Similar Articles

Home Page Spiritual Articles

चाहेमा जो कोही पनि मुक्त हुन सक्दछन् ---प्रा. डा. नारायण कुँवर

बिराट नेपाल

हिन्दु धर्मको मान्यता अनुसार जीवात्मा ब्रह्मलोकमा सृष्टि भएपछि चेतनाको विकासको क्रममा चौरासी लाख जुनी पार गर्दै मानव जुनीमा आइपुग्छ। चौरासी लाख जुनी मध्ये विभिन्न प्रकारका बनस्पती र जीव जन्तुहरु पनि पर्दछन्। आफ्नो महाजीवन हेर्नेहरु कुनै जुनीमा आफू पत्थर पनि भएको अनुभव बताउँदछन्| मानव जुनीमा आइपुग्दासम्म जीबात्माको चेतना धेरै विकसित भैसकेको हुन्छ, यद्यपि पूर्ण विकसित भने भएको हुँदैन। चेतनाको पूर्ण विकास हुनलाई अनगिन्ती मानव जन्म लाग्दछ, तर उपयुक्त साधना गरेमा कुनै पनि एउटा जन्ममा चेतनाको विकास पुरा हुन सक्दछ| प्रत्यक मानव जन्मको उद्देश्य पूर्ण चेतना प्राप्त गरेर जन्म मरणको बन्धनबाट मुक्त हुनु हो|

यो जगत मानिसको चेतना विकास गर्ने एक महा पाठशाला हो| साधरणतया जस्तो कर्म गर्‍यो त्यसको त्यस्तै फल भोगेर यस महा पाठशालामा चेतनाको विकास गर्न पर्ने हुन्छ, यद्यपि कर्मको पाठले मात्र चेतनाको विकास पुरा गर्न अनगिन्ती मानव जन्म लाग्न सक्दछ| चेतनाको विकास पुरा नभएसम्म एक पछि अर्को जन्म लिएर यस पाठशालामा धाइरहनु पर्दछ| जतिसुकै सुविधा सम्पन्न भए पनि पाठशालाको जीवन अन्ततः दु:खमय नै हो| भगवान् बुद्धलाई दरबारमा एस-आरामको के कमी थियो र, तर पनि जीवन दु:खमय रहेछ भन्ने कुरा उहाँलाई अनुभूति भयो र त्यो दु:खबाट मुक्त हुने उपायको खोजी गर्नु भयो| छ वर्षको अथक ध्यान गरेपछि उहाँले बुद्धत्व अर्थात् पूर्ण चेतना प्राप्त गर्नु भयो| जो कोहीले पनि उपयुक्त साधना गरेर एकै जन्ममा पूर्ण चेतना प्राप्त गर्न सक्दछन् र पूर्ण चेतना प्राप्त गरेपछि जन्म मरणको बन्धनबाट मुक्त हुन सक्दछन् भनेर आफूले प्राप्त गरेको ज्ञानको उपदेश अरूलाई पनि दिनु भयो| 

सनातन धर्ममा पूर्ण चेतना प्राप्त गर्नुलाई आत्मज्ञान भनिन्छ| आत्मज्ञान प्राप्त व्यक्तिको संसारिक विषय-बस्तु प्रति आसक्ति हुँदैन| उसका कुनै इच्छा र अहङ्कार पनि हुँदैनन्| जुनसुकै विपरीत परिस्थितिमा पनि उ समभावमा रहेको हुन्छ| आफ्नो चेतनामा स्थिर रहने हुनाले उसको मन शान्त भएको हुन्छ| मन शान्त हुने हुनाले उसलाई योगीको जस्तै दिन रात्रि जस्तो र निद्रामा पनि जागृत (होसमा) हुने हुनाले रात्रि दिन जस्तो हुन्छ| भागवद गीतामा भगवान् कृष्ण भन्नुहुन्छ जीवनको अन्तिम क्षण सम्ममा पनि चेतनाको त्यो स्थितिमा रहने व्यक्ति (स्थितप्रज्ञ) मुक्त हुन्छ|
साधना गर्नको लागि हामीलाई उत्कृष्ट शास्त्र र ध्यान विधिहरू उपलब्ध छन्| वर्तमान युगमा सञ्चार र यातायातको सुविधाले गर्दा मार्ग दर्शनको लागि सद्गुरुको चरणमा पुग्न पनि पहिलेको जस्तो गार्हो छैन| त्यसकारण उपयुक्त साधना गरेर जो कोही पनि जन्म मरणको बन्धनबाट मुक्त हुन सक्दछन्| यस सम्बन्धमा हजार वर्ष भन्दा पहिले लेखिएको बृहस्पति-संहिताको भनाई अहिले पनि त्यत्तिकै सान्धर्भिक छ: 

यथा चित्तम् समासक्तम् जन्तोर्बिषयगोचरे|
यदि नारायणेय़ेवम् को न मुच्येत बन्धनात्||१||

अशास्त्रद्रिष्टमार्गेषु यता चित्तक्षयो भवेत्|
यदेवं शास्त्रद्रिष्टेषु को न मुच्येत बन्धनात्||२||                        

आदरेण यथा स्तौती धनवन्तम् धनेच्छ्या|
तथा चेद्विश्वकर्तारम् को न मुच्येत बन्धनात्||३||                       

यथा सुनिपुण: सम्यक पर्दोषेक्षणम प्रति|
तथा चेन्निपुण: स्वेषु को न मुच्येत बन्धना त्||४||                        

अर्थार्थम् यानी कर्माणि करोति कृपणो जन:|
तान्येव यदि मोक्षार्थम् को न मुच्येत् बन्धनात्||५||                       

यावत् प्रलपते ह्रिष्टो देशराज्यादिकम बहु|
तावाच्चेत् प्रलपेत् शास्त्रम् को न मुच्येत बन्धनात्||६||         

स्तुयमानो यथा नित्यम् सुप्रसन्नो भावेन्नर:|
यद्द्यवम् निन्द्यमानोपि को न मुच्येत बन्धनात्||७||   

अर्थात् (१) मानिसको चित्त विषयहरूमा जसरी आसक्त छ त्यसैगरी परमात्मामा आसक्त हुने भए बन्धनबाट को मुक्त हुँदैनथ्यो।
(२) अशास्त्रीय मार्गतिर चित्त जति आकृष्ट हुन्छ त्यत्ति नै शास्त्रीय मार्गतिर आकृष्ट हुने भए बन्धनबाट को मुक्त हुँदैनथ्यो ।
(३) धनको लोभले जसरी धनीको आदरपूर्वक स्तुति गर्दछ त्यसरी नै परमात्माको स्तुति गर्दा बन्धनबाट को मुक्त हुँदैनथ्यो ।
(४) अरूको दोष देख्न मानिस जति चतुरो हुन्छ त्यति नै आफ्नो दोष देख्न पनि चतुरो हुने भए बन्धनबाट को मुक्त हुँदैनथ्यो ।
(५) दु:खी भएर मानिस सम्पती कमाउन जति कर्म गर्छ यदि मुक्तिको लागि पनि त्यति नै कर्म गर्ने भए बन्धनबाट को मुक्त हुँदैनथ्यो ।
(६) देश, राज्य आदिको विषयमा जति धेरै बोल्छ त्यति नै शास्त्रको अध्ययन गरे बन्धनबाट को मुक्त हुँदैनथ्यो ।
(७) आफ्नो प्रशंसा सुनेर जति प्रसन्न हुन्छ आफ्नो निन्दा सुन्दा पनि त्यति नै प्रसन्न हुने भए बन्धनबाट को मुक्त हुँदैनथ्यो।

विभिन्न समयमा बुद्धपुरुषहरुले जन्म लिने गर्दछन्| उनीहरूले जन्म लिनुको मुख्य कारण मानव जन्मको उद्देश्य को बारेमा उपदेश दिनु हो, परन्तु संसारिक जीवनमा भुलेका मानिसले उनीहरूको कुरा सुन्दैनन्| अझ आफूलाई झक्झकाउने बुद्धपुरुषहरुको उनीहरूले उपहास गर्दछन्| आचार्यश्री ओशो मैत्रेयज्यूले तन, मन लगाएर मात्र होइन धन समेत दिएर नेपाल र अन्य मुलुकहरूमा ध्यान शिविर सञ्चालन गर्नुहुन्छ| अमेरिकाको डेनभर सहरमा सञ्चालन गर्नुभएको त्यस्तै एउटा ध्यान शिविरमा आचार्यश्रीले संतहरुले लागाउने आफ्नो पहिरानालाई इंकित गर्दै एउटा मार्मिक कुरा भन्नु भयो – ‘यस्तो पहिरानमा कतै कसैले डुङ्गाले हान्लान् कि भनेर काठमांडूको सडकमा समेत सतर्क भएर हिंडनु पर्ने हुन्छ’| सन्त वा बुद्धपुरुषहरुको जीवनमा घटेका घटनाका आधारमा पनि उहाँले यस्तो अभिव्यक्ति दिएको हुनु पर्दछ| भगवान् बुद्ध र भगवान् महाबिरलाई पनि पत्थर फ्याकेर गाउँ गाउँ बाट लखेटिएकै हो| क्राइष्ट लाई सुली चढाइएकै हो| मोह्मदलाई ज्यान जोगाउन मेक्काबाट भागेर मदिनामा शरण लिन परेकै हो| मन्सूर को हत्या गरिएकै हो| भगवान् बुद्ध पछिको सबभन्दा ठुलो अबतार मानिने ओशोले पनि अन्तत: अन्य बुद्धपुरुषहरुले जस्तै दशा भोग्न परेकै हो| मानिसको चेतना जगाउने बुद्ध पुरुषहरुले यस्तो दशा भोग्न पर्ने हुन्छ| स्टेफेन न्याप नाम गरेका एक जना अमेरिकनले बैदिक धर्म र संस्कृति सम्बन्धी धेरै किताब लेखेका छन्| एउटा किताबमा उनले लेखेका छन् – क्षणिक भौतिक उपलब्धिको मोहमा लागेका व्यक्तिहरूले अध्यात्मिक दृष्टि राख्न सक्तैनन; बुझ्न नसक्ने हुनाले उनीहरूलाई अध्यात्मिक ज्ञान पागल कुरा जस्तो लाग्दछ|

मुक्त भैसकेपछि फेरी जन्म नहुने वा जन्म लिन नसकिने होइन| मुक्त भैसकेपछि जन्म लिन बाध्यता हुँदैन, यद्यपि  कुनै उद्देश्यको लागि आफ्नो इच्छा अनुसार जन्म लिन सकिन्छ| अरूलाई ज्ञान दिनको लागि, अरूको उपकारको लागि वा कुनै सृजनात्मक कार्यको लागि मुक्त जीवात्माले मानव जन्म लिन सक्दछन्| सद्गुरुहरुले आफ्ना शिष्यलाई मुक्त गर्न एक पछि आर्को जन्म लिने गर्दछन्|

ओशोधाराको ध्यान समाधि कार्यक्रममा प्रत्यक दिन दिउसो खाना खाएपछि खुला आकाशमुनी बसेर सद्गुरु ओशो सिद्धार्थज्यूले सहभागीहरुलाई डेढ घन्टाको ज्ञानबर्धक सत्संग दिनुहुन्छ| महाजीवन हेर्ने ध्यान समाधि कार्यक्रमको एउटा सत्संगमा कुनै एक जना सहभागीले सोधेको प्रश्नको उत्तरमा सद्गुरुले प्रस्ट पार्नुभयो कि माथिल्लो स्तरको चेतनाको जुनीमा आइपुगेपछि तल्लो स्तरको चेतनाको जुनीमा झरन पर्दैन, अर्थात् मानव जुनीमा आइपुगेपछि पशु पन्छीको जुनीमा फर्कन पर्दैन, अपितु पशु पन्छी माथि हिंसा गर्नेहरुलाई र आत्महत्या गर्नेहरुलाई भने यो नियम लागु हुँदैन| पशु पन्छीमाथी हिंसा गर्नेहरु त्यही गति भोगेर कर्म मेटाउनको लागि पशु पन्छीको जुनीमा जन्म लिनु पर्ने हुन्छ, र कर्म मेटिएपछि पुन: मानव जुनीमा फर्कन्छन्| त्यही बेलामा एकजना कामदारले आश्राममा रहेको एउटा सानो जातको कालो कुकुरलाई लिएर नजिकैबाट गैरहेको थियो| त्यो कुकुरलाई देखांउदै सद्गुरु बढे पापाले भन्नु भयो – ‘यो भन्दा पहिलेको जन्ममा त्यो कुकुर तिब्बतमा लामा थियो र प्रेमिकासंगको प्रेम वियोगमा छतबाट हामफालेर आत्महत्या गरेको थियो| आत्महत्या गर्नेहरु अगतीमा पर्दछन् अर्थात् उनीहरूले मुक्ति प्राप्त गर्दैनन्, तर पहिले लामा भएको कारण र मेरो शरणमा आएको हुँदा यसै जुनीमा म यसलाई मुक्त गरिदिन्छु’| 

मुक्त नभएसम्म चेतना विकासको लागि शरीरको आवश्यकता पर्ने हुनाले एक पछि आर्को जन्म लिइरहन जीवात्मा बाध्य हुन्छन्| चेतनाको पूर्ण विकास गरेर मुक्त भैसकेपछि उनीहरूलाई त्यो बाध्यता हुँदैन|चाहेमा तत्कालीन एकै जन्ममा चेतनाको विकास पुरा गरेर जो कोही पनि मुक्त हुन सक्दछन्| मुक्त भएपछि जन्म लिन वा नलिन उनीहरू सधैँ स्वतन्त्र हुन्छन्|

Comments (1)

Salt Lake City usa on

I like so much it is 100/:


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक