तारा निरौला विगत लामो समय देखि अमेरिकामा बसोबास गर्दे आउनु भएको छ । न्यूयोर्कको कोलम्बिया बिश्वबिध्यालयवाट विद्यावारिधीको उपाधि लिनु भएका निरौला नेपालको आर्थिक विकासमा राजनेता (स्टेटसम्यानसीप)को अभाव खटकिएको महसुस गर्नु हुन्छ । आफ्नो अधिकांश समय अध्यापन र अनुसन्धानमा खर्चिनु भएका निरौला नेतृत्व र नीतिगत विकासमा दख्खल राख्नु हुन्छ । निरौला कोलम्बिया विश्वविद्यालयको शिक्षा संकायमा प्राध्यापन, वरिष्ठ शिक्षा अनुसन्धानविद र निर्देशकको रूपमा कार्य अनुभव हासिल गर्नु भएको छ। यसको अलाबा न्यू स्कुल विश्वविद्यालयको शिक्षा संकायको निर्देशक र प्राध्यापकको रूपमा पनि अनुभव संगाली सक्नु भएको छ । निरौलालाई नेपालको विकाशको प्रचुर सम्भावनालाई व्यवस्थापन गर्न नेपाल सरकार चुकेकोमा चिन्ता छ ।
नेपालको आर्थिक विकासका चुनौतीहरू र सम्भावनाका विविध पाटाका बारेमा निरौलासँग "समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना " को श्रृङ्खला -१० का लागि मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु :
तपाईँले प्रवासी जीवन विताउनु भएको कति भयो ?
करिब पच्चिस वर्ष अमेरिकी प्रवासी भूमिमा विताई सकेको छु । अध्ययनको सिलसिलामा अमेरिका आएको थिए । अध्ययन पश्चात् यतै बसोबास गर्दे आएको छु ।
प्रवासको अनुभूति कस्तो छ त ?
खासमा मेरो अनुभवले के देखाएको छ भने प्रवासी भूमिमा टेकिसकेपछि आफ्नो मातृभूमिको माया अझ बढेर आउने रहेछ, अनि प्रवासी भूमिमा बसेर पनि नेपालका जुनकुनै विषयलाई पनि अलि बढी नियालेर हेरिने रहेछ । मातृभूमिमा केही असहज परिस्थिति हुँदा छटपटि र कौतुहलताले गहिरो डेरा जमाउने रहेछ । त्यसैले स्वाभाविक रूपमा मातृभूमि प्रतिको स्नेहमा कमी आउँदैंन्। अर्को मेरो सन्दर्भमा भन्नुहुन्छ भने यहाँको प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाए र सेवा गर्ने अवसर पनि पाए त्यसले विश्वको समृद्ध देशको शिक्षाको तौर तरिकाले देश निर्माणमा कस्तो योगदान दिन सक्छ भन्ने अनुभव पनि प्रत्यक्ष गर्न पाइयो ।
नेपालले अझै पनि किन हरेक क्षेत्रमा सोचे जस्तो विकास हासिल गर्न सकेको छैंन त ?
हेर्नुस, नेपाल विश्व मानचित्रमा भूगोलमा केही सानो क्षेत्रफल होला तर जनसङ्ख्याको आधारमा पक्का पनि त्यति सानो देश हैंन, छैंन् । मेरो धारणा माग्नुहुन्छ भने नेपाल प्रकृतिको वरदान पाएको र समृद्धिका लागि धेरै आधारहरु भएको मुलुक हो भन्दा अत्तियुत्ति नहोला । यस्तो हुँदा हुँदै पनि जनताले न्यूनतम अधिकार उपयोग गरेर सरल र सुखी जीवन यापन गर्न नपाउनु र दुखी जीवन विताईरहनु विडम्बना नै हो । यसको पछाडिको कारण राजनैतिक अस्थिरता नै हो । राष्ट्रको हितमा दूरदर्शी दृष्टिकोण नराखी गरिएको राजनीतिले जनताको जीवन कष्टकर बनाएको छ । राष्ट्र र जनताको हितलाई सर्बोपरी ठानी देशलाई कुशल नेतृत्व दिने राजनेताको अभाव रहेको मैले ठानेको छु ।
तर नेपालमा पछिल्ला तीन दशक हेर्ने हो भने राजनीतिक तहमा धेरै परिवर्तन भएको देखिन्छ नि, किन यस्तो स्थिति रहेको ठान्नुहुन्छ ?
हो ,तपाईँले भन्नुभए जस्तै २०४६ देखि २०७३ को समय हेर्ने हो भने नेपालमा राजनीतिक परिवर्तन धेरै भएको छ । धेरै हदसम्म आज सम्म विभिन्न राजनीतिक अभ्यासहरु भएतापनि हानाहान र तानातानको राजनीतिमै प्राय जसो हाम्रो दैनिकी बनेको छ। कतिपय राम्रा भनेर ल्याइएको विकासका राष्ट्रिय नीति र कार्यक्रमरुमा पनि कार्यान्वयन सम्बन्धी प्रभावकारी राजनैतिक प्रतिबद्धता भएनन। त्यसमा राजनीतिक दूरदर्शिताको अभाव नै अहम हो । प्राय सबै क्षेत्रलाई राजनैतिक अस्थिरताले गाँजेको देखिन्छ र कार्य सम्पादनमा स्थायित्व भएन। अर्को कुरा राजनीतिक परिवर्तनलाई सामान्य बनाउंदै आर्थिक परिवर्तनलाई लिएर अगाडि वढनु पर्ने हो । तर राजनीतिको निहुँमा विकासमा अवरोध गर्ने सोचले गर्दा हामी पछाडि परयौ । देशलाई समृद्ध बनाउने र सुरक्षित नमुना राष्ट्रको रूपमा अगाडि बढाउने हो भने दीर्घकालीन नीति र रणनीतिहरुमा सुधार गर्दे आर्थिक मुद्दालाई केन्द्रमा राख्नु पर्छ भन्ने हो । कुनै पनि राष्ट्रको विकासमा सबै भन्दा ठुलो लगानी त्यस राष्ट्रका जनतामा हुनु पर्छ, सिंगापुर यसको एउटा राम्रो उदहारण हो ।
नेपाललाई समृद्ध देश बनाउन कुन क्षेत्रमा प्राथमिकता दिनु पर्छ जस्तो लाग्छ ?
नेपालमा धेरै सम्भावनाहरू छनस् खासमा नेपाल कृषि प्रधान मुलुक भएको कारणले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नै पर्छ । यसमा लगानी कमगर्ने सुधारको प्रक्रिया नथाल्ने हो भने हामी अगाडि वढन सक्छौँ जस्तो लाग्दैंन्। कृषिको आधुनिकीकरण गर्दे उत्पादन बढाउने तर्फ केन्द्रित हुन गर्न सक्नुपर्छ। आधुनिकीकरणको नाममा अप्राकृतिक प्रकारको अभ्यास भने गरिनु हुन्न ।
नेपाल यस्तो भौगोलिक विविधता भएको देश छ, जहाँ वाह्रै महिना तराई हिमाल पहाडको मौसम अनुकूलका खेती गर्न सकिन्छ। तराईलाई अन्नभण्डार,पहाड र हिमाली क्षेत्रहरू फलफुल र पशुपालनमा केन्द्रित गर्दे पच्चिस वर्ष अगाडीको दृष्टिकोण राखी काम गर्न सक्नु पर्छ । माग र आपूर्तिको लेखाजोखाका साथ लगानी गर्ने हो भने धेरै वस्तुमा हामी आत्मनिर्भर बन्न सक्छौँ ।
दोस्रो मलाई पर्यटन विकासवाट नेपालको आर्थिक समृद्धि प्राप्त गर्न सकिने सम्भावनाहरू धेरै छन् जस्तो लाग्छ। नेपालको सुन्दरता बेचेर हामी नेपाललाई संमृद्धि तिर लैजान सक्छौ। सम्भावना असीमित छन् तर ती सम्भावानाहरुलाई चिन्न सक्नु पर्छ ।पर्यटन क्षेत्रको विकासको लागि दीर्घकालीन नीतिहरू र कार्यक्रम बनाई कार्यान्वायन गर्न सकियो भने विश्वका हरेक कुनावाट नेपाल घुम्न आउने सम्भावना रहेको छ ।
तेस्रो , हामीलाई प्रकृतिले जलश्रोत र जडिवुटी विकास सम्बन्धी धेरै सम्भावना दिएको छ। हामीले जलश्रोतको र अन्य प्रकृति जन्य स्रोतहरूको विकास गर्न सक्यौ भने देशको आर्थिक विकासमा ठुलो सहयोग हुन्छ । एउटा उदाहरण जडिबुटीको लिऊँ , कच्चा पदार्थ विदेश पठाएर त्यसको कयौ गुणा बढीमा प्याकेटमा आफैले आयात गर्नु पर्ने अवस्था आउने थिएन ,यदि हामीले आफ्नो श्रोत आफैले प्रयोग गर्न सकेमा प्याकेट निर्माण गरेर निर्यात् गर्न सम्भव छ ।
तपाईँलाई के लाग्छ , आगामी पन्ध्र वर्षमा नेपाल समृद्ध देश बन्न सक्छ ?
मलाई विश्वास छ, बलियो जग बसाइ सम्मृद्धिको आशापूर्ण यात्रामा हामी लाग्न सक्छौ । किनकि हामीहरूले दूरदर्शी र राम्रा नीति र कार्यक्रमहरू बनाएर आगामी पन्ध्र देखि पच्चिस वर्ष सम्ममा क्षेत्रगत प्राथमिकतामा राखी प्रतिबद्धताका साथ् काम गर्न सक्यौ भने देशको भविष्य उज्ज्वल हुन्छ। खासमा विकासको लागि लगानी गर्नु पर्छ ,यस्तो लगानी स्वदेश भित्र र बाहिरका लगानी कर्ताहरुलाई आकर्षित गर्न सक्नु पर्छ । विकासका लागि आधारभूत सुविधाहरुको विकाश गर्नु जरुरी हुन्छ । देश विकासको लागि राजनैतिक स्थायित्व, शान्ति र सुरक्षा अहम विषयहरू हुन्।
देशको लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सरकारको अल्प र दीर्घकालीन दुवै लक्ष्य हुनु पर्छ र विकासको खाका (व्लु प्रिन्ट) बनाई कटिबद्ध भएर लाग्न सक्यौ भने नेपाललाई विकसित देश बनाउन गाह्रो छैंन् ।
देशको विकास सरकारको प्रयासमा मात्र सीमित राखिनु हुन्न । विकाश जनताले गर्ने र जनता केन्द्रित हुनु पर्छ र सरकारको काम त्यसको लागि चाहिने आवश्यक पूर्वाधारहरु तयार पारिदिने हो । आजमात्र देख्ने होइन ,दूर दृष्टि हुनु पर्छ। राष्ट्रको विकासमा प्रवासी नेपालीहरूको पुँजी, सीप र ज्ञानको उपयोग गर्न सक्नु पर्छ। त्यसैले म त के भन्छु भने विकास जनता केन्द्रित, जनता द्वारा जनता कै लागि हुनु पर्छ, यसमा दिगो र स्थायित्व हुन्छ। यदि सही तरिकाले आर्थिक दृष्टिकोण बनाएर नीति बनाउने हो भने आगामी पन्ध्र वर्षमा देशलाई उच्च गतिको आर्थिक वृद्धिमा निकै माथि पुरयाउन त्यति गाह्रो कुरा होइन।
अलि कति प्रसङ्ग वदलौं, विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपालीहरूको बिचमा एक खालको विमेल जस्तो देखिन्छ, यसको कारण के होला ?
मेरो विचारमा सही सोचको र बुझाइको अभाव हो । अहिले मानव विकासक्रममा एउटा भूगोल भित्र मात्र रहेर देश विकास हुन सक्दैन । नेपालको सन्दर्भमा हेर्नुहोस् न कति नेपालीले आफ्नो भूगोल भन्दा बाहिर अवसरको खोजीमा समय विताईरहेका हुन्छन् । अव सीमा भित्र मात्र देश रहन सक्तैंन् , त्यस्तै मध्ये नेपालीहरू पनि विश्वको विभिन्न भूगोलमा पुगेका छन्, उनीहरूको ध्यान आफ्नो मातृभूमिमा हुने गरेको छ ,जुन पुष्टि भईसकेको पनि छ। बढ्दो सुविधाको कारण संसारको जुनसुकै ठाउँमा भए पनि मातृभूमिको विकासमा प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण हुन्छ र हुन सक्छ ।
यदाकदा सामाजिक सञ्जालहरुमा विदेशिएकाहरु प्रति पलायन भएका जस्ता नकारात्मक टिप्पणीहरु देखिन्छन तर त्यो फराकिलो सोच र बुझाइको अभाव अनि आवेगको टिप्पणी हो । प्रवासमा बस्ने नेपालीहरूले पनि देशको लागि राम्रो सहयोग गरेका धेरै छन्, आर्थिक योगदान एउटा ज्वलन्त उदारहण हो । त्यसैले यस्तो टिप्पणी यथार्थपरक छैंनन जस्तो लाग्छ ।
अन्त्यमा तपाईँले नेपालमा गर्नु भएको या आगामी दिनमा लैजान चाहनुभएको केही योजना छ की ?
हेर्नोस, कत्ति कुरा व्यक्तिगत रूपमा गरिएको छ भने कत्ति कुरा सामूहिक प्रयासमा भएका छन् । हामीहरू साथी भाइ मिलेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दे आएका छौंस् विद्यालयको निर्माण, पुस्तकालयको निर्माण,सानातिना आर्थिक आर्जनका कामहरू गरिरहेका छौँ। हामीहरूले आवश्यक परेको खण्डमा विज्ञता प्राप्त गरेको क्षेत्रमा सहयोग गर्न सदैव तत्पर पनि छौँ । सामान्य र आपत्कालीन परिस्थिति दुवैमा प्रवासमा बस्ने नेपालीहरू सहयोग गर्न तत्पर सधैँ छन् र हुन्छन् पनि । मैले गत वर्ष भूकम्प गएपछि स्थलगत रूपमा प्रभावित क्षेत्रहरू जस्तै सिन्धुपाल्चोक, धादिग, स्यांजा जस्ता ठाउहरुमा राहतको काम गरेर फर्के । दुई महिना सिन्धुपाल्चोकका गाउँ गाउमा मात्रै बिताईयो, सकेको सेवा गरियो । नेपाल बाहिरको श्रोत र साधान नेपालको विकासमा लगाउन नेपाल सरकारले उचित व्यवस्थाहरू मिलाई हामी प्रवासमा बस्नेहरुलाई आकर्सित गर्न सक्नु पर्छ । भोलिको पुस्तामा के हुन्छ त्यो पछिको कुरा हो ,तर आजको प्रवासी नेपाली पुस्ता नेपालको विकासमा सहभागी हुन सधैँ इच्छुक छ । यो विशाल श्रोतलाई सहज् तरिकाले नेपालको विकास कसरि लगाउने भन्ने कुरामा नेपाल सरकारले विशेष ध्यान दिनु पर्छ ।
मलाई नेपालको विषयगत, व्यवहारिक र अनुसन्धान मूलक एबम वैज्ञानिक ढङ्गले शिक्षा क्षेत्रको विकास गरेर नेपालको उन्नतिमा सहयोग पुर्याउने अझै पनि प्रखर इच्छा छ । अमेरिकाको विश्वविद्यालयका उपाधिहरु विश्व बजारमा प्राय मान्य हुन्छन् । त्यस्तै खालको नेपालमा पनि उत्कृष्ट र विश्वमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा पद्धतिको विकासशमा मेरो स्तरबाट जे सम्भव हुन्छ, त्यो गर्ने मेरो व्यक्तिगत सोच छ । सबै प्रकारको हावापानी पाइने प्राकृतिक रूपमा विश्वकै अति सुन्दर देशमा विश्व प्रख्यात बिश्वबिध्यलायाहरु वा संसारकै उत्कृष्ट शैक्षिक व्यवस्था बनाई विश्वलाई त्यो अवसर नेपालमा किन उपलब्ध नगराउने रु देश विकास भन्नुनै जनतालाई संमृद्धिको स्वाद र अनुभव दिनु हो र यो काम उनीहरू केन्द्रित लगानी बाट मात्र सम्भव हुन्छ भन्ने मेरो विश्वास छ ।