Similar Articles

Home Page Spiritual Articles

गुरु प्राप्ति नै मुक्ति ---प्रा. डा. नारायण कुँवर

बिराट नेपाल

भगवान आदी शंकराचार्यले भन्नु भएकोछ - मानव सरिर, परमात्मा प्राप्तिको प्यास अर्थात मुक्तिको इच्छा र ज्ञान दिने सद्गुरु जसलाई प्राप्त छ तिनिहरुको मुक्ति निकट छ र यि तिन कुरा परमात्माको बरदान बाट मात्र प्राप्त हुन्छ| योगवासिष्ठमा गुरु बसिष्ठले पनि १५ बर्षका आफ्ना शिष्य भगवान रामचन्द्रलाई भन्नु हुन्छ - परमेश्वरको साक्षात् अनुग्रह नभैकन कसैले पनि सास्त्रमा ध्यान दिदैनन्, सत्संग गर्दैनन् र सदगुरु पाँउदैनन् |

यावान्नानुग्रह: साक्षाज्जायते पर्मेश्वरात|
तावान्न सद्गुरुं कश्चित सच्छास्त्रम वापि नालभेत||३||

धर्मको लक्ष आत्मज्ञान भएको र त्यो लक्षमा पुराएर शिष्यलाई अन्तहीन जन्ममरणको बन्धनबाट मुक्त गरिदिने हुनाले सनातन धर्मले गुरु नै परमात्मा हो भनेर गुरुलाई निकै उच्च स्थान दिएको छ| गुरु ब्रह्मा गुरु बिष्णु, गुरु देवो महेश्वर: गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नम:’ मन्त्रबाट गुरु नै परमात्मा हो भन्ने प्रष्ट हुन्छ| ज्ञानसङ्कलिनी तन्त्रले गुरु तुल्य यो संसारमा कोहि पनि, केहि पनि छैन भनेर उल्लेख गरको छ:

न च विद्या गुरोस्तुल्यम् न तिर्थ न च देवता|
गुरोस्तुल्यम् न छ बै कोपि यद्द्रिष्टम् परमं पदम्||
न मित्रम् न च पुत्राश्च न पिता न च बान्धवा|
न स्वामी च गुरोस्तुल्यम् यद्द्रिष्टम् परमं पदम्||
एकमप्यक्षरम् यस्तु गुरु: शिष्ये निबेदयेत्|
पृथिब्याम् नास्ति तद्द्रब्यम् यद्दत्त्वा चान्रिणी भवेत्||

अर्थात: परम पद देखाउने (मुक्ति गराउने) गुरु तुल्य बिद्या, तिर्थ, देवता हुन सक्दैनन्| त्यस्ता गुरुको बराबरी मित्र, पिता, पुत्र, बान्धव र पति पनि हुन सक्दैनन्| पृथ्वीमा यस्तो कुनै चिज छैन जुन दिएर गुरु ऋण बाट मुक्त हुन सकियोस्|

विभिन्न युगका सन्तहरुले आफुलाई ज्ञान दिने गुरु नै परमात्मा हो भन्दै गुरु महिमाको बर्णन गरेकाछन्| यस सम्बन्धमा गुरु रामदास भन्नुहुन्छ  - शरिररुपी समुन्द्रलाई मथेर हेर्दा यौटा अनुपम कुरा के थाहा भयो भने गुरु नै परमात्मा हो र परमात्मा नै गुरु हो, दुबैमा केहि भिन्नता छैन:   

समुंदु बिरोलि सरिरु हम देखिआ एक बस्तु अनूप दिखाई|
गुरु गोबिन्दु गोबिन्दु गुरु है नानक भेद न भाई||

सानै उमेर देखि सन्त कबिरले बनारसमा प्रतिष्ठित स्वामी रमानन्दबाट दिक्षा लिन चाहनुहुन्त्यो| तर उहाँको जात-पातको बारेमा केहि थाहा नभएको हुँदा स्वामी रमानन्दले दिक्षा दिन चाहनु  भएको थिएन| कबिरले यौटा जुक्ति निकाल्नु भयो दिक्षा लिनको लागि| स्वामीजी उज्यालो हुनुभन्दा पहिलै बिहान गंगा स्नान गर्न जानु हुन्थ्यो| एक दिन बिहान सबेरै कबिर स्वामीजी हिड्ने बाटोको खुड्किलामा गएर पल्टनु भयो| झिसमिसे अँध्यारोमा स्वामिजीले नदेख्नु भएकाले उहाँको पैतलाले कबिरलाई छोएपछि स्वामीजीको मुखबाट ‘राम राम’ को बाणी निस्क्यो| त्यहि बाणीलाई नै कबिरले गुरुबाट दिक्षा मन्त्र पाएको भन्नु भयो| यो घटनापछि स्वामी रमानन्दले पनि कबिरलाई आफ्नो शिष्यको रुपमा स्वीकार्नु भयो| गुरुको महिमालाई कबिरले यसरि व्यक्त गर्नु भएको छ:

सब धर्ती कागद करूं, लेखनी सब वनराय|
सात समन्दर की मसी करूं, गुरु गुंण लिखा ना जाय||
यह तन विष की बेलरी, गुरु अमृत की खान।
शीश दियो जो गुरु मिले, तो भी सस्ता जान।।

अर्थात: सारा धर्तीलाई कागज, सारा जंगलको रुखलाई कलम र सारा सात समुन्द्रको पानिलाई मसि बानाएर लेखे पनि गुरुको गुण लेख्न सकिंदैन| यो सरिर बिष युक्त छ, जब कि गुरुको सरिर अमृतको खानि हो| आफ्नो सिर दिएर गुरु पाइन्छ भने त्यो पनि सस्तो हो|

राजस्थान स्थित मेवाडको राजघरानकी र बालकाल देखिनै भगवान कृष्णको परम भक्त मिरा बाई सन्त कबिरकै समकालीन हुनुहुन्थ्यो| गुरुको आबश्यकता र ओमकारको महत्व बुझेपछि दिक्षा लिन उहाँ सन्त रविदासको चरणमा पुग्नु भयो| सन्त रविदास जातको चमार हुनुहुन्थ्यो| एक्काइसौँ शताब्दीको प्रबेशमा आइपुग्दा त समाज जात-पात र छुआछुतको संकृणताबाट पूर्णरुपले मुक्त हुनसकेको छैन| त्याति बेला त्यहि पनि राजघरानको महिलाले यौटा चमारलाई आफ्नो सद्गुरु बनाउने निर्णय कसैले कल्पनासम्म पनि गर्न सक्ने कुरा थिएन| चमारलाई सद्गुरु बनाएकोमा उहाँको ठुलो बिरोध भयो, तर पनि मिरा बाई पछि हट्नु भएन| थुप्रै पदहरु लेखेर उहाँले आफ्नो सद्गुरु प्रति अगाध भक्ति र श्रद्धा प्रकट गर्नु भएको छ| केहि पदका अंक्स यस्ता छन्:

गुरु रैदास मिले मोहिं पूरे, धुर से कलम भिडी|
सतगुरु सेना दई जब आ के, जोत में जोत राली||

अर्थात: परमात्माले निधारमा लेखिदिनु भएकाले सद्गुरु रबिदास भेटिनुभयो र उहाँले दिनुभएको निर्देसन अनुसार गर्दा मेरो परमात्मासंग मिलन भयो|

सन्तहरु वा अन्य सर्बसाधरणलाई मात्र होइन, भगवान राम, भगवान कृष्ण र भगवान बुद्ध जस्ता अवतारहरुलाई पनि गुरुको आबश्यकता पर्दछ| मानव सरिरमा अवतरण हुने सबै बुद्ध पुरुषहरुको पनि ज्ञान बिजको रुपमा मात्र आएको हुन्छ| त्यो बिजलाई साधना द्वारा अंकुरित गरेर बिकाश गर्न पर्ने हुन्छ र साधना गर्न गुरुको आबश्यकता पर्दछ| भगवान बुद्धले पुर्व जन्ममा नै ज्ञान प्राप्त गरिसक्नु भएको थियो| प्राप्त गरेको ज्ञानको शिक्षा दिन उहाँले फेरी जन्म लिनु भयो| पुर्व जन्ममा प्राप्त गरेको ज्ञान बिजको रुपमा मात्र आएकाले त्यो बिजलाई अंकुरित र बिकाश गर्न उहाँले फेरी साधना गर्न पर्यो| छ बर्ष ध्यान गर्न बस्नु भन्दा पहिला बिभिन्न गुरुहरुको आश्रममा गएर उहाँले शास्त्रको अध्यनका साथै साधनाका बिधिहरु सिक्नु भएको थियो|

‘तत्व मसी’ अथवा ‘अय आत्मा ब्रह्म’ जस्ता बचनहरुबाट शास्त्रले प्रत्यक व्यक्तिको बास्तविक स्वरूप ब्रह्म हो भनेको छ, र त्यो स्वरूप बिजको रुपमा मात्र आएको हुन्छ| त्यो बिजलाई अंकुरित गरि बिकाश गरेमा प्रत्यक व्यक्तिलाई आफ्नो ब्रह्म स्वरुपको ज्ञान हुन्छ जसलाई ब्रह्मज्ञान वा आत्मज्ञान भनिन्छ| साधनाको तात्पर्य त्यहि ब्रह्म स्वरूपलाई प्रकट गाराउनु हो| सद्गुरु ओशो सिद्धार्थज्यू भन्नुहुन्छ नेपालमा अष्टाबक्र, पतंजली, बुद्ध र गोरखनाथ जास्ता बुद्ध पुरुषहरुको जन्म भयो, तर हजार बर्ष यता त्यस्ता कुनै बुद्ध पुरुषहरुको जन्म भएको छैन| ठिक साधना गरेमा यस भूमिमा जोकोही पनि त्यो स्तरको बुद्धपुरुष बन्न सक्दछन् भनेर त्यस्तो बन्न आफ्ना नेपालि शिष्यहरुलाई प्रोत्साहित गर्नुहुन्छ|*

स्व-अध्ययन गरेर वा प्रबचन सुनेर शास्त्रको जानकारी हुनु राम्रो हो| त्यस्तो जानकारीबाट साधनाको लागि केहि पृष्ठभुमि तयार हुन्छ, तर त्यो जानकारी वा बुझाई नै ज्ञान होइन| भागवद् गीता सनातन धर्मको सार हो, तर उक्त ग्रन्थ कण्ठ पारेर सबै अर्थ बुझे पनि त्यसबाट ज्ञान प्राप्त हुँदैन| अध्यात्ममा ज्ञानको अर्थ हो ब्रह्मज्ञान वा आत्मज्ञान| पूजा-पाठ र तिर्थ-ब्रतबाट होस् वा शास्त्रको बुझाईबाट नै होस्, त्यस्ता बाहिरि क्रियाकलापहरुबाट आत्मज्ञान हुँदैन| आत्मज्ञान अन्तर्यात्राबाट मात्र हुन्छ| अधिकांस मानिसहरु बाहिरि क्रियाकलापहरुमा मात्र अलमलिरहेका हुन्छन्| आत्मज्ञान गराउन नसक्ने क्रियाकलापहरुमा अलमलिरहनु समयको खेर फाल्नु मात्र हो| गुरुको निर्देशनमा साधना गर्दा कतै अलमल हुँदैन| त्यसैले भागवद् गीतामा भगवान कृष्णले गुरुको आबश्यकताको बारेमा उपदेश दिनु भएको हो:

तद्विद्धि प्रणीपातेन परिप्रश्नेन सेवया| 
उपदेक्षयन्ति ते ज्ञानम् ज्ञानिनस्तत्वदर्शिन||४:३४||

भक्तिबेदान्त स्वामी प्रभुपादको यस श्लोकको हिन्दी अनुबाद र त्यसको नेपाली अनुबाद यस्तो छ: ‘गुरुका नजिक गएर सत्यलाई बुझ्ने चेष्टा गर| बिनम्रतापूर्वक गुरुका सामु आफ्ना जिज्ञासाहरु राख, गुरुको सेवा गर, अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले यथार्थ ज्ञान प्रदान गर्नेछन’|   

यातायात र संचार माध्यमको सुविधाले गर्दा गुरुको चरणमा पुग्न पुरानो समयको जस्तो कठिन छैन| यति खेर धेरै गुरु परम्पराहरु भेटिन्छन्, कुनै नया छन् भने कुनै धेरै पुराना पनि छन्| धेरै पहिले निर्धारित गरिएका साधनाका कतिपय आचरणहरु अहिलेको परिस्थितिमा उपयुक्त हुँदैनन्| अहिलेको परिस्थिति पहिलेको भन्दा धेरै कुराले भिन्द छ| शिक्षाको बिकाशले गर्दा अन्धबिस्वासमा चल्न पर्दैन| विज्ञानको विकासले गर्दा हरेक कुरा बैज्ञानिक दृष्टिकोणले हेरिन्छ| अहिलेको धेरैजसो मानिसलाई आफ्नो गाउँ-ठाउँमा बसेर मात्र पुग्दैन, गाउँ-ठाउँ छोडेर बाहिर गईरहनु पर्दछ| त्यसकारण साधनाका आचरणहरु समसामयिक भए नभएको कुरालाई ध्यानमा राखेर आफुलाई उपयुक्त हुने गुरु परम्परामा जानु पर्दछ|

नक्कली गुरुहरुबाट पनि सतर्क हुनु पर्दछ| प्राय सबै क्षत्रमा दुई नम्बरी धन्दा गर्नेहरु भेटिन्छन्| अध्यात्मिक क्षत्र पनि त्यस्तो विकृतिबाट मुक्त छैन किनभने केहि गुरुहरु नक्कली भएको समाचार यदाकदा सुनिन्छ| संसारिक बिषय बस्तु जस्तै धन, पद. सम्बन्ध, इत्यादिको प्रलोभन देखाएर आफूतिर आकर्षित गराउने गुरुहरु नक्कली हुन्| केवल प्रबचन दिएर शास्त्रमा अल्जाईराख्ने गुरुहरुले पनि आत्मज्ञान गराउन सक्दैनन्| त्यस्ता गुरुहरुले परम सत्य के हो, भ्रम के हो, स्पष्ट पार्न सक्दैनन्| सन्त कबिर भन्नु हुन्छ संसारिक भ्रम मेटाउन नसक्ने अर्थात मनको भ्रान्ति हटाउन नसक्ने सबै गुरुहरु झुटा हुन्, त्यस्ता गुरुहरुलाई जतिसक्यो छिटो त्यागि दिनु पर्दछ: 

जो गुरु ते भ्रम नामीटे, भ्रान्ति न जिस्का जाय|
सो गुरु झुठा जानिय, त्यागत देर न लाय||

मानव जीवनको उदेश्य जन्म मरणको बन्धनबाट मुक्ति प्राप्त गर्नु हो| संसारिक बिषय बस्तुमा अलमलिएर त्यो उदेश्यलाई मानिसले बिर्सेको हुन्छ| बृद्ध अबस्थामा पुगेर त्यस उदेश्यको याद गरेर केहि फाईदा हुँदैन किनभने साधना गर्न सरिर असक्त भैसकेको हुन्छ| मानव सरिर प्राप्त भएर मुक्तिको इच्छा भए पनि गुरु प्राप्ति नभईकन मुक्ति सम्भव हुँदैन| शास्त्र भन्दछ - मुख्य ध्यान नै गुरुको रुपको ध्यान हो, मुख्य पूजा नै गुरुको पाऊपूजा हो, मुख्य मन्त्र नै गुरुको बचन हो र मुक्तिको मुख्य उपाय नै गुरुको कृपा हो:

ध्यान मूलम् गुरु मुर्ति, पूजा मूलम् गुरु पदमम्|
मन्त्र मूलम् गुरु वाक्यम्, मोक्ष मूलम् गुरु कृपा||

सनातन धर्म अनुसार गुरु प्राप्ति नै मुक्ति हो| त्यसैले समयमै, उमेर छदैं गुरुको खोजि गर्नु पर्दछ|

.............................................................................................

*सद्गुरु ओशो सिद्धार्थज्यू अमेरिकामा बसोबास गरेका नेपालीहरुको अनुरोधमा ध्यान सिकाउन र ओमकारको दीक्षा दिन जुलाई महिनाको तेस्रो हप्तामा देल्हिबाट हन्ट्सभिल्, अलबामामा आउंदै हुनुहुन्छ|

Comments (1)

केशव रिजाल on

गुरु प्राप्ति नै मुक्ति हो भन्ने कुराले सोच्न बाध्य पार्यो, चित्त बुझ्यो


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक