Similar Articles

Home Page Spiritual Articles

साधनाको पहिलो कदम: शास्त्र अध्यन--प्रा. ड़ा. नारायण कुँवर

बिराट नेपाल

साधनाको पहिलो कदम शास्त्रको अध्यन हो| शास्त्रको अध्यनबाट सही सदगुरुको चरणमा पुग्न र सदगुरुको उपदेश र निर्देशन बुझेर साधना गर्न सजिलो हुन्छ|

हिन्दु धर्मको मूल ग्रन्थ वेद हो| बुद्ध धर्मको प्रबर्द्धन भगवान् बुद्धबाट, क्रिस्चियन धर्मको क्राइष्टबाट र इस्लाम धर्मको मोहमदबाट भएको हो| तर हिन्दु धर्मको प्रबर्द्धन भने कुनै एउटा बुद्धपुरुषबाट भएको होइन| हिन्दु धर्मको प्रबर्द्धन वेदबाट भएको हो| वेदको शाब्दिक अर्थ ‘ज्ञान’ हो र त्यो ज्ञान विभिन्न ऋषिहरुबाट प्राप्त भएको हो|

वेदहरु चारवटा छन्: ऋगवेद, सामवेद, यज्रुर्वेद, र अथर्ववेद, तर सबैलाई मिलायर वेद मात्र भन्ने गरिन्छ| विषय अनुसार वेदलाई तिन भागमा विभाजित गरिएको छ: (१) कर्म-काण्ड (२) उपासना-काण्ड र (३) ज्ञान-काण्ड| पहिलो भाग रिति-रिवाज, दोस्रो भाग पूजा-आराधना र तेस्रो भाग ज्ञान सँग सम्बन्धित छ| ज्ञान सँग सम्बन्धित भागलाई उपनिषद भनिन्छ|

ऋषिहरुले आफ्नो अन्तर्दृष्टिद्वारा प्रारप्त गरेको परमसत्यको ज्ञानलाई शब्दमा परिभाषित गरिएको ग्रन्थ हो उपनिषद| वेदको अन्तिम भाग भएकाले उपनिषदलाई वेदान्त पनि भनिन्छ| परमसत्यको ज्ञान ऋषिहरुको अन्तस्करणमा श्रवण भएको हुँदा उपनिषद्लाई श्रुति प्रस्थान पनि भनिन्छ| उपनिषद २१६ छन् जसमध्य १२ वटा सबभन्दा बढी महत्वका छन्| तिनीहरू हुन्: १.ईश, २. ऐतरेय, ३.कठ, ४. केन, ५. छान्दोग्य, ६. प्रश्न, ७.  तैत्तिरीय, ८. बृहदारंयक ९. मांडूक्य, १०. मुन्ड़क ११. कौषितकि, र १२. श्वेताश्वतर|

उपनिषद् पछि दुईवटा अरू महत्वपूर्ण ग्रन्थहरु - ब्रह्मसूत्र र भागवद गीता लेखिए| उपनिषदमा ऋषिहरुले आफूले प्राप्त गरेको ज्ञानलाई जस्ताको त्यस्तै प्रस्तुत गरेका थिए| बदरायण ऋषिले त्यो ज्ञानलाई तर्क बितर्क गरेर प्रस्तुत गर्नु भयो, जसलाई ब्रह्मसूत्र भनिन्छ| उपनिषद्को ज्ञानलाई तर्कपूर्ण ढङ्गबाट प्रस्तुत गरिएको हुनाले ब्रह्मसूत्रलाई न्याय प्रस्थान पनि भनिन्छ| उपनिषदमा प्राप्त ज्ञानको आधारमा मानिसको दैनिक जीवनलाई नियमित गर्ने उदेश्यले बदरायण ऋषिले फेरी आर्को ग्रन्थ तयार पार्नु भयो जस्को नाम भागवद गीता हो| मानिसको दैनिक जीवनमा प्रयोग गरिने हुनाले भागवाद गीतालाई स्मृति प्रस्थान पनि भनिन्छ|

उपनिषद्, ब्रह्मसूत्र र भागवद गीतालाई समग्रतामा प्रस्थान त्रयी भनिन्छ| हिन्दु धर्मका जति पनि ग्रन्थहरु छन्, ती सबैका आधार प्रस्थान त्रयी हुन्| महत्वपूर्ण प्राचीन ग्रन्थहरु यस प्रकारका छन्:

१. पुराणहरु: पुराणहरुको उदेश्य आध्यात्मिक ज्ञानलाई कथा द्वारा रोचक बनाएर सर्वसाधारणलाई बुझाउनु हो| पुराणका कतिपय कुराहरू सत्य छन् भने कतिपय कुराहरू काल्पनिक छन्| त्यसैले पुराणहरु एक प्रकारले सामाजिक उपन्यास जस्तै हुन्| पुराणहरु १८ वटा छन् जसमध्य भागवत पुराण र विष्णु पुराण प्रसिद्ध छन्|

२. स्मृतिहरू: स्मृतिहरू हिन्दु धर्मका कानुन हुन| वैयक्तिक आचरण र समाजिक परिपाटीलाई स्मृतिहरूले निर्धारित गर्छन| बिस भन्दा बढी स्मृतिहरु मध्ये मनु स्मृति, यज्ञबल्क्य स्मृति र परासार स्मृति प्रसिद्ध छन्|

३. इतिहास: रामायण र महाभारतलाई इतिहास भनिन्छ| यी दुईवटा ऐतिहासिक ग्रन्थ मार्फत हिन्दु धर्मका सिध्दान्त र आदर्शलाई सर्वसाधारणको हृदयमा पुराउने प्रयत्न गरिएको छ| इतिहासलाई सर्वसाधारणका वेद मानिन्छ|

४. आगमहरु: आगममा देवी देवतालाई पूजा-आराधना गर्ने विधि र पूजा गर्दा अपनाउनु पर्ने नियमको वर्णन गरिएको हुन्छ| यी ग्रन्थहरुमा मन्दिर र मुर्ति बनाउने नियम पनि उल्लिखित हुन्छन| वैष्णव, शैव्य र शक्त सम्प्रदायका भिन्दा भिन्दै आगामहरु छन्|

प्राचीन ग्रन्थहरुका अतिरिक्त विभिन्न समयका सन्तहरुले हिन्दु धर्म सम्बन्धी लेखेका थुप्रै किताबहरू छन्| करिब बारहसौ वर्ष पहिला हिन्दु धर्मलाई पुनरोत्थान गर्ने आदी शंकराचार्यले आफूले लेखेको विवेक चुडामणिलाई सम्पूर्ण वेदको सिरमुकुट, अत्यन्त गूढतत्व र आफ्नो उच्चतम सिद्धान्त भन्नु भएको छ| आधुनिक समयका सन्तहरुलाई प्राचीन काल देखि जम्मा भएको ज्ञान उपलब्ध भएकाले उहाँहरुले लेखेका किताबहरू धेरै ज्ञानबर्द्धक मात्र नभएर पढन र बुझन पनि त्यत्तिकै सजिला छन्|

उपयोगिताको हिसाबले भागवद् गीता हिन्दुहरूको सबभन्दा महत्वपूर्ण ग्रन्थ हो| हिन्दुहरूको लागि भागवद् गीता क्रिस्चियनहरुको लागि बाइबल र मुस्लिमहरुको लागि कुराण जस्तै हो| अन्य धर्म मान्ने पश्चिमी मुलुकका उच्च बौद्धिक स्तरका व्यक्तिहरूले पनि भागवद् गीता पढने गर्छन| हेनेरी डेविड थोरो र राल्फ वाल्ड़ो एमर्सन जस्ता विश्व प्रसिद्ध अमेरिकी चिन्तकहरुले पनि भागवद् गीता नियमित पढने गर्थे| आफ्नो बिश्वप्रशिद्ध कृति ‘वाल्ड़ेन् पोंड’ मा हेनेरी डेविड थोरोले लेखेका छन् – बिहान म आफ्नो चेतनालाई भागवद् गीताको उच्चतम र ब्रह्मान्डिय दर्शनद्वारा स्वच्छ बनाउँछु, किनकि जस्को रचना गर्दाखेरिको देवताहरुको युग बितिसकेको छ र जस्को तुलानामा आधुनिक विश्व र यसको साहित्य तुच्छ र अर्थहीन लाग्छ (In the morning I bathe my intellect in the stupendous and cosmogonal philosophy of Bhagavad-gita, since whose composition years of the gods have elapsed and in comparison with which our modern world and its literature seems puny and trivial)| वेदको प्रशंसामा थोरोले लेखेका छन् - हेब्रुहरुको धर्म र दर्शन जंगली र रुखा जनजातिका मानिसहरूको हो जसमा बैदिक संस्कृतिको जस्तो सभ्यपनता तथा बौद्धिक परिस्कृतता र तृष्णता छैन (The religion and philosophy of the Hebrews are those of a wilder and ruder tribe, wanting the civility and intellectual refinements and subtlety of Vedic culture)| (यहुदी धर्मबाट आएको हुनाले हेब्रुहरुको धर्म र दर्शन भन्नाले क्रिस्चियन धर्म पनि पर्दछ)| जर्मनीका विश्वप्रसिद्ध दार्शनिक शोपेनहावरले भागवद् गीता पढेको पहिलो दिन खुसीले उन्मुक्त भएर गीतालाई टाउकोमा राखी रातभरि सडकमा नाचेका थिए| उनले त वेद कुनै दिन विश्वको धर्म बन्छ भनेका छन् |

आइन्स्टाइनले भागवद् गीता पढेपछि भनेका थिए – हामी सबैको सम्मिलित ज्ञान गीताको अगाडी फिका छ| एटमिक बम्बका पिता मानिने रबर्ट जे. ओप्पेन्हेमरले एटमिक बम्बको प्रथम परिक्षण बिस्फोटन हुनबित्तिकै भागवद गीताको एउटा श्लोकको स्मरण गरेका थिए| जुनसुकै प्रयोजनको लागि उनले भागवद गीताको श्लोक स्मरण गरेका भए पनि पश्चिमका महान् चिन्तकहरुदेखि लियर ठुला वैज्ञानिकहरू समेतले भागवद गीता अध्यन गर्दा रहेछन् भन्ने कुरा थाहा हुन्छ| एप्पल कम्प्युटरका स्टिब जब्सले पनि भागवद गीताको संदेशबाट प्रभावित भएर गुरुको खोजीमा इन्डिया पुगेका थिए|

अमेरिकी राष्ट्रपति चुनावको प्रचार प्रसार ताका एकजाना पत्रकारले सोधेको प्रश्नको जवाफमा उम्मेदबार बराक ओबामाले भन्नु भएको थियो – जति व्यस्त भए पनि समय निकालेर प्रत्यक दिन बाइबल पढछु| धार्मिक व्यक्तिले खराब काम गर्दैन भन्ने मान्यताले सार्वजनिक पदको लागि चुनावमा उठेको उम्मेदवारको धार्मिक पृष्ठभूमि प्रति अमेरिकी नागरिकहरुको ठुलो चासो रहेको हुन्छ| चुनाव जितेपछि पनि अमेरिकाको राष्ट्रपतिले बाइबल छोएर सपथ लिनु पर्छ| नेपालका हाम्रा नेताहरूले पनि गीता पढने र पद ग्रहण गर्दा गीता छोएर सपथ लिने गरेको भए देश आज यो स्थितिमा पुग्ने थिएन|

अध्यात्मिक ज्ञानको लागि पढन लेख्न सक्ने प्रत्यक हिन्दुले भागवद् गीता पढ्नै पर्छ| भागवद् गीता पाठ गरेर मात्र अध्यात्मिक ज्ञान हुँदैन| प्रत्यक श्लोकको अर्थ बुझ्ने गरी अध्यन गर्नु पर्छ| अर्थ बुझेपछि त्यसलाई व्यवहारमा पनि ल्याउनु पर्छ|

भागवद गीताको संस्कृत श्लोकको नेपाली अनुवाद र कुनै संस्करणमा त्यसको लामो तात्पर्य लेखिएको हुन्छ| लामो तात्पर्य पढ्न समय लाग्ने हुनाले अधिकांश श्लोकको तात्पर्य नपढेर अनुवाद मात्र पढे पनि अर्थ बुझिन्छ| उदाहरणको लागि तलको श्लोकलाई लिन सकिन्छ:

तद्विद्धि प्रणीपातेन परिप्रश्नेन सेवया|
उपदेक्षयन्ति ते ज्ञानम् ज्ञानिनस्तत्वदर्शिन||४:३४||

भक्तिबेदान्त बुक ट्रष्ट संस्करणको भागवद् गीतामा यस श्लोकको अनुवाद यस्तो छ: ‘गुरुका नजिक गएर सत्यलाई बुझ्ने चेष्टा गर| बिनम्रतापूर्वक गुरुका सामु आफ्ना जिज्ञासाहरु राख, गुरुको सेवा गर, अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले यथार्थ ज्ञान प्रदान गर्नेछन|’ यो श्लोकको अनुवाद मात्र पढे पनि अर्थ बुझिन्छ| तात्पर्य पढ्न पर्दैन|

परमगुरु ओशोले भागवत गीताको विस्तृत व्याखा गरेर अति रोचक र ज्ञानबर्द्धक प्रबचन दिनु भएको छ| प्रबचनका किताबहरू पनि छापिएका छन्| किताब पढ्न समय नहुने वा पढ्न नसक्नेकालागि प्रबचनका सिडीहरु पनि उपलब्ध छन्|

धर्मको लक्ष आत्मज्ञान हो| प्रबचन सुनेर मात्र आत्मज्ञान नहुने भए जस्तै शास्त्र अध्यन गरेर मात्र पनि आत्मज्ञान हुँदैन| तर शास्त्र अध्यनको उपयोगिता छ| शास्त्र अध्यनबाट साधनाको पृष्ठभूमि तयार हुन्छ |

Comments (2)

BRTNEPAL.COM on

It is very Easy to share any article, news from brtnepal.com. 1. Open the pages which you want to share. 2. and select all from where you type for website name example www.brtnepal.com from top of page. 3. then hit Control + C from keyboard. 4. on your profile Control + V 5 and hit share.

Om on

Can't we share your articles in face book? If we can how can we do that? I tried here in BRTNEPAL but couldn't.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक