Similar Articles

Home Page Spiritual Articles

हिन्दु धर्मका दर्शन, बुद्ध धर्म र ओशो --प्रा. डा. नारायण कुँवर

बिराट नेपाल

विश्वका चार प्रमुख धर्महरुमध्ये हिन्दु धर्म एक हो। अन्य धर्महरुको सुरुवातको समय थाहा छ,  à¤¤à¤° हिन्दु धर्मको सुरुवात कहिलेबाट भएको हो थाहा छैन । अनादिकालदेखि मानिदैं आएकोले हिन्दु धर्मलाई सनातन धर्म पनि भनिन्छ। मुख्यतय वेद आधार भएकाले यसलाई वैदिक धर्म पनि भनिन्छ। हिन्दु धर्मका छवटा दर्शन छन्:

१. सांख्य: यस दर्शन अनुसार प्रकृतिका गुण (सत्व, रजस र तमस) सँग आत्मा कुनै न कुनै रूपमा सम्बन्धित रहेको हुन्छ र त्यस सम्बन्धबाट छुटकारा पाउन आफ्नो विभेदको अनुभव गर्न आवश्यक छ। जब आत्मा र प्रकृतिका गुणको बिचको भिन्नताको गहिरो ज्ञान हुन्छ तब मुक्ति प्राप्त हुन्छ। महर्षि कपिल सांख्य दर्शनका प्रणेता हुन्। महर्षि अष्टाबक्रले राजा जनकलाई दियको ज्ञान सांख्य दर्शन अन्तर्गत हो जुन अष्टाबक्र गीताको नामबाट प्रसिद्ध छ। 

२. योग: यस दर्शन अनुसार बुद्धिद्वारा चित्तवृत्तिलाई नियन्त्रण गरेर मात्र योग हुन्छ अर्थात् सत्यको बोध हुन्छ। योग अभ्यासलाई आठ चरणमा विभक्त गरिएको छ: यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि। योगाको नामले आसन र प्राणायमको जनप्रियता विश्वभरि बढिरहेको छ। योग दर्शनका प्रवर्तक महर्षि पतंजलि हुन्। 

३. बैशेषिक: यस दर्शन अनुसार संसारिक बासनाहरुको त्याग गरेर मात्र सुख प्राप्त हुन्छ र ईश्वरलाई बुझ्न सकिन्छ जसबाट मात्र मुक्ति प्राप्त हुन्छ। यस दर्शनका प्रवर्तक महर्षि कणाद हुन्।

४. न्याय: श्रद्धाद्वारा स्वीकार गारिएको वास्तविकतालाई तर्कद्वारा सिद्ध गर्ने प्रयासबाट यस दर्शनको प्रबर्तन भयो। दर्शनका प्रवर्तक थिए महर्षि गौतम। यस दर्शनले इश्वरियता नै वांचित हो, ज्ञातब्य हो र प्राप्य हो, संसारिक विषय होइन भनेर जोड दिएको छ। 

५. मीमांसा: यस दर्शनलाई पूर्व मीमांसा पनि भनिन्छ जसको शाब्दिक अर्थ हो प्रथम जिज्ञासा। यस संसारमा आएपछि जीवनको उदेश्य के हो बुझ्न खोज्नु मानिसको प्रथम जिज्ञासा हो। मानिसको प्रथम जिज्ञासा यस दर्शनको प्रतीक हो र जैमिनी ऋषि यसका प्रणेता हुन्। 

६. वेदान्त: बेदान्त दर्शन सबभन्दा बढी स्वीकार्य र सबभन्दा नयाँ पनि हो। प्रस्थानत्रयी (उपनिषद्, ब्रह्मसूत्र र भागवाद गीता) यस दर्शनका मुख्य आधार हुन्। यस दर्शन अनुसार आत्मज्ञानको लागि श्रबण, मनन र निदिध्यासनको आवश्यकता हुन्छ। श्रबणको लागि उपनिषद्, मननको लागि ब्रह्मसूत्र र निदिध्यासनको लागि भागवत गीतालाई सबभन्दा उपयुक्त मानिएको छ। यस दर्शनका प्रतिपादक बदरायण ऋषि हुन्। 
बेदान्त दर्शनलाई सांख्य दर्शनको बिस्तारको रूपमा मानिएको छ। भगवत गीताको दोस्रो अध्यायमा भगवान् कृष्णले दिनु भएको ज्ञानको शिक्षा सांख्य दर्शन नै हो। यी दुई दर्शनमा मुख्य भिन्नता प्रकृति र पुरुषबिचको सम्बन्ध हो। सांख्य दर्शनले द्वैतको निरुपण गर्दछ जस अनुसार प्रकृति (जीव र जगत) र पुरुष (परमात्मा) अलग अलग हुन्। बेदान्त दर्शनले भने अद्वैतको निरुपण गर्दछ जस अनुसार प्रकृति पुरुषबाट अलग छैन, अर्थात् परमात्माकै बिस्तार जीव र जगत हो। मानिस पनि परमात्माबाट भिन्न नभएकाले नै उपनिषदले ‘तत्व मसी’ भनेको छ, ‘अर्थात् तिमि (मानिस) नै त्यही (परमात्मा) हौ। 

वेदान्त दर्शनमा प्रकृति, पुरुष, जीव, ज्ञान, कर्म, उपसना, मृत्यु पश्चातको दशा, पुनर्जन्म, बन्धन एवं मोक्षको बारेमा राम्रोसँग बिबचना गरिएको छ। विश्वप्रसिद्ध दार्शनिकहरू समेतले वेदान्त दर्शनलाई अध्यात्मको सर्वोच्च ज्ञान हो र कुनै दिन पुरा विश्वको धर्म हुन्छ भनेका छन्। हिन्दु धर्मका सबै दर्शनहरुले वेदको प्रामाणिकतालाई स्वीकारेका छन्। त्यसकारण यी सबै दर्शनहरुलाई बैदिक दर्शन पनि भनिन्छ।

दर्शनहरू विभिन्न भए पनि हिन्दु धर्मको मुख्य मान्यता कर्म र पुनर्जन्मका सिद्धान्त हुन्। त्यस सिद्धान्त अनुसार कर्मको कारणबाट जिबात्मा जन्ममरणको अनन्त चक्रमा घुमिरहेको हुन्छ। धर्मको उदेश्य त्यो चक्रबाट मुक्त गर्नु हो। बुद्ध धर्म पनि विश्वका चार प्रमुख धर्महरुमध्ये एक हो। यस धर्मका मुख्य मान्यता पनि कर्म र पुनर्जन्मका सिद्धान्त नै हुन्, र धर्मको उदेश्य पनि जन्ममरणको चक्रबाट मुक्त गर्नु नै हो।

भगवान् बुद्धले त्यस समयका नाम चलेका गुरुहरुको आश्राममा गएर हिन्दु धर्मको अध्यन गर्नु भयो। मुक्तिको लागि हिन्दु धर्मले अपनाएको श्रबण, मनन र निदिध्यासनका बिधिहरुमा उहाँले कुनै शङ्का गर्नु भएन, तर तत्कालीन परिस्थितिमा मानिसहरूलाई ती विधिहरू अपनाउन सम्भव नभएको यथार्थ बुझ्नु भयो। पूजा-पाठ र कर्मकाण्डद्वारा मात्र मुक्ति प्राप्त गर्न नसकिने तथ्य बुझेपछि मुक्तिको सरल उपायको खोजीमा एउटा पिपलको वृक्षमुनि गएर ध्यानमा बस्नु भयो। छ वर्षको अथक ध्यानपछि पुर्णिमाको एक रात्रिमा उहाँलाई आफ्नो खोजीको उत्तर प्राप्त भयो, अर्थात् ज्ञान प्राप्त भयो। आफूले प्राप्त गरेको ज्ञानको आधारमा सर्वसाधारणले पनि बुझ्न र अपनाउन सक्ने अष्टांग मार्गको प्रतिपादन गर्नु भयो। भगवान् बुद्धले प्रतिपादन गर्नुभएको अष्टांग मार्ग कालन्तरमा बुद्ध धर्मको नामबाट विश्वको प्रमुख धर्म बन्यो। 

अष्टांग मार्ग हिन्दु धर्मबाट धेरै फरक छैन। एउटा मुख्य भिन्नता भनेको आत्मा परमात्माको सम्बन्धमा हो। अष्टांग मार्गमा भगवान् बुद्धले आत्मा परमात्माको विषयमा कत्ति पनि उल्लेख गर्नु भएन। उल्लेख नगर्नुको कारण आत्मा परमात्माको बारेमा तत्कालीन परिवेशमा मानिसहरूलाई बुझाउन गाह्रो थियो। त्यस बेलाको समाजमा शिक्षित व्यक्तिहरूको सङ्ख्या नगन्य थियो र मार्गदर्शनको लागि गुरुहरु पाउन पनि असम्भव जस्तै थियो। सर्वोच्च ग्रन्थ वेदले परमात्मालाई निर्गुण र निराकार भनेको छ, तर “नेती नेती” अर्थात् “त्यो होइन त्यो होइन” मात्र भनेर परमात्माको बारेमा स्पष्ट अन्य केही भन्न सकेको छैन। वेदले पनि स्पष्ट गर्न नसकेको विषयमा भगवान् बुद्धले पनि केही बोल्न चाहानु भएन र आफूले तय गरेको मार्गको लागि आवश्यक पनि ठान्नु भएन। 

हिन्दु धर्म अनुसार कर्मबन्धनको कारण सकाम कर्म हो र त्यसबाट मुक्त हुने मुख्य उपाय निष्काम कर्म हो, अर्थात् फल प्रति आसक्ति नराखिकन कर्म गर्नु हो। भगवान् बुद्धले कर्मलाई गहिरेर विश्लेषण गर्नु भयो। मानिसको दृष्टिकोण, संकल्प, बाणी, आजीविका, प्रयत्न र क्रियाकलापहरुबाट उसको कर्म बन्ने तर तिनीहरुमा सम्यकता अपनाउँदा कर्म नबन्ने तथ्य बुझेपछि त्यस सम्बन्धित छवटा मार्गको प्रतिपादन गर्नु भयो। बेहोसिमा गरेका सबै क्रियाकलापहरुबाट पनि कर्म बन्ने बुझेपछि अर्को एउटा मार्ग होस अर्थात् जागरण सम्बन्धित बनाउनु भयो। बुद्धको अर्थ नै जागेको व्यक्ति हो।ध्यानद्वारा मात्र मानिसलाई आफ्नो चैतन्य स्वरूपको ज्ञान हुने अर्थात् बुद्धत्व प्राप्त हुने जसबाट पूर्व जन्मदेखि संचित सम्पूर्ण कर्म मेटिएर मुक्ति प्राप्त हुनेहुँदा ध्यानलाई पनि थपेर मार्गलाई पूर्णता दिनु भयो। 

भगवान् बुद्धलाई ध्यानको प्रणेता मानिन्छ, तर ध्यानका सुत्रधार भने भगवान् शिव हुनुहुन्छ। भगवान् बुद्धले अपनाउनु भएको विपसना ध्यान पनि भगवान् शिवले सुत्रपात गर्नुभएको ११२ ध्यान विधिहरू मध्ये कै एक हो।  

अध्यात्मिक विकासको लागि जागरणको आवश्यकताबारे पहिला नै भागवत गीतामा उल्लेख छ। स्थितप्रज्ञको सम्बन्धमा भगवान् बुद्धले भन्दा धेरै पहिला भगवान् कृष्णले उपदेश दिसक्नुभएको छ। स्थितप्रज्ञको अर्थ हो पूर्ण होसमा रहनु, चेतनामा स्थिर रहनु। भगवान् कृष्ण भन्नुहुन्छ - स्थितप्रज्ञ व्यक्ति रात्रिमा सबै प्राणि निदायको समयमा पनि जागेको हुन्छ र दिनमा अरू सबै जागेको समयमा पनि निदाएको जस्तै शान्त र आनन्दित हुन्छ। कृष्ण भन्नुहुन्छ जागरणको त्यो स्थितिमा पुगेको व्यक्ति मुक्त हुन्छ। 

सन्तहरु भन्दछन मानिसहरू बेहोसमा रहेर नै पुरा जीवन बिताइरहेका हुन्छन। सन्त गुर्जेब अनुसार मानिस जीवनमा सरदर पाँच मिनेट मात्र होसमा रहेको हुन्छ। ओशोले हिन्दु दर्शनका विभिन्न पक्षमा हजारौँ घन्टाको प्रबचन दिएर अध्यात्मको वैज्ञानिक व्याख्या गर्नुभएको छ। भगवान् कृष्ण र भगवान् बुद्धका उपदेशहरुलाई पनि स्पष्ट व्याखा गरेर प्रबचन दिनुभएको छ। ध्यान विधिहरुलाई पनि समसामयिक बनाउनु भएको छ। उहाँले दिनुभएको प्रबचनका आधारमा ६५० भन्दा बढी पुस्तकहरू छापिएका छन्। प्रत्यक प्रबचनमा होस र ध्यानको साधनालाई जोड दिनुभएको छ। उहाँको क्रान्तिकारी कदमबाट विश्वभरि ध्यान गर्नेहरुको सङ्ख्या बढिरहेको छ। ओशोलाई अध्यात्मिक जगतमा ठुलो अबातारको रूपमा मानिएको छ। करम्पा लामा समेतले ओशोलाई भगवान् बुद्ध पछिको सबभन्दा ठुलो अबतार हो भनेका छन् ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक