व्यक्ति आफू मात्र होइन भने ऊ समाजको मात्र पनि होइन । ऊ आफ्नो घर व्यवहार, पतिपत्नी, छोराछोरी, धनसम्पत्ति र आफन्तहरुको मात्र पनि हो । गृहस्थीका सबै अनुशासनहरुलाई मान्न ऊ पनि अरू सरह बाध्य छ । गृहस्थीका हरेक कठिनाइसँग उसले जुध्ने एक्लै हो, हामी त द्रष्टा मात्र ।
जीवन व्यक्तिगत पनि हुन्छ र व्यक्तिगत नै हुन्छ जीवन ।   


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक