सिजियाङ, साउन ६ गते । उत्तरी चीनको हेबेइ प्रान्तमा बुधवार बिहानदेखि अविरल रूपमा परेको पानीका कारण १४ जनाको ज्यान गएको समाचार छ । भारी वर्षापछिको बाढीबाट अरू कम्तीमा पनि ७२ जना हराइरहेको समाचारमा उल्लेख गरिएको छ । प्रान्तीय नागरिक मामिला सम्बन्धी विभागले बिहीबार सो जानकारी दिएको छ । साथै सो विभागले बिहीबार पनि अपरान्ह्सम्म वर्षा नघटेको बताएको छ । बुधवार बिहानदेखि बिहीबारसम्म नै वर्षा निरन्तर रूपमा भइरहेको बताइएको छ । उक्त हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा घटेको छैन । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् ।
उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका छन् । ती नगरहरुबाट १ लाख २३ हजार नागरिकलाई उद्वार गरी अन्यत्रै सारिएको पनि समाचारमा उल्लेख गरिएको छ । उक्त बाढीले सात हजार भन्दा बढी नै घर ध्वस्त बनाएको छ । बाढीका कारण बालीनाली, स्थानीय पूर्वाधारका साथै ठुलो जनधनको क्षति पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मीहरु खटाइएको सो समाचारमा उल्लेख गरिएको छ ।
बेइजिङको चेतावनी कायमै
यसैबिच बेइजिङबाट प्राप्त एक समाचारअनुसार बेइजिङ्मा पनि भारी वर्षाको चेतावनी कायमै रहेको छ । बेइजिङ्मा भारी मात्रामा पानी पर्ने चेतावनी बुधवार मात्र दिइएको थियो । चीनको मध्य र दक्षिणी बन्दरगाह सहरमा बुधवार व्यापक मात्रामा वर्षा भएको थियो । अविरल वर्षा भएपछि सतर्कताको लागि चेतावनी दिइएको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । चीनको राजधानीमा बुधवार अपराह्नमा यसको खतरा झनै बढेकोले यो चेतावनी दिइएको बताइएको थियो । बिहीबार पनि सो अविरल वर्षा जारी रहेकोले उक्त चेतावानी फिर्ता नलिइएको बताइएको हो ।
चीनका विभिन्न क्षेत्रमा हालैका दिनमा भारी मात्रामा वर्षा भएको छ । राजधानी बेइजिङ्मा पनि पछिल्लो समयमा अविरल मात्रामा पानी परेको छ । साथै राजधानी बेइजिङ्मा केही दिनयतादेखि आँधीको पनि सम्भावना रहेको बारेका समाचारहरु आइरहेका छन् । रासस÷सिन्ह्वा